'आ बाबै आमा घाँस काट्न जाँदा जन्मेकी अरे म। हाम्रा पालामा कताको हस्पिटल के को जन्मदिन के को जन्मोत्सव तिमर्का जस्ता यो के जाति ह्यापी बदे ट्यु ट्यु भन्ने त जान्दाथेनौं हामी। उही छोरो जन्मेछ भने केही मीठोमसिनो खान दिन्थेरे, छोरी जन्मे त तातो पानि पनि राम्रोसँग पिउन पाउँदिनँ थिन् रे हाम्री आमाले, आमाले के भन्नु हाम्लेनै पाएनौं।'
केही वर्ष अगाडि मेरो जन्मदिनको अवसरमा केक काट्नुभन्दा अगाडि आमा ह्यापी बर्थ डे भन्नुन भनेर कर गरेपछि आमाले यसरी आफ्नो विगतलाई सम्झिनु भएको थियो। त्यसो त आमालाई ह्यापी बर्थडे टु यु भन्न पनि मन पर्दैन थियो र त मन नलागी नलागी हाम्रो मन बुझाउनका लागि मात्र भन्दिनु हुुन्थ्योे ह्यापी बदे ट्यु ट्यु।
ममी र मामाले भनेको सुनेर हामी पनि हजुरआमालाई आमा नै भन्ने गर्दथ्यौं। हामी सबैकी आमा प्यारी आमा। आमा र आमाले भनेका कुराको बारेमा लेख्ने हो भने एउटा किताब नै तयार हुन्छ तर आज मलाई आमाको कुरा सम्झिएसँगै जन्मदिन र जन्मोसवको बारेमा केही लेख्न मन लाग्यो।
अहिले हाम्रो समाजमा जन्मदिन, विवाह वर्षगाँठ, दहीचिउरा खुवाउने चलन आधुनिकीकरण हुँदै गइरहेका छन् वा भनौं पश्चिमेली सिकोले केही प्रभाव पारिरहेको छ। तर जस्तो सुकै चलन चल्तीलाई पनि आफ्नो मौलिकताभित्रै राखेर मनाउने हो भने पश्चिमी संस्कारले हामीलाई केही फरक पार्दैन।
४० कटेपछि मेरो मामाले पहिलो पटक केक काट्नु भएकोमा खुसी हुँदै सुनाउनु भयो।
'पहिलो पटक क्यान्डल फुकेर केक काटियो। त्यो कता हो कता को चलन बोकेर आका छन्। हाम्रोे चलनले भन्छ जन्मदिनमा बत्ती बाल्नुपर्छ निभाउने हैन', नजिकै रहनु भएको हजुरबुबा एकाएक रिसाउन थाल्नु भयो।
तर मामाले केही अगाडि मात्र पूजा पनि गर्नु भएको थियो विधिपूर्वक जसमा दीयो, कलश सबै थियो, अनि रहर लागेर काट्नु भएको केकको बत्ती निभाउँदा खासै फरक पर्दैनजस्तो लाग्छ मलाई। यसबारे बाँकी कुरा मनन गर्न मैले तपाईंहरूमा छाडिदिएँ।
हुनलाई त जन्मदिन मात्र एक दिन हो। तर यो एक दिनले नै हो आफू जन्मेको दिन वर्ष समय सबै सम्झाउने, आफूले आफैंलाई सम्झिने दिन हो, आफ्नो दिन हो र त यो एउटा विशेष दिन हो।
केहीदिन अगाडि मात्र ३ दशक पूरा गर्न १ वर्ष बाँकी राख्दै मेरो विशेष दिन मेरो जन्मदिनले यस वर्षको लागि मसँग बिदा भएर गयो। केही पोस्टभित्र ५०० भन्दा बढी कमेन्टका रूपमा आएका आशीर्वाद र शुभकामनाले भरिएको आफ्नो फेसबुकको रंगीन भित्ता, शुभकामनाका लागि आएका फोन कल र म्यासेजले मेरो दिन खास बनाउँदै थियो मनमा खुसी बढ्दै थियो। म एक वर्ष बुढी हुँदै थिएँ तर म खुसी थिएँ एकदम खुसी।
खुसी यस कारण पनि थिएँ कि शुभकामना र आशीर्वाद दिनका लागि मेरा आफन्त इस्टमित्रले आफ्नो महत्वपूर्ण समयको केही मिनेटमात्र भए पनि मेरा लागि खर्च गर्दैहुनुहुन्थ्यो।
यो व्यस्त हुँदै गइरहेको दैनिकीमा कसैले केही सेकेण्ड वा मिनेट मात्र पनि तपाईंको नाममा दिँदैछ भने सोच्नुस् त्यो तपाईंको कति विशेष दिन हो। त्यसैले त यो जन्मदिन हो।
शुभकामना दिन ढिलाइ गर्नेहरू मध्य केहीले भन्दै हुनुहुन्थ्यो अब त के रमाइलो गर्नु केटाकेटी भए पो ल है जन्मदिन बिहान सबेरै शुभकामना दिएर दिनै शुभ बनाइदिम् भन्नु अब ढल्किँदै गएको उमेरमा के रमाइलो गर्नु त्यसमा पनि अब झन् व्यवहारले थिच्दै जान्छ।
अबको केही वर्षमा त तिमीलाई पनि खासै मतलब लाग्दैन।
तर म यो सबै कुराको पक्षमा भने पटक्कै छैन। मलाई त लाग्छ मेरो ६० वर्षको जन्मोत्सवमा पनि ममा उही उत्साह उही उमंग हुन्छ जुन उत्साह २० वर्षको जन्मोत्सव मनाउँदा थियो।
उमेर बढ्दै जानुको मतलब इच्छा चहाना अनि खुसीलाई घटाउँदै जानु पनि त हैन होला नि!
कसैले यो दिनलाई खास बनाउन केक काट्छन्, कसैले पार्टी दिन्छन् कसैले ग्रह शान्ति भन्दै पूजा गर्छन्। त कसैले विभिन्न आश्रममा गएर आफ्नो गक्ष अनुसारको दान गर्ने गर्दछन् तर यो सबैको उद्धेश्य भने एकै हो खुसी हुनु।
यसको मतलब मैले खुसी हुन फजुल खर्च गर्नुपर्छ भन्न खोजेकी भने हुँदै हैन। जे गर्दा मनमा शान्ति मिल्छ जे गर्दा खुसी मिल्छ त्यो भने पक्कै गर्नुपर्छ।
मानिस शरीरले मात्र हरेक दिन बुढो हुने हो मनले हैन। यदि तनसँगै मन पनि बुढो हुँदै जान्थ्यो भने पक्कै पनि म मान्थें होला केटाकेटी हुँदामात्र हो जन्मदिनलाई उत्सव मनाउने।
जन्मदिनलाई उत्सवको रूपमा मनाउने चलनलाई हरेक व्यक्तिले आ-आफ्नै सिद्धान्तका आधारमा विश्लेषण, आलोचना र समर्थन गर्ने गरेको पाइन्छ।
३६५ दिनमा बाँकी दिन जस्तोसुकै दु:ख, कष्ट, पीर, व्यथा भए पनि यो एक दिनमा भने सबै दिन भुलाउने एउटा विशेष दिन बनोस् चाहे त्यो बच्चाको होस् या वृद्धको। जन्मदिन त जन्मदिन हो नि!