दसैं भन्ने बित्तिकै तपाईंको दिमागमा झट्ट केको याद आउँछ ? मान्छेपिच्छे फरक-फरक जवाफ आउला। टीका जमरा, लठ्ठे पिङ, चम्राल्ली पिङ। भेटघाट, ठूलाबडाको आशीर्वाद। लहलह झुलेका धान खेतहरू। बारीमा कोदाका बाला।
परदेशीहरूको आगमन, रातोमाटो र कमेरो माटोले सिंगारिएका गाउँतिरका घर। साना केटाकेटीहरूको लागि दक्षिणा याद आउँदो हो। उनीहरूको लागि अझ पहिले दिमागमा आउने चिचीपापा र नयाँ लुगा।
दसैं जति नजिकिँदै जान्छ, प्रकृति नै बेग्लै लाग्छ। एउटा युग सकिएर अर्कै युगको सुरूआत भएझैं छुट्टै आभाष हुन्छ दसैं घर आँगनमा आएको।
प्रकृति आफैं बोलिरहेझैं लाग्छ, 'दसैं आयो' भनेर। हावाले नै दसैंको सुवास बोकेर हिँडेकोजस्तो लाग्छ।
दसैं जहाँतहीँ एकनासले आउँछ। सहरमा बढी गाउँमा कम आउँदैन। धनीकोमा धेरै गरिबकोमा थोरै आउँदैन। दसैंले सबैलाई समान व्यवहार गर्छ। बरु हामीले नै दसैंलाई असमान बनाइरहेका छौं। धनीको लागि उत्सव र गरिबको लागि उठिबास लगाउने दशा बनाएका छौं।
यसै सन्दर्भमा 'दसैं नै हो कि यो मेरो दशा' भन्ने गीत निकै लोकप्रिय छ।
गीत संगीत कला साहित्यले समाजकै कुरा बोल्ने हो। जे छ त्यही देखाइदिने, ऐनासरी।
आखिर दसैंलाई कस्ले दशा बनायो ? के दसैंको संस्कृति दशा बनाउने खालको छ ? के दसैं मानिसहरूले जबरजस्ती मनाउनु परेको बाध्यात्मक चाड हो ? के भड्किलो तरिकाले दसैं मनाउनु पर्छ भनेर दसैं आफैंले कतै बोलेको छ र ?
कुनै पनि चाडवाडले हामीलाई जबरजस्ती मनाऊ भनेर भन्दैनन्। दसैं विशुद्ध नेपालीहरूको मौलिक संस्कृति हो।
हिन्दु धर्म मान्ने भारतीयहरू हाम्ले जसरी दसैं मनाउँदैनन्। यसको मतलब दसैं मनाउने तरिका, नियम, संस्कार हाम्रा पूर्खाहरूले बनाएका हुन्।
तत्कालीन समय र परिस्थिति अनुसार बसालेका नियम, संस्कार सधैंभरि सान्दर्भिक हुन्छन् भन्ने हुँदैन।
कतिपय नियम र संस्कार अहिले असान्दर्भिक, अवैज्ञानिक र बोझिला लाग्न सक्छन्। तर दसैंको शुद्ध संस्कृति कहिल्यै खर्चिलो र बोझिलो थिएन।
आखिर शुद्ध दसैं के हो?
टीका हो। जमरा हो। आशीर्वाद हो। जमघट हो। माया, सद्भाव, आत्मीयता हो। असत्यमाथि सत्यको विजय हो। हर्ष उल्लास उमंग हो। लठ्ठे पिङ र चम्लाल्ली पिङको मज्जा हो दसैं।
यदि यही दसैं हो भने, एकचोटि सोचौं त।
लठ्ठे पिङमा प्रयोग हुने बाबियो आफ्नै खरबारीको खर, चम्राल्ली पिङको काठ सामुदायिक वनको। टीका, जमरा आफूले उत्पादन गरेको एक जना पाको मान्छेलाई एक छाक पुग्ने अन्न। सेलरोटी, दूध, दही, घ्यू, प्रसाद आफ्नै घरको उत्पादन। आशीर्वाद नि:शुल्क, भेटघाट नि:शुल्क। आत्मीयता नि:शुल्क। खर्च केमा छ ? यदि खर्च नै छ भने त्यो हो दक्षिणा।
माछा मासु खान्छौं। राम्रो, महँगो लुगा लगाउँछौं। भोज भतेर गर्छौं। अझ अहिले त विभिन्न ब्रान्डका महँगा मदिरा पिउँछौं। यो त दसैंको संस्कृति नै होइन। खाली चाडवाड भनेर रमाइलो गर्ने, उत्सव मनाउने बाहनामा भित्रिएका भड्किला प्रवृति हुन्।
दसैंलाई बद्नाम गर्न रचिएका प्रपन्च हुन्। केही कुरा हिजोबाटै बिग्रँदै आएका थिए। जस्तै नयाँ लुगा लगाउनुपर्ने। मिठो मसिनो खानुपर्ने, वर्षमा एकदिन भए पनि घरमा मासुको बास्ना आउनुपर्ने।
हिजो दसैंमा नयाँ लुगा मानिसको आवश्यकतासँग जोडिएको थियो। अरुबेला फेरि-फेरि नयाँ लुगा खरिद गर्नसक्ने आर्थिक अवस्था बलियो थिएन।
बजार जहाँतहीँ थिएनन्। सक्नेलाई पनि सजिलै उपलब्धता थिएन। मानिससँग सीमितता थियो। त्यसैले ठूलो चाडमा सबैथोक गरौं भन्ने भयो होला। विस्तारै त्यही संस्कृति जस्तो भयो। दसैंमा नयाँ लुगा लगाउने चलन बस्यो।
अहिले कम्तीमा त्यो अवस्था छैन। हामी धेरैजसोले वर्षैभरि पटक-पटक नयाँ लुगा किन्छौं। तब दसैंमा फेरि नयाँ लुगा किनेर लगाउनु पर्ने किन ? नयाँ लुगालाई दसैंसँग जोड्ने किन? हाम्रो भड्किलोपनले दसैंलाई दोषी ठान्ने किन ? शुद्ध दसैं टीका जमरा, आशीर्वाद, भेटघाट, आत्मीयता र हर्षउल्लाससँग जोडिएको हुन्छ।
नयाँ लुगा र चिचिपापा मान्छेका फजुल आवश्यकता र बिलासिता मात्र हुन् । दसैं होइनन्।
चाडवाडमा मीठो मसिनो खानु स्वभाविक हो। नत्र त अरु बेला र चाडमा भिन्नतै के रह्यो र! तर फजुल र भड्किलो किन? धेरैको जवाफ हुन्छ, 'चाडवाडमा अलिअलि त बढी भैहाल्छ।' हामीले यहीँनेर गल्ती गरिरहेका छौं। चाडको नाममा बढी र भड्किलो गर्ने हामी अनि दोष किन दसैंलाई?
अर्कोतिर हामी दसैंलाई बिगार्नुमा हुनेखानेहरूलाई मात्र दोषी देख्छौं।
दोष उनीहरूको मात्र होइन। देखासिखी गरेर आफूलाई अब्बल देखाउन खोज्ने प्रवृत्तिको पनि हो। सकिनसकी ऋणको भारी बोकीबोकी दसैं मनाउने प्रवृत्तिले दसैंजस्तो चाडलाई धेरैले आलोचना गर्न थालेका छन्।
हुँदाहुँदा मान्छेहरू हिन्दु धर्मप्रति खनिन थालेका छन्। अनि हामी हिन्दु धर्म मान्नेहरू तातो रिस देखाउँछौं।
'कस्ले हो हाम्रो धर्ममाथि प्रश्न उठाउने ? पक्कै विदेशी तत्व हुनुपर्छ।' तर सोच्दैनौं हामीले कहाँनेर धर्मलाई व्यापारीकरण गरिरहेका छौं।
हुनेको लागि अति सामान्य लाग्ला यो कुरा। उस्को घरमा तीन सय पैसठ्ठी दिन नै मासु पाक्ला। प्रत्येक दिन नयाँ लुगा लगाएर हिँड्ला। उस्को लागी सधैं दसैं होला। त्यो उस्को अधिकार पनि हो, आफूखुसी खर्च गर्न पाउने।
यहाँ समस्या देखासिकीको हो।
सम्पन्न परिवारको सिको ऊ भन्दा थोरै तल्लो वर्गले गर्छ। फेरि उसैलाई देखेर अझ तल्लो वर्ग उस्कै बराबरी गर्न खोज्छ। आखिर सबैमा आफूलाई माथिल्लो स्तरको देखाउने रहर हुन्छ। जुन मानवीय स्वभाव नै हो। यही सिको गर्ने प्रक्रिया कमजोर आर्थिक अवस्था भएको परिवारसम्म पुग्छ । अनि परिणाम...?
चाड माथिल्लो वर्गको पनि हो तल्लो वर्गको पनि। सबैले समान रूपमा मनाउन सक्ने चाडको संस्कृति हुनुपर्दछ।
एउटा वर्गले मात्र उत्सव मनाउने अर्कोले टाउको समाउने स्थिति चाडले ल्याउनु हुँदैन।
आखिर चाड उही हो। तर मनाउने प्रक्रियामा किन भिन्नता ? सक्नेले खर्च गर्छ भन्दै चाडलाई आफूखुसी मनाउँदै लैजाने हो भने भोलिको दिनमा दसैंजस्तो पर्वमा टीका, जमरा, आशीर्वादको मौलिकता हराएरमात्र उत्सव बन्ने खतरा हुन्छ।
त्यसैले खर्चिला संस्कार र प्रवृत्तिलाई हटाउँदै सबैले खुसी भएर सरल र समान रूपमा मनाउन सक्ने संस्कार स्थापित गर्नु आजको आवश्यकता हो।
प्रसङ्गवश एउटा घटना याद आयो।
परारको दसैंको कुरा। एक जना काकाले, दसैं मनाउन गाउँकै सहकारीबाट पाँच हजार रूपैयाँ ऋण लिए। जसको घरमा कहिल्यै मासुको कराही चुलोमा बसेन। उही छिमेकको भोज भतेर, बिहेजस्ता उत्सवमा उनका घरका सदस्यको पेटमा मासु परेको हुँदो हो।
उनी भन्दैथिए 'यसपटक छोरीज्वाइँ बिहेको पहिलो दसैं मनाउन आउँदैछन्। दुईकिलो शिकार लानुपर्ला।'
ऋण खोजेर व्यवस्था गरेको शिकार, अनि ज्वाइँले के भन्लान भनेर इज्जतको लागि मोटो दक्षिणाको खाम तयार पार्नुपर्ने बाध्यता यदि दसैंले ल्याउँछ भने, यो सुन्दर दसैंको कुरूप पाटो हो।
मान्छेले बाहिर कमै भन्ने गरेको तर असलमा निम्न र मध्यम आय हुनेको लागि दक्षिणा पनि टाउको दुखाइ हुन थालेको छ। गएको वर्षदेखि कोरोनाले गर्दा चाडवाड चलन अनुसार मनाउन सकिएको छैन।
यो वर्ष केही सहज देखिन्छ तर ढुक्क भएर भिडभाड गर्ने अवस्था छैन। एक अर्थमा खर्च जोगिनेवाला छ। तर दु:खको कुरा धेरैले रोजगारी गुमाउनु परेको छ। व्यवसाय धरासायी भएका छन्।
त्यसैले परिवारभित्रै पनि सही तरिकाले चाड मनाउन मुस्किल छ।
कोरोनामात्र नभएर आगामी दिनमा अन्य प्रकोपको हामीले सामना गनुपर्ने हुनसक्छ।
मानिसहरू आफ्नो रोजगार गुमाएर अप्ठ्यारोमा बाँच्नुपर्ने अवस्था रहन सक्छ। अथवा सबै ठिकठाक किन नहोस् हाम्रो चाडवाड मनाउने संस्कृति सधैं समान र सरल भएमा कहिल्यै टाउको दुखाइ बन्दैन। चाडवाड कहिल्यै खर्चिलो, भड्किलो र बाध्यतात्मक बन्दैनन्। विशेष गरेर दसैंजस्ता ठूला चाड सबैजसो नेपालीले मनाउने भएकोले, दक्षिणा र चाड मनाउने पक्रियामा सदैव समानता र सरल भैदिने हो भने कति राम्रो हुन्थ्यो।
दसैं यानिकी दशदिन। दक्षिणा पनि सदैव दस रूपैयाँ हुने भए...... ।
हुन त म केटा मान्छे दक्षिणा पाउदिनथें। दिदी बैनीसँग टन्नै दक्षिणा जम्मा हुँदा मेरो गोजी रित्तो। दक्षिणा पाउन मामाघर पुग्नुपर्थ्यो। अनि जसरी भए पनि दसैंमा मामाघर जान्थें। त्यसको मुख्य कारण दक्षिणा कमाउनु थियो भन्दा फरक पर्दैन।
केटाकेटी उमेरमा मैले पाउने दक्षिणा र उमेर बढेसँगै पाउने दक्षिणा उकालो लाग्दै थियो।
यसरी दक्षिणा बढाएर दिदा ऊ बेला म दंग पर्थें। कसैले कम दिए अलि मन स्वभाविक रूपमा दुखी पक्कै हुन्थ्यो।
मलाई लाग्छ, मेरा मावली आर्थिक रूपले सम्पन्न थिए। उनीहरूलाई मेरो लागि दक्षिणा दिँदा खासै ठूलो अप्ठ्यारो पक्कै पर्दैनथ्यो होला। कुरा मेरा मावलीको मात्र होइन, दसैं पर्व मनाउने प्रत्येक नेपालीको हो। म मेरा मावली जान्थें। केही मेरो घरमा मावली भनेर आउथे। कोही ससुराली जान्थे, फेरि उसकै घरमा ससुराली भन्दै आउने ज्वाइँछोरी हुन्थे। यसरी हेर्दा दक्षिणाको रोटेशन चल्थ्यो।
दक्षिणा दिनु पर्दैन भनेको हैन। बच्चालाई धेरै दक्षिणा पाउनु रमाइलो लाग्ला। ठूलो सानो रकम भनेर मख्ख पर्ने र खिन्न हुने होला। तर मजस्तै ठूलो भसकेकोलाई ठूलै रकम दक्षिणा दिनुपर्ने त होइन होला नि। मलाई उहीँ सानै बेलाको जस्तो एक रूपैयाँ दक्षिणा दिएर चाड मनाउन किन सकिँदैन ?
के हाम्रो चाडको महत्व भारी दक्षिणा दिनु हो र ? दसैंको लागि, सबभन्दा महत्वपूर्ण टीका हो, जमरा हो, आशीर्वाद हो, भेटघाट हो, आत्मीयता हो अझ लठ्ठेपिङ र चम्लाल्ली पिङ हो , भने दक्षिणा पनि होला। तर दक्षिणा ठूलो रकम हुनुपर्छ भन्ने कदापी होइन।
मैले एक दिन ममीलाई भनें 'हामी यसपटकको दसैंमा ठूलासाना सबै उमेरका, जस्लाई दक्षिणा दिनुपर्छ उनीहरूलाई एक रूपैयाँ दक्षिणा दिऊँ न। हुँदैन?'
मेरो कुरा सुनेर पहिला त ममी जोड जोडले हाँस्नु भो। मैले मजाक गरेको भन्ठान्नु भएछ।
उहाँले पनि मजाकै सम्झेर भन्नुभयो, 'आजकल एक रुपैयाँ कहाँ पाउछस?'
ममीको बुझाइमा दक्षिणा भनेको नोट नै दिनुपर्छ भन्ने रहेछ क्यारे, एक रुपैयाँको सिक्का त प्रसस्तै पाइन्छ।
म गम्भीर भएर पुन भनें 'ल ठिकै छ, उसो भए पाँच वा दश रुपैयाँ दिऊँ न त।'
मेरो कुरा भुइँमा झरिनसक्दै ममीले भन्नुभो, 'धत लाजमर्दो, मान्छेले के भन्छन्, जमना अनुसारले सुहाउँदो दक्षिणा नगरेर के हुन्थ्यो। वर्षमा एकचोटि आउने चाडमा पनि त्यस्तो नकटो काम गरेर हुन्छ ?'
मेरो ममीको कुराले के स्पष्ट हुन्छ भने, हामी हाम्रो इज्जत खाम भित्रको दक्षिणामा देख्छौं।
इज्जत नामको खोक्रो आडम्बरको लागि दक्षिणा सुहाउँदो गर्नुपर्ने रे।
बजारमा वस्तुको मूल्य जमाना अनुसार बढेजस्तो दक्षिणाको भाउ पनि वर्षैपिच्छे पक्कै बढेको हुँदो हो।
यस्तै हो भने, दसैंको दक्षिणा यसवर्ष कति हो भन्ने दिन नआउला भन्न सकिँदैन।
के हामी एक, पाँच वा दस रुपैयाँ दक्षिणा दिएर चाड मनाउन सक्दैनौं ? धनी गरिब सबैकोमा दक्षिणा एउटै गरौं न।
दसैंको महत्वसँग मिल्ने भएकोले दस रुपैयाँ समान रूपमा दक्षिणा दिने गरौं न। त्यो भन्दा सानो दस पैसा हुन्थ्यो होला, अहिले बन्दैन। दस सय, दस हजारतिर जाने कुरै भएन, खर्च घटाउने कुरा गरिराछु।
दस रुपैयाँ साना ठूला सबैलाई समान रूपमा दिऊँ न तब न दसैंको महत्व अझ बढ्छ। महत्व नबढोस् तर दसैं शुद्ध हुन्छ। आलोचित हुँदैन।
के हाम्रा नाताकुटुम्ब, छोरीचेली, ज्वाइँ, भान्जा भान्जी हामीकहाँ दक्षिणा लिन आका हुन र ? के टाढाबाट खर्च गरीगरी आका कुटुम्बलाई उनीहरूको खर्च उठाउने हिसाबले दक्षिणा दिनु भन्ने नियम छ र ? के उनीहरू चाडबाहेक अरू बेला हामीलाई भेट्न आउँदैनन् र ? उनीहरू दक्षिणा लिन आका कि, टीका लगाउन, आशीर्वाद लिन र भेटघाट गर्न आका ? प्रश्न सबैलाई।