अहिलेको हावाले मलाई कता-कता बालापनतिर पुर्याइरहेको छ। यो मीठो सुगन्ध। यो मीठो घाम।
म बालकोनीमा बसेर पूर्वतिर हेर्दैछु। पूर्वी भागमा हाम्रो पुरानो घर थियो। २०७२ सालको भूकम्पले भत्किएपछि त्यहाँ ३० वर्षे घरको दुइटा नयाँ कोठा मात्र सद्दे छन्। म बाल्यकालमा हुर्केको घर। त्यति बेला भयंकर लाग्ने ठूलो बैठक कोठाहरूको अहिले जग मात्रै बाँकी छन्।
दसैंको पारिलो घाम यस्तै मीठो गरी लाग्थ्यो पहिले पनि। वर्षा याम सकिएर खुलेको आकाश। यति बेलाको घाम न्यानो हुन्छ। खोलातिर सेता फूल फुलेका हुन्छन्। यति बेला हावाको बासना पनि मीठो हुन्छ।
हरेक दसैंमा आउने यो वासना मलाई एकदम मन पर्छ।
अहिले पुरानो घरको आँगनमा झाडी उम्रिएका छन्। बुढो अम्बाको रूखमा अम्बा फल्न छोडिसक्यो। त्यही आँगनमा सुकुल ओछ्याएर हामी घाम ताप्थ्यौं। त्यहीँ बसेर हाम्रो हजुरबाले दसैंमा पिङ खेल्न डोरी बाटिदिनु हुन्थ्यो। कहिलेकाहीँ त त्यो डोरीको पिङ अम्बाको रूखमा पनि हालिदिनु हुन्थ्यो।
आँगन अहिले पनि त्यहीँ छ। अम्बाको रूख पनि त्यहीँ छ। मौसम पनि त्यस्तै छ। तर डोरी बनाइदिने हजुरबुवा हुनुहुन्न। उहिले छाडेर जानुभयो। दसैंताका हरेक वर्ष हजुरबुवाको धेरै सम्झना आउँछ।
दसैंसँग सबैको विशेष याद जोडिएको हुन्छ। त्यो बुढो अम्बाको रूख, त्यो झारै-झार उम्रेको आँगन जहाँ म र मेरा साथीहरूको हाँसो र नाचगान गुन्जिन्थ्यो। जहाँ हामी सबै परिवार दसैंमा टीका लगाइसकेर पारिवारिक फोटो खिच्थ्यौं।
त्यति बेला हामीसँग क्यामरा थिएन। मेरो सानो फुपूको घरमा अमेरिकन (त्यति बेला सबै विदेशीलाई अमेरिकन भन्थे) होमस्टे गर्थे। हरेक वर्ष नयाँ-नयाँ विदेशी आएर हाम्रो फोटो खिचिदिन्थे। ती एकाध फोटाबाहेक हामीसँग कुनै फोटो छैन।
हजुरबा-हजुरआमाले उनीहरूलाई पनि टीका लगाइदिनु हुन्थ्यो। दाल, भात, तरकारी मीठो मानेर खान्थे। हाम्रो घरमा मासु भने कहिल्यै पाक्थेन। घरमा धेरैजसो शाकाहारी नै थियौं। सोच्छु अहिले ती विदेशी कता गए होलान्। कस्ता भए होलान्?
'नानी एक्लै बसेर के सोचिराकी?' म घाममा बसेर यही सब सोच्दै गर्दा भित्र कोठाबाट हजुरआमाले मलिन आवाजमा सोध्नुभयो।
'ठिकै छ। पहिले पहिलेको दसैं सम्झिरहेकी थिएँ,' मैले हजुरआमालाई हेरेँ।
हजुरआमा अहिले धेरै गलिसक्नुभयो। ९० वर्ष पुग्नुभयो। उमेरमा सबैलाई हैकम चलाएर घर धानेकी हजुरआमाको शरीर गले पनि मनभित्र बघिनी नै हुनुहुन्छ। हामीले देख्दा देख्दै हजुरआमाको अनुहारको रङ फुंग उडिसक्यो। एउटा समथर खेतजस्तै लाग्छ उहाँको जीवन। खेतको रोपाँइदेखिको खडेरीसम्मको स्वरूप उहाँको जीवनसँग धेरै मिल्छ। खडेरीमा चर्किएका खेतका भागहरूजस्तै उहाँको अनुहारमा पनि चाउरीहरू छन्।
'जिन्दगी लगाउन नपरेको यस्तो यो के लाउन पर्या?' कोरोनाको समय भएकाले हजुरआमा मास्कभित्र आजभोलि आफ्नो रिस पोख्नुहुन्छ।
उहाँका हात अहिले चाउरी परिसके। हाडबाट छाला छुट्टिसक्यो। कान राम्ररी सुन्नुहुन्न। आँखा धमिलो देख्नुहुन्छ। हो बुढेसकालमा यस्तै हुन्छ। उहाँको जन्मदिन आउँदै छ। ठ्याक्कै विजया दशमीको दिन।
पोहोर ठ्याक्कै यही बेला सबैलाई भेला पारेर हजुरआमाले दसैंमा नयाँ लुगा किन्न खर्च दिनुभएको थियो। तर लुगा किन्न जान नपाउँदै सबै जना कोरोनाको चपेटामा पर्यौं।
पहिला पहिला आमाबाबा गएर दसैंको लुगा किनिदिएको झलझल्ती याद आउँछ। यो दसैंको हावा नै त्यस्तै छ। सबैलाई नोस्टाल्जिक बनाएर विगतको यादमा फतक्क गलाउँछ।
म छ, सात वर्षकी थिएँ। स्कुलमा दसैं बिदा सुरू हुनेबित्तिकै हाम्रो दसैं तामझाम सुरू हुन्थ्यो। तर होमवर्कको भारीले दसैंको पहिलो दिनदेखि नै नाजुक काँध थला पर्थ्यो। दसैं पनि राम्रोसँग मनाउन नदिने!
हामी धेरैजसो फूलपातीको दिन नयाँ लुगा किन्न जान्थ्यौं। आमा र बालाई नयाँ लुगा किन्न जाने कहिले भनेर सोधेर हैरान पार्थ्यौं। अरूले किनिसकेका छन् र हामी बाँकी छौं भने त झन् निद्रा हराम हुन्थ्यो। बजारका सबै लुगा सकिन्छ भन्ने भावले रातदिन छटपटी हुने।
मैले यस्तै एकपल्ट साथीहरूलाई गफ दिएँ, 'यो वर्ष म राजकुमारी जस्तै देखिने फ्रक किन्छु। सबैभन्दा राम्रो अनि महँगो!'
मेरी एक साथी उफ्रिहाली, 'खुब के किन्छेस्? कति पैसा पर्ने?'
'एक हजारको!,' मैले शानका साथ भनेँ।
त्यो उमेरमा एक हजार भनेको अहिलेको एक लाखजस्तो लाग्थ्यो। मेरो घोषणापछि उनीहरूमा पनि छटपटी सुरू भयो। सबै जना यसपालि मेरो लुगा कस्तो हुने हो भनेर कुरा काट्न थाले। उनीहरूको पनि भित्रभित्र षड्यन्त्र सुरू भइसकेको थियो।
'हामी पनि उसकै बराबरको किन्न पर्छ।'
म सपनामा पनि नयाँ लुगा कहिले किन्न जाने भनेर बरबराइरहेँ।
'बाबाको अफिसबाट तलब आएपछि के,' आमा त्यही भनेर थम्थमाउनु हुन्थ्यो।
धेरै समय (दुई दिन) कुरेपछि बल्ल नयाँ लुगा किन्न जाने दिन आयो। हामी किनमेल गर्न कि त मंगलबजार जान्थ्यौं कि असन वा इन्द्रचोक। कि त भृकुटिमण्डपको हङकङ बजार पनि। तर यसपालि मलाई ठूलो पसलमा महँगो लुगा किन्नु थियो।
दसैंले काठमाडौं तातिसकेको थियो। जनसंख्या हिसाबले अहिले काठमाडौंमा बसोबास गर्नेहरू धेरै बढेका छ। तर हामी बच्चा हुँदाताका पनि यस्तै भीड हुन्थ्यो। त्यति बेला पनि काठमाडौं छाडेर मान्छेहरू आ–आफ्नो गाउँघर फर्किँदा राजधानी सुनसान हुन्थ्यो।
हामी लुगा किन्न असन गयौं। असन, इन्द्रचोकमा त मान्छेको पाइला टेक्ने ठाउँ थिएन। आफूलाई भने महँगो र राम्रो लुगा किन्नु पर्ने दबावले सताइरहेको थियो।
दिदी, म, आमा र बाबा असनका पसल-पसल चहार्न थाल्यौं। कहीँ आफूलाई मन नपर्ने रङ, कहीँ आफूलाई मन नपर्ने लुगा। मन परेको लुगा भने आफूलाई ठिक्कै नहुने। सबै कुरा मिलेर ल त किनौं भन्यो आमाबाबाको ढाड सेकिने भाउ।
घन्टौं चहारेपछि बल्ल एउटा फ्रकमा मेरो आँखा पुग्यो। मैले खोजेजस्तै। मैले कल्पना गरेजस्तै। लाग्थ्यो, त्यो फ्रक मेरै लागि बनाइएको हो। नेटवाला। फरर परेको। पिच कलरको त्यो फ्रक मलाई अझै याद छ। अहिले त्यस्तो फ्रकको गाउन भनेर लगाउने चलन छ।
बल्ल एउटा कपडा मन परेको थियो, पैसा कति भनेर सोध्दा पसले दाइले मुख बंग्याउँदै भने- १६ सय।
'यति महँगो लुगा नि किन्न सकिन्छ,' आमा जंगिनुभयो।
अहिलेका बच्चाले दुई हजार रूपैयाँ त पकेट खर्च लान्छन् होला। हाम्रो समयमा त्यो त धेरै, धेरै थियो।
आमा जंगिए पनि मलाई त झन् त्यो मनपरिहाल्यो। बाबा पसलेसँग मोल भाउ गरिरहनुभएको थियो। घटाउन भनिरहनुभयो।
म फेरि यता किनिसकेको जस्तो गरेर त्यो फ्रक च्यापेर एक छेउमा टुसुक्क बसिरहेँ।
आमाले 'छोड यो नकिन्ने। अन्तै हेर्ने' भन्नुभयो।
म दृढ थिएँ।
मनमनै सोचेँ- १६ सयको किन्न त यस्तो मोलभाउ चलिरहेको छ। १६ सय भन्या हजारभन्दा धेरै हो कि क्या हो? यस्तो त के किन्देलान् र! हजारको त मरे नि किन्दिदैनन्!
विचरा मेरो दिमाग!
त्यहाँ त तीन-चार सयको पनि किनिदिने छाँटकाँट थिएन। यता आफूलाई मन परेर उत्पात भइसक्यो। म डेग चलिनँ।
तर पनि मेरो केही लागेन। मैले त्यो फ्रक पाइनँ। पसले दाइले मेरो हातबाट तानेर त्यो फ्रक फेरि ह्यांगरमा झुन्ड्याए। म र त्यो फ्रक एकअर्काबाट टाढियौं। हाम्रो बिछोड भयो।
मन अमिलो पार्दै म पसलबाट बाहिरिएँ। एकअर्काका लागि बनेका हामीबीच दुरी ल्याइदियो त्यो पसलेले। मेरो बाल मनमा चिसो पस्यो। रोऊँ कि जस्तो भइसकेको थियो। पेट दुखे-दुखेजस्तो भयो। तर मैले आफूलाई सम्हालेँ। मन विचलित हुन दिनुभएन भनेर आँशु घुटुक्क निलेँ। त्यो आँशु तीतो थियो।
केही दुई-तीन वटा अरू पसल चहारेपछि एउटा सेतो फूलबुट्टा भएको फ्रक भेटियो। तर फरर नपरेको। एक सरो। अनि भाउ पनि ठिकै भएको लुगा दिदीलाई र मलाई किनाइयो।
मलाई फिटिक्कै मन परेन।
मेरो निधार खुम्चिन थालिसकेको थियो।
मैले रून्चे स्वरमा बाबालाई भनेँ, 'मलाई हजार रूपैयाँ पर्ने फरर पर्ने फ्रक चाहिएको थियो। अब मैले साथीहरूलाई के भन्ने?'
बाबाले भन्नुभयो, 'हजारलाई ६ कम भनेर भन।'
आमा हाँस्नुभयो। मैले कुरै बुझिनँ।
'ए हजारलाई ६ कम? कमसेकम हजार त आयो नि,' मनमनै सोचेँ।
भोलिपल्ट टोलका साथीहरू कालिका मन्दिर अगाडिको चौरमा भेला भयौं।
'सबैभन्दा पहिला कसको घर जाने?'
'पहिला शिक्षाकोमा जाने। शिक्षाकोमा।'
तर मलाई पहिला उनीहरूको लुगा हेर्नु थियो। अनि बल्ल मेरो देखाउनु थियो।
मैदानमा उत्रिनुअघि प्रतिस्पर्धीको क्षमता आकलन गर्नै पर्यो। अनि बल्ल युद्धमा रणनीति बनाउन सजिलो हुन्थ्यो।
सधैं आफ्नो लुगा देखाउन सबैभन्दा उत्साही हुने म यसपटक खै किन-किन मन खिन्न थियो। हामीमध्येकी एक साथी थिई, गाउँको सबभन्दा महँगो स्कुलमा पढ्थी। उसको घर हामी सबैको भन्दा राम्रो थियो। धनीहरूको जस्तो। सिमेन्टको घर। उसको स्टाइल नै बेग्लै थियो।
हामी सँगसँगै खेल्दा ऊ हामीलाई गफ दिन्थी, 'तिमीहरूलाई थाहा छ, म अमेरिकामा जन्मिएको हो नि!'
हो न हो, हामी नि पत्याउँथ्यौं।
मैले हजुरआमालाई सोधेँ, 'आमा यो अंकलको छोरी अमेरिकामा जन्मेकी रे हो?'
'हुन्छ नापेर! तिमीहरूलाई सोझी देखेर धाक लगाकी। पत्याउने तिमेरू कस्ता लाटा?'
उसले दराजबाट उसको लुगा झिकी। कति राम्रो। गुलाबी रङको फ्रक।
सबै जनाले 'आहा कस्तो राम्रो' भनिरहँदा मेरो मन भने खङ्ग्रङ्ग भो। मनमा चिसो सिरेटो बगेजस्तो लाग्यो। दसैंको न्यानो हावा मलाई शिशिरको चिसो बतास झैं लाग्न थाल्यो।
हिजो मैले बजारमा जे किन्छु भनेर च्यापेकी थिएँ, उसको फ्रक त्यस्तै थियो। गुलाबी रङमा। मेरो होस हवास उड्यो।
'मैले किन्न नपाएको त्यसले किन किनी?' मलाई पटक्कै मन परेन।
'अब शिक्षाको हेर्न जानी।'
'नाइँ पछि,' मैले पछि हेरौंला भनेर भुराहरूलाई टारेँ।
मेरो चित्त एकदम दुखेको थियो। गला अवरूद्ध भएको थियो। मुटु फुट्ला झैं भयो। म दौडिएर घर गएँ।
'बा मलाई पेट दुख्यो।'
त्यो लुगा त मलाई चाहिएको थियो। मेरो सबैभन्दा राम्रो हुनुपर्थ्यो।
त्यही लुगा अरूले पाउने मैले किन नपाउने? यही कुरा मात्रै दिमागमा घुम्न थाल्यो। म रोइरहेँ।
'किन रुन्छे यो। हिजो भर्खर नयाँ लुगा किनेर ल्याएको छ,' आमा कराउनुभयो।
'मलाई अर्कै लुगा चाहियो। मलाई अर्कै फ्रक। अनि त्यैसँग मिल्ने जुत्ता चाहियो,' म जिद्दी गर्न थालेँ। कराउन थालेँ।
'नत्र म कतै पनि जान्नँ।'
आमा रिसाउनुभयो, 'धेरै नाटक नगर्। चुप लागेर बस्। जे-जे भन्यो त्यै त्यै हुन्छ?'
म ढोका बन्द गरेर बसेँ।
मेरी दिदी धेरै ज्ञानी थिई। ऊ जस्तो किन्दियो त्यस्तै लगाउँथी। उसलाई केही मतलब थिएन। म त्यसको उल्टो। चित्त बुझाउन धेरै गाह्रो हुन्थ्यो।
आमा भन्नुहुन्थ्यो, 'कसैले नि नलगाउने धोक्रोको सिलाइदिन्छु, त्यै बेरेर हिँड्।'
म नबोली नबोली जितिदिन्थेँ।
नवमीको दिन त्यति बेला गाडी कम चल्थे। मेरो मन अझै अमिलै थियो। मलाई अझै अस्ति हेरेको जस्तै फ्रक चाहिएको थियो। घरमा आफ्नो साधन थिएन। बजार ठप्प भइसकेको हुन्थ्यो। तर मेरो जिद्दीपनको अगाडि कसैको केही लागेन।
'दसैंका बेला बच्चाका चित्त के दुखाउनु? लैजा लैजा, यसले भनेजस्तै किनेर ल्याइदे,' हजुरआमाले बाबालाई भन्नुभयो।
त्यसपछि मेरो मन क्षणभरमै फुरूंग भयो। मलाई बाबाले बजार लैजाने हुनुभयो।
हामी त्यो इन्द्रचोकमा लुगा किनेको पसल खोज्न थाल्यौं। तर भित्र गल्ली जस्तोमा भएको त्यो पसल बन्द थियो। खुल्ला कि भनेर १२ बजेसम्म कुर्यौं। तर अहँ, पसल खुलेन। लुगा साट्न पाइएन।
बाबाले 'अब पछि अर्को दसैंमा किनौंला। अहिले त्यै लगाऊ। बरू जुत्ताको पसल खोजौं' भन्नुभयो।
म फेरि पिलपिलाउन थालेँ। मलाई जसरी पनि त्यही फ्रक चाहिएको थियो।
हामी इन्द्रचोकबाट मंगलबजार आयौं। त्यहाँ एउटा पसलमा छिर्यौं। मैले पसलकी आन्टीलाई मैले सोचेजस्तो फ्रकको बेलिविस्तार लगाएँ।
उनी 'अँ अहिले त्यो खुब चलेको छ, महँगो पनि छ' भन्दै लुगाको चाङबाट झिक्न थालिन्।
मेरो आँखा रातो रङमा परिहाल्यो। एकदम राम्रो थियो। मैले खोजेको जस्तो, ठ्याक्कै त्यस्तै थियो। त्यो फ्रकको गलामा मोती नै मोती भरिएको थियो। मैले बाबातिर पुलुक्क हेरेँ।
बाहरू अचम्मका हुन्छन्। किनिदिने हो होइन तर किनिदिने जस्तो गरी कति पैसा भनेर सोध्छन्। बाबाले पनि फ्रक ओल्टाइपल्टाइ गरेर सोध्नुभयो, 'कति त यसको?'
'एक हजार।'
मेरो होस उड्यो। यो त मरे नि किनिदिँदैनन्। तर मलाई जसरी पनि यही फ्रक चाहिएको थियो। मलाई फेरि पेट दुखेजस्तो भयो।
बाबाले 'ल ल, अब घर जाने' भन्न थाल्नुभयो। मेरो पेट अझ नराम्रोसँग दुख्न थाल्यो।
त्यो दिन भने म कोलाहल गर्न थालेँ।
'मलाई यही फ्रक चाहियो।'
पसलकी आन्टीले, 'तपाईंहरू नकिन्ने भए जानुस्' भनेर रिसाउँदै भनिन्।
बाबा नि के कम!
'हामी किन्न नसक्ने हो र? ल प्याक गरिदिनुस्,' भन्दै हजारको नोट झिकेर दिनुभयो।
तीन दिनको जिद्दी र रोनाधोनाको संघर्षपछि दसैंमा मैले कल्पना गरेजस्तो लुगा पाएँ। मेरो मनमा बेग्लै शान्ति छायो। अनि रातो जुत्ता पनि किन्दा जति फुरुंग म सायदै कहिल्यै भएकी थिएँ।
तर त्यो दसैंमा त्यस्तो फ्रक लगाउन जुरेको रहेनछ। लगाइ हेर्दा मलाई त्यो फ्रक निकै ठूलो पो भयो। हजुरआमा र आमा भने भन्नुहुन्थ्यो, 'बढ्ने बच्चालाई ठिकै हुन्छ।'
दिदीले मनमनै मलाई ठूलो भएपछि त्यो लुगा उसले लगाउन पाउँछु भन्ने सोची होली। उसलाई आस पनि थियो। तर मैले उसलाई त्यो फ्रक छुन नि दिइनँ।
त्यो दसैंमा मन परेको फ्रक लगाउने मेरो धोको पूरा भएन। तीन दिनअघि किनेकै लुगा लगाएर हामी सबैतिर गयौं। बाटोतिर अरूले त्यस्तै फ्रक लगाएको देख्दा रिस उठ्थ्यो।
बाबा र आमाले त्यस दसैंमा नयाँ लुगा किन्नुभएन। खासै कुनै वर्ष पनि बाबा आमाले नयाँ लुगा किनेको मलाई याद छैन। किन किन्नुहुन्न त्यो पनि थाहा छैन। तर त्यो दसैंको सबै बजेट डामाडोल पार्ने मै थिएँ। मैले मेरो फ्रक भने जतनसाथ राखेँ।
सबैले भनेजस्तै म एक वर्षमै फ्रक ठिक्क हुने जस्तै गरी बढेँ। तर जब मलाई त्यो फ्रक ठिक्क हुने समय आयो, त्यो फ्रक किनिदिने बाबा यो संसारमै हुनुभएन। फ्रक ठिक्क हुँदासम्म बाबाले मलाई देख्नै पाउनुभएन। अर्को दसैंदेखि मलाई यही लुगा किन्छु भन्ने धोको पनि रहेन।
एउटा दिनभरि झरी परेको दिनमा बुवा सधैंका लागि यो संसारबाट हराउनुभयो।
हजुरआमाले पोहोरको कोरोनामय दसैंमा नातिनातिनाले नयाँ लुगा किन्न नपाएकोमा मन खिन्न पार्नुभएको थियो।
अस्ति भर्खर सोध्नुभएको थियो, 'अनि अब लुगा कहिले किन्ने त नानी?'
'अब दसैं सकियोस्, अनि जाडोको लुगा किन्नपर्छ।'