दसैं आगमनसँगै नेपालीहरूको घरघरमा हर्ष र उल्लास छाउँछ। मीठा पकवान पाक्छ। नयाँ लुगा लगाइन्छ। चंगा उडाइन्छ। पूजापाठ गरिन्छ।
यो सँगै मालश्री नामको एउटा विशेष धुन पनि रेडियो, टिभी लगायत विभिन्न सञ्चार माध्यममा बज्छ।
हरेक वर्ष दसैंमा संगीतकर्मीहरू आ-आफ्नो ढंगले रचिएका मालश्रीको प्रस्तुति गर्छन्। श्रोताले पनि उत्तिकै उत्साहका साथ सुन्छन्। दसैं र मालश्रीको यस्तो बलियो साइनो भइसकेको छ कि, कतिले त यसलाई दसैंकै धुन पनि भन्छन्।
मालश्री जस्तो प्रख्यात धुन सायद नेपाली समाजमा अर्को कुनै नहोला। तर त्यसो हुँदाहुँदै यसबारे पढ्न, लेख्न र सुन्न विरलै पाइन्छ। कतिपय संगीतकार र संगीतिज्ञहरूले यसबारे केही कुरा विगतमा राखेका त हुन्। तर उनीहरूबाट पनि खास ठोस कुरा आएको पाइएन।
त्यसैले यो लेखमा मालश्रीबारे सबैले जान्नै पर्ने कुरा केही कुरा उल्लेख गरेको छु।
नेपाली लोक संस्कृतिको परिप्रेक्ष्यमा मालश्रीः
मालश्रीबारे अध्ययन गर्दै जाँदा यसको परम्परा काठमाडौं उपत्यकाबाट सुरू भएको देखिन्छ। उपत्यकाका नेवार समुदायमा एउटा विशेष किसिमको सामूहिक भजन गाउने चलन छ। यसलाई दाफा अथवा दापा भन्ने गरिन्छ।
यो भजन परम्परा मल्लकालदेखि चलिआएको देखिन्छ। अहिले पनि यसले निरन्तरता पाइराखेको छ। दाफामा गाइने गीतहरू प्रायः भक्तिभाव भएका र विभिन्न देवीदेवतालाई समर्पित हुन्छन्। यी सबै गीत कुनै न कुनै राग र तालमा आबद्ध हुन्छन्।
दाफा परम्परा अनुसार मालश्री पनि एउटा राग हो।
राग भन्ने शब्द सुनेपछि संगीत नजानेका पाठकहरूमा त्यो भनेको के हो भन्ने प्रश्न उठ्ला। संगीतमा प्रयोग हुने प्राविधिक शब्द भएकाले भाषाको माध्यमबाट यसलाई ठ्याक्कै बुझाउन त सकिँदैन। तर साधारण रूपमा भन्नुपर्दा राग दक्षिण एसियाको एउटा प्राचीन र मौलिक सांगीतिक अवधारणा हो भनेर बुझ्न सकिन्छ। अहिलेको हिन्दुस्तानी शास्त्रीय संगीतको आधार पनि राग नै हो।
दाफामा मौसम अनुसार राग गाउने चलन छ। भजन मात्र गाइने भएकाले होला, यस्ता मौसमी रागमा त्यही समयमा हुने धार्मिक गतिविधिलाई ख्याल गरी सम्बन्धित देवीदेवताको गुणगान गाइन्छ। मालश्री पनि एउटा त्यस्तै मौसमी राग हो जुन काया अष्टमी (भाद्र शुल्क अष्टमी) देखि दसैंपछिको आश्विन शुक्ल चतुर्दशीसम्म गाइन्छ, बजाइन्छ।
यही समयमा देवीहरूको पूजा गरिने पर्व नवरात्री पर्ने भएकाले मालश्री गीतहरूमा पहिलेदेखि देवीकै गुणगान बढी गाउने चलन छ। त्यही परम्परा अँगाल्दै जाँदा अहिलेको लोकप्रिय मालश्री नवरात्री वा दसैंसँग जोडिएर दसैं धुन हुन पुगेको हो।
अध्ययन क्रममा अर्को रोचक कुरा के थाहा भयो भने, मालश्री बजाउने चलन उपत्यका बाहिर पनि पहिल्यैदेखि रहेछ।
क्यारोल टिंगी नाम गरेका एक संगीतिज्ञको अनुसन्धान क्रममा गोर्खा दरबारमा क्रियाशील पञ्चे बाजा समूहमा पनि मालश्री बजाउने चलन रहेछ भन्ने थाहा भयो। उनका अनुसार राम शाहको पालामा २४ नेवार परिवारहरू उपत्यकाबाट गोर्खा बसाइ सरेका रहेछन्। बसाइसराइ क्रममा उनीहरूले आफूसँगै आफ्नो संस्कृति पनि लिएर गए। गोर्खा पुगेपछि नेवारहरूको विभिन्न जात्रा र चाडमा बाजा बजाउने काम त्यहीँका स्थानीय पञ्चे बाजा समूहले पाए। सोही क्रममा मालश्रीको ज्ञान पनि उनीहरूले पाएको हुनुपर्छ।
त्यति मात्र होइन, गोर्खा दरबारको धार्मिक क्रियाकलापमा पञ्चे बाजाको ठूलो भूमिका हुने रहेछ। दसैंको सुरूआतबाट नै मालश्री धुन बजाउनु पर्ने चलन त्यहाँ रहेछ। यस्तो किसिमको नेवार र गैर नेवारबीच सांगीतिक आदानप्रदान अन्त पनि भएको हुन सक्छ। र सम्भवतः यस्ता क्षणले नै मालश्रीलाई उपत्यका बाहिर प्रचार गरेको हुनुपर्छ।
पञ्चे बाजा समूहमा मालश्री बजाउने चलन पहिल्यै रहेको भए पनि आजको उचाइमा यसलाई उनीहरूले पुर्याएको त पक्कै होइन होला। यसको श्रेय त रेडियो र टिभी जस्ता सञ्चार माध्यमलाई पनि दिनुपर्छ।
वरिष्ठ सितारवादक तथा सुरसुधा समूहका संस्थापक तारावीर सिंह तुलाधरका अनुसार टिभी आउनुभन्दा अगाडि रेडियोमा दसैंताका मालश्री बज्थ्यो। तर त्यति बेला बज्ने मालश्री सबै गीतहरू हुन्थे जसमा देवीको आराधना गरिन्थ्यो। अहिले जसरी मालश्री धुनका रूपमा बाजा बढी बजाइन्छ, त्यस्तो चलन त्यति बेला आइसकेको रहेनछ।
मालश्री कसरी गीतबाट वाद्य-प्रधान बन्न गयो त?
यसको श्रेय तारावीर सिंह तुलाधरजस्ता कलाकारलाई नै जान्छ। नेवार समुदायका तुलाधर सानैदेखि आफ्नो टोलमा दाफा गीत सुनेर हुर्केका थिए। आफू एउटा प्रतिभाशाली सितारवादक भएपछि उनले हिन्दुस्तानी शास्त्रीय संगीतका साथै मालश्री लगायत अरू नेपाली धुनलाई पनि मन्चमा बजाउन थाले। तुलाधरका समकालीन अरूले पनि यो शैली अपनाउँदै गए। पछि यस्ता समूहलाई रेडियो र टिभीमा पनि मालश्री बजाउन बोलाउन थालियो। विस्तारै त्यसै समयबाट मालश्री नेपालीका घरघरमा धुनको रूपमा घन्किन थाल्यो।
आजकाल टिभी, एफएम लगायत अरू सञ्चार माध्यममा बज्ने मालश्रीमा केही सामान्य फरक भए पनि प्रायः सबै उस्तै हुन्छन्। यही कारणले साधारण जनमानसमा मालश्री भनेको एउटा धुन नै हो भन्ने छाप परेको हुन सक्छ।
तर अध्ययन गर्दै जाँदा दाफा समूहहरूमा धेरै किसिमका मालश्री रहेको पाइएको छ। कुनै अहिलेको लोकप्रिय मालश्रीसँग मिल्दा जुल्दा छन् भने कुनै फरक छन्। कुनै त यति फरक छन् कि मानिसहरूलाई सुनाएको खण्डमा यो पनि मालश्री हो र भनेर अचम्म हुन्छन्।
फेरि पनि के बुझ्न जरुरी छ भने मालश्री एउटा राग हो जसबाट धेरै धुन बन्न सक्छन्। तिनै धेरै मालश्री आधारित धुन वा गीतमध्ये एउटा मालश्री आज नेपाली समाजमा लोकप्रिय छ। बाँकी कि दाफा भजनमा निहित छन् कि लोप भइसकेका छन्।
शास्त्रीय संगीतको परिप्रेक्ष्यमा मालश्रीः
दक्षिण एसियाली संगीतको सन्दर्भमा राग भन्ने शब्द प्रयोगमा आएपछि चाहेर या नचाहेर पनि यसको सम्बन्ध शास्त्रीय संगीतसँग जोडिन जान्छ। राग र शास्त्रीय संगीत भनेको एकै सिक्काका दुई पाटा हुन्। रागकै आधारमा विभिन्न संगीत शास्त्र लेखिए र तिनै शास्त्र पालना गरेर राग गाउने, बजाउने गरियो। त्यसैले दक्षिण एसियाली 'क्लासिकल म्युजिक' लाई शास्त्रीय संगीत भनियो।
दक्षिण एसियामा, विशेष गरी भारतमा, धेरै संगीतिज्ञहरूले समसामयिक चलनअनुसार रागका शास्त्र लेखेका छन्। यस्ता धेरै शास्त्रमा मालश्री वा मालवश्री भन्ने रागको व्याख्या गरिएको छ। मालव र श्री भन्ने दुई अरू राग पनि छन्। सम्भवत: त्यही दुईको मिश्रणले राग मालवश्री वा मालश्री उत्पत्ति भएको हुनुपर्छ।
यति भन्दाभन्दै नेपाली मालश्रीलाई राग भनेर वर्गीकरण गर्न त्यति सजिलो भने हुँदैन। प्रायः संगीतिज्ञ र संगीतकारहरू अहिले चलनमा रहेका उत्तर भारतीय र दक्षिण भारतीय शास्त्रीय संगीत पद्धतिलाई मात्र मान्यता दिन्छन्। यी दुई पद्धतिमा नभएका रागलाई खास मान्यता दिँदैनन्। त्यसबाहेक हिन्दुस्तानी शास्त्रीय संगीतमा पहिल्यै एउटा अर्को मालश्री राग छ जुन नेपाली मालश्रीसँग मिल्दैन।
प्रायः जानकारहरूले यही कारण देखाएर नेपाली मालश्रीलाई एउटा साधारण लोक वा परम्परागत धुन भनेर यसको अध्याय समाप्त गरिदिन्छन्। तर हजार वर्षभन्दा पुरानो रागको इतिहास मनन नगरी केवल अहिले चलेको सांगीतिक ज्ञानका आधारमा त्यस्तो वक्तव्य दिनु भनेको अध्ययन र अनुसन्धानको कमी हो भन्दा अतियुक्ति नहोला।
रागको जति पुरानो इतिहास छ, अहिलेको शास्त्रीय संगीतको त्यति पुरानो इतिहास छैन। यसमा धेरै परिवर्तन आइसकेको छ।
उदाहरणका लागि, तेह्रौं शताब्दीमा शारंगदेवद्वारा लेखिएको ग्रन्थ 'संगीत रत्नाकर' मा रागका जे-जति विवरण र नियम दिइएको छ, ती सबै अहिले लागू हुँदैन। न त्यो समयमा गाइने शैली अहिले प्रयोग हुन्छ। पहिलेका र अहिलेको रागमा केवल रागको नाममा समानता छ, अरू कुराले लामो क्रम विकाससँगै नयाँ रूप लिइसकेको देखिन्छ। त्यसैले अहिलेका हिन्दुस्तानी रागसँग नेपाली मालश्री वा अरू कुनै रागको तुलना गर्नु जायज हुँदैन। न त त्यस्तो तुलनाबाट केही उपयोगी परिणाम नै निस्किन्छ।
अर्को एउटा जान्नै पर्ने कुरा के भने, भारतीय भूमिमा मुसलमानहरूको हुकुमत हुँदै गर्दै सबै कुरामा मुसलमानहरूको प्रभाव बढ्दै गयो। मुसलमान सुल्तानहरूको भारतीय संगीतमा विशेष अभिरूचि रहेको इतिहासले बताउँछ। उनीहरूले हिन्दुस्तानी रागको अवधारणालाई बिगारेनन् तर त्यसमा धेरै फेरबदल गरे। अहिलेको परिष्कृत हिन्दुस्तानी शास्त्रीय संगीत तिनै मुसलमानहरूको भारतीय संगीतमा परेको प्रभावबाट बनेको हो।
यसको तुलनामा नेपाली संस्कृतिमा प्रत्यक्ष प्रभाव परेको छैन। यो सबै कुरामा ध्यान दिँदा यहाँको राग र प्रस्तुति शैली हिन्दुस्तानी परिष्कृत शैलीभन्दा अगाडिको शास्त्रीय संगीतको अवशेष त होइन भन्ने एउटा जायज प्रश्न पनि खडा हुन्छ।
सुन्दा अचम्म लागे पनि यो प्रश्नका बलिया आधार छन्। तीमध्ये एउटा आधार गीत गायन र लेखन शैली पनि हो।
शास्त्रीय संगीतमा १२ औं- १३ औं शताब्दीतिर प्रबन्ध नाम गरेको एउटा गायन शैली थियो। प्रबन्ध गीतहरू र मल्लकालीन गीतहरूमा धेरै समानता देखिन्छ। जस्तै, प्रबन्धमा बारम्बार दोहोर्याउनु पर्ने हरफलाई ध्रुव भनिन्थ्यो। यहाँ त्यस्तो हरफलाई धुवा भनिन्छ। प्रबन्धको ध्रुव नै यहाँ अपभ्रंस भएर धुवा भएको हो।
कविले गीतको अन्तिम हरफमा आफ्नो नाम राख्नु प्रबन्ध गीतको अर्को एउटा विशेषता हो। यो पनि दाफा गीतमा सजिलै देख्न सकिने लक्षण हो। यसबाहेक रागको नामांकन ठ्याक्कै मिल्दोजुल्दो हुनु, रागमाला जस्ता चित्रकला र भारतीय रागका शास्त्रहरू यहाँ पनि हुनु जस्ता प्रमाणले दाफा रागको भारतीय रागसँगको सम्बन्धलाई थप बलियो बनाउँछ।
हुन त मल्लकालदेखि चलिआएको दाफा संगीत आफैंमा एउटा अमूल्य सम्पदा हो। यसलाई कुनै शास्त्र र संगीतसँग जोड्न जरुरी होइन। तर माथि उल्लेख गरिएका तथ्यले गर्दा दाफाको दक्षिण एसियाली शास्त्रीय संगीतसँग पहिल्यै एउटा सम्बन्ध रहिसकेको कुरा पनि नकार्न मिल्दैन।
सम्झन के जरुरी छ भने, नेपाली रागलाई प्राचीन रागसँग जोड्न सकियो भने भोलि शास्त्रीय संगीतको गौरवमय इतिहासमा नेपाली संगीतको पनि एउटा महत्वपूर्ण स्थान हुनेछ। दाफा संगीतको गौरवले झन् ठूलो उचाइ लिनेछ। आशा गरौं, यो साल बज्ने मालश्रीले हामीलाई यसको सही मूल्यांकन गर्न प्रेरित गरोस्।