दसैंमा लुगा बुवाले किनिदिँदा रमाइलो कति हुन्थ्यो, मसँग शब्दै छैन।
स्कुलका लागि पनि हुने भनेर गाढा निलो रङको हाफ पाइन्ट र निलै आकाशे सर्ट भागमा पर्थ्यो।
हाफ पाइन्ट पोलिस्टरको अनि सर्ट चाहिँ टेरिकटनको। दर्जीकहाँ सिउन दिइन्थ्यो। सिउन यति ढिलो गर्ने कि अष्टमी-नवमीका बिहान लुगाको पालो कुर्दैमा बित्थ्यो। लुगा तयार भएपछि युद्धै जिते जस्तो मख्ख पर्दै, फुर्किँदै एक घण्टाको बाटो दौडिएर आधा घण्टामै घर पुगिन्थ्यो।
हाफ पाइन्ट र सर्ट नलगाइकनै धेरैपल्ट सुम्सुम्याउँथेँ। पोलिस्टर हाफ पाइन्टको गाढा धर्साहरूतिर आँखा पुग्दा ती सबैले मपट्टि नै फर्किएर हासिरहे झैं लाग्थ्यो।
मनले भन्थ्यो– आहा, कति राम्रो लुगा!
हेर्न ठूलो ऐना थिएन। सुहाउने-नसुहाउने मतलब भएन। बस् लुगा चाहिँ नयाँ पाइयो।
तर जब लुगा लगाइन्थ्यो, हाफ पाइन्टको एकातिरको जाङ्घ साँघुरो वा छोटो हुन्थ्यो। कि त सर्टको बाहुला बिग्रिन्थ्यो। एक वर्ष त सर्टको खल्ती नै गायब!
जे जस्तो होस्, दसैंको लुगा लगाउन पाइयो।
अनि पाऊमा हात्तीछाप चप्पल पनि।
कुनै–कुनै दसैंमा बाटा चप्पल पनि लगाइयो। हात्तीछाप चप्पल बाक्लो तर लगाउन हल्का। बाटा चप्पल चाहिँ निकै गह्रुँगो लाग्थ्यो।
जे भए पनि जब दसैंको त्यो लुगासँगै चप्पल लगाइन्थ्यो, हिँडिन्थ्यो टोलभरी डुल्न। टोलका साथीहरूको पनि उस्तैखाले पहिरन अनि चप्पलको पड्काइ पनि उस्तै। एकले अर्कालाई मनमनै दाँज्यो, खुसि भयो।
बस् एवं रितले दसैं सकिन्थ्यो। त्यही पहिरन विद्यालय खुलेपछि पोशाकका रूपमा लगाइन्थ्यो।
कहिलेकाहीँ झरी दसैं हुँदा हात्तीछाप चप्पल बडो दुश्मन हुन्थ्यो। त्यसले उछिट्याएको हिलोले नयाँ लुगा त के मेरो टुप्पीलाई पनि हिलाम्य बनाउन भ्याउँथ्यो।
बेँशीमा थियो पानी मिल। माथि खेतको डिलदेखि तल लामो फलामे डुँडमा कुलोभरिको पानी जोडले बग्ने। दसैं आउनु १५ दिन अघि गाउँलेहरूलाई चिउरा कुट्नै चटारो। गाउँदेखि बेंशीको मिलसम्म चामल र चिउराका लागि धान कुट्नेको लावालस्कर। पालो नपाउँदा कोहीको रातभरी नै मिलमै बास हुन्थ्यो।
मिलमा नयाँ धानको ओइरो। चिउराको मगमग बासना। अझ बासमती धानको बासनाले मनै हरर!
तोरीको तेलले कसको मन हर्दैनथ्यो र। भर्खरै पानी मिलमा धान कुटेर ल्याएको चामलको भात। स्वादको त कुरै नगरौं।
मलाई सबैभन्दा रमाइलो त डुँडबाट बेगले झरेको पानी लाग्थ्यो। अझ त्यो पानी मिलको घरभित्र छिरेर घरभित्रैको कुलो हुँदै बाहिरिएको देख्दा गजबै लाग्थ्यो। डुँडको त्यस बेगवान पानीको शक्तिबाट एकैपटक चामल, चिउरा र तोरीका मिल चल्थे। मिल घुमाएपछि चाहिँ विस्तारै बग्थ्यो पानी।
घर सिँगार्न पहिराका खोंचहरूमा कमेरो (सेतो माटो) खन्न गइन्थ्यो। रातो माटो ल्याउने ठाउँ बेग्लै। माटो खन्न र बोक्न निकै हम्मे हुन्थ्यो। खन्न भनेर पटुकीमा खाजा लिएरै गाउँलेहरू लस्करै जान्थे र त्यो समूहमा म पनि मिसिन्थेँ।
एक साल माटो खन्न गएकाहरू पुरिएर गाउँलेहरूले उद्धार गरेको घटना पनि अलिअलि याद छ। कमेरो र रातो माटो घरमा ल्याइसकेपछि खड्कौंलामा बेग्लाबेग्लै भिजाइन्थ्यो। मलाई माटो भिजाउन साह्रै अल्छी लाग्थ्यो। जब माटो भिज्थ्यो, बाबियोको कुचोले भित्तामा छ्यापिन्थ्यो। मन फुरुङ्ग त त्यति बेला हुन्थ्यो, जब छ्यापिएका कमेरो र लिपिएका रातो माटो सुकेर घर चिटिक्क देखिन्थे।
पारिपट्टि देउरालीमा सानो पीपलको बोट थियो। घरको झ्याल उघारी हेर्दा जब त्यहाँ पिङ मच्चिन्थ्यो। बल्ल खास दसैं आएछ भन्ठान्थेँ म।
खोइ के लुगा लगाउँथे कुन्नि! बिहानीको कलिलो घामको किरण ती पिङ मच्चाउनेको ढाडमा ठोक्किँदा त्यसको चमक वारिसम्मै टल्कन्थ्यो। घर्तीको चौरमा नवमीका दिन कोतदेवी मन्दिरबाट ओर्लिँदा छुट्टै रोमाञ्च थपिन्थ्यो। बालकदेखि बुढासम्म पिङमा मच्चिन तम्सिरहेका देखिन्थे। त्यो विशाल सल्लाको रुख पिङ खेल्नेहरूको ‘सरर चचहुई...’ को आवाजसँगै झनै सुसाउँथ्यो। पिङ थामिदिने देउरालीको त्यो पीपल र घर्तीका चौरको सल्लाको रुख अब इतिहासका भइसकेका छन्।
टीकाको दिन बेग्लै अनुभव हुन्थ्यो। आफ्नै टोलमा भन्दा नातेदारकहाँ जान हतारिएका देखिन्थे वल्लाघरे–पल्लाघरे। कोही ससुराली, कोही मामाघर।
साना केटाकेटीमा पनि म चाहिँ टोलमै भए पनि टीका थाप्न मजा मान्थेँ। अक्षता र जमराको बासना मिसिएर अर्काे नयाँ सुगन्ध आउँथ्यो। त्यो नै मलाई दसैंको खास बासना लाग्थ्यो।
टीका लगाइदिँदा सानो निधारमा धेरै अक्षता लगाइदिन्थे। तर पहिरो लडे झैं सबै खस्ने। एउटा पनि नअडिने। आकाशे निलो सर्ट एकछिनमै राताम्मे भइहाल्ने।
समय बदलिएको छ र पनि बदलिएको छु। त्यो बालपनको खुसी म यो उमेरमा सम्झनाका शिला–शिलामा खोजिरहेछु– आहा, त्यो दसैं। सानो प्राप्तिमा पनि धेरै खुसी बनेको त्यो क्षण। त्यो पोलिस्टरको गाढा निलो हाफ प्यान्ट, आकाशे सर्ट, हात्तीछाप चप्पल अनि मलाई ‘न्यू पिन्च’ गर्ने साथीहरू!