'ओहो! अनुहार कस्तो फोहोर भएको?'
'पहिला त सफा थियो, अहिले के भयो?'
'के साह्रो अनुहार बिग्रेको?'
'बहिनीको त आएको छैन त, तिम्रो चाहिँ के भयो?'
'अझै गएन है अनुहारको त्यो दाग?'
यस्तै अनगिन्ती प्रस्नहरुले म आफ्नी दिदीलाई सधैँ घेरिएको पाउथेँ। मैले मात्र नभई यी प्रश्नहरु दिनानुदिन हामी सबैले कसै न कसै माथि तेर्स्याइएको सुनिरहन्छौँ। आज यो सुन्ने सुनाउनेको क्रमलाई भंग गर्न भनेरै यो लेख लेख्दैछु।
डन्डीफोर अर्थात् एक्नी। बोलिचालीको भाषामा भन्दा अनुहारमा फोहोर। तथ्यांक नै हेर्ने हो भने डन्डीफोर विश्वमै सर्वाधिक देखिने छालाको रोगमध्ये एक हो। संसारका झन्डै १०% मानिसमा देखिने यो रोगका कारण, उपचार, रोकथाम बारे अनगिन्ती खोज, अनुसन्धान र लेखहरु प्रकाशन नभएका हैनन। तर आज यस लेखमा डन्डीफोरको चिकित्सकिय पाटोभन्दा पनि सामाजिक पाटो केलाउन मन लाग्यो।
करिब पाँच वर्ष लामो मेरो चिकित्सक शिक्षा अध्ययनको क्रममा मैले डन्डीफोर पीडित थुप्रै मान्छेहरु देख्न पाएँ। हुन त यो मेरो लागि नौलो विषय पनि हैन। आफू सानो हुँदादेखि आफ्नी दिदीको गालामा देखा परिरहने ती डन्डीफोरले मलाई नगिज्याएका होइनन्। दिदीका ती ठूल्ठूला गाला छ्याप्पै छोप्ने गरी निस्किएका गाठाँरुपी डन्डीफोरले दिदीको किशोरावस्थालाई कहिल्यै रमाइलो बनाएन। हाँस्दा-हाँस्दै डन्डीफोर दुखेर कहिलेकाहीँ तपक्कै आसुँ चुहाउथीँ मेरी दिदी। म मनमनै सोच्थेँ 'कति दुख्दो हो!' तर यो सब घटनाको एक दशकपछि डन्डीफोर बारे मेरो बुझाइ भिन्न भएको छ।
डन्डीफोरले डन्डीफोर आउनेलाई हैन, डन्डीफोर नआएको समाजलाई बढी दुख्छ। किन भन्दा डन्डीफोरले पीडित व्यक्तिभन्दा पनि बढी समाज आक्रान्त छ। हो, समाजलाई 'डन्डीफोरफोबिया' छ।
आउँदो डन्डीफोरसँग बाहिरी मान्छेको बढ्दो टिकाटिप्पणी, निमोठिँदो आत्म्-विश्वास अनि आफूप्रति अरुको बदलिँदो नजरिया! वास्तवमा भन्दा डन्डीफोरसँग जुधिरहेका व्यक्त्तिहरु रोग सँगसँगै समाजको बदलिँदो आचरणसँग पनि जुधिरहेका हुन्छन्। हेर्दा 'छाला' मान्छेको बाहिरी आवरण मात्रै हो। तर यो आवरणले मान्छेहरुको मन-मस्तिष्क भित्रको आत्मबल अनि आत्मविश्वासलाई समेत छिचोलेको हुन्छ।
अन्तत: यही कुरालाई आड लिएर संसारका ठूल्ठूला स्किनकेयर र कस्मेटिक कम्पनिहरुले हरेक वर्ष बिलियन डलरको व्यापार गर्छन्। नगरुन पनि किन? छालालाई बारम्बार सुन्दरताको परिसूचकका रुपमा व्यख्या गरिकन हाम्रो समाज अनि मल्टी-मिलियन डलर मेकअप र स्किनकेयर कम्पनीले 'मुलायम, कोमल अनि तथाकथित सफा छाला' हाम्रो सुखी जीवनका लागि अपरिहार्य हुन भने स्थापित गरिदिइसकेका छन। अनि यो सब हुने क्रममा डन्डीफोरजस्ता छाला रोगले पीडितहरुप्रति समाजको बदलिँदो नजिर समेत स्थापित भइसकेको छ।
रोग चाहे जति नै सामान्य भए पनि त्यस्को प्रभाव एउटा मान्छेको जिन्दगीको कैयौँ पाटाहरुसम्म पुगेको हुन्छ। कुनै व्यक्ति कहीँ समाजमा कतै कसैसँग गएर घुलमिल हुनु अगावै ऊभन्दा अगाडि उसको अनुहारमा आएका डन्डीफोरको चर्चा परिचर्चाले उसलाई मानसिक अनि सामाजिक रुपमा कतिको आघात पुर्याउला? सोच्नुपर्ने कुरा छ।
संसारमा गरिएका कैयौँ रिसर्चमा देखाइएअनुसार डन्डीफोरले पीडित व्यक्तिहरु सामजिक सम्बन्ध बढाउन त्यति अग्रसर नहुने साथै आफ्नो दैनिकीमा समेत अनेकको नराम्रो टिकाटिप्पणीका कारण मानसिक अनि सामजिक रुपले अश्वासथ महसुस गर्ने गरेको पाइएको छ। चिकित्सकीय भाषामा भन्नु पर्दा यस्ता कुराले 'जीवन गुणस्तर अर्थात क्वालिटी अफ लाइफ' लाई असर परेको देखाउँछ र यसरी दैनिकी नै प्रभावित गर्ने रोगहरुको भार अन्य रोगको तुलानामा बढी हुने गर्दछ।
अझै कतिपय बेला त डन्डीफोरसँगै आउने अनेक आलोचना र टिकाटिप्पणीको कारण मान्छेहरु एन्जाइटी र डिप्रेसनले हाल-बेहाल भई मनोरोग विशेषज्ञकहाँ समेत पुग्नुपर्ने अवस्था हुन्छ। आखिर डन्डीफोर नै किन? मलाई लाग्दैन डन्डीफोर बाहेक अरु कुनै यस्तो रोग होला जसबारे मान्छेले जहाँ जति बेला पनि अरुलाई घच्घच्याइरहन्छन्।
मेरी दिदी झन्डै एक दशकदेखि यो समस्यासँग जुझिरहेकी छ। काठमाडौँदेखि विदेशसम्मका ठूला अस्पतालदेखि लिएर ठूला डाक्टरहरुका अनेकौँ औषधि, के-के पो गरिएन होला! तर अझै पनि डन्डीफोरको सम्झना-बिर्सना चलिरहेकै छ। यद्यपि पहिला जस्तो नभए पनि डन्डीफोरको सिलसिला भने जारी नै छ। यो दौरान डन्डीफोरको ढाँचासँगै बदलिएको भनेको मेरो दिदीको रवैया हो।
जहिले पढाइमा अब्बल अनि बौद्धिक क्षमताले तिक्ष्ण भए पनि आफ्नो अन्य गुणको अगाडि समाजले उसको डन्डीफोरमाथि गर्ने कटाक्ष उसले पक्कै पनि बिर्सेकी छैन होला। चाहे जे होस्, अहिले मेरी दिदी खुसी छे। किनकि उसले यो दौरान बुझिसकेकी छ कि ‘छालामा आएको कुनै डन्डीफोर कसैको प्रगतिको बाधक होइन।’
उसले बुझेकी छ कि यो डन्डीफोररुपी दीर्घकालीन रोगको उपचार जारी राख्नु जरुरी छ तर यसमाथि गरिने अनेकौँ टिकाटिप्पणीहरु उपर ध्यान राख्न जरुरी छैन भनेर। यही भएर होला आजकल ऊ आफ्ना सबै सोसियल मिडियामा बाँकी रहेका केही डन्डीफोरहरुसँग निर्धक्क हाँसो हाँस्छे। निश्चल अनि चञ्चल!
तर मैले अघि नै भनेको थिएँ नि, 'डन्डीफोरले डन्डीफोर आउनेलाई हैन, डन्डीफोर नआएको समाजलाई बढी दुख्छ' भनेर। त्यसैले होला आज ऊ सात समुद्रपारि आफ्नो जीवनमा मस्त हुँदा पनि कहीँ-कतै जादाँ वा कतै भेटिँदा माननीय आफन्तजन अनि साथिभाइहरुले सोध्न छाडेका छैनन् 'गालाको डन्डीफोर अझै गएन? अनुहारको फोहोर अझै गएन? अनुहार अझै सफा भएन!' म मनमनै सोच्छु 'ए हजुर! उसको सघंर्ष बारे सोध्नुस्, उन्नती प्रगती बारे सोध्नुस्, उसले भविष्यका लागि बुनेका योजनाहरु सोध्नुस्!' तर म केही पनि भन्दिनँ। फिसिक्क हाँसिदिन्छु। किनकि अब मलाई थाहा छ, यिनीहरुलाई डन्डीफोर दुखेको छ भनेर।
डन्डीफोर आफैँमा त्यस्तो जटिल रोग हैन। तर सामजिक आलोचनाले यसलाई जटिल बनाइदिएको छ। यो रोगले पीडितहरुले आफ्नो रोग सँगसँगै समाजले रचेको कपोकल्पित 'ब्युटी स्टाण्डर्ड' सँग पनि कुस्तिबाजी गर्नुपर्छ। नजिकिँदो भविष्यको चिकित्सक भएको नाताले म सबैमा यो आग्रह गर्न चाहन्छु कि कुनै पनि रोगमाथि अनावश्यक टिकाटिप्पणी नगरौँ र यस्ता माहोलका सहभागी पनि नबनौँ।
सकिन्छ अरुको मनोबल बढाऔँ तर सकिँदैन भने अरुको मनोबल गिराउने काम भने पटक्कै नगरौँ। समाजको डन्डीफोरफोबिया हाम्रो नेपाली उखान जस्तै हो 'आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने।' हामी अरुको मुहारको डन्डीफोर त देख्छौँ तर आफूलाई त कहिल्यै केही हुँदैन जस्तो गरेर अरुमाथि जानीजानी गरेको अट्टहास देख्दैनौँ।
यो दीर्घकालीन रोग हो। निको हुन समय लाग्छ। हामीलाई थाहा छ तर जानिजानी अगाडिको मान्छेलाई सोध्न भने छाड्दैनौँ। किनभने हाम्रो यो फोबिया बडा गज्जबको छ। आफूलाई कहिले यस्तो रोग आइलाग्ला कि भन्ने सोचबाटै टाढा भाग्ने हामी अरु कोहीलाई डन्डीफोरसँगै देख्यौँ भने जाइलाग्न छाड्दैनौँ।
यो लेखमार्फत म मेरो साथसाथै हरकोहीका आफन्तजन र साथीभाइलाई बुझाउन चाहन्छु भने बारम्बार तपाईंले तेर्स्याउने प्रश्न अनि गर्ने टिप्पणी र निन्दाले यो रोग निको हुँदैन। अनि यो डन्डीफोर हो, फोहोर हैन। सोच बदलौँ, छाला, समाज अनि देश आफैँ बदलिनेछ।
(लेखक नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।)