मानिसको उमेर छिप्पिँदै जाँदा अनुभव धेरै हुने र व्यावहारिक ज्ञान बढ्ने भए पनि उसको बौद्धिक क्षमता कम हुन्छ भन्ने मान्यता छ। उमेर खाइसकेका व्यक्तिहरू कार्यक्षमतामा पनि कमजोर हुँदै जान्छन् भनिन्छ। तर, कुनै–कुनै समुदायमा, परम्परागत मान्यता र मूल्यअनुसार चल्नेहरुमा जति–जति पाको उमेर भयो, उति सक्षम मानिन्छ।
आधुनिकताबाट अलग रहेर जीवनशैली अपनाउने कतिपय आदिवासी समुदायमा उमेर छिप्पिएको व्यक्तिलाई वरिष्ठ मानेर मात्र हैन कि क्षमतावान, अनुभवी र बुद्धिमान ठानेर विशेष आस्था र सम्मान गरिन्छ। हाम्रो देशमा पनि कुनै–कुनै जाति, समुदाय या समूहमा सबैभन्दा बूढोलाई समूहको ‘थकाली’ मानेर उसैको आदेश र रायलाई अन्तिम फैसला मानिन्छ।
उमेर छिप्पिएका व्यक्तिको मस्तिष्कले ढिलो र विस्तारै काम कम गरे पनि परिपक्व निर्णय लिन्छ र खतरा मोल्ने बानी कम हुन्छ। बोल्दा आवेश र वेग कम हुन्छ। तर, शब्द चयन र वाक्य बनावट गहकिलो हुन्छ। एक पटक निर्णय लिइसकेपछि धरमराउँदैन र निर्णयमा अडिग हुन्छ। जवान र पाको मस्तिष्कबीच यस्ता केही सूक्ष्म फरक छन्। तर, अहिलेको विकसित सभ्यतामा भने त्यसको ठीक उल्टो चलन छ।
समाजले नै मानिससलाई बुढ्यौलीमा कमजोर ठान्ने सोच स्थापित भइसकेको छ। तर, वास्तविकता भने केही फरक छ। भनिन्छ, हामी जीवनभरिमा सम्पूर्ण मस्तिष्कको ऊर्जाको सानो अंश मात्र प्रयोग गर्छौं। जीवनभर प्रयोगमा ल्याएको मस्तिष्कको शक्ति, क्षमता भण्डारणको ढकनी नखुली बन्द अवस्थामै मान्छेको मृत्यु हुन्छ र शरीरसँगै नाश हुन्छ।
तर हामीले उमेर ढल्किसक्यो, बूढो भइयो, खासै केही गर्न सकिएन, भ्याइएन भनेर हरेस खानु जरूरत छैन। बरू पारिवारिक जिम्मेवारी र व्यावसायिक दायित्वबाट मुक्त भएपछि अझसम्म प्रयोगमा नआएको विशाल क्षमता भण्डारलाई स्वतन्त्र रूपले क्रियाशील गर्न सकेमा पहिलाभन्दा अझ सिर्जनशील बन्न सकिन्छ। तर, सधै जीवनको रेखा यसरी कोरिँदैन। यसमा उमेर छिप्पिएपछि लाग्ने एउटा विशेष रोग डिमेन्सियाले बाधा हाल्छ।
तीन दशक अघि मैले नेपालमा काम गर्न सुरु गर्दा यस्ता रोगी खासै भेटिँदैनथे। हाम्रो समाजमा सायद खान–पान, रहन–सहन र आनुवंशिक कारणले यो कम भएको होला भन्ने लाग्थ्यो। तर, आज त्यो अवस्था छैन। हामी प्राय प्रत्येक दिन डिमेन्सियाका बिरामी परीक्षण गरिरहेका हुन्छौ। अहिले औसत आयु लामो भएकाले पनि यस्ता रोगीको संख्या बढेको हुनुपर्छ। साथै उच्च रक्तचाप, मधुमेह जस्ता मस्तिष्कलाई प्रत्यक्ष प्रभाव पार्ने रोग बढ्न थालेपछि तिनीहरुले पनि डिमेन्सिया हुन सहयोग पुर्याउँछन्।
डिमेन्सियाबाट प्रभावित व्यक्तिको अवस्था नाजुक र दयनीय देखिन्छ। उनीहरु परीक्षण कोठामा पसेपछि मैले अभिवादन गर्दै ‘बस्नोस्’ भने पछि अगाडि खाली कुर्सी हुँदाहुँदै कता बस्ने भन्ने मेलो पाउँदैनन्।
संवाद गर्न थालेपछि ‘अँ ठीक छ’ भन्दै प्रश्नकर्ताको केही प्रश्नको भाग दोहोर्याएर बिनाकारण हाँस्न थाल्छन्। अक्सर जानकारीसहितको उत्तर दिनुपर्यो भने बिना अर्थको सर्वनाम शब्द प्रयोग गर्छन्। यस्ता समस्या हुँदा समयमा देखिने एउटा छोटो प्रतिनिधि संवाद यस्तो हुन्छ।
डाक्टर: तपाईँको नाम के हो ?
रोगी: मेरो नाम रामप्रसाद हो।
डाक्टर: कति वर्ष हुनुभयो ?
रोगी: कति वर्ष? त्यै त हो नि!
डाक्टर: तपाईंको घर कहाँ हो ?
रोगी:त्यहीँ हो।
डाक्टर:आज खाना के खानुभयो ?
रोगी: त्यै....
यसरी प्रायः एउटै शब्दले उत्तर दिने, आफन्तलाई पनि नचिन्ने, समय र स्थानको ख्याल नहुने अलि कडै अवस्थाको रोग हो। तर, सबै रोग यस्तै खाले हुँदैनन्। अक्सर डिमेन्सिया सुरु हुँदा कुनै कुरा बिर्सने तर सम्झाइदिएपछि चाहि याद गर्ने हुन्छ। तर, यो बिर्सने बानी बढ्दै जान्छ। हुँदाहुँदा टोल छिमेकबाटै आफ्नो घर आउन नसक्ने, कोठा फेला नपार्ने, पारिवारका मानिस नचिन्ने, साविकको दैनिकी पालना गर्न नसक्ने हुन्छ। सुरुमा स्मृति मात्रै हराउँदै गए पनि पछि गएर भाषा कमजोर हुने, शब्द–कोष हराउने, सिकी राखेको बानी सबै भुल्ने हुन्छ।
पाको उमेरमा देखिएको व्यापक बौद्धिक ह्रासलाई डिमेन्सिया भनिन्छ, डिमेन्सियाको कडा रूप अलजाइमर्स हो।
यो रोगबाट पीडित कतिपय बिरामिले बचपन र किशोरावस्थाको मात्र याद गर्ने र पछि हालसम्मकै कुरा बिर्सिने गर्छन्। घरमा परिवार सहित बसिरहेका बेला ‘मलाई मेरो घर लगिदेओ’ ‘यो घर मेरो हैन’ ‘कहाँ ल्यायौ ?’ भनेर झगडा गर्छन्।
डिमेन्सिया भएकी एक महिलाले परिवारका कसैलाई पनि चिन्दिनथिन्। परिवारले जसोतसो उनलाई सम्हालेर स्याहार गरिरहेका थिए। श्रीमान्मा बढी नै जिम्मेवारी आएको थियो। परिवारका अरू सदस्य काममा व्यस्त हुनुपरेको र रोगीको रेखदेख गर्ने मुख्य जिम्मा श्रीमान्कै थियो। ‘विवाह गरेदखि यो रोग नलागेसम्म यसले मेरो सेवा गरेकी थिई, अब त्यो ऋण चुकाउन पनि मैले नै यसको स्याहार गर्नुपर्छ’ भन्ने उनको सोचाइ थियो। तर, महिलाको स्मरण शक्ति पूरै क्षीण भएकाले उनले श्रीमान्लाई अपरिचित व्यक्ति बिछ्यौनामा सुत्न आयो भनेर पिटेर धपाउने, चिच्याउने गर्न थालिन्। उनको यो व्यवहार अति भएपछि श्रीमान् अर्को कोठामा गएर सुत्नुपर्ने भयो।
उच्च रक्तचाप, मधुमेह, टाउकोको चोटपटक जस्ता शारीरिक रोगको प्रभावबाट देखापरेको डिमेन्सिया केही हल्का खालको हुन्छ। यो रेखदेख गर्न सजिलो हुन्छ। बौद्विक ह्रास भए पनि व्यक्तिका सम्पूर्ण आयाम क्षीण हुँदैनन्। तर, कारणबिना नै मस्तिष्क आफैँ सुक्दै र खिइँदै गएर पैदा हुने डिमेन्सिया गम्भीर हुन्छ। यसले बिरामीको परिवारलाई ठूलो चुनौती दिन्छ। किन र कसलाई यस्तो रोग लाग्छ भन्ने पहिल्यै भन्न सकिँदैन।
तीन दशकअघि बेलायतको चर्चित र शक्तिशाली प्रधानमन्त्री मार्गरेट थ्याचर र उनैका समकालीन अमेरिकाका चर्चित राष्ट्रपति रोनाल्ड रेगन पनि अलजाइमर्सबाट पीडित थिए।
उमेर बढ्दै गएपछि डिमेन्सियाको सम्भावना पनि बढ्दै जान्छ। ६० वर्षदेखि ७० वर्षका व्यक्तिको समूहमा यो औसत १ देखि ५ प्रतिशतसम्म हुन्छ भने ७० देखि ८० वर्षमा २० प्रतिशत र ९० देखि १०० वर्षमा झन्डै ४० प्रतिशतसम्म देखा पर्छ। १ सय वर्षमाथिका व्यक्तिमध्ये आधाजति डिमेन्सियाबाट पीडित हुन्छन्।
अक्सर डिमेन्सिया पुरूषमा भन्दा महिलामा बढी देखिन्छ। डिमेन्सिया हुनमा अनुवंशिक र शरीर तथा मस्तिष्कको बनावट मुख्य रूपले जिम्मेवार छ। अस्वस्थ खानपान, धूमपान, मद्यपान र निष्क्रिय जीवन शैलीले डिमेन्सिया सम्भावना भएका व्यक्तिलाई छिटो लाग्ने निम्तिन सक्छ। शारीरिक व्यायाम गर्ने, सामाजिक रूपले सक्रिय, मित्रहरुबीच निरन्तर घुलमिल हुने, लेखपढमा व्यस्त हुने, नयाँ भाषा सिक्ने र चेस, बाघचाल, क्रस–वर्ड जस्ता दिमागी खेलमा संलग्न हुने जस्ता कुराले डिमेन्सिया पछि धकेलिन्छ। यस्ता क्रियाकलापले रोग लाग्ने समय पछि घचेटेर निकै ढिला गराइदिए भने त्यस बेलासम्म हामी जीवन चक्र घुमिसक्छौ र डिमेन्सियाले नभेट्टाउन पनि सक्छ।
डिमेन्सियाका बिरामीलाई उचित सेवा दिने स्थान नहुनाले तिनीहरु परिवारका लागि ठूलो चुनौती बन्दैछन्। यो समस्याले पश्चिमा मुलुकमा अझ गम्भीर रूप लिएको छ। यसको सफल उपचारको र रोकथामको कुनै उपाय नभएकाले पनि स्थिति अझै जटिल बनेको छ।
कोलम्बियामा एउटा यस्तो परिवार छ, जसमा एउटै परिवारमा संसारका सबैभन्दा बढी अल्जाइमर्सका रोगी रहेछन्। कोलम्बियाको मेडेलिनको दुर्गम पहाडी गाउँमा बसोबास गर्ने पाँच हजार संख्याको ठूलो बृहत् पारिवारिक समूहका व्यक्तिमा एउटा विशेष विकृत (नभलभतष्अ mगतबतष्यल ) जीन फेला परेको छ। यसको कारण ४५ देखि ५० वर्षकै उमेरमा उनीहरुमा गम्भीर खालको अल्जाइमर्स सुरु हुन्छ। अझै रोगले नछोएका तर भविष्यमा यस्तो रोग लाग्ने खतरा भएका यी व्यक्तिमाथि एउटा औषधिको प्रयोग हुँदैछ। तिनीहरुको रोग रोकथाम हुन सक्यो भने त्यो काम अल्जाइमर्सको उपचारमा कोसेढुंगा सावित हुन्छ। हुन त त्यस प्रकारको पूरै अनुवंशिक कारणले ४५ वर्षमै लाग्ने खालको अल्जाइमर्सको संख्या न्यून छ। अधिकांशमा यो समस्या ६५ वर्षपछि सुरु हुन्छ। तर, यो औषधिको प्रयोग सफल भयो भने अल्जाइमर्सबारे धेरै कुरा थाहा हुन्छ र भविष्यमा सफल उपचारको खोजी गर्न सजिलो हुनेछ।
निष्कर्शमा
सबैखाले डिमेन्सिया र अल्जाइमर्समा अझै प्रभावकारी उपचार नभएपनि स्वस्थय खानवपान सक्रिय जीवन शैली र निरन्तर बौद्धिक अभ्यास यो रोग लाग्ने उमेर लाई पछि धकेल्न सकिन्छ।