झन्डै ३ वर्ष न्युसाउथवेल्स राज्यको राजधानी सिड्नी बसेर भिक्टोरियाको सेफर्टन बसाइ सरेकी कृष्णा सिटौला पेशाले नर्स हुन्। रजिस्टर नर्स कृष्णाले गोलवन भ्याली अस्पतालमा काम त पाइन् तर उनलाई सबैभन्दा ठूलो समस्या आवत जावतकै भयो।
साथीले केही दिनका लागि छोड्ने र लिन आउने गरे पनि सधैं सम्भव भएन। श्रीमानको र उनको काम एउटै समयमा भएपछि श्रीमानको सहयोग पनि नहुने भयो। ‘आफूलाई गाडी चलाउन आउँदैन, काममा पनि जानैपर्यो’, सिटौलाले भनिन्, ‘अहिले काम नजिकै घर खोज्दै छु, घर पाउन यहाँ अर्को महाभारत छ।’
३ वर्ष अगाडि उच्च शिक्षाको लागि नेपालबाट तस्मानिया राज्यको होर्बट आएकी दिपा अधिकारीले बस्नका लागि आवास नै पाइनन्। साथीको घरमा केही दिन बसेपछि उनी बल्लबल्ल क्याराभान पार्कमा बस्न पाइन। क्याराभानमा शुल्कको कुरा गर्नै परेन। महंगो छ भन्ने सबैलाई थाहा छ।
४ वर्ष अगाडि अष्ट्रेलियाको डार्बिन टेरिटोरीमा उच्च शिक्षाको लागि आएकी दिक्षा खरेलको पीडा पनि उस्तै छ। ४ महिनाभन्दा धेरै समय त उनले काम नै पाइनन्। बायोडाटा बोकेर सहरका हरेक पसल चाहारेको सम्झँदा उनी अहिले पनि भक्कानिन्छिन्।‘काम छैन, फि तिर्ने कसरी?’
सिटौला, अधिकारी र खरेलले पाएका सास्ती अष्ट्रेलियाको ग्रामिण भेगमा बस्ने अधिकांशको साझा भोगाइ हो। अष्ट्रेलियाका ग्रामिण भेगमा कतै कामको अवसर पर्याप्त छ तर सार्वजनिक यातायात चुस्त छैन। कतै कामकै अभाव छ। अनि धेरैजसो ठाउँमा बासकै समस्या।
सिड्नी, मेलबर्न, वृजबेन अष्ट्रेलियाका अत्याधुनिक र सुविधासम्पन्न सहर हुन्। यी सुविधासम्पन्न सहरमा बसेर समग्र अष्ट्रेलियाली जीवनको अनुमान गरियो भने त्यो गलत हुन्छ। सामान्यतया ग्रामिण क्षेत्र भन्ने वित्तिकै कम विकास भएको स्थान भन्ने बुझिन्छ। तर अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा विकासका पूर्वाधारको अभाव छैन। यद्यपी पर्याप्त भने होइन। शिक्षा, खानेपानी, सडकको र स्वास्थ्यको समस्या नभए पनि ठूला ठूला विकासका पुर्वाधार भने ग्रामिण भेगमा छैनन्। भएका पनि नगन्य छन्।
मुख्य शहरमा भीडभाड र कोलाहाल बढ्न थालेपछि अष्ट्रेलिया सरकारले ग्रामिण भेगको अर्थतन्त्र उकास्न र शहर विकास योजनालाई अगाडि बढाउन विस्तारै ग्रामिण क्षेत्र लक्षित नीति निर्माणमा ध्यान दिन थाल्यो। अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गरेका र यहीँ बस्न चाहने दक्ष जनशक्तिका लागि सरकारले गाम्रिण भेगमा बसेर निश्चित समय काम गर्नैपर्ने बाध्यकारी नियम ल्यायो। र अष्ट्रेलियामा आफ्नो भबिष्य देख्नेका लागि ग्रामिण भेगमा जानैपर्ने भयो।
अष्ट्रेलिया पूर्णसंघीयताको अभ्यास गरेको मुलुक हो। ६ वटा स्टेट र २ वटा टेरिटोरी रहेको अष्ट्रेलियाको स्टेट अनुसारको आफ्नै नियम छ, कानुन छ। अन्य स्टेटको तुलनामा तास्नमानियाले स्थायी बसोबासका लागि इमिग्रेसन पोलिसि सजिलो बनाएको छ। तास्मानिया अष्ट्रेलियाको एउटा सुन्दर टापु हो।
नर्दन टेरीटोरी, डार्बिन, एडिलेडलगायतका ग्रामिण भूभागमा विश्वभरबाट आएर विद्यार्थी पुगेका छन्। शैक्षिक परार्मशदातालेसमेत तास्मानिया जान सुझाव दिएका कारण उनीहरु तास्मानिया आउने गरेका छन्। तास्मानियाको होबार्टमा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको र झन्डै २ वर्ष होबार्टमा बसेका कारण पंक्तिकारले तास्मानियाको बारेमा अलिक बढी केन्द्रीत भएको हो।
सानो तर प्रकृतिको अनुपम उपहार होबार्ट विद्यार्थीका लागि मात्रै हैन पर्यटकका लागि पनि आकर्षक स्थान हो। घुम्नका लागि तास्मानिया जति सुन्दर छ तर यसको राजधानी होबार्ट लामो समय बस्न आउने विद्यार्थीका लागि भने निकै कष्टकर छ। ग्रामिण भेगका सुन्दर र सुविधा सम्पन्न स्थानमध्ये होबार्ट उत्कृष्ट स्थानमा पर्ने भए पनि बेरोजगारीको समस्या मुख्य छ।
दुई तीन वर्षदेखि बेरोजगार भएर बस्ने धेरै नेपाली होबार्टमा भेटिन्छन्। दक्षता नभएकाको हकमा होबार्टमा काम पाउन निकै नै मुश्किल छ। त्यसो त कोरोना संक्रमणका कारण अष्ट्रेलियामा कामादारको अभाव चरम छ र होबार्ट पनि योबाट अछुतो नरहेका कारण अब काम पाउने सम्भावना भने विस्तारै बढ्ने देखिन्छ। कामका लागि होबार्टमा समस्या भए पनि अष्ट्रेलियाका अन्य ग्रामिण भेगमा कामको समस्या छैन। नर्दन टेरीटोरी, डार्बिन, एडिलेड, न्युसाउथवेल्स भिक्टोरियाका ग्रामिण भेगमा बृद्ध स्याहार केन्द्र, वेयर हाउस, ग्रोसरी सप, अस्पताल, क्याफे रेष्टुरेन्टहरुमा काम गर्ने अवसर पर्याप्त छ। ग्रामिण भेगमा अनुभव नै नभइकन पनि कृषि फामहरुमा सजिलै काम पाइने गरेको छ।
केही ठाउँलाई अपवाद मान्ने हो भने अष्ट्रेलियाको ग्रामिण भेगमा कामको समस्या देखिँदैन तर जनरल फिजिसियन अर्थात जिपीको समय पाउन भने अधिकांश ग्रामिण भेगमा निकै मुश्किल छ। जिपीको समयका लागि कतिपय ग्रामिण भेगमा १ हप्ता अगाडिदेखि नै बुक गर्नुपर्ने बाध्यता छ। जिपीको अनुमति विना थप उपचार गर्न नपाइने अष्ट्रेलिया सरकारको नियमका कारण सामान्य विरामी हुँदा पनि सिधै इमरजेन्सी जानुपर्ने बाध्यता ग्रामिण भेगमा बस्नेका लागि नियती नै बन्न पुग्छ।
जिपीको समस्यासँगै सार्वजनिक यातायातको पहुँज सहज नहुनु अर्को समस्या हो, ग्रामिण भेगको। निजी सवारी साधन बीनाको ग्रामिण भेगको जीवन असाध्यै कष्टकर छ। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक सवारी साधन सञ्चालन हुन्छ, त्यो पनि हरेक १५ मिनेटमा। ट्याक्सी, उबर पर्याप्त मात्रामा उपलब्ध हुँदैनन्। रात्रीकालीन समयमा उबर र ट्याक्सी पाउन निकै मुश्किल छ। न्यु साउथ वेल्स र भिक्टोरियाको मुख्य शहर सिड्नी र मेलर्बन जोडिन ग्रामिण स्थानबाट रेल सञ्चालन भए पनि स्थानीयस्तरमा त्यसको प्रभावकारीता छैन।
आवासको समस्या अष्ट्रेलियाको ग्रामिण भेगको अर्को चुनौती छ। अधिकांश ग्रामिण भेगमा आवासको समस्या देखिन्छ। सीमित घर, विद्यार्थी र कृषि कामदारको बढ्दो संख्याको कारण घर पाउन निकै मुश्किल छ। भिक्टोरियाको सेपर्टनमा एउटा घरको लागि कम्तीमा ४१ वटासम्म आवेदन पर्ने गरेको योगंस एण्ड को रियल स्टेटका एजेन्टले पंक्तिकारलाई बताएका थिए। घर नपाएपछि सेयर हाउसमा बस्नुको विकल्प छैन। सेयर हाउसमा बस्नु आफैंमा पीडाजनक छ। एउटा कोठामा तीन जनादेखि ४ जनासम्म कोचिएर बस्नुपर्छ। एउटा मात्र भान्सा र बढीमा २ वटा ट्वाइलेट बाथरूम। सबै ठाउँमा कुर्नु त पर्छनै शुल्क पनि न्युनतम १ सय २० देखि १ सय ६० सम्म बुझाउनुपर्ने अर्को बाध्यता छ। अष्ट्रेलियामा विजिनेस गर्ने सोच कसैमा छ भने ग्रामिण भेगमा घरमा लगानी गर्दा फाइदैफाइदा छ। यस्ता सेयर हाउसहरु भने छ्यापछ्याप्ती फेला पर्छन्, अष्ट्रेलियाका गाउँहरुमा।
रेसिजम अर्को समस्या हो, अष्ट्रेलियामा। रेसिजम न्युनीकरण गर्न अष्ट्रेलिया सरकारलाई ठूलो चुनौती छ। सिड्नी, मेलबर्न बृसबेनजस्ता स्थानहरुमा रेसिजम हुने गर्छ। र रेसिजम ग्रामिण इलाकामा झनै बढी छ।
त्यसो भए गाउँमा समस्या नै समस्या मात्र छ त ? हैन। तपाईलाई सहरको भीडभाड मन पर्दैन र शान्त तनावरहित जीवन विताउन चाहानुहुन्छ भने ग्रामिण भेग तपाईँका लागि बरदान नै साबित बन्नसक्छ। बालबच्चाका लागि विद्यालयका कुनै समस्या छैन। सडकका पुर्वाधार, पिउने पानीमा कुनै सम्झौता गर्न पर्दैन। प्रात तथा रात्रीकालीन पैदल यात्राका लागि सुन्दर पार्कहरु छन्। सामाजिक जीवन ग्रामिण क्षेत्रको अर्को सुन्दर पक्ष हो। सानो बस्तीका कारण एकआपसमा परिचित हुन्छन। अझ तपाईँ मदिराप्रेमी हुनुहुन्छ र पर्वहरुमा जानुहुन्छ भने तपाईँलाई साथी बनाउन केही समस्या हुँदैन। ग्रामिण भेगहरुमा भेजिटेबल फार्महरु प्रशस्त हुने भएकाले एकदमै फ्रेस खानेकुरा उपलब्ध हुन्छ। अझ भनौं तपाईँ बारीमा नै गएर तरकारी किन्न सक्नुहुन्छ।
गाउँ आउँदा के कुरामा ध्यान दिने ?
मुख्य सहरबाट गाउँ जानु अगाडि बस्ने व्यवस्था गरेर मात्र जानु बुद्धिमानी हुन्छ। निजी सवारी साधन भयो भने गाउँको जीवन अति नै सहज हुन्छ। आफूले काम गरिरहेको ठाउँको शाखा तपाईँ जाने ठाउँमा छ भने सकेसम्म कामबाट सरूवागर्दा कामको तनाव पनि भएन। त्यसो त कृषिमा काम गर्ने हो भने सजग हुनैपर्छ।
कन्ट्याक्टरको नाममा धेरैको श्रम शोषण हुने गरेको छ। सकेसम्म सम्बन्धित कम्पनीमा नै गएर काम गर्दा श्रम शोषण हुँदैन। भोलि अप्ठेरो पर्दा कानुनी संस्थाको सहयोग मिल्ने छ। त्यसैले पीआर पाउने आशमा बुझ्दै नबुझी गाउँ जाँदा दुःख पाइनसक्छ। सबै सोचविचार गरेर ग्रामिण क्षेत्र जाँदा भने जीवन सहज नै हुन्छ।