बिहानी पखको झुल्के घामको न्यानो ताप लिँदै कोठाको बाहिर बार्दलीमा बसिरहेको थिएँ।
कर्णाली राजमार्गको आडमा जोडिएको घरमा मेरो डेरा थियो। म आफ्नै सुरमा थिएँ। दसैंको चहलपहल बढेसँगै राजमार्गमा सवारीसाधनको ओहोरदोहोर पनि बढिरहेको थियो। बिहानको लगभग ८:३० बजिसकेको थियो।
नेपालगञ्जदेखि मुगुका लागि छुटेका २ वटा बस आइपुगे र त्यही म बसेको घर अगाडि एकछिन रोकिए। पछिल्लो बसको अन्तिमको २ सिट अगाडि झ्यालको उत्तापट्टिको सिटबाट कसरी उनको नजर घरको तीन तलामाथिको बार्दलीमा पुग्न गएछ। संयोग न त्यहाँ बसबाट झर्ने मान्छे थिए, न त त्यहाँ बसमा चढ्ने मान्छे नै।झ्यालको उत्तापट्टिको सिटबाट बाहिर टाउको ल्याएर उसले दाजु दर्शन भन्यो।
को रहेछ भनेको त फुपूको कान्छो र हामी सबैको आँखाको नानी उही सन्तोष रहेछ। त्यसपछि भएको छोटो कुराकानी उसले भन्यो, 'दाजु अफिस यही हो ?'
मैले भने 'होइन भाइ यो बस्ने कोठा हो।'
'भाइ खाना कता हो ?'
'दाजु भुलभुले'।
यी अधुरा कुराकानी गर्दागर्दै बस गन्तव्यतिर अगाडि बढ्यो। बस उ…ताको डाँडासम्म पुग्दा हेरिरहें।
संयोग म बसेको घरनिरै सब रोक्नु र झ्यालको उत्तापट्टिको सिटबाट उसको नजर घरको तीन तलामाथिसम्म पुग्नु र ती अधुरा भएका कुराकानीले मरो मानसपटलमा घरीघरी कौतुहलता ल्याएर आउँछ र घरिघरि उसले बोलेका ती शब्द स्मरण गराउँदछ।
त्यतिबेला मैले सोचें भाइ म पनि आज आउँदै छु। उतै भेटेर दाजुभाइका भलाकुसारी गरौंला ल ! म आफ्नो अफिसतिर लागें।
दिनको लगभग २:३० बजेतिर मेरो मोबाइलमा फोनको घण्टी बज्यो। फोन घरबाट कान्छो भाइले गरेको थियो।
'दाजु पिनामा बस पल्टिएर धेरै जना मान्छे मरे भन्छन्।'
झस्याङ्ग भएँ, हँ बस पल्टियो ?
'त्यही एउटा बसमा सन्तोष आएको छ त।'
'हो!' भाइ झस्याङ्ग भयो।
मैले भने 'सरोजलाई फोन गरेर बुझ त'।
त्यतिमै फोन राखें र सन्तोषलाई फोन लगाएँ। उसको मोबाइल स्वीच अफ भन्यो।
झन् छटपटी भयो, जिपबाट ३ घण्टाको यात्रापछि घटनास्थल पुग्दा भिरालो ठाँउमा ३ सय मिटर तल खसेको बसका टुक्रा र यात्रुका सामान छरिएर रंगिएको पाखो देखियो।
नजिकैको पिनागाउँ नै शोकमग्न भएको थियो।
अल्लि उता जाँदा झ्यारी, टोप्ला र सिगाडीमा कोलाहल मच्चिएको थियो। जो देखिए र भेटिए आँसुका भेल बगाइरहेका थिए।
फुपूको घरमा जाँदा सबैको आँखामा आँसुको वर्षा र भक्कानिएका मन देख्दा मसँग कुनै शब्द थिएन। म निःशब्द भएँ।
छोरा भनेको आशाको लौरी हो, जो अभावको दुवाली छेक्न सकिने दु:खको उकालोमा टेक्न सकिने। नौ महिना कोखदेखि पालनपोषण र क,ख बाट बि एस सि एजीसम्म पढाउँदा तिम्रै लागि जिउज्यान समर्पण गरेका, आफ्नो ज्यानको प्रवाह नराखी रात, दिन, भोक, प्यास र निन्द्रा नभनी यो अवस्थामा पुर्याउने बुवा आमालाई तिम्रा सपना चुम्ने बेला, तिम्रा उन्नति प्रगतीले प्रफुल्ल हुने बेला, तिम्रो सफलताले हर्ष र खुसीका आँसु आउने बेला बिडम्बना आज सकिँदै गएको बल र घट्दै गएको शरीरमा झन् पीडाको भारी थपेर गयौ। दु:खका आसुको वर्षा र भेल बगाएर गयौ।
प्रिय भाइ, तिमी हाम्रो लागि एउटा चम्किलो सूर्य थियौ। त्यो आज अस्ताएको छ, हाम्रो बगैंचामा एउटा सुन्दर सबभन्दा अब्बल र महँगो फूल थियौ। त्यो आज किन हो कुन्नि झरेको छ।
हाम्रो एउटा सगरमाथाको शिरमा पुग्ने सपना थियो। त्यो सपना तुहिएको छ। हामीसँग एउटा शुद्ध र पवित्र पानीको मुहान थियो। त्यो पानी एउटा ताल बन्छु भन्दै थियो। त्यो तालमा सबै किसिमका जीवजीवाणु र प्राणी आनन्दले रमाउने आशामा थिए र त्यसले सबैको तिर्खा मटाउँछु भन्दै थियो। त्यो पानी सबैको लागि सिँचाइ गर्ने तयारीमा थियो। त्यो पानी धुलोमैलो पखालिने तयारीमा थियो। तर आज त्यो शुद्ध र पवित्र मुहान अनायसै सुकेको छ।
कोही भन्दै थिए सधैं प्लेनमा आउने जाने मान्छे किन बस आयो होला, कोही भन्दै थिए उसको आयु नै यति नै रहेछ। कोही भन्थे दशा र कर्म बिग्रिएको हो। तर म भन्छु राज्यको लाचारीपन र कर्णालीलाई हेर्ने 'सौतेनी' व्यवहार।
चट्टान फोरेर बनाइएको भीरको साँघुरो, छुचो सडक र सिट क्षमताभन्दा बढी यात्रु राखेर, मापसे गरी हावातालमा चलाइने पुराना र थोत्त्रा बस, सडक सुरक्षासँग जोडिएका विषयमा सरोकारवाला तथा भ्रष्ट प्रदेश र संघीय सरकारले चासो नदेखाउनु। उदेकलाग्दो त यो छ कि यो बाटो चल्तीमा आएको ७/८ वर्ष हुँदा पनि अझै ग्राभेलसम्म पनि हालिएको छैन।
अनि यहाँ चल्ने बस प्रायः पुराना छन्, तिनको बेलैमा मर्मत सम्भार हुँदैन। त्यसमाथि सिट क्षमताभन्दा धेरै यात्रु खादी-खादी हालिन्छ। अर्को, ठाँउ-ठाँउमा बसेका ती ट्राफिक पुलिसले के हेरेर बस्छन् ?
अनि सवारी चालक अनुमति पत्र दिँदा सीप, क्षमता र दक्षताका आधारमा दिने भए पो, यस्तै छ मेरा देशको नीति नियम, पुलिस प्रशासन। बाटोको गुणस्तर सुधार्ने पहल गर्ने दायित्व र जिम्मेवारी जनताले चुनेर पठाएका यी भ्रष्ट नेताको र कर्तव्य यो लाचारी सरकार र दृष्टिविहीन राज्यकै होइन र ?
आज मुगुका कलिला बालबालिका, भविष्यका आशाका पहाड, विश्वासका हिमाल र जिल्लाको दक्ष जनशक्तिले अकालमा ज्यान गुमाउनुपर्ने कर्णाली राजमार्ग मृत्युको मुख्य कारण यही हो।
सर्वप्रथम छोराप्रति पहिलो हक आमाको लाग्छ। उनले हुर्काएर लक्का जवान बनाइन तर आज पीडा र व्यथाको आहालमा भासिएकी छन् आमा हिलाम्मे भएर। लेखान्तलाई दोष दिँदै भाग्यलाई सराप्दै छिन्। तिमी हाम्रो जीवनमा विपना भएर आयौ, सपना भएर विलायौ।
हो, हामीले अल्पआयुमै तिम्रो भौतिक शरीर त गुमाउनुपर्यो।
भनिन्छ जीवनको लम्बाइभन्दा उचाइ बढाउने कुरा महत्त्वपूर्ण हो। समग्रमा हेर्दा तिम्रो जीवनको लम्बाइ त धेरै बढाउन सकेनौं तर उचाइ भने राम्रै बनाएरै गयौ।
हार्दिक श्रद्धासुमन प्रिय भाइप्रति।
उही तिम्रो प्रिय दाजु
हस्तबहादुर बि.क