‘लौन फेरि पनि छोरी जन्मिछे’ , हजुरआमाको बोलीसँगैको त्यो अँध्यारो अनुहार देख्दा मलाई अलिक अप्ठ्यारो महसुस भयो।
श्याम दाइका दुई छोरी थिए। अहिले जन्मिएकी गरी तीन। छोरा पाउनु रहर भनु या बाध्यता श्याम दाइकी बूढी शर्मिला भाउजूले यो अघि तीनवटा भ्रुण हत्या गराउनु भएको थियो। अहिले चाहिँ डाक्टरले छोरा छ भनेको थियो अरे।
उताबाट ‘लौन बर्बादै भएछ। फेरि एउटा टेन्सन थपियो बाबुलाई’ भन्ने आवाज आयो। त्यो बोली गाउँमा पढेलेखेका विद्वान् भनेर गनिने मध्यकैको थियो। म छोरी भएकै कारणले होला ती शब्द सुन्न सकिनँ र दाइ भएछेउ गएर भनें , ‘के भयो त दाइ छोरी भनेको सन्तान हैन र ? अनि केको टेन्सन ? यी अनावश्यक कुरा दिमागमा नल्याउनु।’
यतिमात्र के भनेकी थिएँ दाइ झोक्किँदै भाउजूतिर धारे हात लगाउँदै भन्न थाले, ‘छोरी पाउनिको सन्तानले, छोरो पाउन जान्न पर्यो नि! बस्दिनँ म तँसँग भन्दै बाहिर निस्केर चोकतिर लागे।
यति सुन्नसाथ भाउजू रुन थाल्नु भयो। मलाई एकदमै अप्ठ्यारो भयो। बाहिर गएर लामो सास फेर्दै भित्र आएँ र भाउजूलाई सम्झाउन लागें , ‘किन रुनुहुन्छ हजुर? छोरी पाउनु गल्ती हो र ? दाइलाई म सम्झाउँछु ,तपाईं पटक्कै नरुनु भन्दै सुसारे बनेर आएकी गौलीलाई ‘खान बनाइ सुत्केरीलाई दिनु है म अहिले आउछु’ भन्दै आफ्नो घरतिर लागें।
म त्यहाँबाट त्यति छिटो निस्कन हुन्थ्यो या हुन्थेन तर त्यहाँ मलाई निकै नै घुटन महसुस भयो।
सायद म थाकिसकेको थिएँ, छोराछोरी एक हुन् भन्दै विद्वान् बनेर हिँड्ने समाजका बुद्धिहीनलाई सम्झाउँदा सम्झाउँदा, धेरै पटक नारी दिवसका दिन समानताका विषयमा वक्तृत्वकला प्रतियोगितामा भाग लिई पुरस्कार लिएर आउने दाजुको भाउजूप्रतिको त्यो व्यवहार देखेर म अतालिएको थिएँ।
समानता ! खै समानता ?
यसपश्चात् मेरो मानसपटलमा यतिमात्रै कुरा उब्जियो कि , दुई छोरी पाएर बसेकी मेरी आमाले कति सुन्न पर्यो होला? हामी परिवर्तित समाजको कल्पना गर्छौं।
२१ औं शताब्दीमा त यस्तो छ भने आजभन्दा दुई दशक अगाडि मेरी आमाले के कस्ता आलोचना सहनु परेको होला? बस् छोरी जन्माएका कारण!
पितृसत्ताले हावी भएको मेरो देशमा मेरा भनाइ धेरैलाई अपाच्य हुन सक्छन् तर पनि मलाई आज लेख्नुछ ती केही प्रश्न र मैले भोगेको समाजबाट पाएका तिनै प्रश्नका उत्तर।
मेरो समाज जहाँ परापूर्वकालदेखि नै छोरी मान्छे बिहे गरेर पराइको घर जाने चलन छ र छोरा मान्छेले बिहे गरेर श्रीमती ल्याउने चलन।
आज पनि यही संस्कार हावी भएर होला कयौं छोरीहरू गर्भमै तुहिन बाध्य छन्।
छोरो पाए त बुढेसकालको सहारा हो, छोरी अर्काको नासो। यो त एउटा कथन नै भइसकेको छ ।
यही कथन सुन्दै गर्दा मेरो मानसपटलमा एउटा यस्तो प्रश्नको जन्म हुन्छ , जसको सायद तपाईंसँग उत्तर होला।
विश्वमा एउटा यस्तो देश छ, जहाँ महिलाले पुरूषलाई विवाह गरेर लैजाने चलन छ। त्यो देशको यो रीति सुन्नेबित्तिकै मेरो मनमा के उब्जियो भने सायद मेरो देशमा पनि महिलाले पुरूषलाई विवाह गरेर ल्याउने चलन चल्तीमा आएको भए तेरा बाआमालाई कसले पाल्छ? तँ त बिहे गरेर जानुपर्छ भन्ने प्रश्न कयौंपटक यो बाल मस्तिष्कले सामना गर्नु पर्थेन होला।
जति नै महिला पुरूष समान हुन भनेता पनि समानताको महसुस मैले कहिल्यै गर्न पाएको छैन।
यत्तिकैमा अर्को प्रश्नले पनि मेरो मस्तिष्कलाई खलबलाउँछ। के वंश भनेको छोरामात्रै हो ? वंश जोगाउनका लागि छोरै पाउनु पर्ने? छोरी पनि सन्तान हो , भन्दै गर्दा छोरो त पाउनै पर्छ नत्र वंश नाश हुन्छ भन्ने उत्तर मैले कयौंपटक पाएको छु।
छोरा र छोरीबीचको वंशगत विवाद परापूर्वकालदेखि चलिआएको कुचलन मात्रै हो भनि कति फुक्दै हिँडू म ?
मैले 'घर ज्वाइँ' ल्याएँ भने के वंश जोगिन्छ? वंश नाश कसरी हुन्छ? एक चिम्टी सिन्दुरको भरमा मेरो गोत्र फेरेर मेरो अस्तित्व नाश गर्ने अधिकार कसले दियो? तँलाई कसले पाल्छ ? तेरो वंश खै? तेरो अस्तित्व खै ? छोरी छोरी पाएर बसेका बाआमाले यस्ता कयौं प्रश्नको सामना गर्नुपर्छ आखिर कहिलेसम्म ?
समयसँगै समाज फेरिन्छ भनेर हिँड्ने अधिकारकर्मीका लागि पनि मेरो प्रश्न छ। कहिले परिवर्तन हुन्छ हाम्रो समाज ? छोरी पाएकै कारणले अझै कति महिलाहरूले छोडपत्र पाउने? कतिले आत्महत्या र कतिले मानसिक सन्तुलन गुमाउन पर्ने हो ?
ए ! समाज म बिहे गरेर जान्नँ, म बिहे गरेर ल्याउँछु , मेरो लोग्नेको थर फेरेर ल्याउँछु ! मेरो बाको वंश जोगियो भन्न तँ तयार छस् ?
छोरा र छोरी के कारणले जन्मिन्छन् भनेर विज्ञानले प्रमाणित गरेको सिद्धान्तलाई , छोरी पाइ भनेर अपहेलित गर्ने यो समाजका निरक्षरहरूलाई कसले र कहिले बुझाउने हो ?
आखिर छोरा र छोरीको यो विभेद किन र केका लागि ? छोरी नै भए पनि जागिर खाएर आफ्नै खुट्टामा उभिएकै छन्। पैसासँगै नाम कमाउने छोरीहरूको सङ्ख्या पनि प्रशस्तै छ।
समाजले मलाई अहिले कसरी मूल्यांकन गरिरहेको छ त्यो त समाजलाई नै थाहा होला। तर सुनेकी छु ‘छ्या फेरि पनि छोरी जन्मिछे’ भनेर उतिबेला नाक उचाल्नेहरू अहिले ‘छोरी हुनु त यस्तो’ भन्छन् रे।
समय परिवर्तनशील छ। समाजका नियम अनुशासन मानिसले नै बनाएका हुन्, जसलाई समय सुहाउँदो बनाउन नमिल्ने भन्ने हुँदै हुँदैन। अबको बहस यस विषयमा पनि हुनु जरुरी छ कि छोरी छोरी भएकाहरूले बिहे गरेर ज्वाइँ ल्याउन पाउनुपर्छ ताकि छोरा छैनन्, छोरीहरू बिहे गरेर गएपछि बुढेसकालमा हाम्रा सहारा कोही हुँदैनन् भनेर बाबा आमाले चिन्ता गर्नु नपरोस् र छोरा नपाएकै कारण यो समाजबाट अपहेलित हुन नपरोस्।
जसरी एउटी नारीले आफूलाई जन्म दिने बाबु-आमालाई छोडेर सासू ससुरा नै आफ्नै बुबा आमा हुन् भनेर स्याहार सुसार गर्छिन्, ठिक त्यसैगरी मेरा बुबा आमालाई आफ्नै बुबा आमा हुन् भनेर स्याहार सुसार गर्न सक्ने कोही घर ज्वाइँ बस्न सक्ने पुरूष छ?
सायद मेरो यो प्रश्न कतिका लागि हाँस्यास्पद हुन सक्ला तर यसभित्रको मर्म जसले भोगेको छ उसलाई मात्र थाहा छ। म चाहन्छु कि लेख पढिसकेपछि यो पीडाको महसुस सबैले गर्न सकून्।