मानिस सामाजिक प्राणी हो। समाजमा बसेपछि उसले अनेकौँ कर्तव्य निर्वाह गर्नुपर्छ, अनेकौँ सीप सिक्नुपर्छ। मान्छेले जन्मदेखि बाचुन्जेलसम्म सिक्ने जान्ने क्रम रोकिँदैन। जब रोकिन्छ तब मानिसको जीवन नै समाप्त हुन्छ।
मैले जीवनको महसुस भर्खर गर्न थालेकी थिएँ। १५ वर्षको बाबाको लगानी र मेरो मेहनतले गर्दा हाल १२ कक्षाको परीक्षा दिएँ। यसपछि के पढ्ने, के गर्नि भन्ने पिरोलो पर्दोरहेछ। आफन्तजन साथीहरुले भन्नुहुन्छ- काठमाडौंमा घर छ, ठाउँमा बसेको छ, भनेजस्तो छ, मन लागे पढे भइहाल्छ नि। यो कुरा मलाई पटक्कै मन परेन।
काठमाडौँमा घर छ त ढुङ्गा माटो खाएर बस्ने हो र? काठमाडौंमा गरेको दुःख र यहाँको महङ्गी काठमाडौँमा बस्नेलाई मात्र थाहा हुन्छ। गाउँघरमा दुःख गरेर आफ्नै खेतबारीमा फल्ने तरकारी, फलफूल, नुन, तेल, बेसार यहाँ पैसा हालेर किनेको कसले देख्ने? गाउँघरमा जताततै खोलानाला आदि इत्यादिमा पाइने निशुल्क पानी हामी काठमाडौंबासीले पैसा तिरेर खाएको कसले देख्ने?
अझ सफा र पिउनलाई युक्त पानी पाए त पैसा तिरेको पनि दुःख लाग्दैन थियो होला। 'काठमाडौंमा बसेको ठूलो मान्छे भइछ' भन्छन्। कसलाई थाहा छ काठमाडौंबासीको दुःख र पीडा? गाउँबाट सहर पसेका मान्छेलाई सोध काठमाडौंमा केही गर्छु भनेर आउँदा, अलपत्र परेको। म त भन्छु काठमाडौंभन्दा गाउँ बेस छ। त्यसैले त गाउँ हुने मान्छेहरु सहरमा आपतविपद पर्दा, चाडपर्व आउँदा गाउँमा जान्छन्।
कोरोनाको पहिलो र दोस्रो लहर आउँदा थुप्रै मानिसहरु गाउँमा फर्के। गाउँमा त अभावको बेला खेतीपाती गरेर मकै, गहुँ, कोदो, खोले जे पनि खान सकिन्छ। काठमाडौंमा बसेर खेतबारी नहुनेहरू त कोरोनाको लहरमा भोकै मर्नु पर्ने अवस्था सिर्जना भएको थियो। हामीजस्ता नुन-पानी समेत खान नपाउने अवस्थामा पुगिसकेका थियौँ।
काठमाडौंमा शिक्षा, स्वास्थ्य, यातायात बाटो छ तर यो सबै प्राप्त गर्नको लागि संघर्ष पनि छुट्टै छ। त्यसैले होला मान्छेहरू भन्छन्, जहाँ जीवन छ त्यहाँ बाँच्ने कला पनि हुन्छ। हिजोको सुन्दर काठमाडौँ धुवाँ, धुलो, अत्याधिक मानिसहरूका कारण कुरुप हुँदै गएको छ। विगतमा कलकल बग्ने बागमती आज गनाउने भएको छ।
राजधानीमा सुख छ भन्छन्। राजधानीमा पैसा, पावर, आफ्नो मान्छे भए मात्र सबैथोक छ नत्र काठमाडौंमा जति दुःख अन्यत्र कहीं पनि छैन। फेरि कर्णाली र अन्य दुर्गम क्षेत्रमा दुःख छैन? भन्ने प्रश्न उठ्ला। त्यहाँ चुनिएर आउने प्रतिनिधिहरुले कर्णालीबाट आएर काठमाडौंमा महल ठड्याएर हो आज पनि कर्णाली र अन्य ठाउँलाई दुःख परेको।
म सायद काठमाडौंबासी भएर होला मैले आजसम्म जुम्लाको स्याउ चाख्न पाएकी छैन, इलामको अलैची र अदुवा खाना पाएकी छैन। मैले त केवल छिमेकी देशबाट आयातित स्याउ, अलैंची र अदुवा खाएकी छु। मजस्तै थुप्रै काठमाडौंबासीले पहाडको तरकारी र तराईको सब्जी खाएका छैनौँ। हामी त भारतबाट आयातित विषादी तरकारीमा मात्र सीमित रहनु पर्ने बाध्यता छ।
हाम्रा भाइ-बहिनी र अब जन्मिने सन्ततिले दूध केले दिन्छ भन्दा डेरीले भन्छन्। सायद अब काठमाडौँमा भएका गाईभैंसी र बाख्रा केही वर्षपछि सदाका लागि हराउलान्। नेपालमा बसोबास गर्ने प्रायः मानिसलाई काठमाडौँ सुगम लाग्छ। तर मलाई त बाराको कोल्हवी नगरपालिका, बोधवान गाउँ माछा पालेर सुखी भएको देख्छु। कास्की जिल्लाको अर्मलाकोट माथिको गाउँ सोलखर्कमा भैँसी पालेर खुसी भएको छ। खोटाङको चखेवा गाउँ भेडा पालेर सुगम बनेको छ।
गर्न सकियो भने काठमाडौँजस्तै सुगम गाउँ पनि त हुँदो रहेछ नि होइन र? यो झिलिमिली काठमाडौंले मानिसलाई निकै लोभ्याएको छ। मान्छेलाई हरेक वस्तु नौला छन् हेरिरहुँ जस्तो लाग्ने। त्यसैले होला गाउँका मान्छे सहर पसेपछि गाउँ नफर्किएका। फर्किउन् पनि कसरी? यो झिलिमिली काठमाडौँ छोडेर निर्जन कहलिएको गाउँमा।
फोहोरको थुप्रोहरुमा केही खोजिरहेका सडक बालबालिकाहरूलाई यो झिलिमिली काठमाडौंले के दियो? भारी बोक्ने दाइलाई काठमाडौंले के दियो? काठमाडौँमा आफ्नो मान्छे शक्ति भए मात्र सबै कुरा सम्भव छ नत्र यो बिरानो ठाउँमा मध्यमवर्गीय परिवारलाई कसले हेर्ने?