समयसँग घुम्नुपर्छ भन्दाभन्दै कतिबेला समयले घुमाइदिन्छ पत्तै नहुँदो रहेछ। परिवार, साथी, प्रेम, त्याग, इच्छा चाहनाले घेरिएको जिन्दगीमा यी सम्बन्ध सधैँ हामीसँग जोडिएका हुन्छन् यद्यपि साथ होस् या नहोस्।
म पनि सोच्छु अनि सोध्छु आफैलाई, खै ती बाल्यकालमा पत्तिले डेस्कमा कोरेर नाम लेखेका साथीहरु, पानी खाने बहानामा सँगै कक्षाकोठा बाहिर निस्किएका पाइतालाका डोभहरु? टिफिन टाइममा गोजीबाट भुटेका चिउरा र खाजा झिक्दै ट्वाइलेटको ढोकामा लेखिएका हाम्रा नाम अझैँ होलान् त? कहिल्यै छुटिदैनौँ भनेका साथीका हात कतिबेला छुटेर नचिनिने गरी टाढिए पत्तै भएन।
हाम्रा नाम लेखेका डेस्क सायद टुक्रिएर, भाँचिएर छेद विछेद भइसके। त्यसैले त हामी बीचको डोरी पनि चुँडिएको जस्तो भान हुन्छ। जिन्दगीको जालोमा यसरी अल्झिरहेका छौँ हामी कि फुकाउन खोज्दा डोरी चुँडिने होकि भन्ने त्रासले आज कयौं मन टुटेका छन्।
सपनामा रमाउँदा-रमाउँदै बिर्सिएछ विपनामा सँगै बसेका बाल्यकालका साथी जो एकदिन कक्षामा नआउँदा पूरै दिन खल्लो लाग्थ्यो जस्तै चिनी बिनाको चिया। तर आज हरेक दिन कटिरहेको छ बिना चिनी, बिना अमिलो, बिना नुनिलो, बस् फिक्का फिक्का...।
दिनको सुरुआतदेखि सन्ध्यासम्म सँगै बिताउने पलपल आज एक पल सम्झिने पनि समय छैन भन्दै समयको बहानामा बसिरहेका छौँ। समयले कसैलाई पर्खदैने भन्ने वाक्यलाई कन्ठ पारेर सम्बन्धलाई पर राख्नु कतिसम्म जायज छ त्यो हामी आफैँ छुट्टाउन सक्छौं नि हैन र?
भविष्यलाई झकमक्क बनाउने सपनाले विगत झकमक्क बनाइदिएका हातहरु छुटेको आभाससम्म पनि गर्दैनौँ। अगाडि अरुको हात समाउँदा-समाउँदै पछाडि हिँडेर बचाउनेको हातसम्म नि याद हुँदैन। रित्तिएको गोजी भर्ने सपनाको पछाडि भाग्दाभाग्दै भोकै रहँदा खाजाले गोजी भर्दिएका साथीको यादै भएन।
गृहकार्य नगर्दा घरमा छुटेको बहाना बनाउनी अनि शिक्षकले सोध्दा पिटाइ खाइन्छ भन्ने डरले बिरामी भएको बहाना बनाउने साथी आज पनि बहाना बनाइरहेछन् एकअर्कासँग टाढिने। सपना साथीभन्दा ठूलो हो या हैन तर सपना र साथी कोही पनि टाढा नहोस् जीवनमा।
यसो भन्दा आफूलाई आफूबाट पर राख्ने भन्न खोजेको हैन। तर सपना केलाई भन्ने? अनि साथी कसलाई? सुनेको थिएँ सपनाले निदाउन दिदैँन, कोही सपना देख्न्न निदाउनु पर्छ। आखिर सपनाको परिभाषा के त? अनि साथी कसलाई भन्नू? जबसम्म हरेक कुरामा कुरा मिसायो तब मात्रै साथी? झुक्किएर आफ्नो लागि निर्णय गर्यो भने साथी साथी रहदैँन? एउटा निर्णयले बदलिने साथी र सपना उस्तै-उस्तै हुन् या फरक छ?
सपना सोच हो, साथी सोचाइ। सपना पूरा गर्दा साथीको महत्त्व र अस्तित्वमा कमि नआउन पर्ने तर यथार्थ योभन्दा कोसौँ दूर छ, जसको खोजिमा साथी छुट्ने गर्छन् अनि सपना टुट्ने गर्छन्। अनि छुटेका साथको यादमा र टुटेका सपनाको आवाजमा जिन्दगी फेरि चल्न सुरु हुन्छ बिना कुनै धुन बिना कुनै रंग। पुनः सुरु हुन्छ सपना, रित्तिएका गोजीमा आशाको किरण भरेर।
एकदिन त पूरा होला, एकदिन त कसो ठिक नहोला, एकदिन त कसो भेट नहोला, जे हुन्छ राम्रै हुन्छ भनेर सोच्दा-सोच्दै रित्तिएका गोजीको धुलो समेत टक्टकाउन नपाई आफै खरानी भएर उड्ने दिन आउँछ। यसरी अकालमै दफन हुने सपनाको चिहान हुन्छ त?