पाइलटले तोकिएको समयभन्दा पन्ध्र मिनेट अगाडि विमान अवतरण हुने भनेपछि घर चाँडै पुग्न पाइने भयो भनेर खुसी लाग्यो। दुई वर्षदेखि यात्रामा लागेको प्रतिबन्धपछि दसैं बिदामा श्रीलंका घुमेर नेपाल फर्किँदै थियौं म र मेरो परिवार।
नवनिर्मित विमानस्थलको भवनसँगै विमानस्थलको व्यवस्थापन पनि सुधारिएको र नौलो होला भन्ने लागेको थियो। हामी आएको श्रीलंकन एयरलाइन्स र कतार एयरवेजको विमान लगभग एकै समयमा अवतरण भएको रहेछ।
विमानबाट आगमन हल जाने क्रममा दुबै वायुयानका सबै यात्रुहरू एकैपटक भीडभाड गर्दै प्रवेशद्वारभित्र हेलिन आतुर थिए। यसैबीच एक सुरक्षाकर्मीले यात्रुहरूलाई पंक्तिबद्ध हुन नेपालीमा दिइरहेको निर्देशन नबुझेर केही विदेशी पर्यटकहरू अक्कमक्क परे।
यसले ती सुरक्षाकर्मीलाई केही तातो लागेन। उनी त फेरि भित्र पिसिआर रिपोर्ट र कोभिडको कार्ड वा सर्टिफिकेट प्रमाणीकरण गराउने निर्देशन नेपाली भाषामा दिन एकोहोरो लागे। के नेपाल आउने विदेशी पर्यटक नेपाली भाषा सिकेर मात्र आउनुपर्ने हो र? अंग्रेजीमा निर्देशन दिने व्यवस्था गर्न सकिन्न?
श्रीलंकामा अपनाइएको कोभिडविरूद्धको सरकारी सावधानी, जनताहरूको सजगता र अनुशासित नियम पालनासँग प्रभावित भएका हामी, काठमाडौं विमानस्थलमा देखिएको कोभिडसम्बन्धी सचेतनामा बेवास्ता देखेर असमन्जसमा पर्यौं।
एउटा सानो आगमन कक्षमा खचाखच भरिएका यात्रुले चाहेर पनि भौतिक दुरी पालना गर्ने कुनै व्यवस्था नभएको स्थितिमा तँछाडमछाड गर्दै आफ्नो पिसिआर र खोप प्रमाण देखाउने होडमा लाग्नुपरेको अवस्था देखियो।
दुइटा विमानबाट ओर्लिएका करिब चार सय यात्रुको कागजात प्रमाणीकरण गर्न र यात्रुलाई सहज सेवा प्रदान गर्न पर्याप्त दक्ष कर्मचारी खटाइनु पर्ने हो। तर त्यहाँ दुई जना कर्मचारीले हतासिएका सयौं यात्रुको कागजपत्र प्रमाणीकरण गर्दैगर्दा कति त्रुटि भयो होला! त्यसको जवाफदेही लिने मानिस कोही पनि त्यहाँ देखिएनन्।
धेरै यात्रु यस दुरावस्थाबाट निराश हुँदै गुनासो पोख्न थाले। लामो समय विदेश बसेर आफ्नो देश फर्किएका मनिसले यस अनुभवबारे टिप्पणी गर्दै 'कुनै पनि सिस्टम नभएको देशको नमूना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पस्नेबित्तिकै देखिन्छ' भन्दै पीडा पोख्दै थिए। दक्ष कर्मचारी पर्याप्त संख्यामा खटाउन नसक्नु र सुरक्षाका लागि मात्र तालिम पाएका प्रहरीबाट यात्रु र पर्यटकलाई 'सेवा' दिन लगाउनु नै विमानस्थल व्यवस्थापनको पहिलो कमजोरी देखियो।
भेडाबाख्रा जस्तै एकै ठाउँमा कोचिएर, कोभिड प्रोटोकलको विवशतापूर्ण बेवास्ता गरी बल्लबल्ल आफ्ना कागजातमा छाप लगाई हामी विमानस्थलको मूल भवनभित्र प्रवेश गर्यौं।
त्यसपछि अध्यागमनको पालो।
त्यहाँ त अलि सजिलो होला भन्ने आशा गर्दै लाइन लाग्दा अनुभव फेरि उस्तै। भिसा भएका र नभएका विदेशीहरू, गैर आवासीय नेपालीहरू र रैथाने नेपाली नागरिकलाई फरकफरक लाइन व्यवस्था गर्नु-गराउनुपर्ने थियो। तर त्यहाँ कतै केही प्रष्ट निर्देशन थिएन।
सुरू भयो त फगत 'नेपाली यता, विदेशी उता' भन्दै चिच्याउने प्रक्रिया र त्यो पनि नेपालीमा मात्रै। यतिका फरक-फरक अध्यागमन प्रक्रिया पूरा गर्नुपर्ने यात्रुलाई सेवा दिन जम्मा चार वटा काउन्टर खोलिएका थिए।
लाइन अगाडि बढेन। लामो सफरपछि घर चाँडै पुग्न पाइने भयो भन्ने आशालाई विस्तारै निराशाले गाँज्न थाल्यो।
तीनपटकसम्म यताबाट उता, उताबाट यता गर्दै लाइन सारेपछि प्रतिक्षारत यात्रुको धैर्यको बाँध फुट्यो। क्षुब्ध सेवाग्राही, यात्रु र तथाकथित 'सेवाप्रदायक' विमानस्थलका कर्मचारीहरूबीच अनपेक्षित बाझाबाझको स्थिति पनि देखापर्यो। कर्मचारीहरूले 'कृपया माफ गर्नु होला' वा 'सरी' भन्ने भाषा त सिकेकै रहेनछन्।
करिब डेढ घन्टा लाम लागेर अध्यागमनको प्रक्रिया पूरा गरेपछि पनि आफ्नो सामान त लिन बाँकी नै थियो। विमान अवतरण गरेको दुई घण्टा बढी बितिसकेको हुनाले सामान आइसकेको होला भन्ने सोच्दै लगेज बेल्टमा पुग्दा थाहा भयो, लगेज निकाल्ने कामै सुरू भएको रहेनछ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनमा दशकौंअघि रहेका कमीकमजोरी अझै उस्तै छन्। विमानस्थलको परिचयपत्र बोकेका कर्मचारी त्यहाँ धेरै देखिन्छन् तर सेवाप्रदान होइन, अरू नै कुनै उद्देश्य बोकेर घुमिरहेजस्ता देखिने।
यति लामो समयसम्म किन आफ्नो सामान नआइपुगेको होला भनेर प्रश्न गर्दा एक कर्मचारीले आफू कस्टमको मान्छे भएको र यो कुरा एयरलाइन्सका मान्छेलाई सोध्नुस् भन्ने जवाब दिए हिँडे। तर त्यहाँ एयरलाइन्स प्रतिनिधि वा हेल्प डेस्क केही पनि थिएन।
इमिग्रेसनको संघर्ष सकिएपछि देखावटी गर्न राखिएजस्तो लाग्ने 'मेटल फ्री जोन' को औचित्य मैले बुझ्न सकिनँ। विभिन्न मुलुक घुमेको अनुभवमा अन्य कुनै विमानस्थलमा अध्यागमन सकाएर मेटल फ्री जाँच गरेको सम्झना मलाई छैन।
एक जना कर्मचारी आफ्नो मास्क नलगाई ठूल्ठूलो स्वरमा बेल्ट र घडी फुकाल्नुस् भनेर चिच्च्याइरहेका थिए। कोभिड प्रोटोकल पालना नगरी यसरी कराउनुको साटो नेपाली र अंग्रेजी दुवै भाषामा निर्देशन र जानकारीको बोर्ड राखिदिएको भए सबैलाई सहज र स्वस्थकर हुने थियो। आफूलाई पर्यटनमुखी भन्ने नेपालले आफ्नो देशमा आउने पर्यटकको पहिलो संस्मरणलाई सकारात्मक र स्मरणयोग्य बनाउन यस्ता सामान्य कुरामा ध्यान दिन सकेको छैन।
बल्लतल्ल आफ्नो सबै सामान पाएर हिँड्ने क्रममा एक कर्मचारीले मास्क फुकाली कुनाको डस्टबिनमा खकारेको दृश्य हेर्दै 'नेपालमा स्वागत छ' भन्ने सन्देश बुझेर आफ्नो बाटो लाग्यौं।
नेपालले के सन्देश दिन खोज्दै छ संसारलाई? गम्नुपर्ने विषय भयो मेरा लागि।
नेपालको सुन्दरता र विविधतामा आकर्षित भएर घुम्न आएका विदेशी पर्यटकलाई विमानस्थलको अनुभवबाट कस्तो प्रभाव पर्ला? के गौतम बुद्धको, सगरमाथाको वा पशुपतिनाथको देश मात्र भनेर सबैले चित्त बुझाउनु पर्ने हो र? उत्कृष्ट व्यवस्थापनको नमूना बनी सहज र छरितो सेवा प्रदान गरेर नेपाल भ्रमणको पहिलो अनुभव सुखद बनाउने मूलभूत एवम् आधारभूत दायित्व विमानस्थल व्यवस्थापनको होइन र?
दुई घण्टा विमानस्थलभित्रै विभिन्न समस्या झेल्दै रुमल्लिएपछि बाहिर निस्कन भर्खर थपिएका तीन वटा लिफ्ट अगाडि लागेको लाममा हामी उनिन पुग्यौं। अटेसमटेस सुटकेसहरूमाझ ज्यान मिलाएर उभिनुपर्ने अवस्था थियो त्यहाँ।
त्यही मेसोमा एक सुरक्षाकर्मीसँग मैले तीतो पोखेँ, 'यो विमानस्थल त यात्रुहरूले कुनै सुविधा पाऊलान् कि भन्ने त्रासमा चलाइएको रहेछ।'
सुरक्षाकर्मी धैर्यवान् रहेछन्, भने, 'नेपालले आफ्नो श्रोत र साधनले भ्याएसम्म गरिरहेको त छ नि, हजुर।'
अरू मुलुकका विमानस्थलमा राम्रो व्यवस्थापनको उदाहरणस्वरूप विमान अवतरण भएपछि बाहिर निस्कन ३० देखि ३५ मिनेटको समयलाई मानक मानिन्छ। त्यो पनि काठमाडौंको विमानस्थलले थेग्नेभन्दा कैयौं गुणा बढी विमानबाट आएका यात्रुलाई सेवा प्रदान गर्दै।
तर काठमाडौंको विमानस्थललाई २-३ वटा मात्रै उडानका यात्रु व्यवस्थापन गर्न हम्मे हुन्छ र औसतमा दुई घण्टाको समय लाग्छ। दशकौंदेखि चलिरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुधार र विस्तार परियोजनाको प्रगतिको उदाहरण यही हो भने निराशाजनक छ।
सधैं नै आफूलाई एउटा अविकसित र सीमित श्रोत साधनको देश भन्दै, आफ्ना कमीकमजोरी लुकाउन खोज्दै भ्याए जति गरेको छौ भन्ने, अनि साना-साना पृथकरूपमा भएका विकास हेर्दै हाम्रो देशले जेजस्तो गरेको छ राम्रो गरेको छ भन्ने मानसिकताले गर्दा संसारका अरू मुलुक कसरी अगाडि बढ्दै गए र हामी किन उहीँको उहीँ छौं भनेर आत्मालोचना एवम् विश्लेषण गर्ने अवसर दिँदैन। हामीमा भएका प्राविधिक व्यावसायिक र व्यवस्थापकीय कमजोरी आत्मसात गरेर सुधारको काम नगर्ने हो भने हामी कहिले पनि अल्पविकसित देशको श्रेणीबाट माथि उक्लन सक्दैनौं।
सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र विमानस्थलका अरू कर्मचारीलाई व्यवस्थापन, ग्राहक सेवा र सञ्चालन व्यवस्थापनजस्ता आधारभूत विषयमा पर्याप्त तालिम दिन अनिवार्य देखिन्छ। यसको व्यवस्था अविलम्ब गरिनु पर्छ।
उदाहरणका लागि २-३ वटा सबल व्यवस्थापन भएका विदेशी एयरपोर्टमा तालिम र अध्ययन तुरुन्त गराऔं। अरू सरकारी निकायमा जस्तो एयरपोर्टमा काम गर्ने कर्मचारीको सरुवा मनोमानी रूपमा नगराऊँ र कार्यसम्पादन मूल्यांकन गर्दा मापदण्ड तथा सूचकहरू ग्राहकमुखी सेवा र व्यवस्थापनको क्षमतामा आधारित हुने गरी निर्धारण गरौं। मूल्यांकन इमानदारीपूर्वक गरौं।
सम्पूर्ण यात्रु तथा पर्यटकको पहिलो अनुभव नै विमानस्थलबाट हुने हो। तसर्थ विमानस्थलबाट नै संसारले नेपालप्रति दयाभाव होइन, माया र सद्भाव राख्न सकून्, यही हाम्रो कर्मठ प्रयास हुनु पर्छ। भविष्यको पुस्ताले गर्छन् भनेर सबै भार उनीहरूको काँधमा थुपार्नु उचित हुँदैन। अहिले नै गर्ने हो र हामीले नै गर्ने हो। ढिलो भइसक्यो।