छोरी जन्मँदा खुसीले गदगद भएका ती आमाबुवा जसले छोरीलाई पनि छोरा समान अधिकार दिन खोज्दा कहाँ सुख छ र! चिन्ता त समाजलाई छ अझ भन्नु पर्दा वंश धान्नुपर्ने पीर !!
ढुक्कले बाँच्न त यो समाजको हरेक कुरामा सम्पन्न हुनुपर्छ।
समाजको चाहिने-नचाहिने यो परिबन्धनमा बाँधिनुपर्छ।
न बुझ्न सकिन्छ, नबुझाउन नै। सारै कठिन छ समाजका हरेक नीतिनियमको पालना गर्न पनि। अनि यो समाजसँग जुधेर बाँच्न अनि बचाउन।
घरमा दाजुका छोराहरू अनि भाइका छोरीहरू भए के भयो त! आखिर ती एउटै घरका सन्तान हुन्। जेठाका छोरा, छोरा भए के गर्नु! कान्छीले छोरा पाउन सकिन। जो निर्दोष उहीँ दोषी। जेठाले पायो रे, अनि कान्छीले पो पाइनन् रे! कस्तो अचम्म!
चाहे छोरा पाउँदा होस्, चाहे छोरी ती आमाले मृत्युसँग जुध्नैपर्छ। ती आमाले सन्तान जन्माउँदाको पीडा र जन्मिसकेपछिको खुसी एउटै हुन्छ। त्यो बेलामा पनि कसै न कसैको त्यो छुद्र वचन कानमा छुस्स त आइपुग्छ। चिप्लो बोलीभित्रको त्यो वचन छोरा भइदिएको भए ढुक्क हुन्थ्यो !
ए, अनि यसपालि पनि छोरी नै! त्यसका त माइतीमा पनि दाइभाइ छैनन्, केको छोरो पावस् बर्बाद भयो नि! जुन शब्दहरू सुन्दैमा मुटुमा आगोको ज्वाला बल्छ।खलखली पसिना बग्छ। कठै ती आमा जसले त्यो सब भोग्नुपर्छ कसरी समाल्ने होला। निर्दोष हुँदाहुँदै पनि दोषीको सिकार अझ आफूमात्र कहाँ हो र?
त्यो पेटले उनको शारीरिक बनावट नै देखिँदैन। टुक्रुक्क आफूजस्तै अर्की महिलाको छेउमा पुगेर बस्दै भन्छिन्- हजुर पनि भिडियो एक्सरेको रिपोर्ट देखाउन आउनु भएको हो? अनि के रैछ हजुरको छोरा कि छोरी?
'मेरो त पहिलो छोरा हो अब जे भए पनि हुन्छ बैनी राम्रोसँग जन्मिए भयो पाउने पो कसरी होला छोरा पाउँदा झन्डै मरिनँ। यसपालि कसरी कटाउने हो मरिन्छ होला खाना पनि केही रुच्दैन जे खायो त्यही भोमिट हुन्छ कसरी बाँचिएला र खै छोरीको रहर गरिहाले मर्छु जस्तै लाग्छ मलाई त। मान्छेले मान्छे पाउन केको सजिलो होला'
'अनि तिम्रो??'
उनको पीडा सुनिनसक्नु छ।
'मेरा त छोरीछोरी छन्। घरमा सबैलाई छोरा चाहिएको छ नानीको बाबाले पीर नगर त भन्नु भएको छ कस्को मन कतिबेला फेरिन्छ थाहै हुँदैन। सबैको कुरा सुनेर मन फेरिन के बेर आँसु बरर झार्छिन्।'
ती शब्दले वरिपरि सबैलाई भावुक बनाइदिन्छ। दोष केही छैन र पनि कति दोषी आफ्नो खुसीमा आफूले नै खुसी व्यक्त गर्नु छैन। कस्तो अन्तर भएछ यो छोराछोरीमा अनि कसले बनाएको होला??
ती आमाले आफू चिरिएर अरूलाई संसार देखाएको त्यो क्षणमा वचनको ओइरो लाग्छ! मरिमरि बाँचेको त्यो क्षणमा त्यो वचन सुन्दा मुटुमा परेको चोट सम्झी नसन्नुछ। कसरी बुझाउनु त्यो मन कुना फर्केर पनि कतिञ्जेल झार्नु त्यो भेल पनि अरू केही विकल्प पनि त छैन।
आफूले त्यो मुटुको टुक्रालाई काखमा लिनु त कहिले कहिले देख्न पनि नपाउँदैका ती वचन त्यो पनि नारीले नारीलाई बोलेको सुन्नुमा धेरै आउँछ। आफूले आफूलाई किन यति घृणा गर्छौं हामी?
हामी यही समाजमा छौं जहाँ दिन प्रतिदिन सबै भइरहन्छ विकास पनि भइरहन्छ तर त्यो सोच सधैं ताजै जस्को परिवर्तनको सम्भावना छँदै छैन। छोराछोरी बराबरी भन्ने भावनाको विकास नभएको पनि होइन तर मुखमा धेरै व्यवहारमा कम फरक त्यति मात्र हो।
समाजले मन खिन्न हुनेगरी जवाफ दिइहाल्छ 'ए दुइटै छोरी हुन् एउटा छोरो भइदिएको भए हुन्थ्यो नि! तपाईंका दाजुका दुइटै छोरा क्यारे। एउटा छोरा यता भइदिएको भए हुन्थ्यो नि! जे गर्छन् भगवलाले गर्छन्।'कानेखुसी सुरू हुन्छ यत्रो सम्पत्ति छ।
छोरा छैनन् जति कमाए पनि के गर्नु! बजारमा पनि घर छ गाउँमा यो सम्पत्ति कस्ले खाला? त्यहीँ आमाले जन्माएको छोराले सबै अधिकार पाउँदा त्यो छोरी संसार देख्न नपाउँदै, सुन्न नपाउँदैका ती वचनका ओइरा! धनीको कोखमा छोरीको जन्म हुन नपाउने यो कस्तो नियम अनि कस्ले बनाएको नियम होला?
कति भग्यमानी छोरो तिमी जन्मिएपछि घरको माहोल खुसीले फेरिन्छ कसैलाई पीर हुँदैन, छोरी छोरी थे छोरा जन्मियो, छोरो जन्मियो अब किन पाउन पर्यो, छोरो छँदैछ अब जे भएनि होस्, तिमी जन्मिदा कति ढुक्क सबैतिर, छोरी जन्मँदा त गाली भगवानले पनि खानुपर्छ अनि छोरी जन्माउने ती आमाहरू सधैं दोषी ठहरिरहन्छन्।
ओ हो दुइटै छोरा, एउटी छोरी हुनुपर्थ्यो नि! छोरीहरू भए भइहाल्यो नि! केको छोरा केको छोरी कहिलेकाहीँ यस्तो पनि सुन्न पाए ती छोरीहरूले कति गर्व महसुस गर्थे होलान्। ओहो समाजलाई हामी पनि चाहिँदो रहेछ। छोरीको त्यो छाती पनि गर्वले फुल्थ्यो होला।
ती आमाले आफू आमा बन्दा पनि आफ्नो खुसी व्यक्त गर्न पाउँदैनन्। ती बाबुको मन सधैं हलचल मात्र भइरहन्छ। जति समाज परिवर्तन भए पनि के गर्नु! मान्छेको मन पनि परिवर्तन हुन आवश्क छ।
एउटा गाउँमा कसैको घरमा छोरीछोरी जन्मिए भने सात गाउँसम्मलाई थाहा हुन्छ फल्नाका छोराबुहारी सहरमा, विदेशमा छन् के गर्नु छोरीछोरी भए रे ??जेठीले छोरा नपाएर कान्छी ल्यायो, कान्छीले पनि छोरा पाउन सकिन न रे! हे! भगवान यो कस्तो कुरा हो??? ती छोरी सधैं किन दोषी ठहरिरहन्छन्।
छोरीहरूप्रति सपना बुनिरहेका बुबाआमा संसार हेरेर बाँचिरहेका हुन्छन्। माथिल्ला घरका दाजु भाउजूले छोरा पाएर के भयो त आखिर बुढाबुढीको जिन्दगी कुकुरलाई स्याहार्दामा बितिरहेको छ। छोरा-बुहारी कहिल्यै आउँदैनन्।
छोराछोरी भनेको केही होइन हाम्रो लागि सबै बराबरी भन्दै मन बुझाइरहँदा पीर त सात गाउँलाई हुन्छ।
फल्नाका छोरा छैनन् त्यत्रो सम्पत्ति कस्ले खान्छ छोरा पाउने उमेर त थियो किन नपाको होला? मर्दा कस्ले दागबत्ती दिने होला?, किरिया को बस्छ त्यत्रो सम्पत्ति छोरीले त खाने होलान?? छोराले खान मिल्ने सम्पत्ति छोरीले खान नमिल्ने!, छोराले गर्ने किरिया छोरीले गर्न नमिल्ने कस्तो नियम अनि कस्ले बनाएको नियम होला!!
जुन नियम बनेको छ त्यसलाई परिवर्तन गर्न सारै कठिन छ। तर परिवर्तनको पनि अत्यन्त आवश्यक छ। परिवर्तन त धेरै भइसकेको छ तर देखावटीमात्रै जस्को व्यवहारमा पनि परिवर्तन हुनु अत्यन्त आवश्यक छ।
जति छोराको महत्त्व राख्छौं, छोरीलाई पनि त्यति नै दिन सकौं। जुन आँखाले छोरालाई हेर्छौँ, छोरीलाई पनि त्यही आँखाले हेरौं।
नारीले नारीको मर्म बुझौं, सम्मान गरौं, हामीले गर्नुपर्छ। चाहे छोरा, चाहे छोरी जन्माउँदाको पीडा त्याग एउटै हो अनि जन्मिसकेपछिको खुसी पनि एउटै हो।