आजभोलि कहिलेकाहीँ आफूलाई स-साना बच्चाहरुसँग तुलना गर्छु। उनीहरुको दिनचर्या, आनिबानी, साथीभाइ सर्कल अनि समय बिताउने तरिका पनि नियाल्ने गर्छु। वास्तवमा कति छोटो समयमा समयले निकै कोल्टे फेरिसकेछ। केही वर्षमै हाम्रो जीउने, बाँच्ने र अनुभव गर्ने विधि र तरिका फेरिएछ।
त्यो बाल्यकालको समय र अहिललेको बाल्यकालको समयमा निकै ठूलो बदलाव आइसकेछ। गाउँले जीवन र सहरीया जीवनमा निकै ठूलो अन्तर देखा परिसकेछ। गाउँले परिवेश, साथीभाइ, घरपरिवार र त्यो गाउँको ढुङ्गामाटो र भूगोलसँग लडिबुडी गरेर हुर्केको म पढ्ने, जागिर गर्ने वा सेवा सुविधा खोज्ने नाममा सहरीया भैसकेछु। आज गाउँको त्यही ढुङ्गोमाटो, भूगोल, दौतरी, बाल्यकाल, स्कुले जीवन र चाडपर्वहरुको बारेमा सम्झँदा साँच्चीकै एक सपना र कल्पना जस्तो लागेर आउँछ।
दुई दशक अगाडि हाम्रो पालामा स्कुल जाँदा कापी, किताब र झोला हुन्थेन। काठको पाटी लगेर जानुपर्थ्यो। पाटीमा चकले लेखेर पढ्ने चलन थियो। आजभोलि जस्तो ह्ववाइट बोर्ड विद्यालयमा थिएन। स्कुल जाँदा लगाउने एकजोर ड्रेस बाहेक सर्ट र पाइन्ट अर्को जोर हुँदैनथ्यो। निलो पाइन्ट र आकाशे रङको कमिज सरकारी स्कुलको ड्रेस थियो। स्कुल जाँदा होस वा कुनै चाडपर्वको बेला होस् वा कतै घुम्न जाँदा होस त्यही एक जोर स्कुलको कमिज र पाइन्ट लगाएर वर्षभरि काम चलाउने गरिन्थ्यो।
अहिले जस्तो जिन्स पाइन्टको चलन गाउँघरमा चलिसकेको थिएन। नयाँ लुगाहरु किन्न दसैँ कुर्नु पर्थ्यो। सहरमा विद्यालय जानुपर्दा धेरैजसो स्कुलहरुको आफ्नै बस घर-घरमा बच्चाहरुलाई लिन आउने गर्छ तर गाउँघरमा जति टाढा भए पनि हिँडेरै स्कुल जानु पर्थ्यो। बिहान सबेरै उठी घरको काम गरी वरी ९ बजे स्कुल हिँडिन्थ्यो। गाउँका सबै दौतरीहरुसँग गफ गर्दै खेल्दै रमाइलो गर्दै स्कुल पुग्ने गरिन्थ्यो।
बाटोमा स्कुल जाँदा/आउँदा कसैको बारीमा मौसम अनुसारका फलफूलहरु अमिला, अम्बा, काफल, काक्रा रहेछन् भने चोर्न समेत अगाडि सरिन्थ्यो। आजभोलि जस्तो स्कुलमा दिउँसो खाजा खाने चलन बसिसकेको थिएन। पैसा पनि नहुने हुँदा अक्सर स्कुलमा खाजा खाइदैनथ्यो। बरु खाजा समयमा स्कुल नजिकैका साथीहरुक घरमा गएर मौसम अनुसारका फलफूलहरु खाने गरिन्थ्यो।
कक्षा कोठामा पढ्न अल्छी लाग्दा पिसाब नआए पनि प्रत्येक पिरियडमा 'सर मे आई गो टु ट्वाइलेट?' भनेर बाहिर निस्कने गरिन्थ्यो। गणितमा दुना र अङ्ग्रजीमा के माने के भनेर मिनिङ पढ्न ज्यादै अप्ठ्यारो लाग्ने गर्थ्यो। नेपाली किताबका कथा कविता भने रटान पार्ने गरिन्थ्यो। घरमा वा स्कुलमा पढ्न बस्दा भाका हालेर चिच्चाएर पढ्ने चलन थियो। दिउँसोको खाली टाइममा कहिलेकाहीँ कबड्डी, चुङ्गी र भलिबल जस्ता खेलहरु खेल्ने गरिन्थ्यो।
दिउँसो चार बजे स्कुल छुट्टी भएपछि को चाँडै घर पुग्ने भनेर प्रतिस्पर्धा नै हुने गर्थ्यो। दिनभरि स्कुलमा पढेर आउँदा भोक लाग्ने हुँदा घरमा आएपछि खाजा खानको लागि हात धुन र कपडा फेर्न समेत हतार हुने गर्थ्यो। अक्सर गरेर कोदोको रोटी, मकै, भटमास, भुटेको भात तथा आटो खाजाको रुपमा रहने गर्थ्यो। आजभोलि जस्तो बनिबनाउ खाजा मःम:, चाउमिन, चाउचाउको चलन गाउँघरमा चलिसकेको थिएन।
स्कुलमा शुक्रबार हुने अतिरिक्त क्रियाकलाप निकै रमाइलो हुन्थ्यो। शुक्रबार पहिलो घन्टीपछि कक्षाकोठा लिपपोत गर्नुपर्ने र अतिरिक्त क्रियाकिलापमा भाग लिनुपर्ने हुँदा खासै पढाइ नहुने भएकोले शुक्रबार कहिले आउँछ भनेर कुर्ने गरिन्थ्यो। पालो लगाएर प्रत्येक शुक्रबार कक्षाकोठा लिपपोत गर्नुपर्थ्यो। केटीहरुले लिप्ने, केटाहरुले माटो र पानीको व्यवस्था गर्ने प्रचलन थियो।
प्रत्येक दिन रोल्न नम्बरअनुसार पालो लगाएर बढार्ने चलन थियो। कक्षाकोठा लिपपोतसँगै ब्ल्याक-बोर्डमा रेडियो वा क्यासेट वा टर्च लाइट बालेर सडेका ब्याट्रीलाई फुटालेर कालो रङ लगाउने गरिन्थ्यो। लिपपोत र सरसफाईपछि अतिरिक्त क्रियाकलाप सुरु हुने भएकोले खासै गृहकार्य पनि नहुने हुँदा ज्यादै खुसी लाग्ने गर्थ्यो। स्कुलबाट साँझ घर फर्केर खाजा खाइवरी घरकै काममा व्यस्त हुने गरिन्थ्यो।
अहिले जस्तो टिभी मोबाइल, फेसबुक वा अनलाइन गेमको चलन नभएकोले बरु फुर्सद हुँदा साथीभाइसँग मिलेर भकुन्डो लुकाउने, कबड्डी, भलिबल जस्ता खेलहरु खेल्ने गरिन्थ्यो। बिदाको दिन घरमा बसेर टिभी हेर्ने, कार्टुन हेर्ने, अनलाइन गेम खेल्ने तथा सामाजिक संजालमा रमाउने चलन छ आजभोलि। केटाकेटीहरु पनि बाहिरी वातावरणभन्दा भित्री वातावरणमा कोठामा एक्लै बस्न रुचाउँछन्। तर ऊ बेला घरमा बस्नभन्दा बाहिर खेल्न मन लाग्थ्यो।
त्यतिबेला सबैको घरमा गोठमा टन्न गाईभैसी हुने हुँदा घाँस काट्ने, गोबरसोत्तर गर्ने काममा समेत घरमा सहयोग गर्नपर्थ्यो। गाउँमा पानीको निकै समस्या भएकोले नुहाउन र कपडा धुनको लागि शनिबार नै कुर्नुपर्थ्यो। शनिबार र बिदाको दिन गाईबाख्रा चराउन जंगल जाने गरिन्थ्यो। बिदाको दिन घरमा बस्नुभन्दा जंगलतिर गोठालो भएर जान रमाइलो लाग्थ्यो। गोठालो भएर जंगल गएपछि गाईबस्तुलाई जंगलतिर छोडेर हामीहरु भने कहिले पौडी खेल्न खोलामा पुग्थ्यौँ त कहिले डन्डिबियो, कबड्डी जस्ता खेलहरु खेल्ने, कहिले पिङ बाटेर पिङ खेल्ने गर्थ्यो।
बाल्यकालमा घरमा कोही पाहुना आइदिउन् भन्ने चाहाना हुने गर्थ्यो। किनकि पाहुनाहरुले केही न केही खानेकुरा ल्याइदिने गर्थे र कसैकसैले पैसा पनि दिने गर्थे। तर आजभोलि बालबालिकालाई को आफन्त, को पराई, घरमा को आयो, को गयो केही ख्याल हुन छाडिसकेको छ।
गाउँघरमा मेलापर्व निकै रमाइला हुन्थे। साउने सक्रान्ती, जनै पूर्णिमा, तीज, दसैँ, तिहार हाम्रो तिरका मुख्य चाडपर्व थिए। साउने सक्रान्तीदेखि मेला पर्व सुरु हुने गर्थ्यो। साउने सक्रान्तीको दिन साउने फूल, भलाए, बाबियो जस्ता घाँसहरु र फूलहरु जम्मा गरिन्थ्यो। साँझ पूजा गरेर सल्लाको दाउरा चिरेर तयार पारेको राँको बालेर लुतो फाल्ने चलन थियो। लुतो फाल्दा आफ्नो गाउँमा लुतो नफैलियोस् भन्ने हेतुले अर्काको गाउँलाई चिच्चाएर लुतो लैजान आग्रह गरिन्थ्यो।
नागपन्चमीको दिन घरमै नाग देवताको चित्र बनाई घरको मूल ढोकमा टाँस्ने चलन थियो। त्यसै दिन बारीमा फलेका मकै भाचेर ल्याई पोल्ने अनि छोडाउने र घिउमा मोलेर पूजाआजा सहित देवतालाई चढाएर खान सुरु गरिन्थ्यो। खेतबारीमा फलेको अन्न चाहे मकै वा धान होस् देवीदेवतालाई चढाएर मात्र खान सुरु गर्नुपर्छ भन्ने चलन थियो र त्यो चलन हाल पनि छ।
जनै पूर्णिमामा पनि दौतरीहरुबीच डोरो बान्ने प्रतिस्पर्धा नै हुने गर्थ्यो। कसको हातमा धेरै डोरो छ भनेर एक अर्काबीच तुलना हुने गर्थ्यो। जनैपूर्णिमा लगाएको डोरो तिहारको गाई पूजाको दिन निकालेर सोही डोरोमा माला उनेर गाईलाई लगाइदिने चलन थियो। त्यसो गरेमा वैतर्णी तरिन्छ भन्ने विश्वास थियो।
जनैपूर्णिमा लगत्तै गाउँघरमा तीजको रमझम सुरु हुन्थ्यो। तीजको १०-१५ दिन अगावै तीजका गीत गाएर रमाइलो गर्ने चलन थियो। दिउँसोको समयमा सबै घरको काम र खेतबारीमा व्यस्त हुनुपर्ने हुँदा साँझको समयमा सबै जम्मा भएर गीत गाउने र रमाइलो गर्ने चलन थियो। तीजको समयमा चेलीबेटीहरुले प्रायःजसो दुःख, पीडा र वेदनाका गीतहरु गाएर आफ्नो मनका बेदनाहरु पोख्ने गर्थे। महिला दिदी-बहिनीहरुलाई मादल, झ्याली, मजुरा बजाएर पुरुष दाजुभाइहरुले साथ दिने गर्थे। चाडपर्वमा आत्मीयता र सामीप्यता थियो।
उमेर बढ्दै गएपछि र परिवारको साथ छोड्न सक्ने भएपछि रातको समयमा साथीभाइहरुसँग राम हेर्न जाने गरिन्थ्यो। (हाम्रोतिर मेला पर्व वा कुनै उत्सवमा हुने रमाइलो हेर्न जाँदा राम हेर्न जाने भनेर भन्ने चलन छ)। अरु सबै राम हेरेर रमाइलो गरिरहँदा हामीहरु भने कसको घरमा काक्रा, केरा, अम्बा, सुन्तला उखु, वा अन्य फलफूल फलेको रहेछ भनेर घर-घरमा गएर चियोचर्चो गर्ने गर्थ्यो। रातको समयमा अर्काको घरको फलफूल चोरेर खानुको मजा नै बेग्लै हुन्थ्यो। खान नसके टिपेर भए पनि नास गरिन्थ्यो। फलफूल चोर्दा पाप लाग्दैन भन्ने चलन थियो।
घटस्थापनासँगै दसैँ सुरु हुने र दसैँदेखि तिहारसम्म स्कुल बिदा हुने भएकोले घटस्थापनाको १-२ दिन अगावै रातोमाटो र कमेरोले स्कुल लिपेर चिटिक्क पार्ने चलन थियो। दसैँ सुरु भैसकेपछि सहर तथा विदेशबाट आफन्तहरु दसैँ मनाउन घर आउने क्रम सुरु हुन्थ्यो। कसको घरमा को आयो, कसलाई के ल्याइदियो भन्ने कुरा गाउँभरि सबैलाई थाहा हुन्थ्यो।
घटस्थापनाको दोश्रो दिन दुइज हेर्ने चलन थियो। साझँपख आकाशमा खुर्पेटो आकारको चन्द्रमा हेर्ने कार्यलाई दुइज हेर्ने भनिनथ्यो। दसैँको फूलपातीसम्म घर रातोमाटो र सेतो कमेरोले लिपेर सिँगारिन्थ्यो। महाअष्टमीको दिन घर नजिकैका देवी शक्ति पिठहरुमा पूजापाठ हुन्थ्यो। गाउँलेहरु सबै त्यहाँ सहभागी हुने र पूजापाठमा सामेल हुन्थे।
सहर-बजारबाट आएकाहरु र गाउँका स्थानीयहरुबीच देशको समसमायिक राजनीतिक गतिविधि र अभ्यासहरुको सन्दर्भमा चर्का-चर्का बहसहरु पनि हुने गर्थे। मन्दिरमा पूजापाठपछि दिउँसो खसी काट्न गाउँलेहरु जम्मा हुन्थे। अघिपछि मासु खान नसक्नेहरु पनि दसैँमा थोरै भए पनि मासु खान्थे र सोही बमोजिम गाउँभरि सबैलाई भाग पुर्याउने गरिन्थ्यो।
नवमीको दिन देवी पिठहरुमा ठूल्ठूला मेला लाग्ने र शक्तिपिठहरुमा ठूलो सङख्यामा पशुबली दिने गरिन्थ्यो। दशमीको बिहानै घरको कामहरु सिद्धाएर टीकाको तयारी हुन्थ्यो। घरमा सबैले पालैपालो टीका लगाउँदा पनि करिब २ घन्टा जति लाग्ने गर्थ्यो। चाडपर्वको बेला एकल परिवारमा भन्दा संयुक्त परिवारमा रमाइलो हुन्थ्यो। घरमा टीका लगाएपछि गाउँघरमा आफन्तहरु तथा छरछिमेकी तथा मावलीमा टीका लगाउन जाने गरिन्थ्यो।
टीका लगाउनुको तात्पर्य आशीर्वाद लिनु भन्दा पनि प्रसाद तथा सेलरोटी तथा मिठाई खान पाइन्छ भन्ने आश हुन्थ्यो। कसको घरमा के-के पाइयो सबै हिसाबकिताब राख्ने गरिन्थ्यो। सामान्यतया केटाहरुलाई टीका लगाएर दक्षिणा दिने चलन नभएकोले दक्षिणाभन्दा पनि खानेकुरा तर्फ बढी ध्यान जान्थ्यो।
दसैँको टीकाको दिनपछि पूर्णिमासम्म विभिन्न शक्तिपीठहरुमा सरायनाच नाच्ने चलन थियो र छ। हाम्रो भेगमा धुर्कोटको सराय नाच निकै प्रख्यात छ। पूर्णिमाको दिन धुर्कोटको सराय नाच हेर्न निकै टाढा-टाढाबाट मानिसहरु आउने गर्थे। सोही दिन सराय नाच सुरु हुनभन्दा अगाडि गन्दर्भ समुदायका दुई दाजुभाइहरुले सारङ्गी बजाएर गीत गाउने परम्परा थियो । जसमा दाजुले जमरा र दुबोको माला लगाएर सारङ्गी रेट्दै 'मेरो भाइलाई देख्छु मैले वनको ढेडु जस्तो' भन्ने गर्थे भने भाइले दाइलाई उही पहिरन र शैलीमा दाजुप्रति सम्मान गर्दै- 'मेरो दाइलाई देख्छु मैले पूर्णिमाको चन्द्र जस्तो' भन्ने गर्थे।
निकै भावुक शैलीमा प्रस्तुत हुने यो नाँच इतिहास बोकेको परम्परा थियो। पुस्तान्तरण हुन नसक्दा विस्तारै यो परम्परा लोप हुने अवस्थामा पुगेको छ। नौमती बाजाको तालमा हातमा तरबार, खुकुरी, ढाल जस्ता परम्परागत हतियार र गलबन्दी तथा रुमाल लिएर गोलो घेरामा भाका हाल्दै सराय नाच नाच्दा निकै रमाइलो हुने गर्थ्यो। तर हामी केटाकेटी भने सराय नाच हेर्नभन्दा पनि त्यहाँ बेच्न ल्याएका खानेकुराहरु खासगरी जुलबीमा रुमल्निथ्यो। दसैँमा टीका लगाएर पाएको दक्षिणा खर्च गर्ने ठाउँको रुपमा यो दिन रहने गर्थ्यो।
शरद ऋतुको उमंगमा फलफूलको बास्नाले उमंगमय हुने भाइटीका अर्थात् तिहार पर्व पनि निकै रमाइलो गरी मनाइन्थ्यो। देउसी-भैलो तथा जुवातास, सेलरोटी र फूलहरुको समिश्रणले यो पर्वले छुट्टै रौनक लिएर आउथ्यो। तिहारमा घरमा बन्ने थरीथरीका सेलरोटी खान पाउँदा मनमा खुसी र आनन्द दुवै हुन्थ्यो।
काग तिहार र कुकुर तिहारको दिन काग तथा कुकुरलाई मिठो मसिनो खुवाउने र पूजा गरिन्थ्यो। खासगरी गाई पूजाको दिन र लक्ष्मी पूजाको दिन विशेष रमाइलो हुन्थ्यो। गाई तथा गोवर्द्धन पूजामा गाई र गोरुको पूजा निकै धुमधामसँग गरिन्थ्यो। गाई-गोरुलाई फूलको माला लगाइदिने रोटी तथा नुन खुवाउने तथा मिठो मिठो घाँस खुवाउने चलन थियो। सोही दिन बाबियोको रसी जसलाई 'तोरण' भनिन्छ कलात्मक ढंगले बनाएर त्यसमा फूल, रोटी तथा कुचो राखेर घर नजिकैको बाटोमा बाटो क्रस हुने गरी बाध्ने चलन थियो।
लक्ष्मी पूजाको दिनपछि देउसी भैलो खेल्ने कार्य सुरु हुन्थ्यो। हाम्रो तिर पुरुषहरु भैलो र महिलाहरु देउँसी खेल्ने चलन छ। खासगरी गाउँका साथीभाइ तथा दौतरी मिलेर भैलो खेल्ने सरसल्लाह र त्यसको अभ्यास निकै पहिले देखिनै हुन्थ्यो। रातको समयमा घर-घरमा गएर भैलो खेल्दा निकै रमाइलो र आनन्द लाग्ने गर्थ्यो। सुपोमा सेलरोटी, चामल तथा पैसा राखेर त्यसमा दियो र फूलहरुले सजाएर कुनै घरपरिवारले निकै सम्मानका साथ कात्तिके दान दिने गर्थे भने कतिले केटाकेटी भनेर हेप्ने पनि गर्थे।
भैलोमा खासगरी 'राजाको बारीमा…', 'राजाको देशैमा…' जस्ता सोरठी भाका पनि गाउने चलन थियो। अहिले सहरबजार तथा गाउँघरमा म्युजिक सिस्टम बजाएर नाच्ने चलनले पुराना परम्पराहरु लोप हुने स्थितिमा छन् तर उसबेला मौलिक परम्परामा मादल, खैजडी, मजुरा बजाएर तालमा ताल मिलाएर नाच्ने गरिन्थ्यो। भैलो खेलेपछि उठेको पैसाले पछि जंगलमा गएर रमाइलो गर्दै खाजा खाने चलन थियो।
त्यस्तै तिहारमा गाउँघरमा जुवा तास खेल्नेहरुको पनि निकै भिडभाड हुने गर्थ्यो। पैसाका लागि भन्दा पनि रमाइलोको लागि खेल्ने बढी हुने गर्थे। कसैकसैले रक्सी खाएर होहल्ला पनि गर्थे तर मारपिट र लडाइ-झगडा भने निकै कम हुने गर्थ्यो। तिहारको दिन गुर्दौली, मखमली तथा सयपत्री फूलहरुको माला बनाएर लगाउन घर वरपर प्रशस्त रोप्ने गरिन्थ्यो।
तिहारमा दिदिबहनीले दिने सेलरोटी कसको भागमा कति परे भनेर दाजुभाइबीच तुलना हुन्थ्यो। केही खाएर बाँकी अर्को-अर्को दिनको लागि चियासँग खाने भनेर राख्ने गरिन्थ्यो। यस किसमिले गाउँघरमा विभिन्न चाडपर्वहरु निकै धुमधाम रमाइलो र हर्ष उल्लासका साथ मनाउने चलन थियो।
बाल्यकालको सम्झनाले जीवन जिउन निकै सहज पनि हुने गर्दो रहेछ। बाल्यकालको समयमा चाडपर्वमा हुने उमंग समय बित्दै जाँदा विस्तारै घट्दै जाँदो रहेछ। रहर होस वा बाध्यता विभिन्न कारणले गाउँबाट सहरमा पस्नुपर्दा चाडपर्वहरु पनि बिरानो हुदै जाँदा रहेछन्। कलाकार लक्ष्मी न्यौपानेको 'मागेर पाउने भए मै माग्थेँ बालापन' भन्ने गीतले भनेजस्तै अब ती दिनहरु एक पटक फेरि फर्केर आउने हो भने म जुनी-जुनी त्यही समय, र त्यही बालापन माग्थेँ होला।
गाउँघर अझै गाउँघरजस्तै छ कि सहरजस्तै परिवर्तन भैसक्यो? तपाईं पनि एक पटक गाउँ फर्केर दुई दशक अगाडिको आफ्नो बाल्यकाल र चाडपर्वहरुको सम्झना गर्नुहोस त, त्यो बाल्यकाल र बाल्यकालका चाडपर्हरु कति रमाइला थिए?