केही समय अघि एउटा कार्यक्रमको सिलसिलामा साथीहरूसहित हामी पश्चिम नेपालतर्फको यात्रामा निस्किएका थियौं। बाटोमा एक प्रसिद्ध मन्दिर पर्दथ्यो। साथीहरुले उक्त मन्दिर दर्शन गर्ने मनसाय प्रकट गर्नुभयो। हामी हिन्दुहरु भगवानप्रति आस्था राख्छौँ र कसैले राम्रो आकृतिको ढुंगालाई रातो रङ्ग दलेर जहाँकहीँ राखिदियोस, त्यहाँ तुरुन्तै नतमस्तक भई भगवान सम्झेर आफ्नो शिर निहुर्याउछौँ।
यहाँनेर मैले ढुंगा (शिला) लाई भगवान मानेर ढोग्न हुने/नहुने, पूजा गर्न हुने/नहुने भन्ने विषयको लम्बेतान छलफलमा प्रवेश गर्न खोजेको होइन। यसको अलग्गै पाटोबाट छलफल गर्न सकिन्छ।
यो हामी आर्यजनहरुको संस्कृति, परम्परा, संस्कारजन्य गतिविधि तथा आ-आफ्नो आस्था र विश्वासको प्रकटिकरण हो, सभ्यता पनि हो। किनभने संस्कृतिले सभ्यताको निर्माण गर्छ अनि त्यै सभ्यताले संस्कृतिको संरक्षण गर्दछ। यी दुवै अन्तरसम्बन्धित छन्।
हामी मन्दिर नजिकै पुग्यौं। मन्दिर भव्य र निकै कलात्मक थियो। सम्पदाहरुको धनी देश हो हाम्रो। प्राचीन कला कौशल र कालिगडीको उच्चतम नमूना त्यस मन्दिरमा देख्न पाइन्थ्यो। त्यहाँ दर्शनार्थीको ठूलो भिड थियो। धेरैजाना दर्शनार्थीहरू मन्दिर आवतजावत गरिरहेका छन्।
भित्र छिर्दै गर्दा मन्दिरको गेट नजिकै एक कुनामा रोगले थलिएर जर्जर अवस्थामा रहेका एक वृद्ध मानिसमा मेरो नजर ठोकियो। ती वृद्ध मानिस दर्शनार्थीहरुसित केही अपेक्षा सहित आशातीत नजरले हात फैलाइरहेका थिए। अक्सर मन्दिरहरुमा यस्ता दृश्यहरु देखिन्छन्। म भने यस्ता दृश्यले भावुक हुन पुग्छु।
उनको शरीर जीर्ण छ, सायद आज उनको पेटमा अन्नको चारो परेको छैन। शरीरमा आङ ढाक्ने एकसरो न्यानो कपडा छैन। हात खुट्टाहरु पट्पटी फुटेका छन्। कपाल जिङरिङ्ग छ। उनी हेर्दै मायालाग्दो देखिन्छन्। उनका चाउरी परेको अनुहारमा दुई वटा आँखा चम्किरहेका छन्।
सबै मानिसहरू मन्दिरको भगवानबाट बरदान स्वरुप केही न केही पाउने इच्छाले आइरहेका छन्। कोही धनसम्पत्ति प्राप्ती, कोही सन्तान प्राप्ती, कोही पद प्रतिष्ठा प्राप्ती, अनि कोही लौकिक जगतका चमकधमक र भौतिक सुख सुविधादेखि वितृष्णा पैदा भै परालौकिक खुसी, आत्मिक शान्ति तथा स्वर्ग प्राप्ति हेतु आएका छन्। मेरो ध्यान तानेको ती वृद्ध भने एकमुठी चारो पेटमा हाल्ने बाध्यताले मन्दिर आइपुगेका छन्।
दर्शनार्थीहरु पूर्ण आस्था र विश्वास अनि भक्तिभावका साथ निर्जीव ढुंगाको मूर्तिमा मन खोलेर भेटी चढाइरहेका छन्। लड्डु मिठाई, दूध अर्पण गरिरहेका छन्। त्यही मन्दिर परिसरमा एक गाँस खान समेत नपाई वेदना, पीडा र अभावको जीवन बिताइरहेका भोकै पेट बस्न बाध्य निरीह मानिसहरुको लागि सोचिदिने कोही हुन्नन्।
उनको हातमा अहिलेसम्म केही खानेकुरा अनि एक रुपैयाँ पैसा परेको छैन। म मनमनै सोच्छु, हामी भित्रको मानवता ठिकठाक त छ? विवेकलाई बन्धक बनाइसकेको मानिसले कतै मानवतालाई पनि बन्धक त बनाएन? यदि त्यसो हो भने यो डरलाग्दो पक्ष हो। किनकि दया, प्रेम करुणा, भाइचारा तथा मानवतावाद हाम्रा पूर्वीय समाजका गहना हुन्। वैदिक सभ्यताका ओझिला सम्पदा हुन्। यी तत्व बिनाको हाम्रो समाज पश्चिमा जगत झैँ उजाड र असहिष्णु बन्न पुग्दछन्।
मन्दिरको सिढीँ चढ्दैगर्दा मनमा अनेकथरी कुरा खेल्न थाले। ती वृद्धको दयालाग्दो अवस्थाले मलाई लाग्यो वास्तवमा जिउँदो भगवान मैले तल मूलगेटमै छोडेर आइसकेँ, फेरि अर्को कुन भगवान खोज्न जाँदैछु म! आफू भित्रको मानवताले मलाई यसै भन्यो।
जसै म मन्दिको मुख्य दर्शन स्थल पुगेँ त्यहाँ देखेँ भक्तजनहरु तँछाडमछाड गर्दै एक सुन्दर आकृतिको मूर्तिलाई दूध, फूल, प्रसाद तथा मिष्ठान्न भेटी यथेष्ट अर्पण गर्दैछन्। बदलामा शिलामा आफ्नो शिर झुकाएर भगवानसँग आफूले चाहेको वरदान माग्दैछन्। उता भक्तजनले चढाएको दान दक्षिणा इत्यादि सामग्रीको व्यवस्थापन गर्न पूजारीहरुलाई भ्याइ-नभ्याई छ।
अर्को कुरा- भगवानप्रति आस्था विश्वास प्रकट गर्दै दान दक्षिणा अर्पन गर्न मानिस स्वतन्त्र छ। तर यहाँनेर विचार पुर्याउनु पर्ने मुख्य कुरा के हो भने आफूले गरेको दान दक्षिणा तथा सहयोग कस्तो ठाउँमा प्रयोग भैरहेको छ? त्यो दान दक्षिणाले भोको पेटमा चारो पर्यो कि परेन? कसैको नाङ्गो शरीर ढाकियो कि ढाकिएन? मानवताको हित र भलाइका खातिर त्यो प्रयोग भयो कि भएन? कतै त्यो सहयोग दुरुपयोग त भैरहेको छैन? कतै आफूले मन खोलेर गरेको सहयोग गलत ठाउँमा प्रयोग गरिरहेका त छैनन्? यदि त्यस्तो हुदैन भने आफूले गरेको त्यो सहयोग बेकार हुन पुग्दछ। दान गर्दा यसतर्फ पनि ध्यान दिन जरुरी म देख्छु।
मेरा साथीहरूले पनि मन्दिरको दर्शन गरेर पूजारीलाई यथासक्य दान-दक्षिणा अर्पण गरे। मैले भने मन्दिरको प्रदक्षिणा गरेर दर्शन मात्र गरेँ अनि पूर्ण श्रद्धाका साथमा मनरुपी पुष्प, भक्तिभावरुपी दक्षिणा अर्पण गरेँ र वरदान स्वरुप विश्व मानव कल्याणको प्रार्थना गरेँ। मलाई थाहा छ पैसा त मानिसलाई चाहिने हो, भगवानलाई होइन। किनभने गीतामा कृष्णको उपदेशको सार यस्तै छ।
लड्डु, मिठाई र भेटी आदिको भक्तिमा कुनै मूल्य र महत्त्व छैन। त्यसको महिमा त हार्दिकता, पवित्रता, सत्यता र मानवतामा छ। पूजाका बाह्य दृश्य सामाग्रीभन्दा अनन्यभावको श्रद्धारुपि प्रेम र भक्ति मलाई अर्पण गर म त्यसमा खुसी छु। मन्दिरमा भेटी नचढाएकोमा अन्य साथीहरुले मलाई अनौठो नजरले हेरे। सायद लोभी लालची यस्तै केही सोच्न पनि भ्याए होलान् मलाई फरक परेन।
फर्क फर्क हे जाऊ समाऊ मानिसहरुको पाउ, मल्हम लगाऊ आर्तहरुको चहर्याइरहेको घाउ...
दर्शनपछि देवकोटाको यो दिव्य वाणी गुनगुनाउँदै त्यो अघिको निरीह वृद्धलाई सम्झिँदै तल झरे र आफूले सकेको केही दक्षिणा उनको हातमा राखिदिए, मानवता प्रतिबिम्बित भएर होला वृद्ध मुसुक्क हाँसे। उनको त्यो निर्दोष र निश्चल हाँसोमा मैले साक्षात भगवान मुस्कुराएको पाए, जसले मलाई अपार आनन्दानुभूति महसुस भयो। साथीहरु मलाई हेरिरहेका थिए।
अघि मैले माथि मन्दिरमा भेटी नचढाएको कारण उनीहरुले बुझेर होला भन्न थाले 'वास्तविक पुण्य तपाईंले कमाउनु भयो।' म भने त्यो मन्दिरको शिलामा चढाएर बग्दै आएको दूधको भेल हेरिरहेको थिएँ जुन ती वृद्ध बसेको नजिकैको ढलबाट बग्दै थियो। वृद्धको सजल नेत्रबाट आँसुको भेल बग्दै थियो।