आमाले सधैँ भन्ने गर्नु हुन्थ्यो 'समय आएसी सबै आफै ठिक हुन्छ। आत्तिनु र मात्तिनु हुँदैन। सबै कुराको बुझ्ने समय हुन्छ। ठिक समयमा बुझिन्छ सबै।'
आमाले भन्नु भएका यी शब्दहरु बुझाइबाट धेरै टाढा थिएँ। बुझ्ने कोसिस धेरै गरेँ, तर सायद ठिक समय नभएर होला, बुझ्न सकिनँ।
'हजुरको बच्चालाई टाउकोमा सानो समस्या छ, अप्रेशन गर्नु पर्ने हुनसक्छ। धेरै ठूलो त हैन तर अहिलेलाई औषधि सुरु गरौँ अनि निरन्तर चेकजाँच गरेर अरु हेरुँला' हल्का होसमा आउँदा यही सुन्दै थिएँ म।
आमा मभन्दा अलि पर बसेर डाक्टरसँग यही कुरा गर्दै हुनुहुन्थ्यो। आमा एकछिनमा आउनुभयो, यसो हेर्दा नै पिरोलिएको जस्तो देखिन्थ्यो उहाँको आँखा तर केही पनि भन्नु भएन। हाँसेर बोल्नु हुन्थ्यो, म भने टुलुटुलु हेरिबस्थेँ। दुई दिनको अस्पताल बसाइ त्यस्तै काट्यो अनि घर फर्कियौँ।
आफूलाई गाह्रो नभएर होला केही ठूलो भए झैँ लागिरहेको थिएन। 'सानो समस्या त हो नि, सबैलाई हुन्छ। मलाई नि भयो होला, त्यही नि औषधि देको नै छ के पिर गर्नु पर्यो सबै ठिक हुन्छ।' मेरो सोचाइ यही थियो। आमाको सोचाइ मेरोभन्दा अलि भिन्न रहेछ। एकछिन एक्लै नछोड्ने, खाना खाने बेला होस् या बाहिर कतै जाने बेला होस्, सधैँ सँगै हुनुपर्ने। कोठाबाट बाहिर त एक्लै पाइला समेत टेक्न दिनुभएन। खाना पनि आफू जहाँ बसेको छु, त्यहि आउथ्यो। त्यो देख्दा त खुसी लाग्ने।
'ओहो! बिरामी हुँदा त केही गर्ने नपर्ने। कति आनन्द। अरु बेलामा त बिहान उठेदेखि बेलुका सुतेसम्म काम हुन्थ्यो। अहिले त केही छैन। बस्ने र खाने।' यही सोचेर मक्ख पर्थ्यो मेरो बाला दिमाग। कहिलेकाहीँ कोठामा बस्दाबस्दै अल्छी लागेको बेला मा साँझ कौँसी तिर जाने बानी, अस्पतालबाट फर्केपछि त्यो पनि बन्द भयो। आमा सानो-सानो कुरामा पनि आत्तिने। आमा आत्तिएको देख्दा 'हैन, मलाई साँच्चीकै केही ठूलो नै भाको छ कि' यस्तो कुरा नि खेल्थ्यो मनमा।'
सानो हुँदा आमादेखि एकदम डर लाग्थ्यो। बच्चा हुँदा धेरै चल्ने बानी, सधैँ केही न केही फुटाउने, बिगार्ने म एकदमै चकचके। आमाले फेरि कुट्न बेर लाउने हैन, हात हाली हाल्ने यस्तो हुँदा। रुन त कति-कति रोएँ होला त्यसको लेखाजोखा नै छैन। यसो गाली मात्र गरे नि रोइहल्ने बानी, पिटाइ नै खाँदा त के भन्ने। आमाको नजिक जान नै डर लाग्थ्यो, पिटी पो हाल्नु हुन्छ कि जस्तो लाग्ने यसो हात उठ्दा पनि।
त्यो बेलाको आमा र आजको आमाको फरक देख्दा अचम्मित हुन्थेँ। यसो सानो बेलाको त्यो कुरा याद गर्यो अनि आमाको मुख हेर्यो, अर्कै लाग्छ। मुहारको त्यो हाउभाव नै भिन्न, अनुहार मलिन, रातो आँखा, मानौँ ती आँखाले भनिरहेका छन् 'मलाई भइदिएको भए नि हुन्थ्यो बरु, मेरो बच्चामाथि यस्तो किन भयो?' ती आँखामा निद्राको बास नभाको नि हप्तै भएजस्तो।
आँखा देखेर यति त पढ्न सकियो, मनमा भएका पिर? कति होलान् पत्तै लगाउन गाह्रो। घरमा मान्छेको लस्कर त्यस्तै हुन्थ्यो, कुनै दिन खालि नहुने। आमा सबै मान्छेसँग बोल्दा एउटै कुरा गर्नु हुन्थ्यो, 'मलाई भएको भए हुन्थ्यो, आफ्नो बच्चाको पीडा कसरी देख्ने? कति सहनू? कहिलेकाहीँ त मन एकदम रुन्छ।'
हरेक मान्छे जो आए र यो सुने, सबैले एउटै उत्तर दिए 'आमाको मन हो। एकदम कोमल हुन्छ नि। नआत्तिनुस्, सबै ठिक हुन्छ, औषधि चलिराको नै छ ठिक भैहाल्छ।'
फेरि कहिलेकाहीँ आमा आफै एकदम बलियो हुने। भन्ने गर्नु हुन्थ्यो, 'यस्तो त भैहाल्छ नि। दुःख सबैलाई पर्छ, ठूलो सोच्न भएन। ठिक हुन्छ सबै।' त्यतिबेला फेरि अरुले भन्थे 'आमा हो नि, आमा भएपछि सबै सहन सकिन्छ। आमाको मन हो। सकिन्छ सबै।'
कुरा त दुवै गलत हैन। आमाको मन र आमाको माया समय परिस्थितिअनुसार नरम र कठोर हुने रहेछ।
जीवन आफैमा संघर्ष हो। यो कुरा त नयाँ पक्कै पनि होइन, सधैँ सुनेको हो। धेरैले भोग्नु पनि भयो होला। आमाको लागि त झन् हरेक कदममा संघर्ष छ। आफू छोरी हुँदाको संघर्ष, श्रीमती हुँदाको संघर्ष अनि आमा हुँदाको संघर्ष। बच्चालाई सानो घाउ लाग्छ भने पनि सबैभन्दा धेरै दुखाइ त आमालाई नै हुने रहेछ। आफूमा आउने पीडा सबै सहन सक्ने, बच्चामा सानो केही परे पनि मन आत्तिने फेरि खुलेर भन्न नि केही मिलेन। आमा हो, मन दरिलो बनाउन पनि पर्यो।
यी सब कुरा मेरो बुझबाट माथि छ। त्यही नबुझेर होला अब यी सब प्रश्नको रुपमा आइरहेका छन्। आमाको मन आखिर हुन्छ चाहिँ के? कमजोर कि बलियो?
कति लेखहरु पढियो, कति कहानीहरु सुनियो, आमा कति महान छन् भनेर देखियो र देखायो समाजले। आफूभन्दा अगाडि बच्चा हुन् र आफ्नो खुसी सबै ती बच्चामा निहित गर्नु, ती बच्चाको सबै पीडा आफ्नो भाग्यमा लिन पाउँ भन्ने सामर्थ्य आउँछ चाहिँ कहाँबाट? सायद जुन दिन बच्चाको जन्म हुन्छ, आमा पनि त्यही दिन जन्मिने रहेछिन् र जन्मिने रहेछ त्यो हिम्मत र साहस।