आजकाल मध्यरातदेखि पासपोर्ट लिनको लागि पहिलेको नारायणहिटी राजदरबार हालको पासपोर्ट विभागको गेटदेखि ठमेलसम्म लाइन हुन्छ।
राति- राति नसुतेर आ-आफ्ना सपनालाई पूरा गर्ने उद्धेश्यले विदेश जानको लागि पहिलो खुड्किलो पासपोर्ट बनाउने काम हुन्छ। पासपोर्ट बनाउनदेखि नै धेरै दुःख कष्ट र संघर्षबाट सुरू हुन्छ।
कतिपय सोझा साझा, निमुखा जनताको त पासपोर्ट बनाउने क्रममा नै केही घुस्याहा व्यक्तिहरूले घुस माग्दै सघाई दिएको जस्तो समाचार धेरै पटक पढ्न पाइएको छ।
जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन दिएर पासपोर्ट लिने काम होस् या जिल्ला प्रशासनको सिफारिसमा काठमाडौंबाट पासपोर्ट लिने काम होस सोझा साझा नागरिकलाई झन्झट भइरहेको छ। तसर्थ पासपोर्ट लिने प्रक्रियालाई नेपाल सरकारले छिटो छरितो र सजिलो बनाउन आवश्यक देखिएको छ।
परराष्ट्र मन्त्रालयअन्तर्गत पासपोर्ट विभागले केही सुधारात्मक काम पनि गरेको छ तर आजभोलि जनताको लाइन रातिदेखि बसेर पनि बिहान पालो नपाउनुले टोकन सकियो भोलि आउनू भनेर गेटमा बसेको सुरक्षाकर्मीले हकारेको देख्दा निकै सुधारात्मक काम गर्न आवश्यक छ।
पासपोर्ट बनाउनुको सबैको उद्धेश्य कोही आफन्तजनलाई भेट्नको लागि विदेश जाने होलान्, कोही व्यापारिक शिलशिलामा जाने होलान्, कोही पर्यटकीय हिसाबमा घुम्नको लागि जाने होलान्, कोही विद्यार्थी भिसामा अध्ययन गर्नको लागि जाने होलान्, अत्यधिक रूपमा आफ्ना सपनालाई साकार पार्नको लागि मजदूरको हिसाबमा विदेश जाने होलान्।
यीलगायत विभिन्न उद्धेश्य राखेर विदेश जानको लागि पासपोर्ट चाहिने देशमा अनिवार्य आवश्यक पर्दछ।
मलाई लाग्छ भारतबाहेक अन्य जुनसुकै देश जान पनि पासपोर्ट चाहिन्छ। पासपोर्ट प्राप्त भइसकेपछि आ-आफ्नो उद्धेश्य अनुसार भिसाको आवश्यकता पर्दछ।
पहिलो खुड्किलो पासपोर्ट प्राप्त गर्न दोस्रो खुड्किलो भिसा प्राप्त गर्न, भिसा प्राप्त गर्न अत्यन्तै कठिनाइ छन्। आफ्नै देशको पासपोर्ट लिन त रातभरि लाइन बस्नुपर्ने हुन्छ भने भिसा त अरू देशको नियम कानुनअनुसार प्राप्त हुने कुरा हो यो त झनै गाह्रो हुने कुरा भयो।
तेस्रो खुडकिलो भिसा प्राप्त भइसकेपछि पनि सम्बन्धित देशमा गएर आफ्नो चाहना अनुसारको पेशा कस्तो हुने हो त्यो झनै अप्ठ्यारा खुडकिलो हो। यस्ता धेरै खुडकिलाहरू पार गर्नुपर्ने बाध्यता छ।
पंक्तिकारले आफैं संसारका २३ वटा देशको भ्रमण गरेको अनुभव भएकोले पाठकमा अनुभवका आधारमा पनि धेरै कुरा जानकारी गराउन सक्छन्।
भारत मुलुकको होस् या खाडी मुलुकको होस् या संसारका विकसित देशको होस् सबैको बारेमा पंक्तिकारले बुझे जति कुन-कुन भिसामा विदेश गइन्छ र विदेशमा नेपालीको अवस्था के कस्तो छ ? विदेश जान नेपालीहरू बाध्य किन छन् ? रातभरि लाइन लागेर पासपोर्ट लिनुपर्ने अवस्था के कारणले आइपुग्यो ? यी समग्र प्रश्नहरूको आम जानसमुदायको चासोलाई उजागर गर्ने प्रयास गरिनेछ।
डिभी लोटरीमा अमेरिका जानको लागि पासपोर्ट
कयौं नेपालीको अमेरिका जाने ठूलो सपना छ। हरेक वर्ष डिभी फर्मबाट आवेदन लिइन्छ। डिभी भर्नेको अथवा आवेदन दिनेको संख्या पनि नेपालमा कम हुँदैन। नेपालका भिआइपी भन्नेहरूदेखि सर्वसाधारणसम्म डिभी भर्ने समयमा साइबरमा ठूलै घुँइचो हुन्छ। जस्तो आजभोलि पासपोर्ट लिनेको ठूलै घुइँचो छ। त्यस्तै, यही महिनाभरी इ-स्पोर्टलगायत डिभी भर्ने धेरै ठाउँमा ठूलो घुइँचो देखिन्छ।
नेपालको लोभलाग्दो जागिर व्यवसाय छोडेर पनि अमेरिका जानेको संख्यामा उत्तिकै छ। केही वर्ष अघिदेखि डिभी लोटरीको लागि आवेदन दिन पनि पासपोर्ट अनिवार्य गरेको छ।
यही कारणले पनि अहिले डिभी लोटरीको पनि आवेदनको समय भएकोले पासपोर्ट विभागमा लामै लाइन भएको हुन सक्छ। कयौं व्यक्तिहरू डिभी लोटरी पीडित पनि भएका छन्। डिभी परेर पनि विभिन्न कारणले अमेरिका जान पाएका छैनन्।
विद्यार्थी भिसामा विदेश जानको लागि पासपोर्ट
नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पन्न गर्ने 'कारखाना' मात्र भएको छ भनेर धेरैले भन्ने गरेका छन्।
हजारौं विद्यार्थी वर्षेनी रूपमा स्नातकोत्तर गरेर बेरोजगार बसिरहेका छन्।
उच्च शिक्षा हासिल गरिसकेपछि पनि आफ्नो पढेको विषय अनुसारको काम पाइरहेका हुँदैनन्। तसर्थ विद्यार्थी भिसामा विदेश गएर पढे केही आर्जन गर्न सकिन्छ कि भन्ने उद्धेश्यले पनि लाखौं विद्यार्थीहरू विदेशिन बाध्य भएका छन्।
विद्यार्थी विदेश पढ्न जाने नाममा बर्सेनि करोडौं रुपैयाँ विदेशमा गइरहेको छ। यसको रोकावट गर्नको लागि नेपालको शिक्षा प्रणालीलाई सुधार गरी नेपालमै रोजगारीको वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो।
विद्यार्थी भिसामा पढ्न गएका कयौं विद्यार्थीहरूलाई विभिन्न देशहरूमा विभिन्न अप्ठ्यारा उत्पन्न भएका छन्। जस्तै: समयमै कलेजको फी तिर्न नसक्नु, 'होम सिक' हुनु त्यो देशको नियम कानुनको ज्ञान नहुनु, भाषा नआउनु लगायत नेपालबाट जाँदा लागेको खर्चको ब्याज तिर्न नसक्नु, घर परिवारको इच्छा पूरा गर्न नसक्नुले पनि धेरै विदेश गएका विद्यार्थीहरूको करिअरमा धक्का लागेको छ।
कयौं विद्यार्थीहरू पढ्न् नसकेर, काम गर्न नसकेर, फी तिर्न नसकेर आफ्नै देशमा फिर्ता भएका छ्न्।
पासपोर्टको लाइनमा बसेदेखि विदेश जानसम्म अनेक दुःख कष्ट पार गर्नुपर्दछ। विद्यार्थी भिसामा जाने विद्यार्थीका लागि आ–आफ्नो देशको नियम कानुन छ।
कुनै देशमा अलि सजिलो छ भने कुनै देशमा अलि गाह्रो पासपोर्ट बनाउने रातको लाइनदेखि विदेशमा काम गर्दाको पीडासम्म निकै ठूलो संघर्ष छ। तसर्थ, यी विदेशिन बाध्यताबाट उम्कनको लागि राज्यले वातावरण तय गर्नुपर्दछ।
भिजिट भिसामा जानको लागि पासपोर्ट
कयौं व्यक्तिहरू घुम्न परिवार भेट्न, व्यापारको शिलशिलालगायत विभिन्न प्रयोजनमा भिजिट भिसामा जानको लागि पासपोर्ट बनाइरहेका हुन्छन्। यस्तो भिसामा जानेले त खासै त्यति दुःख, अप्ठ्यारो व्यहोर्नु पर्दैन तर कहिलेकाहीँ नेपाल गरिब छ भनेर अन्य कतिपय देशहरूले भिजिट भिसामा गएका स्थापित कलाकार, नेता, कर्मचारी, व्यवसायीहरूलाई पनि फिर्ता गरेका धेरै उदाहरण छन्।
इमिग्रेसनबाट फिर्ता गरेर आत्म सम्मानमा नेपालको मर्यादामा चोट लागेका धेरै घटना छन्। कोही व्यक्तिहरू दलालमार्फत् भिजिट भिसामा गएर मोटो रकम बुझाएर विदेश लुक्न सफल पनि भएका छन्।
कतिपय बीच बाटोमै अलपत्र परेका समाचारहरू पनि छन्। अलपत्र परेकाको पैसा पनि सकिएको हुन्छ सपना पनि चकनाचुर भएका घटना छन्।
कामदार भिसामा जानको लागि पासपोर्ट
प्राय:जसो नेपालीहरू कोरियालगायत केही विकसित देशबाहेक धेरै मात्रामा कामदार भिसामा जाने भनेको खाडी मुलुक नै हो। नेपालमा बेरोजगार हुँदाको पीडाको सामना गर्नको लागि आफ्ना घर परिवारका इच्छा, चाहना पूरा गर्नका लागि मन अमिलो बनाइ पासपोर्ट बनाएदेखि मेनपावर धाउनेदेखि दलालसम्म पुग्न निकै कठिनाइ हुन्छ।
दलालका पनि दलाल हुन्छन्। मेनपावरका पनि एजेन्टहरू कयौं हुन्छन्। रातभरि लाइन लागेर, नसुतेर १० हजार खर्च गरी बनाएको पासपोर्ट एजेन्टले वर्षौंदिनसम्म भिसा आउँदैछ-आउँदैछ भनेर पासपोर्ट नै हराएको पीडा त झन् छँदै छ।
काठमाडौंमा कयौं पटक बोलाएर बस्दा, खाँदाको खर्च जोड्दा झन् ऋणमाथि ऋण थपिएको हुन्छ।
विदेश जाने सपनामा अरू केही योजना गरिएको हुँदैन। यदि भिसा आइहाल्यो भने पनि फ्री टिकट, फ्री भिसा भनेको ठाउँमा एक डेढ लाख नतिरेर जान पाइँदैन।
कम पैसा तिरेको हस्ताक्षर गराइन्छ तर विदेश जानेबाट धेरै पैसा असुलिएका समाचारहरू पढ्न पाइन्छन्।
विदेश जाँदा एउटा काम, एउटा तलब भनिएको हुन्छ तर त्यहाँ पुगेपछि फेरि अर्कै काम, अर्कै तलब भएको हुन्छ।
यसरी सोझा नागरिक पासपोर्ट बनाउनेदेखि विदेश जानेसम्म ठगिरहेका हुन्छन्। यी ठगिएका नागरिकप्रतिको उत्तरदायित्व कसले लिने ? राज्यका महत्वपूर्ण पदमा पुगेका व्यक्तिहरूले नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछु भन्छन् तर ठगिएका नागरिकको व्यवस्थापन त गर्न सक्दैनन्।
विकसित देशमा कामदार भिसामा गएका नेपालीहरूको अवस्था त ठिकै होला केही छुटपुट घटनाबाहेक। तर खाडी मुलुकमा गएका कामदारहरू त ५०० डिग्रीको टन्टलापुर घाममा काम गर्नुपरेको अवस्था कयौं अप्ठ्यारा कामसँग पौंठेजोरी गर्दै हात खुट्टा गुमाएको अवस्था, कयौं लासहरू बाकसमा प्याक भएर नेपालको विमानस्थलमा आफन्तको रोदनको अवस्थाले यी पंक्तिकारको मन रुन्छ।
माथि जे जति व्याख्या गरे पनि देश समृद्धिको दिशामा नगएसम्म विकसित नभएसम्म अनेक प्रकारका दुःख आम नेपालीले पाइरहने छन्।
पासपोर्ट बनाउन लाइनदेखि विदेशी भूमिमा गएर गरेको दुःखसम्म अनेकौं प्रकारका दुःख पीडा, रोदन भइराख्ने छन्। नेपालका राजनीतिक नेताहरूको दृढ इच्छाशक्ति बिना यो देशको विकास अघि बढ्न सक्दैन।
तसर्थ: आम राजनीतिक पार्टी र नेताहरूले देशको विकास नै अबको एजेन्डा बनाएर अघि बढ्नु पर्दछ।
पासपोर्ट बाध्यताले नबनाएर रहरले बनाउने वातावरण सृजना नगरेसम्म धेरै रात पासपोर्ट लिनको लागि लाइनमा बस्नुपर्ने अवस्था आउन सक्छ।