नेपाली भान्साको अभिन्न अंगको रूपमा चियालाई लिने गरिन्छ। पाहुनाको स्वागत गर्न होस् वा मुड चेन्ज गर्न, चिया नपिउने मान्छे पाउन मुस्किल नै छ। तर चिया पिउने मात्रै हैन, खान पनि सकिन्छ भन्ने कुरा नेपाली जिब्रोको लागि अलि नौलो विषय हुनसक्छ।
विश्वमा लगभग सबै मुलुकमा चियाको उपभोग गरिन्छ तर ६४ वटा मुलुकहरूमा मात्रै चियाको उत्पादन हुन्छ। तीमध्ये म्यानमार यस्तो मुलुक हो जहाँ चिया पिउने मात्रै हैन, चियाको पातबाटै बन्ने अचार जस्तो परिकार 'लफेत' खाने गरिन्छ।
बर्मेली संस्कारमा यदि घरमा खाना खानेगरी पाहुना आएको बेलामा खानासँग लफेत दिइएन भने पाहुनाले अपमानबोध नै गर्छन्। पुरानो जमानामा राज्य-राज्यबीच युद्ध हुँदा शान्तिको सन्धी गर्नुपर्यो भने एउटा राज्यको शासकले अर्को राज्यको शासकलाई लफेत पठाएर शान्तिको सन्देश दिने गरेको बर्मेली इतिहासबाट चियाको अचारको महत्व त्यहाँ कति छ भन्ने कुरा प्रस्ट हुन्छ।
नेपाली गाउँ-घरमा गुन्द्रुक बनाउने प्रकृयासँग धेरै हदसम्म मिल्ने सो किसिमको चिया बारे नेपाल लगायत धेरै मुलुकमा अझै नौलो रहेको छ। आउनुस्, सेलरोटीसँगै सितनको रूपमा खान सकिने चियाको अचार 'लफेत' बनाउने तरिकाबारे केही चर्चा गरौँ।
चाहिने सामाग्री
- आवश्यक मात्रामा दुई पात एक सुइरो भएको चियाको हरियोपत्ती
- मःमः पकाउने भाँडो (छैन भने, पानी उमाल्ने साधारण डेक्ची)
- नाङ्लो
- पंखा
- सिसा वा प्लास्टिकको हावा नछिर्ने बट्टा वा बाँसको ढुङ्ग्रो।
- परिमाण अलि धेरै छ भने डेक्ची, छोप्ने प्लास्टिक, डोरी र माथिबाट थिच्नको लागि चाक्लो सफा ढुङ्गा
बनाउने विधि
- चियाको बोटबाट आवश्यक मात्रामा दुई पात एक सुइरो कलिलो हरियोपत्ती टिपाई गर्ने।
- १०-१५ मिनेट हरियोपत्तीलाई पंखामुनि ओइल्याउन दिने।
- मःमः पकाउने भाँडा वा डेक्चीमा पानी उमाल्ने।
- पानी उम्लिएपछि मःमः पकाउने भाँडाको माथिल्लो तलामा हरियोपत्ती बसाल्ने। मःम पकाउने भाडा छैन भने डेक्चीमा पानी उम्लिएपछि हरियोपत्ती उम्लिएको पानीमा खनाउने।
- ५-८ मिनेट उमालेपछि तातो हरियोपत्तीलाई नाङ्लोमा खनाएर पानी तर्काउने र चिसिन दिने। चिसिने प्रक्रिया छिटो बनाउन पंखाले हावा लगाउन सकिन्छ।
- चिसिने क्रममा हरियोपत्तीलाई हातले हलुकासँग ४-५ मिनेट माड्ने। माड्दा निस्किएको रसलाई फालिदिने। यसले चियाको तीतोपन बाहिर निकाल्छ।
- हरियोपत्ती राम्रोसँग चिसिएपछि बेस्करी निचरेर हावा नछिर्ने बट्टा वा बाँसको ढुङ्ग्रोमा खाँदेर हाल्ने।
- हरियोपत्तीको परिमाण धेरै छ भने डेक्ची वा चाक्लो बाटामापत्ती राम्रोसँग खाँदेर राख्ने। हावा छिर्न नदिनको लागि प्लास्टिकले छोपेर डोरीले कस्ने। अनि माथिबाट सफा ढुङ्गाले थिचेर राख्ने। यस क्रममा चियामा अझै रहेको रस बाहिर निस्किन्छ।
यसरी प्याक गरिएको चियालाई घामले नभेट्ने ओसिलो ठाउँमा १५-३० दिनसम्म राख्ने। उक्त अवधिपछि उज्यालो हरियो रंगको बास्नादार चियाको अचार लफेत तयार हुन्छ।
ख्याल राख्नुपर्ने कुरो
- हरियोपत्ती पहेँलिन सक्ने भएकाले धेरैबेर उमाल्नु हुँदैन।
- उमालेर चिसो भएको चियालाई भाँडामा राख्नुअघि राम्रोसँग निचरेर पानी निकाल्नुपर्छ।
- प्याक गरेको बट्टा वा भाँडाभित्र सकेसम्म हावा छिर्न दिनु हुँदैन। नत्र कालो भएर गुणस्तर बिग्रिनसक्छ।
खाने तरिका
१५-३० दिनसम्म बन्द अवस्थामा फर्मेन्टेसन भएपछि लफेत तयार हुन्छ। तर यसलाई अचारको रूपमा खान भने भान्सामा केही तयारी गर्नुपर्छ। बर्मेलीहरूले लफेतलाई विभिन्न तरिकाले परिकार बनाएर खाने गर्छन्। सबैभन्दा धेरै खाइने परिकार 'लफेतो' हो जुन हामीले खाने साँधेको गुन्द्रुकजस्तै गरी बनाउन सकिन्छ।
बट्टाबाट आवश्यकताअनुसार भाँडामा लफेत लिने। मसिनो गरी काटेको बन्दा, टमाटर, भटमास, तिल, लसुन, प्याज, नुन, खुर्सानी र कागतीको रससँग मोल्ने। लफेतो खानको लागि तयारी हुन्छ। यसरी बनेको लफेतोलाई खानासँग सलादको रूपमा खान सकिन्छ।
अन्त्यमा,
मजदुर ज्याला वृद्धि र बढ्दो महंगीका कारण चियाको उत्पादन लागत आकाशिँदै गएको परिप्रेक्ष्यमा विश्वबजारमा चियाको मूल्य भने पछिल्लो केही वर्ष स्थिर रहँदै आएको छ। त्यसको प्रत्यक्ष असर नेपाललगायत धेरै मुलुकहरूको चिया क्षेत्रमा पनि परेको छ। परम्परागत रूपमा उपभोग गरिने (सिटिसी र अर्थोडक्स दुवै) चियाले लगानी अनुसार प्रतिफल नदिएका कारण धेरै मुलुकहरूले चियाको उत्पादन विविधिकरणमा काम गर्न थालिसकेका छन्।
नेपालमा पनि पिउने चियाको साथसाथै खाने 'लफेत' चियाको पनि उत्पादन, माग सिर्जना एवं बजारीकरण गर्न सकियो भने नेपाली चिया खेतीको खस्कँदो उत्साहलाई केही हदसम्म उठाउन सकिन्छ।
(लेखक राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, झापाका निमित्त क्षेत्रीय निर्देशक हुन्।)