'बाबा, तपाईं मलाई तँ नभन्नुस् त। खालि तँलाई... तँलाई... किन भनेको?'
साढे तीन वर्षको छोरो जेसनले अनायसै भनेको यो कुराले मलाई सोचमग्न बनायो, अन्ततः यो आलेख तयार भयो।
धेरै चकचक गर्दा उसलाई 'धेरै चकचक नगर् त, पिटौँ तँलाई, भनेको मान्दैनस्?' भनेर धेरैपल्ट बेपरवाह भनेको छु। मेरो मुखबाट निस्किने वाणी यस्तै हो।
एकदिन उसले आफूले भनेको नपुग्दा रिसाउँदै 'तँलाई...' भनेर मलाई गाली गरेजस्तो गर्यो। मैले उसलाई तत्काल झर्किँदै हप्काएँ, 'बाउलाई तँ भन्छस्? फेरि भन् त!' पछि सम्झाएँ, 'बाबाले छोरोलाई तँ भन्न हुन्छ तर छोरोले बाबालाई भन्न हुन्न नि त, हजुर भन्नुपर्छ।
त्यो बेला जेसन केही बोलेन तर दुई दिनपछि उसले मलाई 'तँ नभन्नुस्, किन तँलाई-तँलाई भनेर गाली गरेको?' भनेर यो पाठ सिकायो कि एउटा तीन वर्षको बच्चाले हामीले बोलेको कुरा नै सिक्ने हो। उसलाई जसरी सम्बोधन गरियो, त्यही सम्बोधन उसले गर्ने हो। अबदेखि ऊसँग बोल्दा जरुर सचेत हुनेछु, सकेसम्म नम्र र शिष्ट बोल्नेछु।
बच्चाको नम्र र प्रिय बोली मनपर्ने अभिभावकले आफूले पनि ऊसँग त्यस्तै बोली बोल्नुपर्छ। बच्चाको बोली अशिष्ट र ठाडो छ भने त्यो मुख्यतः अभिभावकको लवजको कारण दोस्रो साथीभाइको संगतका कारण हुन्छ।
अब बच्चाको सृजनशीलता र कल्पनाशीलताको कुरा गरौँ। अभिभावकको लागि आजकल बच्चाहरुलाई शान्त पार्ने र सम्झाउने सबैभन्दा सजिलो उपाय भनेको मोबाइल, ट्याब, ल्यापटप, टिभी, भिडिओ-गेम जस्ता श्रव्य दृश्य साधन भएका छन्। बच्चाले कुनै कारण आफूलाई झिझ्यायो, खाना खान अटेर गर्यो, चकचक गर्यो, अस्थीर भयो, रोयो जुनसुकै अवस्थामा पनि उसलाई शान्त पार्न हामी प्रायः अभिभावकले यिनै ग्याजेट उसको अघि राखिदिन्छौँ अनि समस्या एक चुट्कीमै समाधान भएको देखेर मक्ख पर्छौँ।
एउटा सृजनशील र जिज्ञासु बच्चासँग तर्क गरेर, कुराकानी गरेर, सम्झाएर उसलाई शान्त गर्नुको सट्टा उसको सिर्जनशीलता र कल्पना शक्तिको उपयोग गर्न नदिएर हामीले मस्तिष्कलाई नै यन्त्रवत बनाइदिने र सृजनशीलता ह्रास गराउने यी यावत् साधन उसलाई उपलब्ध गरिरहेछौँ जुन विडम्बनाको विषय हो। आम अभिभावक समयमै यो कुरामा गम्भीर हुन जरुरी छ।
बच्चालाई बन्द कोठाभित्र टिभी, मोबाइल, ल्यापटपजस्ता ग्याजेटमा खेलिने इनडोर गेमभन्दा खुला प्रकृतिसँग रमाउँदै खेलिने र कल्पनाशक्तिको उपयोग हुने आउटडोर गेमहरुमा ज्यादा इनगेज गराउने प्रयास गर्नुपर्दछ। घरबाहिर खेलिने यस्ता खेल समूहमा खेलिने हुँदा यसले बच्चाको सामाजिक कौशलको समेत विकास हुन्छ। एकअर्काप्रति सहयोगको भावना जागृत हुन्छ, सामाजिक भावनाको विकास हुन्छ।
बच्चा स्वभावैले जिज्ञासु र कौतुहल हुन्छन्। उनीहरुले हरेक स-सानो कुराहरुमा किन, के, कहाँ, कसरीजस्ता प्रश्नहरु गर्छन्। हामी प्रायः उनीहरुका यस्ता प्रश्नहरुलाई अभोइड गर्छौं, त्यस्ता प्रश्नको जवाफ दिइराख्न जरुरी ठान्दैनौँ। जवाफ दिन मिल्ने तथ्यगत प्रश्नको जवाफ बच्चालाई दिनुपर्ने विचार बाल मनोवेगहरु राख्छन्। उनीहरुका यस्ता प्रश्न नेगलेट गर्दा उनीहरुको कल्पनाशीलता घट्न जान्छ। त्यसैले बच्चाहरुलाई यस्ता प्रश्न सोध्न प्रोत्साहित गर्नुपर्छ र जवाफ दिन मिल्नेसम्मको उत्तर दिनुपर्छ भन्ने कथन उनीहरुको छ।
बालमैत्री शिक्षण विधिका परिकल्पनाकार गुजराती शिक्षाविद् गिजुभाइले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गरेका छन्। उनी भन्छन्- उसलाई आफै खानुछ, खान दिनुस्, उसलाई भाडामा पानी भर्नुछ, भर्न दिनुस्, फूलमा पानी राख्नुछ, राख्न दिनुस्, उसलाई आफै हिँड्नुछ, उसको हात नसमात्नुस्, उसलाई आफै खेल्नुछ भने बीचमा तपाईं नआउनुस्, उसलाई गिलास कचौरा पखाल्नुछ, पखाल्न दिनुस्, उसलाई रुमाल धुनुछ, धुन दिनुस्। बच्चा स्वावलम्बी हुन चाहन्छ, उसलाई आफै काम गर्ने शोख हुन्छ, उसलाई आफ्नो मर्जीले र ढंगले गर्न दिनुस्।
उनी भन्छन- बच्चासँग प्रसन्न मुद्रामा नम्र र गुणकारी वचन बोल्नुस्। तपाईंको आँखामा अमृत छ या विष, बोलीमा मिठास छ या टर्रोपन, मनमा शान्ति छ या अशान्ति, स्पर्शमा कोमलता छ या कठोरता, मनमा आदर छ या अनादर यी कुरा बच्चाले तुरुन्तै थाहा पाउँछन्। त्यसैले यी कुरामा सधैँ सचेत हुनुस्।
आजभोलि अधिकांश अभिभावकले बच्चालाई दिनुपर्ने समय, साथ र माया दिएको देखिदैन। प्रतिस्पर्धात्मक दिनचर्या र रोजगारीको कारण अभिभावक दिनभर बाहिरी कामधन्दामा व्यस्त, बिहानबेलुका मोबाइल र टिभिजस्ता ग्याजेटमै व्यस्त, अझ बच्चा अशान्त छ र चकचक गर्दैछ भने उसलाई पनि शान्त गर्न मोबाइलमा कार्टुन लगाइदियो। सबै शान्त, सबै आ-आफ्नै दुनियाँमा, कस्तो आनन्द!
हामी आफूलाई यसैमा अभ्यस्त बनाइसकेका छौँ। यस्तो दिनचर्यालाई तुरुन्त बदल्न जरुरी छ। सूचना र सञ्चारका यस्ता साधनले प्रयोग सही ठाउँमा गरेर लाभान्वित हुन सिकौँ। यस्ता चिजलाई समय कटाउने मेसोको रुपमा उपयोग नगरौँ, बालबच्चा भुलाउने साधनका रुपमा प्रयोग नगरौँ। फर्सदमा टिभी र मोबाइलमा बस्नुको साटो बच्चालाई करेसाबारीमा लगेर माटोसँग खेल्न सिकाऔँ, बगैँचामा फुलेको फूल र नाचेको पुतलीसँग खेल्न सिकाऔँ, कामको छुट्टी हुँदा बच्चालाई बार र रेष्टुरेन्टमा होइन पिकनिक लगौँ, पार्कमा लगौँ, चिडियाखाना लगौँ, प्रकृतिसँग रमाउन सिकाऔँ।
गिजुभाइ भन्छन्- यदि हामीले बच्चालाई घरमा उचित स्थान दियौँ भने हाम्रो पृथ्वीमा नै स्वर्गको सृष्टि हुन सक्छ। शरीर सानो भए पनि बच्चामा पूर्ण आत्मा छ, एउटा चोखो र निश्चल आत्माको सम्मान गर्नुस्, आफ्नो गलत नीति र रीतिबाट बच्चाको शुद्ध आत्मालाई प्रदुषित नबनाउनुस्। बच्चाका इच्छाहरु चिन्नुस्, भावनाहरु सम्झिनुस्। बच्चा अबोध र निर्दोष छ। आफ्नो अहंकारका कारण बच्चालाई तिरस्कार र अपमान नगर्नुस्। बच्चालाई पिट्ने, गाली गर्ने र तर्साउने नगर्नुस्।
बच्चाको अगाडि आफूलाई मन नपरेको व्यक्तिको बारेमा निन्दा गर्न बन्द गर्नुस्। तपाईंको सम्बन्ध कोही आफन्त, साथीभाइसँग राम्रो छैन भने त्यो छनक बच्चालाई नदिनुस्। एउटा बालसुलभ मनमा तपाईंको कसैसँगको चिसो सम्बन्ध, मनमुटाव वा टकराब घुसाउने काम नगर्नुस्। यसले बच्चाको मनमा नकरात्मक भाव पैदा गर्दछ जुन लामो समयसम्म गढेर बस्छ। तपाईंले हिजो बच्चाको अघि नराम्रो भनेको मान्छे आज राम्रो बनेर तपाईंसँग असल सम्बन्ध भैसक्दा पनि बच्चाको दिमागबाट नेगेटिभ भाइब्स नहट्न सक्छ। बच्चासँग सधैँ सकरात्मक र प्रेरक कुरा गर्नुस्, उसलाई सुत्ने बेला नैतिक शिक्षा दिने कथा सुनाउनुस्। बच्चाको प्रसन्नता, सुख र स्वास्थ्यमा ध्यान दिनुस्।
कतिपय अभिभावकले आफ्नो बच्चाको तुलना अरुको बच्चासँग गरिरहेको भेटिन्छ। 'उसको बच्चा त कस्तो चलाख छ, नयाँ मान्छेसँग पनि चाडै घुलमिल भैहाल्छ, पढ्नमा पनि कति तगडा, रहरलाग्दो छ' एक अबोध बच्चाकै सामु अभिभावकले यस्तो भनेको सुनिन्छ। वास्तवमा तुलना भनेको रुग्णता हो। एकदमै ठूलो रुग्णता! झन् सन्तान ठूलो भैसक्दा समेत अरुका सन्तानसँग आफ्नो सन्तानको तुलना गर्नु दर्दनाक रुग्णता हो। यो क्यान्सरजस्तै हुन्छ, जसले एउटा आत्मालाई नष्ट गर्दै गइरहेको हुन्छ।
प्रत्येक व्यक्ति अद्धितिय छ। तुलना सम्भव छैन। दुनियाँमा कोही छैन जसको साथ तुलना गर्न सकिन्छ। तपाईं कमलको फूलको तुलना गुलाबसँग गर्नुहुन्छ? गर्नुहुन्न। तपाईं आँपको तुलना स्याउसँग गर्नुहुन्छ? पक्कै गर्नुहुन्न। तपाईंलाई थाहा छ कि यो असमान छ। तुलना सम्भव छैन। त्यसैले आफ्ना बच्चालाई कोही अरुको बच्चासँग कहिल्यै तुलना नगर्नुस्। एउटा अबोध बालसुलभ आत्मालाई अर्को आत्मासँग तुलना नगर्नुस्, बस् त्यो आत्माको सम्मान गर्नुस्, माया गर्नुस्।
मनोवैज्ञानिक फिलिपा पेरीले 'द बुक यु विस योर पेरेन्ट्स ह्याड रेड' मा कसरी छोराछोरीलाई राम्ररी स्वस्थ उपायले लालनपालन गर्ने र आफूमाथि कठिन भार नपार्ने भन्नेबारे लेखेकी छन्। उनले आमाबाबुलाई दिएका ५ सुझावहरु यस प्रकार छन्ः
पहिलो, तपाईं आफ्नो सीमा निर्धारण गर्नुस्, बच्चाको होइन। जस्तोः तिमी १३ वर्षको मात्र भयौ, तिमी बच्चै छौ भन्नुको सट्टा मलाई थाहा छ, तिमी यात्रा गर्न चाहन्छौ तर म तिमीलाई त्यसो गर्न दिन तयार भैसकेको छैनु भनेर भन्ने गर्नुस्। कसैले पनि आफ्नो दायरा अरुले निश्चित गरिदिएको मन पराउँदैनन्।
दोस्रो, बच्चालाई सबैखाले मनस्थितिबाट गुज्रन दिनुपर्छ। आफ्नो बच्चा हरबखत, हरपल खुसी भैराखोस् भन्ने जोकोही अभिभावकलाई हुन्छ तर भोलिको जीवनमा आइपर्न सक्ने दुःख, पीडा, चोटसँग अभ्यस्त बनाउन पनि उनीहरुलाई सबैखाले मनस्थितिबाट गुज्रिन दिन असाध्यै महत्वपूर्ण छ। जब उनीहरु फरक-फरक किसिमको समयबाट गुज्रिरहेका हुन्छन्, उनीहरुलाई साथ दिन र आत्मविश्वास जगाउन भने जरुरी पर्छ।
तेस्रो, तपाईं आफू बच्चाको ऐना हुँ भन्ने सम्झिनुस्। माथि चर्चा भैसक्यो, हामीले हाम्रा बच्चालाई कसरी जवाफ दिन्छौँ भन्ने कुरा उनीहरुमा गढेर रहन्छ। उनीहरुलाई जहिल्यै गालीको भाषा प्रयोग गर्दा उनीहरुले तपाईंको रिसाएको अनुहार सम्झन्छन्। त्यसैले उनीहरुको गल्तीको बारेमा कुरा गर्नुअघि हल्का रमाइलो कुरा गर्नुस्, उनीहरु आफ्नो अगाडि भएको बेला खुसी हुन प्रयत्न गर्नुस्।
चौथो, सबै व्यवहार संवाद हो। व्यवहारको वास्तविक अर्थ पत्ता लगाउनु र उनीहरुले के महशुस गरिरेका छन् भन्ने जान्न खोज्नु जरुरी छ। कुनै कुरा हामीलाई सहज लाग्दैनन् भने पनि उनीहरुका सबैखाले भावनालाई हामीले ठाउँ दिनुपर्छ। बच्चाहरुलाई उनीहरुको भावना व्यक्त गर्न हामीले सहयोग गर्नुपर्छ।
पाँचौँ, बच्चा कुनै योजना अथवा काम होइन। तपाईंको बच्चा न कुनै सक्नैपर्ने काम हो, न यस्तै हुनुपर्छ भन्ने योजना हो। तपाईंको बच्चा त सम्बन्ध राख्नुपर्ने व्यक्ति हो। त्यसैले, मेरो बच्चा यस्तै बनाउँछु भनेर अधिक महत्वकांक्षा लिनुहुँदैन।
यस प्रकार, असल संस्कार र शिक्षादिक्षा दिनु र बच्चाको मनोविज्ञान बुझेर सोही अनुरुप व्यवहार गर्नु नै एक असल अभिभावकको दायित्व हो। एउटै वाक्य बोलेर बाबालाई यति धेरै बुझ्न प्रेरित गरेकोमा छोरो जेसनप्रति अनुग्रहित छु।