असोजको महिनामा छोटो छुट्टी सकेर कर्मभूमि कतार फर्किंदै थिएँ।
छुट्टी त्यति सुखद् पनि भएको थिएन त्यही पनि भारी मन लिएर फेरि आफ्नो काममा फर्किंदै थिएँ।
छुट्टी सकेर फेरि कर्मभूमि फर्किनु पनि निकै सकसको कुरा थियो, श्रम कार्यालयमा उस्तै सकस, कोभिड परीक्षण, क्वारेन्टिन पाउन उस्तै गाह्रो। यी सबै सकसपूर्ण काम सकेर विमानस्थलतर्फ लागेको थिएँ।
बसपार्कदेखि विमानस्थलसम्म ट्याक्सीको ड्राइभर र हामी गफ गर्दै गयौं। मलगायत मेरो साथी, बहिनी र अर्को कतार नै जान लागेको मान्छे पनि थियाौं ट्याक्सीमा। त्यो अर्को मान्छे भने म हिजो लुटिएँ भनेर गुनासो गर्दै थियो।
बसपार्क एरियामै मानिसहरूको भिड रहेछ, त्यही भिडमा कसैले उसको पेन्टको गोजी नै काटेर ७० हजार रुपैयाँ लुटेछ।
मैले सोधेँ– झ्यापमा हुनुहुनुहुन्थ्यो होला त्यही मौका छोपे नि लुटेराहरूले।
उसले भन्यो – होइन मैले रक्सी खाएको थिइनँ। पछि घरबाट पैसा मगाएछ।
सँगै जाँदा ट्याक्सी भाडा कम लाग्छ भनेर हामीसँगै गएका थियौं।
विमानस्थल पुगेपछि लिएर गएको लगेज राख्नको एउटा ट्रली लिएर आएँ। ट्रलीको पाङ्ग्रो नै राम्रोसँग नचल्ने रहेछ। बल्लबल्ल घिसारेर हुन्छ कि तानेर हुन्छ कि गरेर लिएर आएँ र लगेज राखेँ।
अरू देशको विमानस्थलमा त बिग्रेको ट्रली मर्मत गरिहाल्छन् वा काम नै नगर्ने भए फाल्दिहाल्छन्। ट्रली पनि माथिको भाग थिचेर गुडाउन मिल्ने नत्र भने अटोमेटिक ब्रेक लागेर नगुड्ने खालको देखेको थिएँ तर हाम्रो विमानस्थलमा भने बिग्रेको र पुरानो ट्रली धेरै भेटिन्छन्। एकछिन फोटो खिच्नतिर लाग्यौं।
१० मिनेट फोटो खिच्ने काम सकेर ट्रली धकेल्दै भित्र जान लागेको थिएँ सेक्युरिटीले रोकेर श्रमको पेपरमा छाप लगाएर आउनुस् भने।
फेरि त्यही बिग्रेको ट्रली धकेल्दै श्रमको पेपरमा छाप लगाउन पछाडिपट्टीको ढोकामा गएँ र छाप लगाएर आएँ त्यसपछि मात्र मलाई भित्र छिर्न दिइयो। अलि भित्र गएपछि पुलिसहरूले कहाँ जाने भनेर सोधे। कतार जाने हो भने पछि पुलिसले 'लगेज खोल्नुस्' भने।
मलाई भने कता कता डर लाग्यो किनभने मेरो लगेजमा भोला र सुर्ती पनि थियो जुन विमानस्थलभित्र लिएर जानको लागि अवैध थियो र विमानस्थल बाहिर पनि सुर्ती , अचार लैजान मनाही छ भनेर लेखिएको थियो। तर मैले भने भोला र सुर्ती बोकेको थिएँ।
लगेजको चाबी खोल्दै मैले भने– एक प्याकेट चुरोट छ त्यो निकाल्ने भए निकाल्दिनुस्, 'ल ठिक छ त्यसो भए लगेज लिएर जानुस्' पुलिसले भने।
त्यसपछि फेरl लगेज स्क्यानिङ गर्ने मेसिनमा लगेज हाल्न लगाइयो। फेरि पनि डर लाग्यो। 'ला... मेसिनले पक्कै पनि सुर्ती छ भनेर पत्ता लगाउँछ' भनेर तर मेसिनले लजेग ठिक छ भन्ने संकेत दियो र लगेज लिएर बोर्डिंङ पास लिन लाइनमा बसें।
म कतार एयरवेजको उडानमा जान लागेको थिएँ। कतार एयरवेजको लाइन कुन चाहिँ हो भनेर छुट्याउन हम्मेहम्मे पर्यो।
कतार एयरवेज, कोरियन एयर, टर्किस एयर गरी २/३ वटा काउन्टर बोर्डिङको लागि खुलेको थियो तर कोही पनि लाइनमा छैनन्। अलि राम्रोसँग हेरेको लाइन नै रहेछ तर यसो हेर्दा चाहिँ लाइन नै नभएको भिड जस्तो, जादूको खेल हेर्नको लागि लागेको भिडजस्तो देखिन्थ्यो। म पनि लाइनमा गएँ र बसें अनि अगाडि पछाडिकाले सुन्ने गरेर भनें– होइन यो के हो ? लाइन हो कि भिड हो ?
म भन्दा पछाडि बस्ने एक जनाले पनि कराए– आफ्नो देश भनेर के गर्नु, न यहाँ भिड नियन्त्रण गर्ने मान्छे छ न पुलिस छ, यस्तो नि हुन्छ यार! हेर्दा सुटबुट लगाएका व्यापारीजस्ता देखिन्थे र बोली व्यवहारले गैरआवासीय नेपालीजस्ता देखिन्थे।
उनको बोलीले विमानस्थलको व्यवस्थापन देखेर रूष्ट भएको झल्को दिइरहेको थियो।
'कहाँ जाने हजुर ?' मैले सोधिहालेँ।
उनले अमेरिका जान लागेको भन्ने उत्तर दिए। मेरो अगाडि ३/४ वटा लगेजसहित विदेशी महिला थिइन्। उनी पनि त्यो अव्यवस्थित भिड देखेर अलमल परिरहेकी थिइन्। हामी त्यही विषयमा बोलेको जस्तो लागेर होला उनले पनि 'व्हेर इस लाइन’ भन्दै थिइन्।
एकैछिन घाँटीमा कार्ड भिरेका एक व्यक्ति आएर लाइनलाई मिलाउन खोजे। एउटा लाइन मिलायो उता अर्को लाइन बिग्रिहाल्थ्यो। त्यहाँ जति मिलाउन खोजे पनि लाइनजस्तो देखिँदैनथ्यो।
बोर्डिङ पास लिएर अध्यागमनतिर लागें। अध्यागमनमा वैदेशिक रोजगारीमा जाने, विद्यार्थी भिसामा जाने,विदेशी लागि भनेर २/३ वटा लाइन थियो।
सबभन्दा धेरै मानिसहरू वैदेशिक रोजगारीमा जानेको लाइनमा थियो। मभन्दा अगाडि झन्डै १०/१५ जना र पछाडि ३०/४० जना थिए।
अध्यागमनको एउटा विद्यार्थी भिसा लेखेको काउण्टरमा एक जना युवती चर्को चर्को स्वरमा 'छिटो गर्दिनु न, मेरो प्लेन छुट्न लागि सक्यो' भन्दै कराउँदै थिइन्। सायदको उनको डकुमेन्टमा केही समस्या थियो या कर्मचारीले नै ढिलो काम गरिरहेका थिए।
ती युवती त्यही काउण्टरमा हुँदा हुँदै मेरो अगाडि भएका ७/८ जनाको काम भैसकेको थियो।
यता हाम्रो अगाडि भएको ४ वटा काउन्टरमध्ये एउटा काउन्टरका कर्मचारी रूखो बोलिरहेका थिए। उनको अगाडि वैदेशिक रोजगारीमा जान लागेका व्यक्ति थिए, उनी पूर्वी तराई भेगका जस्ता देखिन्थे।
आँखा स्क्यान गर्ने मेसिनमा हेर्दा उनले कहिले अलि टाढाबाट त कहिले अलि नजिकबाट हेर्थे तर उनले स्क्यान गरेको मिलिरहेको थिएन त्यसैले होला निकै झर्किंदै थिए ती अध्यागमनको कर्मचारी।
मलाई भने मनमा लागिरहेको थियो कस्तो खालको कर्मचारी होला ? बिचरा त्यो केही नजान्ने सोझो मान्छेसँग किन रिसाउनु ? मैले अरू देशको विमानस्थलमा कर्मचारी रिसाउने, झर्किने गरेको कहिले पनि देखेको थिइनँ तर हाम्रै विमानस्थलमा किन यस्तो देखिन्छ ? मनमनै आफैंलाई प्रश्न गर्दै थिएँ, मेरो पालो आएछ।
म चाहिँ त्यो रिसाउने कर्मचारी भएको काउण्टरमा परिनँ। अर्को काउन्टरमा परेँ। त्यो काउन्टरमा भने मिजासिलो हाँसेर कुरा गर्ने भर्खरका युवा कर्मचारी थिए। काम सकेपछि मैले पनि हाँसेर थ्याङ्क यू भनेर निस्किएँ।
अब फेरि हातेझोला र शरीर चेकजाँच गर्ने पालो थियो। झोला, पेटी, पर्स, जुत्ता सबै स्क्यान मेसिनमा हाल्दिएँ। यहाँनिर भने मलाई निकै राम्रो लाग्यो। ३०/३२ उमेरका देखिने प्रहरीहरू थिए, निकै ध्यानपूर्वक चेकजाँच गरिरहेका थिए, शंका लागेको खण्डमा झोला खोलेर फेरि स्क्यानिङ मेसिनमा हालेर चेक गरिरहेका थिए।
बोली र व्यवहार पनि राम्रो थियो।
अब सबै काम सकियो, अब जहाज चढ्नको लागि हामी वेटिङ एरियामा बस्यौं। जहाजमा चढ्ने बेला पनि भयो। नजिकै रहेको स्पिकरहरूबाट आवाज आयो 'कतार एयरवेजका जोन १ का महानुभावहरू कृपया फलानो गेट नम्बरमा लाइनमा बसिदिनुहोला' फेरि अंग्रेजीमा त्यही कुरा भनियो तर अंग्रेजीमा भन्दा कहिले पूरा वाक्य भन्ने त कहिले आधा अधुरै भन्ने।
फेरि त्यही युएस हिँडेका व्यक्ति कराए 'होइन के भनेको हो के यस्तो ? कस्तो खाले कर्मचारीहरू राखेका छन् ? हामी नेपालीले त बुझौंला तर यी विदेशीहरूले के बुझ्ने ? कसरी बुझ्ने ?' त्यही त भनेको मैले कुरा थपें।
मलाई पनि के खालको होला जस्तो लाग्यो। अरू ठाउँमा जे जस्तो भए पनि विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा त अलि तालिम प्राप्त दक्ष कर्मचारी राख्नु नि, अनि मात्र हरेक व्यवस्थापन पक्ष चुस्त, दुरूस्त, प्रष्ट अनि व्यवस्थित हुन्छ।
हामीले नेपालीहरू रहरले होस् या बाध्यताले विदेश जानु परेको छ र विदेशको कानुनी पक्ष, विकासको पक्ष, गुणस्तरीय शिक्षा पद्धति, रोजगारी, व्यवस्थित विमानस्थल, थोरै पैसामा पनि चिल्ला मोटरगाडी चढ्न पाउनु, सुविधा सम्पन्न बाटोघाटो, घरहरू आदि देखेर अनुभव गर्दा त साँच्चै नै हाम्रो नेपाल त हरेक कुरामा पछि नै परेको रहेछ भन्ने लाग्छ।
यस्तो लाग्नु स्वाभाविक नै हो किनभने अर्काको देशको प्रगति देखेर आफ्नो देश अझै पनि पछाडि परेको देख्दा यस्ता सोच मनमा उब्जिने गर्छन्।
पक्कै पनि हामीलाई पनि लाग्छ। कास... नेपाल पनि त्यस्तै भैदिए हामी नेपालीले पनि सुख पाउने थियौं र विदेशी भन्दा हामी नेपाली के कम भनेर छाती ठोक्न पाउने थियौं।