समय गतिशील छ। समय र मन निरन्तर चल्ने प्रक्रिया हुन्। यसो भनिरहँदा अध्यात्म, तपस्वी तथा योगीहरुमाथि अन्याय हुन सक्ला किनकि मनलाई स्थिर राख्न कमसेकम मेरा लागि तत्कालका लागि भए पनि असम्भव छ। समय गतिशीलसँगै प्रगतिशील हुनसके मानिसहरुका लागि अझै लाभदायक हुने थियो।
यसो त यो मानिसहरुको कर्मको उपज हो भन्दा कसैको विमति नहोला, पुस्ता अर्थात् जेनेरेसन। पछिल्लो समय राजनीतिको पुस्ता हस्तान्तरणको प्रसंग आइरहँदा थोरै मैले जाने, बुझेको, भोगेको केही भावनाहरुलाई शब्दको माला बनाइ प्रस्तुत गर्ने रहरलाई बिदाको समयबाट सदुपयोग गर्न किबोर्डहरु थिचेको छु।
पुस्ता हस्तान्तरण मैले पछिल्लो करिब १५ देखि २० वर्षदेखि नेपाली राजनीतिमा सुन्दै आएको विषय हो। केलाई पुस्ता हस्तान्तरण भन्न खोजेको हो? अबको पुस्ता कसलाई भन्ने? अधिकांश राजनीतिज्ञ ६५ देखि ७५ वर्ष र राष्ट्रको नेतृत्व तिनीहरुबाटै संचालन भएको यो देशमा सबैभन्दा पछिल्लो पुस्ता हाम्रा लागि ५५ वर्ष कटेका नेताहरुलाई युवा नेता भन्दै उनीहरुमा देशको समृद्धिको सपना देख्छौँ। तसर्थ ३५ वर्षकै युवावस्थामा देशको प्रमुविद्या कार्यकारी बागडोर सम्हालेकी सन्ना मारिनको जस्तो युवा नेतृत्व पाउन कि त देश फिनल्यान्ड हुन पर्यो कि त युग परिवर्तन हुन पर्यो जुन असम्भव छ।
त्यसैले हामीलाई राष्ट्रले यति त सुविधा दिएको छ र सधैँ भन्छौँ पनि 'देश नेताले बिगारे।' विसं २०५० साल वरिपरिदेखि देशको प्रधानमन्त्री बनेका वर्तमान प्रधानमन्त्री २८ वर्षसम्म प्रधानमन्त्रीकै लाइनमा हुने, सोही समयमा समकालीन प्रमुविद्या राजनीतिक दलका नेतृत्वहरु अनवरत नेतृत्वमा छन् र प्रधानमन्त्रीको आकांक्षी छन् भने २०५० सालकै सेरोफेरोमा जन्मेको हाम्रो पुस्ताको अस्तित्व के?
यसो भन्दा केही विद्वानहरुले उमेरले हैन सोचले मानिस युवा हुन्छ भनेर कुतर्क गर्न सक्छन्। सोचले मात्र मानिसहरुको पुस्ता वर्गीकरण हुने भए ६० वर्षको उमेरको अवकाशको हद किन राखेको होला? युवा हुन सोच्दिएमात्र पुग्ने हो? सक्रियता, क्रियाशीलता, उर्जाले भरिएको कार्य सम्पादन, जुधारुपन नचाहिने रहेछ?
मैले आज मेरा औँलाहरुलाई सक्रिय राजनीतिको पुस्ता हस्तान्तरणको समीक्षा गर्न भन्दा पनि अन्य क्षेत्रहरुको समीक्षा गर्दै हाम्रो पुस्ताको अनुभव साट्ने प्रयत्नका लागि सक्रिय बनाएको छु। म २०४९ सालमा जन्मिएको नेपालको परिपेक्षमा अपरिपक्व वा अंकुरण नभएको युवा हुँ भन्दा फरक नपर्ला। नेपालमा पञ्चायती व्यवस्थाको अन्त्यसँगै बहुदलिय प्रजातन्त्रको बिज, मधुरो राजतन्त्रको मुना, गणतन्त्रको फूल हुँदै संघीय लोकतन्त्रमा हरियो अपरिपक्व फलमा छु। थाहा छैन देशले यो फललाई परिपक्व युवाको रुपमा कहिले ग्रहण गर्नेछ!
हामी यस्तो पुस्तामा परेका छौँ जसले समयसँगै सबैभन्दा धेरै राजनीतिक परिवर्तनहरु भोगेका छौँ, प्रविधिको व्यापक विस्तारित रुप उपभोग गरेका छौँ, समाजका विविध अवयवहरुसँग परिचित भएका छौँ, मानिसहरुमा व्यवहारिक परिवर्तनका साक्षी बनेका छौँ। तसर्थ यस्ता सामाजिक, राजनैतिक, शैक्षिक, व्यवहारिक, प्राविधिक क्षेत्रहरुसँग हाम्रो पुस्ताको समन्जस्यताको विषयमा समीक्षा गर्ने प्रयासमा छु।
सामाजिक क्षेत्र
नेपालको विकट मानिएको भूभाग, राज्यबाट उपेक्षित तथा सान्त्वना स्वरुप विभिन्न प्रतिस्पर्धाहरुमा दुर्गम कोटाभन्दा बाहेक केही दिन नसकेको तत्कालीन मध्यपश्चिम विकास क्षेत्र र वर्तमान कर्णाली प्रदेशको सदरमुकाम विरेन्द्रनगर सुर्खेतको परिवेशसँग सम्बन्धित भएर मेरो पुस्ताको भोगाइ स्मरण गर्नेछु। मेरो भोगाइले सम्पूर्ण मेरा समकालीन मित्रहरुको प्रतिनीधित्व नगर्न सक्छ तर भोगाइका केही अंशहरुले कसै न कसैलाई प्रत्यक्ष वा प्ररक्ष छुने कुरामा विश्वस्त छु।
यसमा भौगोलिक विविधताले पनि एउटै खालको अनुभव वा भोगाइ नहुन सक्छ किनभने भूगोलअनुसार मानिसहरुले उपभोग गर्ने वा गरिरहेका सुविधाहरु पनि फरक हुन सक्छन्। मैले २०५० सालतिर उपभोग गरेको विविध सुविधाहरु अहिले हुम्ला मुगुका जनताहरुले उपभोग नगरेको हुन सक्छन्। तसर्थ पुस्ता वर्गीकरणको मापन सुविधा र सुलभताको आधार बिल्कुल हुनै सक्दैन।
शिक्षित तथा मध्यम वर्गीय परिवारमा हुर्केको मैले परिवारमा छोरा जन्मनु अपरिहार्य, छोरा र छोरी प्रतिको भेदभाव, बालविवाह, बोक्सीप्रथा, धामी-झाक्रीदेखि वर्तमानमा एक सन्तान ईश्वरको बरदान, टेस्ट-ट्युब बेबीको सुलभ उपभोग, छोरीले बाबु-आमाको क्रिया गरेको, लिभिङ टुगेदर प्रथासम्म देख्ने अवसर प्राप्त गरेका छौँ। यसले पनि हाम्रो पुस्ता सामाजिक परिवर्तन र विविधिकरणको साक्षी बनेको छ।
मेरा आफन्तहरुमा मेरा अधिकांश दिदीहरुको बिहे १५ वर्ष अगाडि र कतिपय दिदीहरुको शैक्षिक स्तर प्राथमिक शिक्षा थियो भने मेरा बहिनीहरु वर्तमान अवस्थामा स्नातक तथा स्नातकोत्तर लेभलको शिक्षासँगै आफ्नो खुट्टामा आफै उभिएर घरको आर्थिक भार व्यहोरेका भएकाले पनि म अन्तरिम पुस्ताको रुपमा आफूलाई राख्न रुचाउँछु।
समाजका मुखिया तथा पञ्चहरुले समाजका विभिन्न झैझगडाहरु मिलाएको देखेको मेरो पुस्ताले प्रधानन्यायाधिसको परमादेशले प्रधानमन्त्री बनाएकोसम्म देख्न र भोग्न पाएको छ। सुल्पाको फेदमा फोहोरी तथा गन्हाउने कपडा गुथेर चौतारीमा गफ चुट्दै बसेका काकाहरुलाई देखेको हाम्रो पुस्तले डबल एप्पल हुक्का चुस्न विभिन्न रेष्टुराहरु धाउन पाएका छौँ।
मेरो सम्झनामा र मैले मूल्यांकन गर्न सक्ने भएको अनुसार सुनको प्रतितोला नेपाली १२ हजार रुपैयाँसम्म रहेको परिवेशबाट अहिले प्रतितोला एक लाविद्यासम्म पुगेको देख्नु र भोग्नु परेको छ। यसले पनि पुस्ता वर्गीकरणमा हामी छुट्टै पुस्ता हुन योग्य छौँ कि भन्ने भान हुन थालेको छ।
शैक्षिक क्षेत्र
मैले मेरो उमेरसँगै भोगेको र देखेको क्षेत्रमा सबैभन्दा विविधता र परिवर्तन भएको क्षेत्रहरुमा शैक्षिक क्षेत्र पनि पर्दछ। हामी लाल्टिन युगका विद्यार्थी पनि हैनौँ भने हामी एलइडी युगका पुस्ताको ल्याकत पनि राख्दैनौँ। यस अर्थमा हामीलाई लोडिसेडिङ र मैनबत्ती युगका विद्यार्थी भन्दा न्यायोचित हुनसक्छ। हामीले कक्षा ५ मा बोर्ड परीक्षा सुनेका छौँ भने कक्षा ८ को बोर्ड र जिल्लास्तरीय परीक्षामा सामेल भएका पुस्ता हौँ।
प्रवेशिका परीक्षालाई फलामे ढोका भन्दै प्रथम श्रेणिका लागि करिब १० वर्ष संघर्ष गरेको हाम्रो पुस्ता एसइईको 'ए' ग्रेडको सस्तो उपलब्धताले हामीलाई धेरै पुरानो युगका ऋषि हौँ कि भनि सोच्न बाध्य बनेका छौँ। १५ देखि २० वर्षको अन्तरालमा श्रेणी ग्रेडमा, प्रतिशत जिपिएमा, कक्षाकोठा जुम तथा गुगल मिटरुम तथा सर म्याडम टिचरमा यति छिटो र आश्चर्यजनक रुपमा परिवर्तन भए कि यसको भनक महसुस गरेपछि मात्र पत्तो पाइने रहेछ।
मैले सुरुमै भनेँ समयसँगै प्रगतिशील हुनु राम्रो हो। उसबेला प्रवेशिका दिन सदरमुकाम आउनुपर्ने झन्झट, पास हुन खोजी-खोजी ट्युसन कक्षा लिन पर्ने सकस यसरी परिमार्जान भयो कि अहिले समय र परिस्थितिले होम सेन्टरबाट प्रवेशिका उत्तिर्ण हुन कुनै आइतबार कुर्नु पर्दैन। महामारीको कारणले निम्तिएको परिस्थिति प्रमुविद्या पनि हो। विकल्पका अनेक आधारहरु सुरक्षित भएर पनि होला हामीमा जुन एसएलसीको भूत सवार हुन्थ्यो र हामीमा परिश्रमले नै डरमाथिको विजय हासिल गर्ने जाँगर थियो, पछिल्लो पुस्तामा त्यो सुस्ताएको महसुस हुँदैछ।
सबैमा यो एकनासले लागु हुन्छ भन्ने पनि छैन र यो गलत हो भन्ने पक्षमा पनि म छैन। मैले त यसलाई समयसँगै परिवर्तित विद्यार्थीको परिमार्जित मनोभाव देखाउन खोजेको मात्र हुँ। कतिपय अवस्थामा जस्तोसुकै परीक्षाहरु भए पनि हल्का रुपमा लिँदा ठूलो नोक्सानी व्यहोर्नु पर्ने कुरालाई पनि मनन् गर्नुपर्ने हुन्छ विद्यार्थीहरुले।
तत्कालीन माओवादी जनयुद्वको बेलाका बुर्जुवा शिक्षा प्रणाली भन्दै निजी शिक्षण संस्था अर्थात् बोर्डिङ स्कुलहरु बन्द गर्दा म बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत थिए। सुर्खेतको एक निजी विद्यालयमा बमले बिस्फोट गराएपछि सम्पूर्ण निजी विद्यालयहरु बन्द भएका थिए। यो भनिरहँदा कतिपय पछिल्लो पुस्ताका विद्यार्थिहरुलाई आश्चर्य लाग्न सक्छ तर तितो सत्य यही थियो।
रातो बंगलामा अध्ययन गर्ने यो पुस्ता रक्तिम क्रान्तीका बाछिटाहरुसँग अज्ञात हुन सक्छन्। मेरो उदेश्य समकालीन अवस्थाको जानकारी दिन पनि हो। विद्यार्थीहरुलाई सुनौलो भविष्यको सपना देख्ने अधिकार थिएन त्योबेला भन्दा पनि धेरैको विमति नहोला। हाम्रै पुस्ता हो जसले विद्यालय छोडेर विस्फोट रोजेको, हाम्रै पुस्ता हो जसले कलम छोडेर क्रान्ती रोजेको, हाम्रै पुस्ता हो जसले गुरु छोडेर कम्रेड रोजेको, हाम्रै पुस्ता हो जसले खेल्न छोडेर लड्न रोजेको।
त्यसैको उपज हो आजको स्वतन्त्रता भन्दा त्यो पुस्ताले जस लिन खोजेको जस्तो सुनिएला। यसको उपलब्धि हो या अरु केही त्यसमा बहस आफ्नै होला। तर मैले बुझाउन खोजेको हाम्रो पुस्ताले शिक्षा क्षेत्रमा भोगेको अनुभव हो। तसर्थ हामी कुन पुस्तामा पर्यौं, परिवर्तन ल्याउने वा परिवर्तन भोगचलन गर्ने?
प्रविधिको क्षेत्र
मैले होस समालेदेखि यदि कुनै कुराले छलाङ मारेको छ भने त्यो प्रविधिको क्षेत्र हो। यो मेरो निजी धारणा पनि हुनसक्छ तर मलाई महसुस हुने गरी मेरो आँखाकै सामुन्ने प्रविधिको विकास कहाँबाट कहाँ पुगेको भान मलाई हुन्छ। दूर-दराज सरकारी सेवामा रहेका मेरा पिताको हस्तलिखित पत्र खोलेर मेरी आमालाई सुनाउने र आमाका शब्दहरुलाई कोरा कागजमा कोरेर पितालाई प्रेसित गर्ने त्यो पनि करिब १० देखि १५ दिन लगाएर, म आजभोलि बुवा-आमा दुवैले हातमा स्क्रिन-टच मोबाइल बोकेर इन्द्रेणीको दोहोरी हेरेको देख्दा दंग पर्छु।
त्योबेला हाम्रो सहरमै एकादको हातमा मोबाइल हुन्थ्यो। जमाना ल्यान्ड लाइनको भएता पनि गाउँमा एक-दुई वटा घरमा भएको फोनले गाउँ जीवित थियो भने अहिले परिवारमा एकजनाको हातमा मोबाइल नहुने हो भने समाजमा बस्ने हक नै छैन झैँ भएको छ।
हामी सायद ८ वा ९ कक्षामा पढ्ने बेलामा एकजना साथी व्यापारिक पृष्ठभूमिको भएकाले ऊसँग मात्र एउटा मोबाइल भएकाले त्यही मोबाइलमा सर्पको खेल खेल्न हरेक दिन आलोपालो गरी मोबाइल चलाएको याद ताजै छ। साथी उदार र मनकारी भएकाले त्यतिको अवसर जुट्यो, नभए त्यो अनुभव पनि साट्न असमर्थ रहने थिएँ।
नेपाल टेलिकमको सिम कार्ड लिन अघिल्लो दिन खाना खाएर नागरिकता बोकेर रातभर लाइन बसेको भनि सुनाउँदा अहिलेको पुस्तालाई हाँसो उठ्छ होला कि नाँइ? अहिलेजस्तो हरेकको विद्याबर वा देश दुनियाँको विद्याबर गोजीमा हालेर हिँड्ने जमाना पनि कहाँ थियो र! 'भोलि वन खुल्छ, घाँस दाउरा लिन आउनू' भन्दै वनपाले डाको हालेर कराएको सुनेर हुर्केको पुस्ता हुँ म।
जन्मेको दुई दिनमै डिम्याट एकाउन्ट खोल्ने जमाना देखेको हामीलाई फेसबुक र जिमेल एकाउन्ट खोलेको दिन बाटोमा मान्छे पिट्दै हिँड्न मनलाग्ने पुस्ता हो हाम्रो। नोकिया ११०० देखि स्लाइडिङ मोबाइल हुँदै फोल्डिङ र त्यसपछि स्क्रिन टच र आई-फोनको भरपुर प्रयोग हाम्रो पुस्ताले गरेको छ।
दिनको १८ घण्टा लोड्सेडिङदेखि कुलमानको युग भोगेको पुस्ता पनि हाम्रै हो। पढाइ प्रतिको लगाबले टुकीमा मट्टितेल हालेर सिलिङ कालो बनाउनेदेखि मैनबत्ती कचौरामा बालेर फेरि प्रयोगमा ल्याउने प्रयासमा हाम्रो पुस्ता सदैव रह्यो। एक पटक आधा घण्टामात्र बत्ती नहुँदा प्राधिकरणलाई गाली गरेर फेसबुकको भित्ता रंगाउने स्वतन्त्रता हामीलाई पनि थियो तर त्यो गर्ने नैतिकता न हामीलाई प्रविधिले दियो न त्यो सुविधा हामीले पायौँ। विद्यालय जीवन सकिँदासम्म फेसबुक ह्वाट्सयाप लगायतका गहिरो मित्रता गढ्ने अहिलेको जमाना, अटो भर्ने जमाना अहिले पनि कहि कतै जीवित रहेको पाइन्छ।
'संसारमा कम्प्युटर आएको छ रे, यसले त खाना बनाउने, तरकारी लिन जाने सबै गर्छ रे' भन्ने समयको बोर्डिङ स्कुलको छात्र हुँ म। आज त्यही यन्त्रलाई काविद्यामा राखेर पुराना किस्साहरु लेखिरहेको छु। यो पनि मेरो अहोभाग्य ठान्छु म। मनोरञ्जनका लागि ब्ल्याक एण्ड ह्वाइट टिभीको जमानादेखि भित्तामा टाँसिने एलइडी टिभीको जमानाको साक्षी बन्ने मौका पनि हाम्रै पुस्ताले भोग्यो। सिनेमाघरमा कपडाका पर्दादेखि क्युएफएक्समा परिवर्तित काल पनि हाम्रै पालामा भएको छ। अझै के-के देख्न पाइन्छ हेर्दै जाउँ।
राजनीतिक क्षेत्र
पञ्चायतकालका पञ्चहरुको ह्याङओभर, बहुदलीय प्रजातन्त्रको उन्मात, जनयुद्वका पीडाहरु, राजतन्त्र र गणतन्त्रको आगमन सबै हाम्रै पुस्ताले महसुस गरेको छ। 'श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी' र 'सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली…' दुवै राष्ट्रिय गान गाउने पुस्ता कुनै छ भने त्यो हाम्रो पुस्ता हो। दुवै गानहरु छातीमा हात राखेर विद्यालयको प्राङ्गरमा बढो गर्वका साथ गाइयो।
'हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ' भन्दै सडकमा राजाको स्वागतमा फूल-गुच्छा बिछ्याइयो पनि र ढुंगा बोकेर 'राजा चोर देश छोड' भनि नारा लगाइयो पनि। यस अर्थमा म हाम्रो पुस्ताप्रति गर्व गरौँ कि वैमनश्यता जगाउँ। पञ्चायति व्यवस्था विरुद्वको संघर्ष पछिको बहुदलीय व्यवस्था, राजनेता मदन भण्डारीको रहस्यमय मृत्यु, जनयुद्वको प्रारम्भ, राजदरबार हत्याकाण्ड, राजाले गरेको कु, दोस्रो जनआन्दोलन, १२ बुँदे शान्ति सम्झौता, लोकतन्त्र, गणतन्त्र, संघीयता हुँदै प्रधानन्यायाधिसको प्रमुविद्या कार्यकारी भूमिका लगायत महत्वपूर्ण घटनाक्रमका प्रत्येक्षदर्शी बन्न पाएको पुस्ता हाम्रै हो र अझै आमूल परिवर्तनको पर्खाइमा छ भन्दा कसैको विमति नहोला पनि। त्यसैले पनि यो पुस्ता परिवर्तनको संघर्षमा होमिएको पनि छ र राष्ट्रका कमिकमजोरीहरुको भागेदार बनेको पनि छ।
मनोरञ्जनको क्षेत्र
अहिलेको जस्तो डिजिटल प्रविधिको सुलभ उपलब्धता नभएकाले हामी भर्चुअल संसारमा भन्दा रियल संसारबाट मनोरञ्जन प्राप्त गरेका पुस्तामा पर्दछौँ। मोबाइलमा लुडो र क्यारम बोर्ड खेल्ने यो पुस्ताले काठको बोर्डमा क्यारम र कागजको डप्टिमा लुडो खेलिन्थ्यो भन्दा अचम्म मान्ने बेला आइसकेको छ। त्यो बेला हाम्रा चर्चित खेलहरु डण्डीबियो, ढुंगा ढलाई, लुकिछुपी, गुच्चा, काठ काठ कुन काठ, कक फाइट, तुल्ली आदि हुन्थे जसले शरीरको तन्दरुस्तीका साथसाथै मानसिक ताजकता प्रदान गर्दथ्यो र हामीलाई मित्रताको कसिलो बन्दनमा बाँधेको हुन्थ्यो।
भूगोल र भाषाअनुसार माथि उल्लेखित खेलहरुको नाम फरक हुनसक्दछ। यसो भनिरहँदा अहिलेका डिजिटल खेलहरुको विरोध कदापि गरेको होइन बरु यी खेलहरुसँग हामीहरु पनि अभ्यस्त भइसकेका छौँ। समयको गतिशीलतासँग समाज परिवर्तित हुने हो र मानिस त कुन खेतको मुली हो र परिवर्तित नहुने। कतिपय अवस्थामा यसलाई परिवर्तितभन्दा पनि परिमार्जित भन्न रुचाउँछु।
यस्ता विविध भोगाइहरु छन् जसलाई शब्द कम पर्न जान्छन सँगसँगै लेख्ने जाँगरमा अनअपेक्षित गिरावट आउन सक्दछ। तसर्थ अहिलेलाई यतिमै विट मार्न खोजेँ।
निष्कर्ष
आज मैले उठान गरेको पुस्ता मानिसहरुको त्यो समूहलाई इङ्कित गर्न खोजेको हुँ जो लगभग एकै समयमा जन्मन्छन् वा अस्तित्वमा रहन थाल्छन्, र पहिलेको समयमा अस्तित्वमा रहेकोसँग सम्बन्धित हुन्छन्। मैले वर्णन गरेको पुस्ता न त सात सालको प्रजातन्त्र लडेको पुस्ता हो न त ०६३ सालको जनआन्दोलनमा जन्मेको पुस्ता हो। यस अर्थमा यो ठिमाहा पुस्ता हो जुन व्यक्तिगत रुपमा आफूलाई परिपक्क ठान्छ तर राष्ट्रका लागि युवा हुन अझै डेढ, दुई दशक कुर्नुपर्छ।
तसर्थ हाम्रो पुस्ताको संघर्ष सुनाएर राष्ट्रबाट पदवी पाउनु पर्छ यो पुस्ताले भन्ने मेरो अभिप्राय बिल्कुल हैन। न त हामी राष्ट्रको बागडोर सम्हाल्न काबिल छौँ, हामीलाई अवसर चाहियो नै हो। परिस्थिति आए नसक्ने पनि हैन। मेरो मनसाय पछिल्लो पुस्ता जसले प्रविधिको भरपुर फाइदा उठाउँदै सामाजिक उत्तरदायित्वबाट पन्छिन खोज्ने र जो व्यक्तिगत वृद्धि विकास र पारिवारिक कर्तव्यबाट टाढिन खोज्दै छ उनीहरुसँग अनुभव साट्ने प्रयास मात्र हो। यसमा अपवाद नहुने कुरै भएन। अपवादमा परेका जिम्मेवार युवा पुस्ताप्रति क्षमायाचना गर्न चाहन्छु।