हाल देशभर जनगणना भइरहेको छ। यो नेपालको १२ औँ जनगणना हो। त्यसो भएता पनि नेपालको १२ औं जनगणना १८ औं शताब्दको जस्तो भएको भनी केही बुद्धिजीव तथा बौद्धिक सर्कलका मान्छेहरुले आलोचना पनि गरेका छन्। भलै सरकार र सरकारी कर्मचारीहरुले भने आधुनिक तरिकाले र सकेसम्म सबैलाई समेट्ने गरी 'कोही नछुटून्, कोही नदोहोरिउन्' भन्ने नारा नै तयार पारेर, पोस्टर बनाएर व्यापक रुपमा देशभरि नै प्रचारप्रसार गरेको थियो, गरिरहेको छ।
हुन पनि जनगणना फगत तपाईं-हाम्रो टाउका गन्ने कार्य मात्रै होइन, तपाईं-हाम्रो विविध जानकारीहरु सरकारी तथ्यांकमा प्रविष्ट गराउने माध्यम हो। जस्तै तपाईं-हामीले बोल्ने मातृभाषा, धर्म, वृद्ध-वृद्धा, वयस्क, युवा, केटाकेटीको संख्या, आर्थिक अवस्था, शैक्षिक अवस्था, रोजगारीको अवस्था, स्वास्थ्य सेवाको अवस्थालगायत सामाजिक अवस्थाका बारेमा सही जानकारी राख्ने एउटा उत्तम माध्यम पनि हो, 'राष्ट्रिय जनगणना।'
साथै कतिपय ठूला जातजाति, समुदाय, वर्ग र धार्मिक समूह आदिले त यसैलाई आधार मानेर आफ्नो जातजाति, समुदाय, वर्ग र धार्मिक समूह आदि बढाउने हतियार वा भनौं माध्यम पनि बनाउने प्रयास गर्नेगरेका छन्। त्यसैले हरेक १०-१० वर्षमा हुने राष्ट्रिय जनगणनामा नेपालका ठूला संख्यामा रहेका जातजाति, समुदाय, वर्ग र धार्मिक समूह आदिका अगुवाहरु चलमलाउने गरेका छन्, भत्रभित्रै। हुन पनि सरकारले जनगणनामा आउने तथ्यांकलाई आधार मानेर नै नीति निर्माण आधार गर्ने गरेको छ।
हुन त नेपालमा बाहुन, क्षेत्री, नेवार, राणा, ठकुरी, सन्यासी, हमाल आदि जातजाति र धार्मिक समूहका जात आफ्नो थर लेख्दा वा लेखेमा नै कुन जात वा जाति हो? भनेर छुट्याउन वा चिन्न सकिन्छ। तर, नेपालका धेरै आदिवासी जनजाति र भाषाभाषीहरु भने अहिलेसम्म थर लेख्दा वा लेखाउँदा कुन जाति वा कुन भाषी हो? सजिलै चिनिने समय आइसकेको छैन।
जस्तै यहाँ कुलुङ जातिलाई नै एक उदाहरणको रुपमा लिऊँ। हालसम्म कुलुङ जातिलाई नेपालको अन्य जातिसरह अलग्गै जातिका रुपमा नचिनेर राई भित्रको एक 'थर' को रुपमा मात्रै चिन्ने गरिएको छ। ख्याल के रहोस् भने 'राई' शब्द जात वा जाति जनाउने शब्द होइन, 'पदवी/पगरी' जनाउने शब्द मात्रै हो। 'राइ/राई' शब्दको व्युत्पत्ति 'राया/राय' हो।
कर्णालीतिर ऊबेला 'राया/राय' भन्नाले 'राजा' भन्ने जनाउँथ्यो। 'राया/राय' शब्द नेपालको पूर्वी क्षेत्र (किँरात भूमिमा) मा सेन कालमा मात्रै प्रयोगमा आएको हो। त्यो बेला किँरातीहरुलाई हालको प्रधानमन्त्री वा मन्त्रीसरहको 'राया/राय' वा 'राइ/राई' दिइएको देखिन्छ। उदाहरणका लागि बुद्धिकर्ण 'राय' वा 'राई' लाई लिन सकिन्छ। बुद्धिकर्ण राय/राइ तेह्रथुम जिल्लाको 'छ-थर भेग' को लिम्बु जातिको 'खेवा थर' को पूर्खा भएको मानिन्छ।
त्यस्तै राय वा राईको सन्दर्भमा भन्नु पर्दा दुई-दुई पटक केन्द्र (संघीय) सरकारका मन्त्री भएका 'मोहमद इस्तियक राइ छन्, जो नाम सुन्दै मुसलमान हुन्। अर्को उदाहरण भनेको भारतीय सिने उद्योगकी कलाकार 'ऐश्वर्य राय' पनि छिन्। राया/राय शब्दबाट अपभ्रंश भएर आएको राइ/राई शब्दबारे अहिलेलाई योभन्दा बढी नलेखौं।
देश विकासको मूल आधारको रुपमा पनि राष्ट्रिय जनगणनालाई नै लिने गरिन्छ। किनकि, जनगणनाको तथ्यांकमा उल्लेख भएको जातजातिको संख्या, उनीहरुको शैक्षिक अवस्था, रोजगारीको अवस्था, आर्थिक अवस्था, स्वास्थ्य सेवाको अवस्थालगायत समग्र सामाजिक अवस्था कस्तो छ? सो हेरेर नै राज्यले उनीहरुका विकास प्रक्रियाबारे कदम चाल्ने, बजेटिङ गर्नेगर्छ।
त्यसैले जनगणना भनेको सम्बन्धित जातिका बारेमा समग्र सूचना राख्ने एउटा सरल र सहज माध्यम पनि हो। तर, कुलुङ जातिका सम्बन्धमा विडम्बना के छ भने, अहिलेसम्म कुलुङ जातिमा कति पढेका छन्, कुन तहसम्म पढेका छन्? कति कुलुङहरु सामान्य साक्षर मात्रै छन्? कुलुङ जातिमा कति संख्यामा वृद्धा-वृद्धा छन्, वयस्क कति छन्, युवा कति छन्, केटाकेटीको संख्या कति छ? कुलुङ जातिमा रोजगारीको अवस्था कस्तो छ, निजामती कर्मचारी सेवा, सार्वजनिक संस्थान, शैक्षिक सेवा, कानुनी सेवा, सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, आइएनजिओ/एनजिओ, दातृ निकाय आदिमा एक्सेस कस्तो छ? समग्र सामाजिक अवस्थाबारेमा जानकारी वा तथ्यांक खोजेमा भेटिँदैन। जबकि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामै कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ जना र कुलुङ भाषाका वक्ता संख्या ३३ हजार १७० जना देखाइएको छ।
त्यसैले कुलुङ जातिका बारेमा यी सबै तथ्य-तथ्यांकबारे सही जानकारी राख्न र सोहीअनुसार देश विकासको प्रकृयामा अग्र भागमा रहेर सहभागी हुनका लागि पनि हामी कुलुङहरुले यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने १२ औं जनगणनामा जातिको महलमा 'कुलुङ' मात्रै लेखौं, 'राई' वा 'कुलुङ राई' नलेखौं, नलेखाऔं।
यदि 'कुलुङ' मात्रै नलेखेर 'राई' वा कुलुङ 'राई' लेखेमा हाम्रो कुलुङको जनसंख्या राईमै गाभिने छ। त्यसो भएपछि कुलुङको जनसंख्याको सही तथ्यांक आउने छैन।
कुलुङ जातिमा मात्रै नभएर किँराती लगायत अन्य धेरै जातजाति, समुदाय, भाषाभाषी, समूह, धर्मका मानिसहरुमा जनगणनामा कतै नागरिकता पो चाहिने हो कि? भन्ने भ्रम रहेको छ। तर, जनगणनाका लागि नागरिकता अनिवार्य होइन, छैन। जनगणना गर्न तपाईं/हाम्रो घर-दैलोमा आउने गणकले तपाईंको नागरिकतामा के छ? भनेर सोध्दैन, न त गणकले तपाईंको पासपोर्ट, स्कुल पढेको सर्टिफिकेट, पेन्सन पट्टा, विद्यार्थी कार्ड, निजामती कर्मचारी कार्ड, वृद्ध-वृद्धा भत्ता कार्ड आदिमा के छ? भनेरै सोध्ने छन्।
त्यसैले नागरिकतामा जे लेखेको भएता पनि ढुक्क भएर गणकहरुलाई जातको महलमा 'कुलुङ' र थरमा होनीत्ती, लोवात्ती, गोक्तूलू, ङोपोचो, तोमोछा, मान्थेर्बू, वादीरी, होङेलू, थीम्रा, वालाखाम, कुबीत्ती, रुखूपो, श्रीपोस आदि लेखाऊनूस्। आफूले भनेअनुसार गणकले लेख्यो/लेखेन, एक पटक दोहोर्याएर हेर्नोस्।
अन्तमा यही कात्तिक २५ गतेदेखि मंसिर ९ सम्म हुने १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिले पाएको 'जातिगत कोड-६२' र 'भाषागत कोड-२९' रहेको छ भन्ने कुलुङ जातिका सबै अगुवा तथा बुद्धिजीवीहरुले गाउँ-गाउँ टोलटोलसम्म गएर बुझाऔँ।