‘भुइँमा कान थुनेर बसेका नेतालाई हेर्न राष्ट्रलाई धेरै गाह्रो हुनेछ’
माथिका भनाई हुन् दोस्रो विश्वयुद्वताका बेलायती प्रधानमन्त्री सर विन्स्टन चर्चिलका।
प्रधानमन्त्री चर्चिल जसले दो स्रो विश्व युद्वको विजय सम्बोधनमै विश्व शितयुद्वमा प्रवेश गरेको बताएका थिए। उनको भनाई साँचो सावित भयो। दोस्रो विश्वयुद्व पछि विश्व शितयुद्वमा प्रवेश गर्यो, तर युद्वपछिको निर्वाचनमा प्रधानमन्त्री चर्चिल भने पराजित भए।
सिक्किमलाई भारतमा गाभ्ने काजी लेण्डुप निर्वाचनबाटै आएका थिए। निर्वाचित संसदले नै सिक्किमलाई भारतमा विलय गर्यो। हिटलर निर्वाचन जितेर आएका थिए। मासु खाँदैनथे रक्सीसमेत पिउँदैनथे महंगा कपडा लगाउनमा समेत रूचि थिएन।
नैतिकतमा उनी चट्टान जस्तै देखिन्थे। पेन्टिङ गर्ने र संगीतमा रूची थियो। जब सत्तामा गए उनमा अहंकार यति बढ्यो कि, नरसंहारकारीका रूपमा दर्ज भए। हिटलरको अहंकार तथा घृणाका कारण अलवर्टो आइन्स्टाइनले समेत देश छाड्नुपर्यो।
जुल्फिकर अलि भुट्टोले जियाउल हकलाई प्रधानसेनापति बनाएपछि तिनै हकले भुट्टोलाई फाँसी दिलाए। चिलीका साल्वाडोर एलेण्डेले पिनोसेलाई जर्नल बनाएपछि तिनै पिनोसेले एलेण्डेको हत्या गरे। सबै सत्ताको उन्माद थियो। कुण्ठा अनि अहंकार थियो। तात्पर्य के हो भने निर्वाचित हुनु र सत्ता तथा शक्तिमा जानु मात्रै सफलता होइन। तर हामी नेपाली शक्ति र सत्ताका लागि उचित अनुचित सबै कर्म गर्नेहरूको जयजयकार गर्दैछौं। डनवाद तथा धनवादका हामी वास्तविक पूजारी जस्ता देखिएका त छैनौं?
नेपालमा समेत कयौं इमान्दार ब्यक्तिले निर्वाचनमा पराजित हुनुपरेको छ भने दुर्जनले विजय प्राप्त गरेका छन्। निर्वाचनमा हार या जीत एउटा विधि र प्रक्रिया मात्र हो। हिजो हार्नेहरू आज जित्न सक्छन्। आज हार्नेहरू भोलि जित्न सक्छन्। सबैभन्दा ठूलो विचार, कर्म र निष्ठा हो। जो अवसरका बेला समालिन सक्यो त्यो नै नेता हो अर्थात् नेतृत्वको लायक हो।
हामी मृत, मौन या दास प्रश्न आफूले आफूलाई गरौं? घरको संघारमा विष पोखेर घरको आँगनमा फूल फुलाउन खोज्दैछौं। निधारमा चोट लागेको छ , घुँडामा मलम लगाउँदैछौं। खोला एकातिर छ अर्को तिर झोलुंग्गो हाल्ने प्रवचन दिँदैछौं। कुकुर पाल्ने होड छ यहाँ त्यो पनि आफ्नै पूजाका लागि। कुकुर हुन तयार मानिसका कारण परम्परागत राजनीति ढोंगीहरूको दादागिरी छ। दलहरू गफाडीको कम्पनी जस्ता देखिन्छन्। मष्तिष्कमा आलोचनात्मक चेत होइन संगुरको खोरबाहेक अरू केही छैन।
प्रशंसा र चाकडीमा रमाउनेहरू कुवाका भ्यागुता हुन्। आवाज त निकाल्छन् तर जब संकट पर्छ मानसिक सन्तुलनसमेत गुमाउन पुग्छन्। चाकडीबाजहरू डरपोक हुन्छन् सबैभन्दा ईर्ष्या र कुण्ठा चाकडीमा हुन्छ। बाहेक चाकडी चाकडीबाजको उत्थान हुँदैन, चाकडीबाजहरू आफ्नै छाँयासँग डराउँछन्।
चाप्लुसी गर्नेहरू सबैभन्दा गफाडी हुन्छन्। गफाडीहरू मखमलको विस्तारामा पल्टिन सक्छन् तर आगोमा हिँड्न सक्दैनन् आगोमा हिंड्नेहरू सफल हुन्छन् तर आगोसँग खेल्नेहरू खरानी!
इतिहासका हरेक मोडमा जनता ठगिँदै आएका छन्। ताण्डव नृत्यका तालहरू फेरिएका छन् सारमा कुनै परिवर्तन भएको छैन। जनताको जीवनमा अर्थपूर्ण परिवर्तन छैन। आमा बाबुहरूको मुहारमा रूग्ण उदासी छ भने गाँउहरू भत्किएका छन्। स्वदेश होस या विदेश हरेक नेपालीहरू बेखबरसँगै बेघर भएका छन्। यसको निकास सामान्य उपचारले सम्भव छैन। जबसम्म जनताको चेतना जागृत आगोमा रूपान्तरित हुँदैन तबसम्म आफ्नै घरबाट आफ्नो बाँच्ने ठेगाना खोज्दै बाहिरिनेहरूको क्रम रोकिने छैन। देशबाट विदेशिएकाहरू दुनियाँका नक्शामा जहाँ सुकै जाउन तिनीहरू साँचो अर्थमा घरबार विहिन नै हुन्छन भलै नक्कली चकाचौंधको जीवन देखिएको किन नहोस्।
आधारभूत तहका जनताको जीवनमा जबसम्म अर्थपूर्ण परिवर्तन हुँदैन तबसम्म तिम्रो लोकतन्त्रको दुवाइ बन्द गर। तिम्रो लोकतन्त्रलाई घाममा सुकाइ देऊ!