अस्पतालको कोरोना वार्डबाट
जब विकर्षण पूर्ण शक्तिले एकसाथ आक्रमण गर्छ अनि उसको विरूद्ध लड्ने तयारी प्राय: शून्य हुन्छ तब व्यक्तिले, समाजले, देशले निरिहता स्वीकार्नबाहेक केही गर्न सक्दैन। त्यस्तै लाचार म छु, मेरो समाज छ, अनि मेरो अस्पताल छ।
अपूर्ण पूर्णता लिएर पूर्ण शक्तिको आकार लिएको कोरोनासँग लड्ने जमर्को गर्दै छ। लाग्छ संसार युद्धभूमि हो अनि सेता देवता हाम्रा सिपाही अनि हामी समयले दिएको पाठ पढ्न नसक्ने निरीह, लाचार, स्वार्थी।
समयले अनिष्ट लिएर आएको छ। सायद समयले बलिदान मागेको छ। तर समय निराश हुने छैन। इतिहास गर्वले भरिएको छाती ढक्क फुलाउने छ। किनभने बहादुर सिपाहीहरू तयार छन्। इतिहासका निमित्त लड्न नायकहरू तयार छन्। जीवनको साथ दिन तयार छन्। मृत्यु मडारिरहेको आकाशमा सेतो झण्डा बोकेर अग्रपंक्तिमा खट्न तयार छन्।
युद्धमा प्राण द्रवित हुन्छ, लड्छ, घाइते हुन्छ। एक सासका लागि हावामै व्याप्त हावा (अक्सिजन) लिन नसकेर प्राण मृत्युको प्यारो बन्छ। कसैका स्वतःस्फूर्त फुलिरहने छाती आफ्नो धर्म निभाउन असक्षम हुन्छ। युद्ध हार्छ। अनि उसको आशा गरेर बसेको लाचार, घाइते, निमुखो अनुहार अस्पतालमा लम्पसार पर्छ।
कहिलेकाहीँ भोग्नेको पीडाको अनुभूति हेर्नेले गर्छ। त्यो हेराइ कहिले आफन्तको हुन्छ त कहिले पीडा कम गराइदिने दायित्व लिएको कर्मीको हुन्छ। म गर्न सक्छु। मसँग अनुभव छ, क्षमता छ। मेरो दायित्व पनि हो। मेरो दायित्वमा कसैको बहुमूल्य शरीर निर्भर छ। तर म विवश छु। मसँग हतियार छैन। म एक्लो छु। निरीह छु। अझ कष्टकर त तब लाग्छ जब मेरो हात बाँधिएको हुन्छ। तब म मेरो आत्मा गुमाइरहेको हुन्छु।
मेरो वार्डका प्राय: बिरामीहरूले मलाई बोलाइरहेका छन्। परिस्थितिबाट म पहिल्यै बाँधिएको थिएँ, अहिले गुम्सिएको पिपिईभित्र ३०, ३५ डिग्रीको गर्मीमा खादिएको छु। मृत्युको मेलामा नितान्त एक्लो छु। हरेक बिरामीहरूजस्तै।
लाग्छ यमदूतहरू मेरो वरिपरि मडारिरहेका छन्। मेरो बिरामीहरूको प्राण तान्न उद्धत छन्। म निरीह हेरिरहेको छु। मैले केवल अक्सिजन दिएर मेरो बिरामीहरूलाई बचाउन सक्थेँ। मसँग त्यो सामान्य सामर्थ्य पनि छैन। मैले तानेको डोरी कमजोर छ। म कमजोर छु तर कमजोर म, एक्लो छैन।
म त्यो छोरालाई देखिरहेको छु जस्को आमा कोरोनाको शय्यामा लम्पसार आँखा चिम्लिएर सास फेर्न कसरत छिन्। म दगुर्दै छु। कतै कसैसँग अक्सिजनको एक जगेडा सिलिन्डर छ। उनको छोरा पनि दौडदै छन्। कतै कसैसँग इमान छ जसले सिलिन्डर भए पनि आमालाई दिने विशाल हृदय राख्न सक्छ।
म अर्की छोरीलाई देखिरहेको छु, जसको बाबालाई भर्ना गर्न उनी अस्पतालहरू चहार्दै थिइन्। निरस लाचार उनी अस्पतालहरू धाउँदै थिइन्। बाबा एम्बुलेन्समा हुनुहुन्थियो। एम्बुलेन्स मिनेट पिच्छे हजारका दरले भाडा लगाउँदै थियो। संसारमा अर्थको त के अर्थ हुन्छ जब आफ्नो प्राण आफ्नो भइरहेको हुँदैन।
तर कुनै अस्पतालको कुनै शय्या पनि उनको बाबाका लागि खाली रहेनछ। मेरो अस्पताल आउँदा उनको बाबालाई सास फेर्ने कसरत गर्न नपर्ने भइसकेको थियो।
म श्रीमानलाई देखिरहेको छु जसको श्रीमती बिमारीले थला परेको हप्ता दिन भयो। उनको गाउँमा सडक छैन। उनको आफ्नै गाउँमा आफ्ना पनि छैनन्।
सबै डराएका छन्। घण्टौ बूढीलाई बोक्दै एक्लै अस्पताल ल्याएका छन्। उनका चिनेका धेरैले कालसँगको पौंठेजोरीमा हार खाइसकेका छन्।
उनी आफ्नो प्यारीलाई गुमाउन चाहँदैनन्। मेरो अस्पतालको आँगन पनि उनका लागि खाली छैन। थाहा छैन सहरमा उनकी प्यारीले उपचार पाउँछिन् कि पाउँदिनन् ?
म भाइ हेरिरहेको छु जसको दाइलाई डाक्टरले औषधि लिन पठाएको छ तर बजारमा उसको दाइका लागि एक ट्याबलेट औषधि पनि छैन। पसल बन्द छ। पसलको पाले दाइ उसलाई भगाउन खोजिरहेको छ। ऊ विनित छ। अनुनयका बलिन्द्र धारा बगाउँदै छ। उसको विनम्रताको सीमा खै कहिले पार गरिसकेछ ? खै ऊ कहिले आक्रोशित भयो ? उसको तनावमा बर्सिएको हात कहिले पाले दाइको शिरमा पर्छ त कहिले मेरोमा। बिचरा बबुरो पाले दाइको पनि त पसल रुँग्नेबाहेक अर्को विकल्प छैन। विकल्प त बिचरा मेरो पनि त के छ र ? मैले उसको दाइलाई चाहेर उपचार नदिएको पनि त होइन।
म मेरो बिरामीहरूको चित्कारमा लाचार छु। बिरामीका आफन्तहरू आउँछन् उनीहरू मभन्दा बढी लाचार छन्। म कतैबाट अक्सिजन लिएर आउनु भन्दै अनुनय गर्दैछु। उनीहरू मेरो अनुनय मैतर्फ सोझाउँदै विनित छन्। यस्तो दिनसँग पनि साक्षात्कार गरियो, देखियो, एक मुठी सासका लागि मानिस द्वन्द्वरत छ।
प्रत्येक मानिसको द्वन्द्व नितान्त आफ्नो हुन्छ। एक्लै लड्नुपर्ने हुन्छ। आफन्त त केवल सहयोगी मनहरूमात्र हुन्। उनीहरू पनि डराउँछन्।
कोरोनाको साम्राज्यमा पाइला चाल्न चाहँदैनन्।
यही साम्राज्यमा कोही श्रीमतीहरू छन् जो आफैं रोगले आक्रान्त भए पनि आफूभन्दा सिकिस्त श्रीमानलाई स्याहार्दैछन्। कोही निरोगीहरूलाई रोगको पर्वाह छैन। आफ्ना प्यारालाई अंगालो हालेर सान्त्वना दिइरहेका छन्। समयले त्रासदी देखाइरहेको छ।
लाग्छ, ईश्वर पनि मानिसको परीक्षा लिन हात बाँधेर हेरिरहेका छन्। आखिर उनको सृजना मानिसमात्र कहाँ हो र ? यो कोरोना भइरस पनि त हो!
आफ्नो सन्तान कसैलाई काखा कसैलाई पाखा गर्न पनि त सकिँदैन। तर आफ्नो एक सन्तानले अर्कोलाई मारिरहेको हेर्न उनलाई मजा त पक्कै आइरहेको छैन। ईश्वरको लीला अपरम्पार छ। मोह अपरम्पार छ। माया अपार छ।
जब सामर्थ्य शून्य हुन्छ अनि अंकको बहावलाई शून्यले एक्लै सामना गर्न पर्ने हुन्छ तब अंक आफैं शून्यतामै विलिन हुन्छ। जस्तै: स्वास्थ्य यस्तै अकर्मण्यतामा विलिन भइरहेको छ। जीवन शून्यतामा विलिन भइरहेको छ।
म अस्पताल पनि हुँ। प्रथम व्यक्ति सर्वनाम, लाचार। म आफैंतर्फ सोझिएको प्रश्न उठाउन सक्दिनँ। लाचार, अनुनय विनय सुन्न सक्तिनँ। म उनीहरूको एक सर्को अपेक्षा पूर्ति गर्न असमर्थ छु।
मसँग एक सिलिन्डर अक्सिजन पनि छैन जसले उनीहरूको घाउ निको पार्न सहज गरोस्। एक मुठी सास छैन जो म हत्केलामा भरेर उनीहरूलाई दिन सकूँ। मेरो शय्याहरू भरिएका छन्। छैन, हुँदैन भन्नबाहेक मेरा शब्दहरू छैनन्।
अनि म फेरि प्रत्युत्तरमा रिसाउन पनि सक्तिनँ। संकटमा यस्तै हुन्छ सायद। असामान्य व्यवहार असामान्य परिस्थितिमा सामान्य हुन्छ। तर म सामान्य हुनुपर्छ। म दह्रो हुनुपर्छ। आफ्ना मानवीय संवेदना आफ्नै वशमा राख्नुपर्छ मैले। ऊ लाचारीमा रिसाउन थाल्छ। एक प्रहर पहिले ऊ विनय गरिरहेको थियो। अब आक्रोसित बन्छ। धम्की दिन लाग्छ।
‘म को हुँ चिनेको छस् ?’
ऊ अब आफ्नो प्रतिष्ठालाई बेच्न उद्धत हुन्छ। ऊ फेरि फलानाको धाक लगाउन लाग्छ। ऊ ठुलो मान्छे हुँ भन्छ। तर खै ? थाहा छैन उसको उच्चताको प्रश्न गर्ने उचित समय हो यो। मानिसको वास्तविक स्वरूप चिन्ने समय शक्तिमा पनि हो संकटमा पनि हो। तर के लाचारीमा पनि मानिस प्रकट हुन्छ त ? शान्त तलाउ जब फुट्छिन् अनि भिर पाखा हुँदै ओरालो लाग्छिन् उनी पनि क्रुद्ध भएर विद्रोही बन्छिन्। उनको विद्रोहीपना परिवर्तन हो या स्वभाविक प्रक्रिया ? आखिर मानवको स्वभाव बुझ्न मानव मन चाहार्न पर्छ भन्ने मात्र छैन।
संकटमा मानिसको व्यवहारमा उत्कृष्टताको अपेक्षा गर्नु अमानवीय हुन्छ सायद। म भाग्यमानी रहेछु मेरो परिवारका धेरैले भ्याक्सिन लगाउन पायौं। हामीलाई पहिलो चरणको व्याधीले समाएर गयो। रोग आउनुको अर्थ हामीलाई प्रतिरोधात्मक क्षमता बढाउनु मात्र भयो।
दोस्रोचोटिको आगमनले हामीलाई हल्का छोएरमात्र गयो। सायद त्यस कारण पनि म मेरो कर्तव्यको बोध गरेर यो युद्धमा होमिएको छु। म पहिलाको लहरभन्दा बलियो भएको छु।
भाइरसविरूद्ध लिएको खोपबाट शरीर बलियो भएको छ। मन बलियो भएको छ। तर मेरा बिरामीहरू मजस्तो बलिया छैनन्।
उहाँ सघन उपचार कक्षमा हुनु हुन्थ्यो। हजुरबा उमेरका उहाँका लागि भाग्य निकृष्ट भएन। केही हप्ताको बसाइँपछि उहाँलाई उक्त उपचार कक्ष नचाहिने भएको थियो।
उहाँलाई सामान्य शय्यामा सार्ने अनुमति दिइएको थियो। उहाँ 'फलानो'को मानिस पर्नुभएछ। अझै केही दिन उक्त कक्षमा बस्ने जिद्दी गर्दै हुनु हुन्थ्यो। उहाँलाई सायद थाहा भएन उहाँको बेड नपाएर उहाँको गाउँले नातिनीले आफ्नो सास लिन सकिनछिन्। नातिनी बाँच्न सक्थिन्।
संकटमा को बाँच्छ को मृत्युको सिकार बन्छ भन्न सकिन्न। कुनै उच्च भनाउँदाको आफन्तका लागि शय्या कुरेर राखिएको थियो। उहाँलाई कुर्दाकुर्दै सघन उपचार कक्षको शय्याले दिनभर बिरामी पाउन सकेन। ती उच्च व्यक्तिको आफन्त अर्कै कुनै अस्पतालमा भर्ना भइसकेछन्। खबर पनि गरेनन्। संकटमा थियो उक्त सघन उपचार कक्ष जसको एक ओछ्यानको लागि अरू तीन/चार जना बिरामी कुरेर बसेका थिए।
कुर्दाकुर्दै अर्को दुई जनाले खाली भएको शय्या नपाएरै आफ्नो ज्यान गुमाउन पर्यो। आजकाल दिनमै औसत चार/पाँच जना आर्मीहरूको भ्यानमा बेरिएर जान्छन्। केही दिन अघिमात्र मेरा काका त्यो भ्यानमा बेरिएर जानु भएको थियो। मैले मेरा धेरै प्यारा आफन्तहरू त्यसरी गएको देखेको छु। अब त मृत्युको संवेदना हराएर गएको छ मेरो।
बाह्र वर्षको अनुभवले नदिने व्यवहारिक अनुभव बाह्र घण्टाको ड्युटीमा पाएको छु। केही सफलता छ केही असफलता छ तर प्रयास छोड्न म राजी छैन।
संकटमा हर कोही डराएको हुन्छ, रिसाएको हुन्छ, आत्तिएको हुन्छ।
मानव संवेदना सानो झिल्लीको वारपार हुन्छ। कहिले फुट्छ र प्रकट हुन्छ भन्न सकिँदैन। कहिले आफैंले आफैंलाई दबाएर आफैं विलिन हुन्छ। आफैंले आफ्नो प्राण लिन्छ।
कोही जिम्मेवारी बिर्सेर रणभूमिमा आउन तयार हुँदैनन्। उनीहरू आफ्नो छोराछोरीमात्र देख्छन्। एकनास मन अनेकन हल्लाहरू विश्वास गर्न लाग्छ। मृत्युको समाचारले झनै डराइदिन्छ। उनीहरू बुझ्न चाहँदैनन्, अरूहरूका पनि छोराछोरी हुन्छन्।
कोही डराउँदै दायित्व निभाउँछन्। उनीहरू डरलाई जित्न सफल हुन्छन्। संकटमा प्रोत्साहन हुँदैन। आफैंले आफूभित्र खोज्न पर्छ। फेरि संकटको राम्रो पक्ष पनि छ। यो लामो समय बाँचिरहन सक्दैन, कोरोना भाइरसजस्तै।