सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू,
मलाई थाहा छ, तपाईं मेरो गाउँबारे भलिभाँति परिचित हुनुहुन्छ। किनभने तपाईं त्यही भेगको मान्छे हो। एउटै भेगको मान्छे भएपछि मेरो गाउँको दु:ख पनि तपाईंबाट लुकेको छैन।
तर मलाई यो पनि थाहा छ, म जुन गाउँको मान्छे हुँ, धेरैले त्यो गाउँको नाउँधरि सुनेका छैनन्। सुने पनि नेपालको भौगोलिक नक्सामा मेरो गाउँ कहाँ पर्छ भनेर ठ्याक्कै देखाउन सक्नेहरू कमै होलान्।
मेरो गुमनाम गाउँ केही दिनयता राष्ट्रिय चर्चामा छ। सञ्चार माध्यमहरूले मेरो गाउँबारे दिनका दिन लेखिरहेका छन्। म पढेर दंग छु।
म त्यो गाउँको मान्छे हुँ जुन गाउँमा जनगणना गर्न राज्यको प्रतिनिधित्व गर्दै गएको सरकारी टोली पनि साढे तीन दिन हिँडेर मात्र पुग्छ। एक ठाउँमा बास बसेर हिँडेको मान्छे फेरि अर्को ठाउँ नपुग्दासम्म ऊसँग टेलिफोन सम्पर्कधरि हुँदैन। गएको मान्छे बीचमै हराउन सक्छ, फर्केर नआउन सक्छ।
म दार्चुलाको अतिक्रमित भूमि व्यास गाउँपालिकास्थित हुति-६ को बासिन्दा हुँ। यही गाउँपालिकाको तिंकर र छाङ्गरूमा जनगणना गर्न साढे तीन दिन हिँडेर गएको सरकारी टोलीलाई केही दिनयता सञ्चारमाध्यमहरूले पछ्याइरहेका छन्।
म अहिले काठमाडौंको तिनकुनेमा बस्छु र आज राष्ट्रिय चर्चामा रहेको आफ्नो जिल्लाको उत्तरी भेग तिंकरको अवस्थाबारे तपाईंलाई अवगत गराउन यो खुलापत्र लेख्दैछु।
नेपाल-तिब्बत सिमानामा बसोबास गर्ने स्थानीयबासीबीच हजारौं वर्षदेखि पारम्परिक व्यापार चल्दै आएको छ। यसबाट तिंकरबासी पनि अछुतो छैनन्। तर यहाँका स्थानीयले नेपाल सरकारसँग पटकपटक अनुरोध गर्दा पनि भन्सार नाका खुला नगरिदिँदा म लगायत सम्पूर्ण दार्चुलेली जनतालाई व्यापार, व्यवसायका साथै आवागमनमा समस्या छ। हामी व्यासका जनता भन्सार नाका खोलिदिन अनुरोध गर्दै दार्चुलाबाट पटकपटक सिंहदरबार पुगेका छौं।
सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं २०४७ सालताका चुनाव प्रचार गर्न व्यास क्षेत्रमै पुग्नुभएकाले त्यहाँका बासिन्दाको यो समस्याबारे जानकार हुनुहुन्छ भन्ने मलाई लाग्छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चर्चा हुँदा मात्र दार्चुलाको नाम सबै नेपालीको जिब्रोमा झुन्डिरहन्छ। सामाजिक सञ्जालदेखि मूलधारका सबै समाचारमा बहस हुन्छ तर यस क्षेत्रको विकासको विषयमा बहस भएको म कमै सुन्छु। यो हाम्रो तीतो यथार्थ हो।
प्रधानमन्त्रीज्यू, कुरा लिपुलेक सुरूङमार्गबाट सुरू गरौं।
लिपुलेक सुरूङमार्गको कुरा झट्ट सुन्दा अपत्यारिलो र असहज लागे पनि भूगोल र त्यहाँको वास्तविक तथ्यलाई गहिरिएर बुझ्ने हो भने सजिलो, सहज र भरपर्दो देखिन्छ।
काठमाडौंबाट हजार किलोमिटर दुरीमा रहेको तिंकर गाउँबाट चीनशासित तिब्बतको पुरांगस्थित ताक्लाकोट करिब ३५ किल्लोमिटर मात्र टाढा छ। व्यासका शौका समुदायले हजारौं वर्षदेखि तिब्बती नागरिकसँग नै सामान साटासाट लगायत विभिन्न व्यापार व्यवसाय गर्दै आएका छन्।
म आजभन्दा १२ वर्षअगाडि यो क्षेत्रमा तीनपटक ओहोरदोहोर गरेको छु। त्यो बेला मैले स्थानीय शौका समुदायको वृत्तचित्र 'कुंचा' बनाएको थिएँ। ६ महिना दार्चुला सदरमुकाम र ६ महिना व्यास बस्ने शौका समुदायको आफ्नै भेषभुषा र परम्परा छ। वृत्तचित्र बनाउने क्रममा लिपुलेकतर्फ जाँदै गर्दा छ्यालेकभन्दा एक किलोमिटर पर रहेको डोङ्गगाङ्ग हुँदै माथि उक्लिन निकै समस्या भयो। दुई पाइला अगाडि सार्दा एक पाइला पछाडि सार्नुपर्ने स्थिति आयो।
यसरी त्यहाँको २२ किलोमिटर हिउँमा पैदल यात्राको कठिनाइ जसले भोगेको छ, उसले ५३०० मिटर उचाइ छिचोल्न नसकेर कि फर्किने योजना बनाउँछ, नभए हिमालको फेदमा सानो प्वाल भए आधा घन्टामै ताक्लाकोट पुग्ने केटाकेटीको जस्तो सोच अवश्य राख्छ होला!
मलाई चाहिँ फर्किने योजना आएन, बरू हिमालको फेदीमा प्वाल पारेर सुरूङ खन्न पाए हुन्थ्यो कि भन्ने सोच पलायो।
सुरूङ मार्ग हाम्रो निम्ति त्यति अविश्वसनीय परिकल्पना पनि होइन। काठमाडौंका लागि तराईबाट विभिन्न वस्तु आपूर्ति र यातायात निम्ति १०१ वर्षअघि नै चन्द्रशमसेरले देशकै पहिलो हेटौंडा-अमलेखगन्ज सुरूङमार्ग निर्माण गर्न लगाएका थिए। विक्रम संवत् १९८० दशकमा बनेको उक्त सुरूङमार्गबाट २०१६ सालसम्म मालवाहक गाडी आवतजावत गर्थे। त्यस्तै, खिम्ती र कालीगण्डकीमा क्रमश: ७ र ९ किलोमिटरका सुरूङ बनेका छन् भने मेलम्ची खानेपानीले २७ किलोमिटर लामो सुरूङ खनेको छ। नागढुंगाबाट नौबिसे निस्कने सुरूङमार्ग पनि निर्माणाधीन छँदैछ।
प्रधानमन्त्रीज्यू, पछिल्लो समय देशमा भइरहेको विकास र बन्दै गरेका सुरूङमार्गबारे थाहा पाउँदा म आफ्नो गाउँ व्यासको विकट अवस्थातर्फ घोत्लिएँ। राज्यले उपल्लो व्यासमा रहेको अन्तिम गाउँ तिंकरनजिकै रहेको उक्त क्षेत्रमा सुरूङमार्गको रेखाचित्र कोर्न सके करोडौं आम्दानी गर्न सक्ने सम्भावना छ।
सुरूङमार्गले २२ किलोमिटर हिमाली बाटो उक्लिने झन्झट र हिउँमा परेर दुर्घटना हुने खतरा रहँदैन। आधा घन्टामै नेपालको छ्यालेकबाट ताक्लाकोट पुग्न सकिन्छ। संसारभरका १ अर्ब २० करोड हिन्दुहरूको धार्मिक स्थल कैलाश मानसरोवर पुग्न सजिलो हुन्छ। दार्चुला सदरमुकामबाट सय किलोमिटरभन्दा कम दुरीमा कैलाश मानसरोवर पुग्न सकिन्छ। यसले राज्यको आम्दानी बढ्नेमा दुई मत छैन। चीनबाट नेपाल हुँदै भारत निर्यात हुने सामानबाट पनि नेपालले ठूलो रकम आम्दानी गर्न सक्छ।
भारत र चीन भनेका संसारकै ठूला बजार हुन्। यी दुवै देशले एकअर्काको बजारसम्म पुग्ने वैकल्पिक बाटो खोज्दै आएका छन्।
चीनले व्यापारिक राजधानी संघाईबाट भारतको कलकत्ता बन्दरगाहसम्म करिब १० हजार किमी समुद्री दुरी तय गरेर सामान निर्यात गर्दै आएको छ। कलकत्ता बनादरगाहबाट राजधानी दिल्ली थप १५ सय किमि दूरी पर्ने हुँदा दुवै देश व्यापारिक बाटो छोटो बनाउने योजनामा छन्।
अबको तीन वर्षमा चीनले तिब्बतको पुराङ्गस्थित ताक्लाकोटसम्म रेल ल्याउनेछ जसका लागि चिनियाँ सरकार द्रुत गतिमा रेलमार्गको काम गर्दैछ। सन् २०१५ मा विवादित क्षेत्र लिपुपासलाई यी दुवै देशले व्यापारिक नाकाका रूपमा हस्ताक्षर गर्नुको कारण पनि छोटो व्यावसायिक मार्ग बनाउनु नै थियो। पछि नेपालले आफ्नो भूमि भएको दाबी गरेपछि चीन पछाडि हटेको थियो।
भारतमा समुद्री बाटो हुँदै सामान निर्यात गर्न लामो र खर्चिलो हुने भएकैले चीनले दिल्लीसम्म पुग्न सजिलो र छोटो बाटो रोजेको प्रस्ट हुन्छ। नेपाल, भारत र चीनबीच व्यावसायिक, राजनीतिक, सामाजिक र आर्थिक विकासका लागि सुरूङमार्ग कोसेढुंगा साबित हुनेछ।
सन् २०२० मा चीनले भारतमा करिब ५९ खर्व नेपाली रूपैयाँ बराबरको सामान निर्यात गरेको बिबीसीको तथ्यांक छ। यदि लिपुलेक शुरूग मार्गहुँदै उक्त चिनियाँ सामान भारत निर्यात गर्न सकियो भने राज्यले प्रति महिना अर्बौं करबाटै राजश्व उठाउन सक्छ।
सुदूरपश्चिम प्रदेशको दार्चुलाको तिंकर नेपाल-चीन जोड्ने सबभन्दा छोटो दुरीको नाकाका रूपमा चिनिन्छ। हाल सदरमुकामबाट दुम्लिनसम्म कच्ची सडक मार्ग बनिसकेको अवस्था छ। यो दुरी भनेको जम्मा ४० किलोमिटर हो। नेपाली सेनाले यो सडक खण्ड बनाइरहेको छ। अबको चार वर्षभित्र बाँकी ४० किलोमिटर सडक-खण्ड सम्भवत: तिंकरसम्म खुलिसक्नेछ।
अबको चार वर्षभित्रै तिंकर नजिकैको डोङ्गगाङ्गलाई अन्तर्राष्ट्रिय व्यापार केन्द्रका रूपमा स्थापित गर्न सहज हुने भएकाले जिल्ला प्रतिनिधिहरू, स्थानीय नेता र बौद्धिक व्यक्ति लगायत सुदूरपश्चिम सरकारले पहल गर्नु आवश्यक देखिन्छ।
लागतको हिसाबमा पनि खासै धेरै राज्यलाई भार नपर्ने नागढुङ्गा-नौबिसे शुरूङमार्गका वरिष्ठ इन्जिनियर तथा आयोजनाका प्रमुख नरेश मान शाक्य बताउँछन्। साढे ४ किमि देखि ५ किमि लम्बाईको उक्त लिपुलेक शुरूङमार्ग निर्माणमा सुख्खा बन्दरगाहबाहेक लाग्ने हालको अनुमानित बजेट करिब १५ अर्ब ७५ करोडदेखि १७ अर्ब रूपयाँसम्म खर्च हुनसक्ने उनले बताए।
शाक्यका अनुसार लिपुलेक क्षेत्र हिमाली क्षेत्र भएकोले त्यहाँ शुरूङ मार्ग निर्माण गर्न नागढुंगा-नौबिसे शुरूङमार्गको भन्दा सजिलो र छिटो हुनेछ।
प्रधानमन्त्रीज्यू, सुरूङमार्गको मुख चीनतर्फ पुरांगको ताल्क्लाकोटस्थित ज्युज्यु खोलामा हुनेछ भने नेपालतर्फ छयालेकसँगै जोडिएको भाग डोङ्गगाङ्गमा रहनेछ। जनताको प्रतक्ष जीवनसँग जोडिएका यस्ता विषयलाई प्रोत्साहन गर्न देशका सम्बन्धित विज्ञ, नागरिक समाज, राजनीतिकर्मीले यसमा पहलकदमी लिनुपर्नेछ।