नेपालमा कोरोना भाइरसको सबैभन्दा बढी नकारात्मक प्रभाव परेको पर्यटन क्षेत्रपछि कृषि क्षेत्र हो। यसको अलावा नेपालको अर्थतन्त्र र रोजगारिको क्षेत्रमा समेत उत्तिकै उतारचढाव आएको छ। बाली लगाउने सिजनमा खेतीयोग्य जमिनको लागि आवश्यक मल, बिउ-विजनको आपूर्तिमा ठूलो समस्या देखापर्यो भने श्रममा आधारित नेपालको कृषि प्रणालीले बाली थन्क्याउने र लगाउने बेला मजदुरहरुको अभाव देखियो।
जमिन खन्न, गोडमेल गर्नको लागि आवश्यक उपकरणको अभाव, मानिस-मानिस सामाजिक सम्पर्कको त्रास, स्थानीय सरकारले बिउ-विजन उपलब्ध गराउन नसक्नु, अलि-अलि रोपेका खेतीपातीमा पनि बाढी-पहिरोजस्ता प्राकृतिक प्रकोपको प्रभावरहनु कृषि क्षेत्रमा देखिएका समस्याहरु आम कृषक वर्गहरुले अनुभव गरिरहेका छन्।
यो समस्याले नेपालजस्तो गरिब एवम् विकासोन्मुख देशमा भोकमरी निम्तिने पक्का छ र विज्ञहरुले पनि औँल्याउँदै आएका छन्। नेपालको अर्थतन्त्र क्षेत्रको कुरा गर्नुपर्दा कृषि क्षेत्रमा जत्तिको प्रत्यक्ष नपरे पनि त्यसको अप्रत्यक्ष प्रभाव भने अर्थतन्त्रमै पर्न जान्छ। विज्ञका अनुसार आज विश्व दोस्रो विश्वयुद्ध जत्तिकै आर्थिक सङ्कटमा धकेलिएको छ।
सामाजिक क्षेत्र जहाँ आज मानिस-मानिस बीचको सम्बन्धमा अन्तरङ्ग पैदा गरेको छ। एकआपसमा देखभेट नहुँदा, सामाजिक दूरी कायम रहँदा, कतै सम्बन्धमा गिरावट आएको त होइन भन्ने आभास दिएको छ। सामाजिक र मानसिक अवस्थामा परेको असर बारे आगामी दिनको अनुसन्धानको विषय हुन सक्दछ।
माथिका समस्याहरु तत्कालीन नभएर दीर्घकालीन रहेको कुरामा दुइमत छैन। तसर्थ उत्पन्न भएका समस्याहरुको समाधान गर्नु राज्यको साथसाथै हामी सबै नागरिकको उत्तिकै भूमिका रहेको हुन्छ। कृषि क्षेत्र जहाँ देशको ६०% नागरिकहरु आधारित छन्। यो क्षेत्रमा राज्यको उल्लेखनीय भूमिका अपरिहार्य छ। कृषि तथा पशुचौपायाको लागि आवश्यक मल, बिउ-विजन, दाना, उपकरण आदि वस्तुहरुमा सरल उपलब्धता हुनु अत्यावश्यक छ।
किसानले भित्र्याएका बालिनाली, फलफूल, तरकारी, अन्डा-मासु आदिको उचित बजार व्यवस्थापन गरिनुपर्छ। यसमा स्थानीय तह र कृषि ज्ञान केन्द्रको मुख्य भूमिका रहेको हुन्छ। ऋण खोजेर तरकारी खेती गरेका किसानहरु जो उचित बजार व्यवस्थापनको अभावमा मर्कामा परेका छन्, यो अवस्थामा साना तथा मझौला कृषकहरुलाई राहतको व्यवस्था हुनु अत्यावश्यक छ।
अहिले हामीसँग खाद्य सामग्रीको पर्याप्त मौज्दात छैन र वितरण र पहुँचमा पनि समस्या छ। खाद्य आयातबाट देश थलिएका कारण हामी अहिले खाद्यान्नका लागि आयातमा भर परेका छौँ। आयातित खाद्यान्नको समेत अभाव बढ्न थालेसँगै महंगी ह्वात्तै बढेको छ। मौसमी र छोटो उत्पादन चक्र भएका खाद्यवस्तुमा स्थानीय बजार र वितरण प्रणाली प्रभावकारी नहुँदा तत्काल एकातिर किसानका उपज नबिक्ने र अर्कोतिर आम मानिसले खान नपाउने समस्या समेत बल्झेको छ।
यसले मध्यम वर्गीय जनसमुदायको पोषणको स्तर पनि घट्दै गएको विभिन्न अनुसन्धानहरुले पुष्टि गरेको छ। हाम्रा सामाजिक र राजनैतिक व्यवहारले छेउ पर्न बाध्य जनसमुदाय झनै अप्ठ्यारोमा परेका छन्। यस्ता समुदायमा मुख्यतः ग्रामीण भेगका खेतिपातीका ज्यालादार श्रमिक, किसानी गर्ने महिला, बालबालिका, दलित, जनजाति, सडकमा रहेका मानिस, सहरिया दैनिक ज्यालादार मजदुर, साना व्यापारी र उद्यमीहरु छन्। आर्थिक क्षेत्र- दैनिक ज्याला मजदुरी गरी दिनभरि काम गरेर बिहान-बेलुका हातमुख जोड्ने मजदुरहरुलाई राहत तथा यथासक्य पारिश्रमिकको व्यवस्था हुनु नितान्त आवश्यक देखिन्छ।
तसर्थ, कृषि पेशाका मार्फत आर्थिक आम्दानीका लागि स्वदेश नै उच्च सम्भावना हुँदाहुँदै पछिल्लो समयको उच्च आधुनिकीरण, सहरीकरण, शैक्षिक बेरोजगार, कृषिसँग सम्बन्धित नीति, नियम, कार्यक्रमहरुको अभाव, कमी, पारिवारिक पछौटेपन, गरिबी र अधिकतम व्यक्तिमा कृषिप्रतिको हेर्ने दृष्टिकोणजस्ता कारणले अधिकांश उत्पादनशील उमेरका जनशक्तिहरु दिनानुदिन विदेश पलायन भइरहेका छन्।
उनीहरु विषम् कठिनाइका बावजुद छोटो समयमै प्रसस्त आर्थिक आम्दानी गरी स्वदेश फर्किने र सोही कमाएको पैसाले चाहिएको खाद्यवस्तु बजारबाट किनेर पारिवारिक दैनिकि चलाउने तथा पैसा सकेपछि फेरि विदेश नै पलायन हुने अनियमित चक्रको अन्त्य गर्न कृषि नै पहिलो प्राथमिकता राखी अगाडि बढ्न आवश्यक छ।
(लेखक कृषि विषय, स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन्।)