जात्रा, यसका दुई अर्थ छन्। पहिलो देवदेवीको मन्दिरमा हुने उत्सव र दोश्रो अव्यवस्थित र अस्तव्यस्त। हाम्रो बाल्यकालमा यी दुवै अर्थले महत्त्व राख्थे।
इन्द्रावती नदी किनारमा रहेको फट्टिकेश्वर महादेवको मन्दिरमा हरेक वर्ष बालाचतुर्दशीको जात्रा हुन्थ्यो र त्यसको एक महिना अगाडि हाम्रो साथी सर्कलमा सो जात्रा हेर्नको लागि घरबाट भागेर जाने प्लान हुन्थ्यो। 'भागेर जाने?' हो भागेर जाने। किनकि त्यतिबेला हाम्रो गाउँघरमा केटाकेटीले जात्रा जानु हुँदैन, बिग्रन्छन् भनिन्थ्यो। 'बुढी आइमाई भगाएर ल्याउलास् मोरा!' छिमेकी काकीहरु भन्थे।
सुरु भयो मिसन जात्रा। प्लान मुताविक स्कुल सकेर हामी बाँसको च्वाँकेमा फूल मट्टितेल हालेर बाको पाकेट मारेको र केही जुगाड गरेको पैसो खल्तीमा राखेर सुरु गर्थ्यौँ, डेढ घण्टाको जात्राको यात्रा।
साथीसँग लट्ठारिँदै बुर्कुसी मार्दै झरेको त्यो दिन यति स्वतन्त्र महसुस हुन्थ्यो कि आजको रात त उड्ने हो! बाटोमै त्यति मात्तिएका हामी जात्रास्थलमा त झन् कसले छुन सक्नु! तान्न नजाने पनि एक बट्टा याक चुरोट सर्टको गोजीमा हालेर धुँवा निकाल्दै स्कुले ड्रेसमै जात्रामा भागेर गएका स्कुले युवतीहरुलाई आँखा झिम्काउँदै भन्थ्यौ 'के छ मैयाँ?' मैयाहरु पनि देखावटी रिसमा आँखा तरेर भन्थे 'मर्न नसक्याहरु!'
थरीथरीका मिठाइ, कपडा, खेलौना र फलफूल पसलले सजिसजाउ जात्रास्थल मान्छेको भिडसँगै सजिएर आएका नवयौवनाहरुको तामझामले अझै रंगीन हुन्थ्यो। मन्दिर परिसरमा मृतआत्माको शान्तीको लागि बत्ती बाल्ने आफन्तजन हुन्थे भने मन्दिर बाहिर नाचगान र दोहोरीले वातावरण उन्मत्त हुन्थ्यो। मादल घन्केको आवाज पारि माझीगाउँसम्म सुनिन्थ्यो। बौलाहा तालले मझिनी र तामाङनी दिदीहरुसँग २/४ फन्को देशी डान्स मारिन्थ्यो।
त्यसपछि हामी लाग्थ्यौँ लङुरबुर्जाको खालतिर। त्यसको छुट्टै रौनक हुन्थ्यो, सीमित पैसोमा रिस्क मोलेरै भए पनि हामी २/४ दाउ त लगाउथ्यौँ, लगाउथ्यौँ। हारे आफूले हार्ने, जिते साथीहरुलाई जेरी ख्वाउनुपर्ने भएकोले हामी एकअर्कालाई हौसाउथ्यौँ।
'हान हान दाउ लाग्या छ, चौबर मारा!' अलिकति पैसा जितेपछि केको टिक्नु त्यहाँ!
अब सुरु हुन्थ्यो खानाको मिसन। खल्तीअनुसार हाम्रो औकात २ पाप्रो जेरी र २/४ वटा सुन्तला किन्नेभन्दा माथिको हुँदैन थियो। त्यही भएर घरबाट लुकाएर लगेको मकै भट्माससँग जेरीको टुक्रा चपाउँदा अमृतको स्वाद लिइन्थ्यो।
रात छिप्पिँदै गएपछि एकसरो कपडाले इन्द्रावती खोलाको सिरेटो थेग्न नसकेपछि ठ्युठ्यु गर्दै हामी एउटा कुनामा गुडुल्की मार्थ्यौं।
'पुंगो-पुंगो, हान-हान' अब एक्सन टाइम सुरु भो। तरुनीको नाममा खुब झगडा पर्थ्यो। तामाङ दाइहरु हातमा नांगो खुकुरी नचाउँदै 'हाम्रो मैचाङलाई छुने को' भन्दै जात्रास्थल पस्थे। पुलिस दाजुहरु झगडा रोक्न दौडिन्थे। यता सातो उडेर हाम्रो हिरोपन्थी कहाँ उड्थ्यो कहाँ! 'भाग केटा हो' भन्दै कुलेलम ठोक्थ्यौँ।
भाग्न त भागियो तर आधारातमा जंगलको बाटो घर जाने हिम्मत कसैको थिएन, च्वाँकेको मट्टितेल सकिसकेको हुन्थ्यो। अब सुरु भयो मिसन बास। कहाँ बस्ने त? अर्काको घरमा त बस्न दिँदैनन्, त्यो पनि जात्राको बेला। हामी हानिन्थ्यौँ अलि परको गोठतिर। गाइभैँसी बाधेको दोश्रो तलामा पराल थुपारेको ठाँउमा हुन्थ्यो हामी बालसखाको बास।
जसोतसो रात बिताएपछि बेलुका बालेको च्वाँके र खाली झोला बोकेर हामी लाग्थ्यौँ घर। अब सुरु भयो मिसन 'ज्यान बचाऊ'। बेलुका भागेर गएको बाको धुलाइ निश्चित थियो। सुरक्षाको लागि इत्रो मुख लाएर आमाछेउ घुस्रिँदा पनि ५/६ झापड र २/४ लात्ती भेटिन्थ्यो। आमाले एकचोटि आँखा तरिदिएपछि बा शान्त हुन्थे। र सुरु हुन्थ्यो मिसन स्कुल।
करिब १८ वर्षपछि स-परिवार आज त्यही जात्रामा पुगियो। वातावरण उस्तै तर परिस्थिति फेरिएको। छोराछोरी खुब रमाए। आफूमै उत्साह नभएपछि जात्रा खल्लो लाग्दो रहेछ। त्यही जेरी आज खाँदा गुलियो मात्र भयो, मिठो भएन। यसो घुमेर घर गएर तातो ओछ्यानमा सुत्दा पनि त्यो परालमा सुतेको जस्तो आनन्द नहुने!
आफ्नो बाल्यकालको जात्राको अनुभव ८ वर्षकी छोरीलाई सुनाउँदा उसले भनी 'गफै दिनुभो बाबा!'