सिङ्गो मानव सभ्यता सङ्क्रमणकालबाट गुज्रिरहेको युगमा मानव चेतनामा सङ्क्रमण देखा पर्नु कुनै नौलो कुरा होइन। मानव सभ्यताका बहुआयामिक यावत् उपलब्धीबीच पनि हाम्रो व्यवहारबाट नछुटेका पाशविक प्रवृतिका सूक्ष्म उपस्थितिहरुले भने सारा विकास क्रमलाई उपहास गरिहरेका छन्।
सत्य के हो भने हाम्रो विकासको अवधारणामा प्रशस्त त्रुटीहरू छन्। हामी लोकतन्त्रको नक्कली अभ्यास गरिरहेका छौँ। हामीलाई मानव जीवनको मूल्यबोध अहिलेसम्म भइसकेकै छैन। हामी अझैसम्म ढुंगेयुगमा बाँचिरहेका छौँ र अँध्यारोमै तीर हानिरहेका छौँ, सफलताको नाममा आफ्ना लागि आफैँ ताली बजाउँदै उफ्रिरहेका छौँ। यो नै हाम्रो अहिलेको विद्वान हुनुको परिभाषा हो, चेतनशील प्राणी हुनुको नमुना हो।
रत्नपार्कको सडकपेटीमा उभिएर बस कुर्दै थिएँ। नजिकै दृष्टिविहीन दाइले माइकमा गीत गाउँदै हुनुहुन्थ्यो। त्यो उहाँको दैनिकी, उहाँको जीविकोपार्जनको माध्यम। सडकमा ओहोरदोहोर गर्ने हजारौँ पाइलाले उहाँलाई देखेर पनि नदेखेझैँ गरी अघि बढे। लाग्यो दृष्टिविहीन त आखिर म बाँचिरहेको समाज रहेछ, म हुर्किरहेको सहर रहेछ।
मलाई थाहा छ समय गतिशील छ, र त्योभन्दा गतिशील छ हाम्रो सहरिया जीवन पद्धति। हामी सब हतारमा छौँ तर केको हतारमा भन्ने सायद कम मान्छेलाई मात्र थाहा होला। घर आएर सोचेँ, के अपाङ्गता भएका व्यक्तिहरुको समाजलाई साँच्चै आवश्यकता छैन? के अधिकांश उनीहरू सडककै सहारा लिएर आफ्नो जीवन अघि बढाउन बाध्य भैरहने हो। हो मैले त्यो सडकको पीडालाई नजिकबाट बाँचेको छैन तर एउटा अपांगता भएको व्यक्तिले भोग्नुपर्ने हरेक समस्या घरबाहिर निस्कँदा भोगेको छु।
हाम्रोजस्तो विकासन्मुख देशमा वित्तीय साक्षरता ज्यादै न्यून छ। अपांगता क्षेत्रमा वित्तीय साक्षरता अझ कमजोर छ। यसोभन्दा पनि हुन्छ- यस क्षेत्रमा वित्तीय साक्षरता छँदै छैन। जबसम्म हामीले वित्तीय साक्षर बनाउन सक्दैनौं, कुनै पनि क्षेत्रको विकास हुन सक्दैन। कुनै पनि अर्थतन्त्रको जग भनेको नै वित्तीय साक्षरता नै हो।
आज आएर आफैलाई व्यवस्थापन विषय लिएर स्नातकोत्तर (एमबिए) सम्म अध्ययन गरेको अफसोच लाग्दैछ। हुन पनि हाम्रो नेपाली समाजमा अपांगता भएको व्यक्तिलाई पढाइप्रति निरुत्साहित गर्ने प्रवृत्ति अझै पनि चलिरहेकै छ। समाजको निरुत्साहितको बाबजुद कसै-कसैले पढाइलाई निरन्तरता दिए भने उनीहरुलाई कानुन, पत्रकारिता, समाजिक सेवा, शिक्षा तर्फमात्र प्रोत्साहित गर्ने चलन छ। विज्ञान तथा व्यवस्थापन संकायमा त्यति प्रोत्साहित गरेको पाइँदैन। म आफैँ एक उदाहरण पात्र हुँ।
यहाँ थोरै आफ्नो जिन्दगीमा घटेको घटनाको तितो अनुभव जोड्न चाहन्छु। एसएलसी पास हुँदा प्रायः सबै विद्यार्थी खुसी अनि उत्साहित हुन्थे। म र मेरो परिवार पनि एसएलसी पास हुँदा जति खुसी भयौँ, सायद अरु कोही त्यती खुसी भएनन् होला। तर जब कक्षा ११ मा विज्ञान संकायमा अध्ययन गर्ने सपना बोकेर उपत्यकाका प्रायः सबै कलेज चाहार्दा मेरो शारीरिक अपांगता देखेर कुनै कलेजले विज्ञान संकायमा अध्ययन गराउन इच्छुक भएनन्।
मेरो विज्ञान संकायमा अध्ययन गरेर उच्च शिक्षा हासिल गर्ने सपना त्यही दिन तुहियो। तर, पनि मेरो उच्च शिक्षा हासिल गर्ने सपना मर्न दिएको थिइनँ मैले। संयोगले गोल्डेन गेट कलेज पुगेँ। त्यहाँ प्रिन्सिपल प्रोफेसर भद्र पोखरेल सर साथै कलेज प्रशासनको उचित सल्लाह सुझावअनुसार कम्प्युटर साइन्स लिएर व्यवस्थापन संकायमा कक्षा १२ सम्म अध्ययन गर्न पाएँ।
मेरो उच्च शिक्षा हासिल गर्ने सपनामा कालो बादल फेरि मडारिन थाल्यो। कक्षा १२ सकेर बिबिए अध्ययनको लागि इन्ट्रान्स (सीम्याट) दिएर नेपाल कमर्स क्याम्पस अनि शंकरदेव क्याम्पसको मेरिट लिस्टमा आफूलाई तेस्रो अनि सोह्रौँमा उभाएँ। त्यसछि मलाई मानसिक रुपमा प्रताडित गर्दै मलाई अध्ययन गर्न नदिने वातावरण सिर्जना गर्न थालियो दुवै क्याम्पसमा।
यस्तो वातावरण सिर्जना भएपछि हिम्मतका साथ त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको डिन कार्यलयमा स्वतन्त्र विद्यार्थी युनियनका दाइहरुलाई लिएर जान बाध्य भएँ। डिन कार्यलय गएर छलफल गरिसकेपछि शंकरदेवमा बिबिए अध्ययन गर्ने वातावरण मिल्यो। यो वातावरण मिलाइदिनेमा तत्कालीन व्यवस्थापन संकायको डिन देवराज अधिकारी सर, जेकेन्द्र श्रेष्ठ दाइ अनि शंकरदेव स्ववियु सभापती शुभराम बस्नेत दाइको मुख्य हात छ।
अपांगमैत्री वातावरण नहुँदा पनि जसोतसो राम्रै अंकका साथ विशिष्ट क्षेणीमा उत्तिर्ण गरेँ। बिबिए उत्तिर्ण गरिसकेपछि एमबिए अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयमा बुझ्दा त्यहाँ प्रोफेसरहरु सकारात्मक नहुँदा अनि अपांगमैत्री वातावरण नहुँदा मलाई फेरि निरुत्साहित गर्यो। त्यसबेला मैले आफ्नो फेसबुक स्टाटसमार्फत कतै सहयोगी हातहरु भेटिन्छन् कि भनेर अपिल गरेको थिएँ।
त्यसैक्रममा मैले किंग्स कलेजमा अपांगमैत्री वातावरण छ भन्ने सूचना पाएपछि त्यहाँ पुगेँ। हो साँच्चै मैले अपांगमैत्री वातावरण भेटेँ, र अन्य क्याम्पसहरुमा जस्तो अपांगता भएको व्यक्तिलाई हेर्ने नकारात्मक दृष्टिकोण पाइनँ। भोलिपल्टै भर्नाको प्रकिया इन्ट्रान्स, अन्तरवार्ता पूरा गरी भर्ना पश्चात अध्ययन थालेँ। हिम्मत अनि साहस भयो भने मान्छेले जस्तो अप्ठ्यारो काम पनि सहज ढंग गर्न सक्छ भनेझैँ सन् २०२१ मार्चमा सफलतापूर्वक विशिष्ट क्षेणीमा एमबिए उत्तिर्ण गरिसकेँ।
यी पंक्ति लेख्नु अर्थ मेरो शैक्षिक योग्यता देखाउनु होइन। अपांगता भएका व्यक्तिहरुले सामना गर्नुपर्ने विभेद अनि कठिन मोडहरुको चित्रण गर्नु हो। हामी दुई/चार अक्षर चिनेकोलाई त यति धेरै अप्ठ्यारा पहाडहरू जिन्दगीको यात्रामा समाजले ठड्याइदिन्छ भने दूरदराजमा अपांगता जीवन बिताइरहेका व्यक्तिहरुको अवस्था कति दयनीय छ भनेर कल्पना समेत गर्न गाह्रो हुन्छ।
हामी अपांगता भएको व्यक्तिहरुलाई साधारण जीवनयापनदेखि पढाइ, जागिर अनि सम्बन्ध गाँस्न सबैमा उत्तिकै चुनौतीका पहाडहरु ठडिएका छन्। शैक्षिक योग्यता हुँदाहुँदै पनि हामी अपांगता भएको व्यक्तिले कुनै पनि निकाय/संस्थामा रोजगारीका लागि आवेदन दिँदा सुरुमै 'अयोग्य' घोषित गरिन्छ।
प्रायः संस्थाहरुमा 'अपांगता भएका व्यक्तिलाई उच्च रुपमा प्रोत्साहन गरिन्छ' भनेर लेखिएको भेटिए पनि यो कुरा कागजमै सीमित छ। मैले पनि कति धेरै ठाउँमा आवेदन दिएँ तर, शारीरिक रुपमा अपांगता भएको कारण सुरुमै 'अयोग्य' ठहर गरिन्छ।
हाम्रो अधिकारको निम्ति लड्ने संगठन नभएको पनि होइन। तर के गर्नु त्यहाँ पनि पार्टीको झन्डा बोकेर बस्ने मात्र छन्। मैले बिबिएमा अध्ययन गर्न नपाउने अवस्था सिर्जना हुँदा धेरैचोटि बाबालाई लिएर 'राष्ट्रिय अपांग महासंघ' धाएको थिएँ। तर कहिल्यै पनि मेरो लागि वकालत गर्न गएनन्, महासंघ प्रतिनिधिहरु।
अब सोच्नुस् अपांगता हितको लागि काम गर्छ कि राजनीतिक स्वार्थको लागि। महासंघको चुनाव हुने बेला राजनितिक पार्टीको झन्डा बोकेर चुनाव प्रचार-प्रसार हुन्छ। मैले पनि अफिसरको लागि 'राष्ट्रिय अपांग महासंघ' आवेदन नदिएको होइन। तर त्यहाँ पनि पार्टीगत सिफारिस नहुँदा रोजगारीका अवसर पाइएन।
आजकल विभिन्न वित्तीय संस्था, गैर-सरकारी संस्थालगायत अन्य थुप्रै संस्थाहरु सिएसआरको शीर्षकमा बाल आश्रम, वृद्धाश्रम, अपांगता भएको व्यक्तिहरुलाई राखिने आश्रमहरुमा गएर दुई/चार हजारको खानेकुरा, लगाउने लुगा बाँडेर सामाजिक सेवा गरेको प्रचारबाजी गरिहरेका छन्। के यतिले मात्र संगठित सामाजिक दायित्व पूरा हुन्छ त संस्थाहरुको? वास्तवमा हाम्रो सिएसआरको बुझाइ नै कमजोर छ।
शिक्षा त पूरा भयो, तर आज रोजगारीका लागि उत्तिकै संघर्ष गर्न बाध्य छु। योग्यता हुँदाहुँदै बैंकहरूमा रोजगारी पाइएको छैन। के बैकिङ क्षेत्रमा अपांगता भएको व्यक्ति अवसर छैन न त? के अपांगता भएका व्यक्ति साँच्चीकै बैंकिङ क्षेत्रमा सेवा गर्न अयोग्य नै हुन् त? कतिन्जेल अपांगता भएको व्यक्तिलाई मागीखाने मात्र बनाउने? कहिलेसम्म अपांगता भएका व्यक्तिहरुमा वित्तीय साक्षर हुन्छन् त अनि बनाउन सकिन्छन् त?
कहिलेसम्म अपांगता भएको व्यक्तिहरुको पनि वित्तीय क्षेत्रमा प्रतिनिधित्व देख्न पाइएला? यस विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति, नेपाल बैंकर्स एसोसियसन, बैंकहरु, अनि अपांगता भएको व्यक्तिहरुको हक-अधिकारको निम्ति लड्ने छाता संगठन 'राष्ट्रिय अपांग महासंघ' गम्भीरता साथ अध्ययन गरेर नीति निर्माण गरी कार्यन्व्यन गर्न अत्यन्त जरुरी छ।
विश्वप्रसिद्ध भौतिकशास्त्री स्टिफेन विलियम हकिङको एउटा भनाइले यी बेथितिहरुबीच पनि मलाई ऊर्जावान राखिरहेछ 'मेरो सल्लाह अरु डिसेबल्ड मानिसहरूलाई के हुनेछ भने, यस्ता विषय र चिजहरुमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्, जसलाई तपाईंको अक्षमताले रोक्दैन, जुन कामलाई तपाईंले राम्रोसँग गर्न सक्नुहुन्छ र तपाईंको शारीरिक अक्षमताले हस्तक्षेप गर्ने चिज या कार्यहरुप्रति पश्चताप नगर्नुहोस्। तपाईं आत्माबाट असक्षम हुनुहुँदैन न त शरीरबाट नै।'