खासमा तँ सम्बोधन केबल शब्द मात्र होइन। यो हाम्रो वैयक्तिक, सामाजिक चिन्तन र व्यवहारको प्रतिबिम्ब हो। सामान्यतया बोलीचालीका सन्दर्भमा कुरा गर्दा समाजको संरचना जस्तो हुन्छ व्यक्तिको चरित्र पनि त्यही अनुरुप निमार्ण भइरहेको पाइन्छ। सोही अनुरुप समाजमा पुरुषले महिलालाई गर्ने सामाजिक व्यवहार र भाषालाई महिलाको सामाजिक स्वीकार्यताको सूचकका रुपमा लिन सकिन्छ।
समाजले महिलाको लागि लैंगिक हैसियत र छुट्टै भाष्य निमार्ण गरिदिएको छ जसअनुसार यदि कुनै महिलाले आफ्नो श्रीमानलाई आफूलाई श्रीमानले गर्नेजस्तै सम्बोधन गरिन भने ती महिलालाई सामान्य रुपमा नहेरी श्रीमानलाई हेप्ने, ठूली पल्टने, संस्कार नभएकी, उत्ताउली, मै हुँ भन्ने ठान्नेजस्ता उपनामको बिल्ला भिराइन्छ। समाजमा नराम्रो दृष्टिले हेरिन्छ। तर श्रीमानले श्रीमतीलाई गर्ने सम्बोधन घरमा जे हुन्छ, घरबाहिर पनि त्यही हुन्छ।
गत कात्तिक महिनाको २७ गते नारायणगढदेखि काठमाडौँ आउने क्रममा म माइक्रो बसको दायाँ पट्टिको दोस्रो सिटमा थिएँ। मभन्दा अगाडिको सिटमा एक नवविवाहित जस्ता देखिने एक जोडी थिए। निधारमा दसैँमा जस्तै चामलको रातो टीका लगाएका उनीहरु आफ्नै गफमा मस्त थिए। मानौँ कि त्यो माइक्रो बसमा उनीहरु बाहेक अर्को दोस्रो व्यक्ति कोही छैन। ठूल्-ठूलो स्वरमा उनीहरु आफ्ना गफमा मस्त थिए। वरिपरिका प्रायः सबै यात्रुहरु कोही उनीहरुको कुरामा मनोरञ्जन लिएजस्ता देखिन्थे त कोही दिक्क लागेर निदाइरहे जस्ता।
झट्ट हेर्दा वर्षा राउतजस्तै लाग्ने मोटी-मोटी, सर्लक्क परेको शरीर, लामा-लामा आकृतिका हात, नसालु आँखा, आकाशे रङको भुइँमा सेतो रङको बुट्टा भरिएको ज्याकेट, फर्मल पाइन्ट, गहुँगोरो छाला भएकी मानौँ उनलाई हेर्दा भगवानले फुर्सदमै बनाए जस्ती। सेतो टिसर्टमाथि मरुन कलरको ब्लेजर, अग्लो-अग्लो खालको केटा जो हेर्दा एकदमै इस्मार्ट लाग्ने। दुवै जनाको जोडी एकदमै राम्रो देखिन्थ्यो।
मलाई लाग्थ्यो उनीहरु दुवैजना वैदेशिक यात्राका लागि हिँडेका थिए तर ठिक मेरो अनुमान विपरीत भयो। उनीहरु कुनै वैदेशिक यात्राको लागि नभई जागिरको सिलसिलामा काठमाडौँ आएका रहेछन्।
श्रीमान् नेपाल सरकारको शाखा अधिकृत, श्रीमती नेपाल सरकारको सुब्बा। श्रीमतीले श्रीमानलाई आइस्यो, गइस्यो, गरिस्यो, भनिस्यो भाषा प्रयोग गर्छिन् तर उनका श्रीमानले उनलाई तँ भन्छन्। म उनीहरुको ठिक पछाडिको सिटमा भएकोले उनीहरुलाई नजिकबाट नियाल्ने मौका पाएँ। तर उनीहरुसँग आँखा जुधाएर हेर्ने आँट भने गर्न सकिनँ।
उनीहरु ४ घण्टाको यात्रामा अनेक विषयमा कुरा गरिरहेका हुन्थे। श्रीमान जागिरबाट घर आउँदा निकै अबेर भएको विषय नै उनीहरुको झगडाको पहिलो विषय थियो। 'कहाँ गइस्या थियो त्यो दिन हजुर त्यति अबेरसम्म? मैले हजुरको अफिसमा पनि फोन गरेर सोधेको थिएँ। हजुर त्यो दिन अफिस पनि गइस्या थिएन रे? के हो यस्तो चाला हजुरको हँ?'
श्रीमान एकछिन मौन थिए। उनले श्रीमतीको कुरा सुनी मात्र रहे तर केही बोलेनन्। धेरै समयपछि श्रीमानले 'म... म... म...' मात्र भनिरहे। पूरा शब्द निकाल्न निकै कठिन मानेको जस्तो देखिन्थ्यो।
यसै बीचमा श्रीमतीले सानो स्वरमा श्रीमानलाई कराउँदै भनेकी थिइन् 'दिमाग त सही छ नि हजुरको? किन केही बोल्नु हुन्न?'
श्रीमतीका अनेक प्रश्नपछि श्रीमानले रिसाउँदै भन्छन्, 'तैँले मलाई बोल्ने मौका दिइस् र? एकोहोरो आफू मात्र बोलेको बोलै।'
यतिकैमा खाजा खानका लागि बस मलेखुमा रोकिन्छ। १५/२० मिनेटको खाजा खाने समयपछि बस आफ्नो गन्तब्यमा कुदिरहन्छ। सायद बसमा म्युजिकले गर्दा होला उनीहरु एकछिन चुपचाप बसिरहे।
श्रीमती निदाइरहेकी हुन्छिन्। एकछिनको निन्द्राबाट ब्युँझँदा श्रीमानको हातमा मोबाइल चलाइरहेको अवस्थामा देख्छिन्। श्रीमतीले आफ्नो श्रीमानतर्फ फर्कदै भन्छिन् 'पापा, हिजोआज हजुर धेरै नै मोबाइलमा व्यस्त भइस्या छ। मैले धेरै याद गरेको छु। के चल्दै छ भनिसियो त?'
सिटमा संगै बसिरहेकी आफ्नी श्रीमतीले धेरै लामो समयको धैर्यतापछि मात्र शंकास्पद तरिकाले प्रश्न सोधेको चाल पाएका श्रीमानको अनुहारमा कालो बादलले ढाकेको जस्तो देखिन्थ्यो। एकछिनमै उनले अलि असजिलो मान्दै जवाफ फर्काउछन् 'त्यस्तो केही होइन सबिता। साहित्य लेखिराको छु मोबाइलमै।'
श्रीमानको जवाफमा श्रीमतीले व्यङग्य कस्तै भनिन्, 'अँ होला झैँ लाग्यो!'
श्रीमतीको कसिलो व्यङग्यसँगै श्रीमानले आफ्नो बचाउ गर्न लागे 'कुरा पनि हुन्छ नि सबिता आफ्ना साथीभाइहरुसँग।'
श्रीमानको यति जवाफ पाउनासाथ श्रीमतीले फेरि प्रश्न गर्छिन्, 'साथी कि साथिनी?'
'बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म हजुरले मोबाइल लिसिन्छ। आखिर केले गर्दा यस्तो मोबाइलमै टाँसिने बनायो हजुरलाई भनिसियो त?' रुन्चे आवाज बनाउँदै श्रीमानलाई घच्घचाउँदै भनिन् 'यसरी पनि काम चल्छ? थाहा छ कति समय भयो हजुरले मलाई समय नदिसेको?'
श्रीमतीको प्रश्नलाई बेवास्ता गदै श्रीमान मस्त सुतेर घुर्न थालिसकेका हुन्छन्। श्रीमान् सुतेको मौका पारेर श्रीमतीले श्रीमानको मोबाइल हातमा लिन्छिन् र अफ रहेको मोबाइल अन गर्छिन्। स्क्रिन लक गरिएको थिएन। उनले म्यासेन्जर खोलेर हेर्छिन्। उनी छाँगाबाट खसेजस्तो हुन्छिन्। श्रीमान र उनको फेसबुक साथीबीच गजबकै दोस्ती रहेको कुरा उनलाई म्यासेन्जरबाट प्रस्ट हुन्छ।
उनले म्यासेन्जर खोल्नासाथ केही समयको चकमन्नतालाई चिर्नेगरी म्यासेन्जरमा पिलिक्क आएको नयाँ म्यासेज देखेर झल्यास्स हुन्छिन्। उनले हत्त न पत्त म्यासेज पढ्छिन् 'बुढा, कता हराउनु भएको? कति आनन्द आइरहेको थियो कुरा गर्दा। हजुर कति मज्जाको बुढा क्या। मैले किन भेटिनँ होला पहिल्लै उफ्!'
श्रीमतीले श्रीमान र श्रीमानको साथी बीचको अन्य कुराकानी पनि पढ्दै जान्छिन्। 'हामी सामान्य कुराकानी गर्दागदै कति नजिक भयौ है? मलाई त आजकल हजुरलाई बुढो भनेर सम्बोधन गर्न सहज लाग्छ?'
'म पनि त हजुरलाई तपाईंबाट तँ भनेर सम्बोधन गर्न थालिसकेछु नि माया' म्यासेन्जरमा भएका यस्ता कुराकानीले सबिताको अनुहारमा कालो बादलले ढाकेको थियो।
एकछिनपछि बस नौबिसेको उकालो लाग्दै गर्दा उनका श्रीमान् पनि मस्त निन्द्राबाट ब्युँझन्छन्। श्रीमान् निन्द्राबाट ब्युँझनासाथ श्रीमतीले श्रीमानको अनुहारमा हेर्दै भन्छिन् 'कहिलेदेखि अरुको बुढा भइस्यो हँ'? मेरोभन्दा पनि राम्रो रुप र चालढाल भएकी भेटिस्या रैछ तँ? हजुरमा आएको यो परिवर्तनले मलाई खरानी नबनाओस् है पापा! भन्देको छु।'
यति भनेपछि श्रीमती सुक्क-सुक्क गदै रुन थालिन्। श्रीमतीको आवाजलाई सानो बनाई भन्दै श्रीमान हड्बडाउँदै जवाफ फर्काउन खोज्दै थिए। 'ऊ मेरो साथी मात्र हो, किन बुझ्ने कोसिस गर्दिनेस् भन् त?'
श्रीमान-श्रीमती बीचको केही समयको ठाकठुकपछि त्यसै दिनदेखि नै श्रीमानले आफ्नो स्टाटस अपडेट नगर्ने र श्रीमतीले पनि पुरानै स्टाटस पाइरहने गरी सम्झौता गरे। कुराकानीकै क्रममा पुनः फेरि श्रीमतीले एक पटक श्रीमानको अनुहार तर्फ हेर्दै भनिन् 'हजुरले मलाई पहिलो पटक भेट हुँदा तपाईं भनिस्या थियो। त्यसपछि मलाई अप्ठ्यारो लाग्यो भनेर तिमी भन्नुभयो। रिसले झोक्किएको बेलामा दुई/चार पटक हजुरले तँ शब्द प्रयोग गरिसिएको, हजुरको आदत नै तँ भन्ने बस्यो।
हुन त सम्बोधनले मलाई खासै केही फरक पार्दैन। न त मलाई हजुरले तँ भन्दा नराम्रो लाग्छ न त तिमी भन्दा ठूलो भएको महसुस हुन्छ। म आफूलाई नराम्रो लाग्नेभन्दा पनि अरुका अघि हामीले अनौपचारिक कुरा गर्दा तँ भनेर सम्बोधन गर्दा हाम्रो बारेमा के सोच्लान् भन्ने हुँदो रहेछ' भन्दै श्रीमानलाई मुखबाट तँ शब्द निस्कँदा सचेत गराइरहन्थिन्।
माथिको उदाहरण हाम्रो समाजका प्रतिनिधि दृश्य मात्र हो। अपवाद बाहेक सबैजसो घरमा श्रीमान/श्रीमती बीचको सम्बोधनमा शताब्दीयौँदेखि असमान तहले निरन्तरता पाइरहेको छ। हुन त आजभोलि श्रीमानलाई तिमी वा तँ भन्ने थुप्रै महिलाहरु छन्। तर अझै पनि नेपाली समाज संरचनागत हिसाबले पितृसतात्मक नै छ।
समाजको संरचना जस्तो हुन्छ व्यक्तिको चरित्र पनि त्यही अनुरुप निमार्ण भएको हुन्छ। श्रीमानले श्रीमतीलाई गर्ने सम्बोधन जति तल्लो स्तरको भए पनि श्रीमतीले श्रीमानलाई गर्ने सम्बोधन भने उच्च र आदरार्थी नै हुनुपर्छ। सामाजिक हैसियत बराबर वा श्रीमानको भन्दा श्रीमतीकै माथिल्लो तह भए पनि श्रीमानले श्रीमतीलाई होच्याउने प्रवृत्ति र तुच्छ सम्बोधन कायमै छ।
श्रीमानले श्रीमतीलाई गर्ने सम्बोधन घरमा जे हुन्छ घर बाहिर पनि त्यही हुन्छ। अर्थात् श्रीमतीको नाम लिएर तँ भनेर बोलाइन्छ। मानौँ श्रीमती हुनु भनेकै तँभन्दा माथिल्लो सम्बोधनको लायक नहुनु हो। तर अलि-अलि महिलाप्रति सकारात्मक तर पूर्ण रुपमा सहअस्तित्व स्वीकार नगरिसकेका श्रीमान रहेछन् भने घरबाहिर, सार्वजनिक स्थान वा तेस्रो व्यक्ति भएको स्थानमा तिमी सम्बोधन गर्दछन्।
हाम्रो समाजमा सम्बोधन कसलाई कस्तो गर्ने भन्ने सम्बन्धमा एउटा नियम लागु छ। जो ठूलो छ त्यसलाई आदरार्थी र सानालाई जे गरे पनि हुन्छ। परिवारमा को ठूलो भन्ने कुरा सामान्यतया उमेरले निर्धारण गर्दछ। एकै उमेरका सन्दर्भमा लैङ्गिकताले निर्धारण गर्दछ। लैङ्गिकताले परिवारमा परिवारका सदस्यको भूमिका तय गर्ने हुनाले पनि लैङ्गिक आधारमा सम्बोधनहरु अलग्गिएका होलान तर श्रीमान/श्रीमतीको बीचको सम्बन्धमा किन समानता हुँदैन? भनेर प्रश्न गर्ने हो भने धेरैले दिने जवाफ श्रीमान/श्रीमतीभन्दा उमेरमा सिनियर भएर तर यो जवाफ आफैमा त्रुटिपूर्ण छ।
पहिलो कुरा त विवाह गर्दा पुरुष उमेर र सामाजिक हैसियतमा जेठो र महिलाभन्दा माथिल्लो स्तरको हुनुपर्ने सामाजिक धारणा नै गलत छ। दोस्रो कुरा ल मानौँ केही समयका लागि सिनियर भएकाले श्रीमानलाई आदरार्थी सम्बोधन गरियो तर यदि श्रीमती अलि बढी उमेरको भएको अवस्थामा के श्रीमानले श्रीमतीलाई त्यस्तै आदरार्थी सम्बोधन गर्ने प्रचलन छ त? अवश्य पनि छैन। आफूभन्दा बढी उमेरको श्रीमती भए पनि सम्बोधन त तँ नै हुने गरेको छ।
व्यक्तिगत जीवनमा मात्र नभई व्यवसायिक जीवनमा पनि महिलाप्रति गरिने सम्बोधन फरक पाइन्छ। अहिलेको आधुनिक रुपमा कानुनी रुपमा महिलाको स्वतन्त्र अस्तित्वलाई केही मात्रामा स्थापित गरिएता पनि श्रीमान/श्रीमतीको नाताबीच हरेक क्रियाकलापमा श्रीमान् हाबी हुनु भनेको महिलाको कानुनी अस्तित्व मात्र हुनु हो।
पितृसतात्मक सामाजिक व्यवहारकै कारण विद्यालय, विश्वविद्यालय र सत्ताको पहुँचभन्दा टाढा रहेका महिला यस्तो सवालको जिम्मेवार हुन नसक्नु स्वभाविक नै हो तर आर्थिक रुपमा आत्मनिर्भर, उच्च शिक्षा हासिल गरेका, अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व गर्न सक्ने क्षमता भएका र राजनीतिक नीति निमार्णमा राम्रो भूमिका खेल्न सक्ने महिला पनि पुरुषको अधिनायकत्वबाट टाढा रहन नसक्नु र व्यवहारमा उतार्न नसक्नु एउटा दुःखद् कुरा हो।