मेरो थर चापागाईं!
स्कुलमा लेख्दा अंग्रेजीमा Chapagai लेखियो। एलएलसीसम्म त्यही कायम रह्यो। सोही आधारमा आइएससी र स्नातक गरियो। कलेजमा पढ्दा एक जना प्रसाईं थरको साथी थियो। उसले पनि थरको अंग्रेजी हिज्जे Prasai मात्र लेख्थ्यो। विभिन्न ठाउँबाट प्राप्त हुने चिठी/कार्ड र कतै कुनै सूची बन्दा मेरो थरको हिज्जेमा अन्तिममा 'n' जोडिएर Chapagain भएको पाउँथे भने उसको Prasain।
हामी कतिपय अवस्थामा कतै थर टिपाउँदा बिगारिदेलान् कि भनेर आफ्नो हिज्जे नै उच्चारण गर्थ्यौं। उसलाई त थाहा भएन, मलाई चाहिँ बेलाबेलामा आफ्नो थरको हिज्जे गलत लेखेछु कि क्या हो भन्ने लागिरहन्थ्यो।
पासपोर्ट बनाउने बेलामा सच्याउने मौका यही हो भनेर थरको अन्त्यमा 'एन' थपेँ। तर कलेजको सर्टिफिकेटमा त 'एन' थिएन। पछि भिसालगायत कुरामा निकै दुःख पाएपछि मैले मेरो पासपोर्टको 'एन' झिक्ने निर्णय गरेँ। अनि फेरि एकपटक जिल्ला प्रशासनको चक्कर काटेर थरबाट 'एन' हटाएँ। कताकता अशुद्ध लाग्ने त्यही थर आज मेरो पहिचान हो।
दोश्रो चरणको कोभिड सुरू भएपछि भेरी अस्पतालको पिसिआर ल्याबको रिपोर्ट विश्लेषण गर्न सुरू गरेँ।
अघिल्लो लहरमा अस्पतालले पोजेटिभ आएकाहरूको रिपोर्टबाट केही व्यक्तिगत विवरण सम्पादन गरेर फेसबुक पेजमार्फत सार्वजनिक गर्थ्यो। थोरै संख्यामा मात्र पोजेटिभ हुँदा यो स्क्रिनसट विधि पनि ठिकै थियो। तर वैशाख १ गते देखि नै ७५ भन्दा बेसी बिरामीको एकै दिनमा पोजेटिभ आउन थालेपछि त्यो अमिल्दो हुन थाल्यो।
महामारीको ट्रेन्डको बारेमा पनि त्यसरी रिपोर्ट सार्वजनिक गर्दा कुनै निष्कर्ष ननिस्कने हुँदा विभिन्न आधारमा 'समराइज' गरी सार्वजनिक गर्ने निर्णयमा म पुगेँ। ल्याबबाट आउने रिपोर्टहरू केलाउन थालेपछि मलाई तथ्यांकका विविध पक्षका बारेमा रस पस्दै गयो।
जति घोत्लिँदै गयो त्यति हाम्रा कमजोरीहरू पनि देखा पर्दै गए। कसैले कहिल्यै नगर्नुभन्दा ढिलै भए पनि ती कमजोरीको गहनता सबैले बोध गर्नुपर्छ र सरोकारवाला निकायबाट यसको सम्बोधन गरिनुपर्छ भन्ने यो लेखको उद्देश्य हो।
कोभिड व्यवस्थापन नेपालमा चुनौतीपूर्ण हुनुको धेरैमध्ये एउटा कारण हामीसँग भरपर्दो तथ्यांक नहुनु हो। कुन बिरामी कुन ठाउँको हो, त्यो उसको हालको बसोबास भएको ठाउँ हो वा उसको स्थायी वासस्थान हो, ऊ कतै गएको थियो वा जानेवाला छ ? यस्ता विवरणहरू हामीले मिहीन रूपमा लिनै बिर्सेका छौं।
जब कुनै दिन त्यस दिन पहिचान भएका ४०० बिरामीहरूको जिल्ला र पालिका अनुसार ‘सर्ट’ गर्न थाल्थेँ, त्यसको भेरिएसन देखेर अचम्म लाग्थ्यो। एउटै पालिका हो, तर कसैले पालिकाको नाम के लेखेका छन्, कसैले के। जस्तो कि बर्दियाको बाँसगढी नगरपालिकाकै स्पेलिङ ८-१० शैलीमा लेखिएको हुनेरहेछ। बुझ्नलाई त अलिअलि वर्ण मिले पनि बुझिन्थ्यो, तर हिज्जेमा एकरूपता नहुँदा तथ्यांक केलाउने वा पिभोट टेबलको प्रयोग गरेर भेरिएबलहरूलाई एकीकृत गर्दा गडबढ हुने गरेको पाइयो।
डाटा भ्यालिडेसन नगरी हुने म्यानुअल डाटा इन्ट्रीमा यो गल्ति बेसी हुने नै भयो। कोभिडको तथ्यांक लिनका लागि आइएमयु (IMU) को प्रयोग सुरू भएपछि यो क्रम केही कम भए पनि पूर्णरूपमा हटेन। कारण के रहेछ भने कोभिड सम्बन्धी तथ्यांक व्यवस्थापनका लागि आइएमयु मात्र नभइ विभिन्न कार्यालयहरूले आआफ्नो सहजताअनुसार विभिन्न सफ्टवेयरहरू प्रयोग गरिरहेका छन्। र ती सफ्टवेयरमै जिल्ला र पालिकाको नामको हिज्जेमा एकरूपता छैन।
हुन त 'बुझे भै गो नि' वाला स्वच्छन्द शैलीले पनि आजकाल प्रश्रय पाइरहेको हुन्छ। तर देशका पालिकाको नै गलत भेट्दा सुरूमा त ती सफ्टवेयर कम्पनीकै हेल्चेक्र्याइँ होला जस्तो लागेको थियो। तर उनीहरूसँग सोध्दा सबैले आफूले नेपाल सरकारकै सूची हेरेर गरेको भन्ने जवाफ हुन्थ्यो।
कसैले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको, कसैले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको, कसैले अर्थ मन्त्रालयको, कसैले निर्वाचन आयोग त कसैले केन्द्रीय तथ्यांक विभाग आदिको सूचीलाई आधार मान्दा रहेछन्। सबैको हिज्जे समान भएको भए त कुनै दुबिधा नै नहुने रहेछ। तर यहाँ मुख्य निकायहरूले नै आआफ्नो शैलीको हिज्जे प्रयोगमा ल्याएकाले समस्या रहेछ।
बिडम्बना भन्नुपर्छ नेपाल सरकारले हालसम्म आफ्ना ७५३ पालिकाको आधिकारिक नाम र त्यसको अंग्रेजी हिज्जे सार्वजनिक गरेको भेटिन्न। हुन त संघीयताको खिचातानीमा कतिपय पालिकाको नाम र केन्द्र अझै पनि संशोधन हुँदैछन्। तर पनि राज्यले एकपटक त आफ्ना सबै पालिकाको नाम र वडा संख्या सबैको जानकारीका लागि आधिकारिक रूपमा सार्वजनिक गर्नुपर्ने हो।
एकपटक यसरी राजपत्रमै प्रकाशित गर्दा कुन वैधानिक हो भन्नेमा कतै पनि अन्यौल हुने थिएन। राज्यले पनि आफ्नो मातहतका सबै निकाय, देश र विदेशमा कतै प्रयुक्त हुँदा पनि आफ्ना ठाउँहरूको नाम र हिज्जेमा एकरूपता ल्याउन सक्थ्यो।
कतै त होला आधिकारिक निर्णय गरेर प्रयोगमा ल्याएको नामनामेशी भनेर निकै खोज्दा पनि भेटिएन। आसन्न राष्ट्रिय जनगणनालाई विचार गर्दा केन्द्रीय तथ्यांक विभागको विवरण पक्कै पनि अद्यावधिक र शुद्ध होला भन्ने निर्क्यौलमा म पुगेँ।
निकै प्रयासपछि त्यो सूची हात पर्यो। पहिलेको भन्दा यो विवरणमा धेरै कुरा त मिलाइएको रहेछ। तर कतिपय कुराहरू यसै मिलाउन पनि नमिल्ने भएर होला वा सहजै खुट्याउन नमिल्ने खालको भएर होला, गलतजस्तै देखियो।
सबैभन्दा ठूलो समस्या जनजातिको लवजबाट आएका नामहरूमा देखिन्छ। पूर्वका किराँत बहुल स्थानहरूको नाममा ‘ङ’ धेरै प्रयोग हुनेरहेछ। पाँचथरको हिलिहाङ्ग गाउँपालिकाको अंग्रेजी हिज्जे Hilihan देखिन्छ। सोही जिल्लाको अर्को पालिका फालेलुङको Falelung।
मसँग भएको विवरणमा हाल फालेलुङ कायम गरिएको नाम पहिले फालेलुङ्ग थियो भन्ने जनाउ छ। अन्तिममा ङ वर्ग आउनेमा 'एन' लेख्ने वा 'एनजी' लेख्ने? ङ्ग लेख्ने वा ङ मात्र लेख्ने? यसमा एकरूपता ल्याउन पर्छ।
बीचमा साँवा अक्षर भएको फाकफोकथुमको हिज्जे Fakfokathum राख्दा क हुन्छ वा का? वर्णविन्यास अनुसार ‘क्ष’ क् + ष् वर्णको संयुक्त अक्षर हो। यसको हिज्जे Ksh हुनुपर्ने हो। तर बराहक्षेत्र गाउँपालिकालाई Barahachhetra भन्दा क्षेत्र हुन्छ कि छेत्र?
संघीयता कार्यान्वयन हुनुभन्दा पहिलाका हाम्रा निकायहरूका नाम धेरैजसो ‘माथि’बाट निर्देशित जस्ता थिए। तर अहिले हाम्रा राजनीतिक संरचनाहरूका नाम स्थानीय धार्मिक क्षेत्र, सांस्कृतिक क्षेत्र, सम्पदा र इतिहासमा आधारित छन्। ती नामहरूको खास इतिहास विशेष अर्थ हुने गर्छ। अत: ती स्थान वा संस्थाको नामलाई आफ्नो बुझाइको अर्थमा लेखिनु दुःखलाग्दो कुरा हो।
मगर भाषामा बाङ भनेको चौर वा खुला ठाउँ भन्ने हुन्छ। मगर बाहुल्य ठाउँमा बाङसँग जोडिएका धेरै नाम छन्। रोल्पाको थबाङ पनि एउटा हो। बाङको शुद्ध अंग्रेजी हिज्जे Bang हो Wang होइन। मैले फेला पारेको स्थानीय निकायको सूचीमा थबाङको हिज्जे Thawang छ।
सूर्योदय कि सुर्योदय, सहिद कि शहीद, बिदेह कि विदेह, बिन्दबासिनी कि बिन्दवासिनी वा विन्ध्यवासिनी? बेंसी कि बेसी वा बेँसी? ख्वोला कि खोला, केदारस्युँ कि केदारस्यूँ, ब्यास कि ब्याँस, के.आई.सिंह कि के.आई.सिं, लम्कीचुहा कि लम्किचुहा कि लम्कि चुहा?
नेपालीमा लेख्दा नेचासल्यान लेख्ने तर अंग्रेजीमा विग्रह गरी Necha Salyan लेख्दा असंगति भएन? पाँचखपन को अंग्रेजी Panchakhapan कसरी हुन सक्छ? सवरन को Sabaran नै हो त? ठोरी (सुवर्णपुर) गाउँपालिका लेखिएकोमा अंग्रेजी महलमा Thori Rural Municipality मात्र कसरी? चाहे जे लेखियोस्, यसको शुद्ध र आधिकारिक यो हो भनेर राज्यबाट प्रमाणित कुनै दस्तावेज त चाहियो नि।
नेपाली लेखनमै यति फरक भइरहेकोमा अझ अंग्रेजी हिज्जेमा लैजाँदा त झन केही नयाँ नियम र परिभाषा नै बाँध्नुपर्ने जस्तो देखिन्छ। फ को स्पेलिङ f राख्ने कि Ph, व को b राख्ने वा v वा w? शब्दको बीचका अंग्रेजीमा consonant पछि a छ भने त्यसले नेपाली व्यञ्जनमा आकार लगाउने वा साँवा राख्ने, आकारका लागि एउटा a को प्रयोग गर्ने वा दुइटा?
यिनमा पनि एकरूपता ल्याउने प्रयास भए राम्रो। इन्टरनेटको बढ्दो प्रयोग र ट्रान्सलिट्रेसन सफ्टवेयरहरूको प्रयोग गरेर रोमनमा लेखेर नेपालीमा कन्भर्ट गरेर लेख्दा वर्णविन्यासका आधारभूत नियमहरू कुनै आधिकारिक निकायबाट प्रमाणित गरेर सार्वजनिक हुँदा हाम्रै लेखाइ शुद्ध हुने थियो।
S ले स हुन्छ भने, Sh ले श! ष लेख्नुर्यो भने कसरी लेख्ने त? th बाट थ पनि हुन सक्छ, अनि ठ पनि, dh बाट ध पनि अनि ढ पनि! यिनका निश्चित मानक बनाएर नयाँ पिँढीलाई पढाउन ठाउँका नामभन्दा राम्रो दृष्टान्त अरु नहोलान्।
खोज्दै जाने हो भने यस्ता असंगतिहरू धेरै नै छन्। यहाँ सबै ठाउँमा गल्ती लेखिएको छ पनि म भन्दिनँ। गाउँपालिकाहरूले आफ्नो रूपमा सही नै लेखिरहेका हुन सक्छन्। तर केन्द्रको तथ्यांकमा उनीहरूको नाम गलत तरिकाले राखिएको पनि हुन सक्छ। यो कुनै व्याकरणीय खोचे थापाई मात्र होइन। विभिन्न श्रोतहरूले प्रयोग गर्ने यस्ता नाममा एकरूपता नहुँदा एउटा प्रणालीले निकालेका तथ्यांक अर्को प्रणालीले नबुझ्ने समस्या बढ्दो छ। यसमा गल्ती कसले गर्यो भन्दा पनि यसतर्फ आजसम्म किन आँखा परेन भन्ने हो।
सरकारी निकायहरूले सर्वसाधारणका निम्ति राखिदिने सूचनाको व्यवस्था हेर्यो भने भाउन्न भएर आउँछ। यस प्रकारका विवरणहरू प्रमाणीकरण गरेर सन्दर्भका लागि pdf मा राखिदिए पनि अन्य प्रयोजनको निम्ति doc, excel वा csv मा राखिदिए त्यस क्षेत्रमा चाख भएका व्यक्तिहरूले पनि विभिन्न अद्यावधिक गर्थे होलान्। तर सूचना भनेको दस्तखतै भएको, छापै लगाएको मात्र मान्य हुन्छ भन्ने जसरी फोटो वा पिडिएफ मात्र राखिदिँदा विभिन्न स्तरका अद्यावधिकबाट चुक्न पुग्छन्।
भर्चुअल क्लास र भ्वाइस कमान्ड अपरेटेड ग्याजेटहरूको प्रयोगले नयाँ पुस्ता लेखाइमा झन् कम चासो दिन थालेका छन्। यस्तोमा उनीहरूमा शुद्ध लेखनको महत्वलाई जोड दिन पनि केही त उदाहरण र मापदण्ड तय गरिदिनुपर्ने हो।
नेपाली भाषाको विकास हेर्ने हो भने पृथ्वी नाराणय शाहको पालाको दिव्योपदेशमा एउटा भाषाशैली देखिन्छ भने जंगबहादुर राणाको पालामा बनेको मूलुकी ऐनमा त्योभन्दा केही फरक। २०३०-३२ सालसम्मका गोरखापत्रका पुराना अंक हेर्दा पनि त्यो भाषा अहिले र पहिलेको भन्दा केही फरक देखिन्छ। तर रोमनमा च्याट र स्टाटस लेख्ने नयाँ पुस्ताको शैली हेर्दा हामीले नयाँ पुस्तालाई केही मार्गनिर्देश दिन सकेनौं भने हाम्रो नेपाली भाषाको पहिचान नै मासिँदै जाने खतरा देखिन्छ।
अझै पनि केही बिग्रिसकेको छ जस्तो लाग्दैन। यो दुबिधा समाधानका निम्ति सरकारले केन्द्रमा एउटा विज्ञहरूको समूह गठन गरी विभिन्न मापदण्डको आधारमा हालका पालिकाहरूको नामको मस्यौदा पेस गर्न अह्राउन सक्छ। त्यसपछि त्यो नामलाई अनुमोदनका लागि सम्बन्धित पालिकामा पठाउने र त्यहाँबाट सोको अनुमोदन भएर आएपछि मन्त्रिपरिषदबाट पास गराई राजपत्रमा प्रकाशित गर्न सकिन्छ।
यसरी तयार भएको पालिका विवरण सबैको पहुँचका निम्ति सरकारी वेबसाइटहरूमा राख्न सकिन्छ। त्यसमा पालिका अनुसार वडाको संख्या पनि खुलाइदिए सुनमा सुगन्ध!
यदि सबै सरकारी निकायले जिल्लाको नामको हिज्जे र त्यसको संकेत नम्बर, पालिकाको नामको हिज्जे र त्यसको संकेत प्रयोग गर्छन् तब GIS को प्रयोगबाट गरिने विभिन्न तथ्यांकीय विश्लेषणहरू सहज र वस्तुपरक हुन सक्छन्।
यो गर्न कुनै ठूलो योजनै बनाउन पर्ने वा दातै गुहार्न पर्ने पनि होइन होला। सहजीकरणका निम्ति प्रज्ञा प्रतिष्ठान, अध्ययन केन्द्रहरू वा स्वतन्त्र प्राज्ञको सहयोग लिन सकिन्छ। हेर्दा यो कुरा खासै ठूलो लाग्दैन तर यसले यस क्षेत्रमा काम गर्ने धेरैको टाउको दुखाइ कम गर्नेछ।
विभिन्न श्रोतबाट उत्पादन हुने तथ्यांकमा एकरूपता भइ महामारी लगायतका विश्लेषणमा सहयोग पुग्नेछ। राष्ट्रिय-अन्तराष्ट्रिय स्तरमा आफ्नो औपचारिक र आधिकारिक नाम रहनेछ। यो नगरे पनि कुनै पहाडै त खस्ने छैन। तर पहिचान र तथ्यांकमा भने हामी कुहिरोको कागझैं रूमल्लिइरहने छौं।