'आज त बाटोमा एउटा फुच्चेले केटा भएर पनि किन केटीको रङ लगाएको भनेर जिस्काको यार!' गुलाबी टि-सिर्ट लगाउँदै ढोकाबाट छिर्दै गर्दा मेरा साथीले सुनाए। सुन्दा अलि खिन्न त लाग्यो तर अचम्म लागेन।
चार महिना पहिला यान्ता अर्थात् केटीको रङको साइकल भनेर एउटा नेपाली बाबुले नै साइकल चढ्न मानेको थिएन। अनि त्यही साइकललाई कालो पेन्ट दलेर त्यसको लैङ्गिक स्वरुप परिवर्तन गरिएपछि मात्र ऊ खुसी भएर चढ्न मानेको थियो। समानताको सूचीमा विश्वको दोश्रो नम्बरमा आउने देशमा पनि रङलाई लिङ्गसँग जोडिएको रहेछ। म अचम्मित परेकी थिएँ। थोरै भयावित पनि।
ठूलो सुपरमार्केटमा बच्चाको सेक्सनमा छिर्दा नानीहरुको लागि राखिएका गुलाबी कपडा र खेलौनाको लस्कर देख्दा बच्चा बेला देखिको मेरो मनपर्ने हरियो रङ मैले कतै देखिनँ। सोचेँ यत्रो विकसित मुलुकको ठूलो पसलमा सानी म छिरेको भए म मेरो मनपर्ने हरियो रङको रहर भुलेर कुनै एक गुलाबी खेलौना उठाउन बाध्य हुने रहेछु।
म दङ्ग पर्छु जन्मँदै नजन्मेको शिशुलाई समेत खाली गुलाबी र निलो रङको ट्याग लगाइदिएर भव्य तरिकाले 'जेन्डर रिभिल पार्टिज' गरिन्छ। गुलाबी भए छोरी अनि निलो भए छोरा। के कुनै पनि निर्दोष बच्चालाई संसारको हरेक रङ अपनाउने अधिकार छैन? रङ त रङ होनि। रङको पनि लिङ्ग हुन्छ र?
यहाँ मात्र हैन, यही प्रश्न मैले विभिन्न तरिकाले थुप्रै व्यक्तिसँग गरेँ। भिन्न क्षेत्रका व्यक्तिलाई। नर्वेदेखि नेपालसम्म। तर थोरैसँग मात्र यो विषयको गहिराइलाई बुझ्ने अनि छलफल गर्ने समय अनि चाह थियो। अरु धेरैलाई यो विषय अति सामान्य अनि यस्ता प्रश्न चासमयको बर्बादी थियो। तर मेरा लागि भने यो प्रश्न अनि यसको उत्तरको खोजी सामाजिक रुपान्तरण साथै न्यायपूर्ण पुस्तान्तरणका लागि अमूल्य विषयवस्तु थियो। यही प्रश्नको गहिराइमा पुग्न अनि यसको इतिहास खोदेल्न मैले सर्च इन्जिनमा गई प्रश्न गरेँ, 'ह्वाई सेक्सिजम इन कलर?'
१९ शौँ शताब्दीमा बच्चाका लागि भनेर रोजिएका दुई रङहरु: गुलाबी र निलो बच्चाका आँखा र कपालको रङसँग मेल खानका लागि चुनिएको थाहा पाउँदा मनलाई केही सन्तोष मिल्यो। तर जब सोही समयमा निलो रङले बढी नाजुकता झल्काउने भएकाले सो रङ छोरीलाई अनि गुलाबी रङले भने शक्ति झल्काउने भएकाले छोरालाई भन्ने लेखहरु पढ्दा म अचम्मित भएँ।
दिमागमा फेरि खैलाबैला मच्चियो। फेरि पछि आएर रंगको राजनीतिमा किन परिवर्तन त? किन ठ्याक्कै विपरीत? थप पढ्दै जाँदा पत्ता लाग्यो कि बद्लिँदो समयसँगै रंगले झल्काउने अर्थका परिभाषा पनि बद्लिएका रहेछन्। पछि आएर महिलाहरु बढी भावुक हुने कारण देखाएर उनीहरुलाई रातो अर्थात् रोम्यान्टिक कलरको नजिकको रंग गुलाबी पुनर्चयन गरिएको रहेछ।
यो सामाजिक चलनको विरोध १९६० साल ताका नभएको पनि हैन। लिङ्गसँग जोडिएको रंगको परिभाषाको संस्कारलाई तत्कालीन 'उमन्स लिबरेसन मुभमेन्टले' चुनौती पनि दिएको रहेछ। तर गर्भावस्थामा नै लिङ्ग पहिचान गरी गरिने 'जेन्डर रिभिल पार्टिजको आगमनसँगै खुद्रा विक्रेताहरुको लिङ्ग विशेष सामाग्री बेचेर पुँजीकरण गर्न सकिने भन्ने सोचको कारण फेरि हाम्रो समाज त्यो चुनौती विपरीत रंगसँग जोडिएको विभेदतामा मुसिन पुगेको रहेछ जुन सत्य अहिलेको समयसम्म पनि जीवित नै छ।
अहिलेको समयमा भने जेन्डर रिभिल गर्ने पार्टीका तरिकाहरुमा फरकपन आए पनि ती दुई रङको राजनीति भने त्यहाँ देखिन्छ।
'ल त गुलाबी रंग छोरीकै अनि निलो छोराकै माने पनि के नै बिग्रियो र?'
'देश विकासका ठूला मुद्दा छोडेर यी झारपाते कुरामा के समय बर्बादी गरिरा होला!'
'कता रंग कता लैङ्गिक समानाता, कतैबाट पनि तालमेल नखाने बेफ्वाँक कुरा गर्छन् अनि लेख्छन्। सब बेकार!'
यो विषय बारे छलफल गर्दै गर्दा र लेख लेख्दै गर्दा धेरै व्यक्तिहरुमा र पाठकमा माथि उल्लेखित तर्कनाहरु आउनुमा मलाई कुनै आश्चर्य छैन। आश्चर्य छ त समस्याको जरो नबुझी टुप्पोमा गाँसिएका ठूला मुद्दाबारे हामीले गर्ने टिप्पणी अनि विवाद बारे।
रंगदेखि बच्चाले खेल्ने खेलौनासम्म जोडिएको विभेदले हाम्रो समाज कुन दिशातर्फ जाँदै छ भन्ने झल्काउँदै छ त? हामी जो पढेलेखेका मानिन्छौँ हामीले नै समाजलाई र आउँदो पुस्तालाई कस्तो मार्गतर्फ डोहोर्याउँदै छौँ त? अझ सबैभन्दा महत्वपूर्ण प्रश्न त छोरा अनि छोरी भन्दै छुट्याइएका दुई रंगले द्वयसांखिका समूहको समावेशीकरणमा कस्तो भूमिका खेल्दै छ त? सत्य त यसले समाजलाई अनैतिक रुपले झन् असमानताको गहिरो खाडलतर्फ धकेलिरहेछ।
भाँडाकुटीमा गुलाबी जामा लागएर गुलाबी भाँडाका सेटमा खाना पकाउँदै दिनभरि घरको काम र भान्छालाई नै आफ्नो संसार मान्ने खेल खेल्दै गरेकी नानीलाई त्यही कुरामा अझ थप हौसला दिँदै गर्दा हामी कतिले सोच्छौँ त 'के म नानीलाई कुनै निश्चित समाजिक दायित्व पूर्तिका निम्ति मात्र हुर्काउँदै त छैन? के म उसको क्षमतालाई सङ्कुचित गर्ने मार्ग तिर त छैन?'
अनि कुनै बाबुले गुलाबी रंग जाबो केटीको भन्दै गर्दा हामी कतिसँग उसलाई सम्झाउने समय र चाह हुन्छ त? उसले रुँदै गर्दा हामी कतिले उसको भविष्यसँग गाँसिएको मानसिक स्वास्थ र समानतापूर्ण समाजबारे नसोची प्याच्च भनिदिन्छौँ 'छ्या कस्तो केटी जसरी रोएको!'
कुनै पनि बच्चालाई जन्मन पनि नपाउँदै कुनै रंग लाद्नु भनेको उसलाई खुला आकाशमा उड्न बन्देज लगाई इन्द्रेणीको हरेक रंगको अनुभूती गर्न पाउने अवसरबाट बन्चित गराउनु हो। उसलाई त्यो एक भूमिकामा संकुचित गर्नु हो जसले उसलाई आफ्नो असीमित क्षमता र सम्भावनाबाट अपरिचित साथै अनदेखा गराइदिन्छ।
हरेक बच्चाले रंगलाई नितान्त रंगकै रुपले हेर्छ चाहे त्यो गुलाबी होस् वा निलो वा कालो नै, जबसम्म हामी परिपक्व अभिभावकले त्यसलाई लिङ्गको ट्याग लगाएर बच्चासामु परिचित गर्दैनौँ। त्यसैले आउनुहोस् हरेक बच्चालाई हरेक रंगसँग रमाउन दिउँ। कुनै विभेद बिना उसले आफ्ना खेलौना रोजोस् अनि रंग पनि र देखोस् आफ्ना असीमित सम्भावना तथा शक्ति। परिवर्तन आउँछ, सुरुआत त गरौँ।