कात्तिकको अन्तिम तिर खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै सेतोपाटीमा दिएको अभिव्यक्तिको आधारमा राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्ल, उप-कप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमल सिंह ऐरीलाई नेपाल क्रिकेट संघ (क्यान)ले स्पष्टीकरण सोध्यो। क्यानसंगको सम्झौता विपरीत चित्त नबुझेको विषयमा संघमा आएर गुनासो राख्ने ठाउँ हुँदाहुँदै पनि मिडियामा बोलेको विषयमा क्यानले ४ खेलाडीसँग स्पष्टिकरण सोध्ने निर्णय गर्यो।
खेलाडीलाई स्पष्टिकरण सोध्ने समितिको संयोजक थिए, प्रशान्त विक्रम मल्ल। मल्लले यता प्लेयरलाई स्पष्टिकरण सोध्दै गर्दा क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द बैतडी जिल्लाको कांग्रेस सभापतिको चुनावी मैदानमा थिए। क्रिकेट संघका अध्यक्ष चन्द नै पार्टी सभापति हुन बैतडी जाने तर खेलाडीहरु आफ्नो पारिश्रमिकको सम्बन्धमा चित्त नबुझेर बोल्दा क्यानभन्दा ठूलो खेलाडी होइनन् भन्ने भाष्य निर्माण गरियो।
क्रिकेट खेलाडीले यसपटक मात्र खेलाडी वर्गीकरणमा चित्त नबुझाएका हैनन्, अघिल्लो वर्ष पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको खेलाडी वर्गीकरणमा नपरेको तर राष्ट्रिय टीममा नपरेका प्लेयर वर्गीकरणमा अटाएको भनेर खेलाडीहरुले क्रिकेट संघमा ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि क्यान अध्यक्ष चन्दले प्रेस विज्ञप्ति जारी गर्दै वर्गीकरण पुन: संशोधन गर्ने प्रतिबद्धता गरे।
अनुशासन नमान्ने को? खेलाडी कि क्यान?
मङ्सिर २९ गते यु-१९ राष्ट्रिय प्रतियोगीताको फाइनल खेल सकिएपछि पुरस्कार वितरण समारोहमा बैतडीबाट कांग्रेस सभापतिमा निर्वाचित भएर आएका क्रिकेट संघ अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरुलाई बधाई र शुभकामना दिएनन्। बरु राष्ट्रिय टीमबाट सन्यास लिएर बसेका पारस खड्का तथा निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ललाई संकेत गर्दै भने 'नेपाली क्रिकेटबाट सन्यास लिइसक्नु भएका र क्रिकेटमै रहनुभएका खेलाडी साथीहरुले क्रिकेट संघको बारेमा अनर्गल कुरा आएको छरपष्ट छन्। अनुशासनसंग चतुरबहादुर चन्द नेतृत्वको क्रिकेट संघ सम्झौता गर्दैन। यु-१९ का भाइहरुले अनुशासन नतोड्नुहोला।'
क्रिकेट भित्रको एउटा तीतो पाटोको बारेमा क्यान अध्यक्ष चन्दले नयाँ युवालाई स्कुलिङ गर्दै थिए। सिधा भाषामा बुझ्दा भाइहरु तिमी आफ्नो ठाउँमा बसेर क्रिकेट खेल। तिमीहरुको काम खेल्ने हो राजनीति गर्न नखोज्नु भन्ने शैलीमा चन्दको अभिव्यक्ति सार्वजनिक भयो।
नेपाली क्रिकेट लामो समयदेखि घस्रिरहेको छ। आइसिसीबाट ३ वर्ष लामो अवधिको निलम्बन फुकुवा पाएपछि विधि सम्मत ढंगले चल्ने प्रतिबद्धताका साथ नयाँ कार्यसमितिले सर्त सहित काम गर्ने जिम्मेवारी पाएको छ। नेपाल क्रिकेट संघ र क्रिकेट खेलाडी बीचको जुहारी अहिले देखिको भने होइन।
क्रिकेट संघ निलम्बन हुनु पछाडि क्रिकेट भित्रको बेथिति, अस्तव्यस्तता र कमजोर व्यवस्थापन तथा अपारदर्शी निर्णयहरु भएको सबैजसो दर्शक तथा समर्थकहरुले बुझिसकेका छन्। क्रिकेट संघ भित्रको गुटबन्दी, चरम राजनीतिक खिचातानीले क्रिकेट खेल र खेलाडी मारमा परेको स्पष्ट रुपमा देखिँदै आएको छ।
नेपाल क्रिकेट संघ भित्रको राजनीतिक खिचातानी र गुटबन्दी पुरानो रोग हो। यहीं राजनीति र गुटबन्दीले गर्दा क्रिकेट संघ आइसिसीको निलम्बनमा पर्यो। २०७२ पुष २ गते टंक आम्बुहाङ नेतृत्वको पुरानो कार्य समितिको कार्याकाल सकिन नपाउँदै मङ्सिर २९ गते रातारात क्यानको साधारण सभाले चतुरबहादुर चन्दलाई अध्यक्ष बनायो।
तत्कालीन अध्यक्ष आम्बुहाङले निर्वाचन रोक्न राखेपलाई गुहारेपछि राखेपले निर्देशन विपरीत चयन भएको भन्दै नयाँ कार्य समितिलाई बैधता दिएन। त्यसपछि सरकारले क्रिकेट संघमा रमेश सिलवाल नेतृत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गर्यो। एकै संस्थामा एउटा निर्वाचित र अर्को सरकारबाट गठित दुई कार्य समिति अस्तित्वमा आएपछि आइसिसीले नेपाल क्रिकेट संघलाई निलम्बन गर्ने निर्णय गर्यो।
क्रिकेट भित्रको व्यवस्थापन र यसबाट असन्तुष्टी कोही भुक्तभोगी थिए भने त्यी क्रिकेट खेलाडीहरु नै थिए। विश्वकप खेल्ने हुटहुटी बोकेका पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेस्वाकरहरुले नेपाली क्रिकेटलाई सन् २०१४ को वर्ल्डकपसम्म नपुर्याउँदासम्म नेपाली क्रिकेटको नाम सायदै विश्व मन्चमा पुगेको थियो। सन् २०१३ मा युएईबाट विश्वकप खेल्ने 'एडमिट कार्ड' पाएर नेपाल फर्केको क्रिकेट टीमले एयरपोर्टदेखि भव्य स्वागत पायो। उक्त सम्मान कार्यक्रमको एक क्षण भावुक रहन पुग्यो।
'म आँसु रोक्न चाहिरहेको छु तर रोक्नै सकेको छैन' नेपाली क्रिकेट टीमका सर्वाधिक सफल कप्तान पारस खड्काले आफ्नो भनाइ राख्ने क्रममा भक्कानिएपछि एकछिन माहोल भावुक बन्यो। अस्तव्यस्त व्यवस्थापन, उचित सेवासुविधा बिना नै खेलाडीको मेहनत र प्रशिक्षकको प्रशिक्षणमा नेपालले विश्वकप पुग्न सकेको प्रति सबैभन्दा जानकार कोही थिए भने त्यी खेलाडीहरु नै थिए।
क्रिकेट प्रशासन सम्हाल्ने जिम्मेवारी क्रिकेट संघको हो भने प्रशासनको उचित व्यवस्थापनमा खेलाडी खेल प्रदर्शन गरेर जित दिलाउने हो। सीमित स्रोत साधनका बीच वर्ल्डकप खेल्नेदेखि वान डे स्टेटस दिलाउनु अनुशासनहीन खेलाडी हुन् कि क्रिकेट संघ भित्रको पुरानो रोगबाट ग्रस्त क्यान अनुशासनहीन? क्रिकेट समर्थक राम्रैसँग 'अपडेटेड' छन्।
वर्गीकरण विवाद हरेक वर्ष नै
चित्त नबुझेको विषयमा बोल्ने वाक स्वतन्त्रता सबैमा हुन्छ। संविधान प्रदत्त अधिकार हो यो। चाहे पुरुष खेलाडी भनौं चाहे महिला खेलाडी वर्गीकरणको सम्बन्धमा क्रिकेट संघले गरेको वर्गीकरणप्रति खेलाडीहरु बोल्दै आएका छन्।
खेलाडी वर्गीकरणका सम्बन्धमा सधैं जसो खेलाडीहरुको असन्तुष्टि बाहिरिने गर्छ। गत वर्ष अन्तर्राष्ट्रिय खेल नखेलेका खेलाडी सेन्ट्रल कन्ट्रयाक्टमा परेका तथा नियमित रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका ललित नारायण राजवंशी भुलवश वर्गीकरणमा छुट्न गएको वर्गीकरण छनोट समिति संयोजक तथा क्यान कोषाध्यक्ष रोशन सिंहले गत वर्ष नै भनेका थिए। क्यानले गरेको वर्गीकरणमा चित नबुझेको भन्दै खेलाडीहरुले क्रिकेट संघमा ज्ञापनपत्र बुझाए। पछि २०७७ असोज १५ गते चतुरबहादुर चन्द्रले प्रेस विज्ञप्तिमा खेलाडीको गुनासो सम्बोधन गर्ने भन्दै कप्तान, उपकप्तान तथा प्रशिक्षकसंगको सल्लाहमा पुन वर्गीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
गत वर्षको सिकाइबाट क्रिकेट संघले कप्तान, उपकप्तान तथा प्रशिक्षकसँगको सल्लाहमा वर्गीकरण गर्नुको साटो पुरानै गल्ती दोहोर्याउँदै राजीनामा दिइसकेका राजुबाबु श्रेष्ठको समितिले खेलाडी वर्गीकरण गर्यो।
क्रिकेट संघ अस्तित्वमा आएपछि भएका हरेक वर्गीकरणमा खेलाडीहरुले असन्तुष्टि जनाउँदै आए पनि विगतमा विवाद सुल्झिएको थियो।
के-के गर्यो निर्वाचित क्यान आएपछि?
३ वर्षदेखि निलम्बनमा रहेको क्रिकेट संघले आइसिसीकै रोहबरमा निर्वाचन प्रक्रियाबाट २०७६ असोज ११ गते चतुरबहादुर चन्द अध्यक्ष र अशोकनाथ प्याकुरेल सचिव भएको पुरानै कार्यसमिति आयो। आइसिसीले असोज अन्तिम हप्तामा सर्तसहित फुकुवा गर्ने निर्णय गर्यो।
क्रिकेट संघ अस्तित्वमा आएपछिः
• राखेपको अनुमतिमा १३ औं सागमा क्रिकेट प्रतियोगिता आयोजना,
• वर्ल्ड क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय प्रतियोगिता आयोजना,
• पोखरा, भैरहवा, वीरगंजमा क्युरेटर नियुक्त,
• मुख्य प्रशिक्षक डेभ वाट्मोर र सातै प्रदेशका प्रशिक्षक नियुक्त,
• प्रधानमन्त्री महिला/पुरुष क्रिकेट आयोजना,
• काठमाडौं मेयर्स कप आयोजना,
• ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता,
• त्रिदेशीय क्रिकेट श्रृंखलाको आयोजना,
• नेपाल ओमान टुर,
• पुरुष, महिला दुवै खेलाडीको वर्गीकरण,
• यु-१९ राष्ट्रिय प्रतियोगिता,
• नयाँ कोचको रुपमा पुबुदु दासानायके नियुक्त।
विश्व क्रिकेटले नपत्याएको व्यवस्थापन र समिति
आइसिसीले सन् २०२४ देखि सन् २०३१ सम्म आयोजना गर्न प्रमुख प्रतियोगितामा एसोसियटबाट अमेरिका, नामिबिया र स्कटल्याण्डले टेस्ट राष्ट्रसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएका छन्। तर आइसिसीले कुनै समय न्युट्रल भेन्युको रुपमा विकास गर्न खोजेको नेपालले भने विश्वकप आयोजना गर्ने सोच्नु त परको कुरा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम समेत बनाउन सकेको छैन।
नेपालभन्दा पछि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको अफगानिस्तान नेपालका लागि एउटा गतिलो उदाहरण हो। आफ्नो देशमा अहिले सम्म एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता समेत नखेलिकन टेस्ट स्टेट्स पाएको छ अफगानिस्तान क्रिकेटले। पछिल्लो क्रममा खाडी मुलुक ओमानले पनि क्रिकेटमा ठूलो लगानी गरेको छ। भर्खरै टि-२० विश्वकपको सहआयोजना गरेर ओमानले विश्वक्रिकेटमा आफ्नो उपस्थितिको छाप छोड्न सफल भएको छ।
'क्रिकेट विकासमा स्वार्थ होइन सिस्टम चाहिन्छ, पारस खड्का कुड ह्याभ द्याट क्यापासिटी' नेपालले वर्ल्ड क्रिकेट लिग २ अन्तर्गत ओमान भ्रमणको बेला नेपाली मिडियामाझ करिब पौने घण्टाको अन्तर्वार्ताको क्रममा ओमान क्रिकेट प्रमुख पंकज खिम्जीले दिएको अभिव्यक्ति हो यो। पंकज खिम्जी ओमान क्रिकेटलाई माथिल्लो स्तरमा पुर्याउन संग्लग्न सक्रिय पात्र हुन्।
नेपाली क्रिकेट र नेपाली खेलाडीलाई नजिकबाट नियालिरहेका खिम्जीले पारस खड्कामाथि देखेको विश्वासले स्वतः स्पष्ट पार्छ कि नेपाली क्रिकेटले व्यवस्थापन र प्रशासन सुधार्न सकेको छैन। एक देशको क्रिकेट व्यवस्थापकले अर्को देशको समकक्षीलाई चिन्दैन बरु अरु नै विकल्प देख्छ भने नेपाल क्रिकेट संघमा के चिजको अभाव छ भन्ने अन्तर्राष्ट्रिय जगतले स्पष्ट बुझिसकेको छ।
राजीनामाको श्रृंखला: क्यानको कमजोरीको नमूना
नेपाली क्रिकेट टीमको कप्तानीबाट पारस खड्काले राजीनामा दिनुलाई खेलाडी र क्रिकेट संघको विवादको अर्को रुपमा लिन सकिन्छ। पुरानै कार्यसमिति निर्वाचित भएर आएपछि क्रिकेट टीमको कप्तानी पारस खड्काले छोड्नुमा स्वतः खेलाडी र संघ बीचमा विवाद छ भन्ने बुझ्न कति पनि असजिलो रहेन। विवादमै रुमलिएको क्रिकेट संघमा उहीं पुरानै टीम भित्रिएपछि सँगै काम गर्न नसक्ने भएरै पारस खड्काले छोडेको स्पष्ट छ। यसपछि पारस खड्काले २०७८ साउन १९ गते अकस्मात् राष्ट्रिय टीमबाट सन्यास घोषणा गरेर अचम्म बनाइदिए।
राष्ट्रिय टीम समाल्न आएको एक वर्ष पनि बित्न नपाउँदै ओमान भ्रमणको बेला मुख्य प्रशिक्षक डेभ वाटमोरको राजीनामाले नेपाली क्रिकेटमा अर्को सन्त्रास जन्मायो। व्यक्तिगत कारण बताएर बाहिरिएका वाटमोर ओमान भ्रमणमा गएसँगै नेपाल नै नफर्की उतैबाट घर फर्किए। उच्च स्तरको कोच ल्याएको भनेर खुसी बनेको क्यानले कोच भित्र्याएको ८ महिनाभित्रै फेरि अर्को कोच खोज्नुपर्ने अवस्था आयो।
क्यान भित्रको बेथिति, न्यून पारिश्रमिकमा पनि कर लाग्नु, पारस खड्काले सन्यास लिनुजस्ता पक्षले अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन भित्र काम गर्दै आएका वाटमोरलाई निस्सासिने बनायो। फलतः वाटमोरले ८ महिनामा नै नेपाल छोडेर अन्यत्र लागे।
क्रिकेट संघ भित्रको भद्रगोल अवस्था यतिमा मात्रै सीमित रहेन। क्रिकेट संघलाई निलम्बन फुकुवा गराउन सक्नु नै ठूलो उपलब्धि रहेको तथा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने भन्दै उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले क्रिकेट संघबाट राजीनामा दिए। क्यान भित्रको गुटबन्दी, एकअर्काको अस्तित्व स्वीकार नगर्नेजस्ता कारणले प्याकुरेल, राजुबाबु श्रेष्ठ बाहिरिएको मिडियाहरुले लेखे।
जर्सी विवाद र ट्राई सिरिज ठेक्का लाउने क्यान
राष्ट्रिय टीमले लगाउने जर्सीको रंग र ढांचामा क्यानको बोर्ड बैठकमा समेत छलफल नभई एकैपटक सार्वजनिक गरिएको जर्सीप्रति क्रिकेट संघ सदस्य छुम्बी लामाले फेसबुकमा स्टेट्स लेख्दै सार्वजनिक रुपमै असन्तुष्टि जनाए। जर्सी बनाउने जस्तो गम्भीर र संवेदनशील विषयमा केन्द्रीय समितिमा छलफल नै नहुनुमा उनले दुखेसो पोखेका थिए। क्यानका कर्मचारी र जर्सी प्रायोजकले मात्रै बनाएको यो विषयमा क्यानले थप स्पष्टीकरण दिएन। बरु विवादपछि सार्वजनिक रुपमा खुला आवेदन आह्वान गरेर नयाँ जर्सी छनोट भने गरियो।
नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित टि-२० श्रृंखला आयोजना गर्दा क्यानले अर्को विवादास्पद निर्णय गर्यो। क्रिकेट समर्थक विना त्रिकोणात्मक सिरिज आयोजना गर्दा क्यानले ५० लाख घाटा हुने हिसाबकिताबको लेखाजोखा देखेपछि क्रिकेट संघ पछि हटेको अध्यक्ष चन्दको भनाइ रह्यो। कोरोना महामारीले सिथिल अर्थतन्त्रबाट रकम उठाएर श्रृंखला चलाउन नसक्ने भएपछि क्यानले १५ लाख रुपैयाँमा उक्त श्रृंखला आयोजना गर्न एभरेष्ट प्रिमियर लिग संचालन गर्दै आएको जोहरा स्पोर्ट्स म्यानेजमेन्टलाई जिम्मा दियो, याने ठेक्का लायो। पछि जोहराले दिएको चेक समेत बाउन्स भएको बाहिरिएको थियो।
नेपाल प्रिमियर लिग भारतीय कम्पनीलाई दिने निर्णय
चतुरबहादुर चन्द नेतृत्वको कार्यकालको अर्को दूरगामी नकरात्मक प्रभाव रहन सक्ने निर्णय थियो, नेपाल प्रिमियर लिग (एनपिएल) को सम्पूर्ण जिम्मा १० वर्षको लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स प्रालिलाई दिने। कोरोना महामारीले सिथिल अर्थतन्त्र र प्रायोजक खोज्न नसकिने सामान्य कारण देखाउँदै क्रिकेट संघले १० वर्षको लागि कुल ४२ करोड रुपैयाँमा एनपिएल प्रसारण अधिकार बेच्ने निर्णय एकाएक पारित गर्यो। जबकी एभरेष्ट प्रिमियर लिग ईपिएलको २०७८ को संस्करणमा मुख्य प्रायोजकले ईपिएल संचालकलाई २ करोड ५० लाख तिर्न राजी भयो।
टोली निर्माण, प्रायोजक खोज्ने, टेलिभिजन प्रसारण अधिकार, विदेशी खेलाडी अनुबन्ध गर्ने जस्ता सबै खाले अधिकार उक्त कम्पनीलाई दिएर क्रिकेट संघले खेल मात्र हेर्न चाहेको सन्देश दियो। सन् २०१२ मा स्थापना भए पनि कुनै पनि महत्वपूर्ण प्रतियोगिता आयोजना नगरेको तथा कतै नाम नसुनिएको, अधिकृत पुँजी १ करोड भारु र प्रदत्त पुँजी ३ करोड ७० लाख रहेको उक्त कम्पनीलाई प्रसारण अधिकार बेच्ने क्रिकेट संघको निर्णयमा व्यापक असन्तुष्टि उठ्यो।
ठूला प्रतियोगिता यसरी अन्य कुनै कम्पनीलाई ठेक्कामा लगाउँदा त्यसको सम्भावित नकारात्मक पक्षप्रति क्यानले खासै ध्यान पुर्याउन सकेन। फलतः उक्त निर्णय गत असोजमा काठमाडौंमा सम्पन्न केन्द्रीय कार्य समितिले उल्टाउनुपर्यो। सरकारले अनुमति नदिएको र सेभेन थ्री स्पोर्ट्सले पनि सरकारले अनुमति दिनुपूर्व गर्नुपर्ने कार्य गर्न नसकेको भन्दै क्रिकेट संघले सम्झौता रद्ध गर्न बाध्य भयो।
ग्रास रुट र बेन्च स्ट्रेन्थ बनाउन नसकेको क्यान
क्रिकेट संघ निलम्बन फुकुवा हुनु अगाडि चन्दले आफू अध्यक्ष भएपछि राष्ट्रिय टीमको 'बी' टीम तयार बनाइ राख्ने बताएका थिए। अहिलेसम्म 'बी' टीम कहिले बन्ने हो केही छाँटकाँट देखिएको छैन। नेपालको लागि लामो संरचनाको अभ्यास अपुग भएको महसुस हुँदा पनि दुई दिने, तीन दिने खेल खेलाउनुपर्छ भन्ने क्यानको सोचले मूर्तरुप लिन नसक्दा नेपालले वान डे स्टेट्स कसरी जोगाइराख्ने हो भन्नेमा शंका उब्जन्छ।
या नेपालले सधैं टि-२० का अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र आफूलाई उभ्याउन खोजेको हो कि क्रिकेट समर्थक दर्शकहरुले बुझ्न सकेका छैनन्। पछिल्लो समय केही निजी प्रिमियर लिग तथा एकेडेमीबाट नयाँ प्रतिभा आएका छन्। क्रिकेट संघले ग्रासरुटको क्रिकेट संरचना सुधारमा जोड दिने भन्छ तर कार्यान्वयन पाटो अझै स्पष्ट देखिएको छैन।
कोरोना महामारी क्रिकेट संघमा एक बहाना जस्तै भयो। निर्वाचित भएर आएको ६ महिना समेत नपुग्दै कोरोना महामारीले लकडाउन हुँदा क्रिकेट गतिविधि मात्रै हैन मानवीय दैनिकी नै असहज भएको परिवेशमा क्रिकेट संघलाई गाली गर्दा पूर्वाग्रह प्रकट गरेको जस्तो हुन सक्छ। यद्यपि कोरोना महामारी पछाडि भने अन्तर्राष्ट्रिय क्रिकेट जगत चलायमान नै भयो। क्रिकेट वर्ल्डकप भए, विभिन्न देशहरुले अन्तर्राष्ट्रिय श्रृंखलाहरु खेले।
नेपाल एसोसियट राष्ट्र भएकैले अरुलेजस्तै प्रतियोगिता खेल्न नसक्नुलाई कसरी लिने? के नेपालले सिरिज खेल्नलाई प्रस्ताव राख्दा पत्याउने राष्ट्रहरु छैनन्? यदि नेपाललाई पत्याउँदैनन् भने त्यो समस्या क्रिकेट खेलाडीको हो कि क्रिकेट समर्थक, दर्शकहरुको हो?
नेपाली क्रिकेट र विश्व क्रिकेट जगत
नेपालभन्दा कैयौं पछाडि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको अफगानिस्तानसँग अहिले नेपाललाई जोड्दा पनि स्तर नमिल्ने देखिन्छ। सन् २०१२ मा हालका अष्ट्रेलियन ब्याटिङ अलराउण्डर ग्लेन म्याक्सवेलले अफगानिस्तानसँगको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए तर नेपालले अष्ट्रेलियासँग वान डे सिरिज मात्रै भए पनि कहिले खेल्ने हो यसै भन्न सकिन्न।
सन् २००६ को यु-१९ वर्ल्डकपमा ईयोन मोर्गनको कप्तानीमा रहेको आयरल्याण्डलाई नेपालले ६० रनले हरायो। पहिले ब्याटिङ गरेको नेपालको लागि शरद भेस्वाकरले ८२ रन बनाए उता लक्ष्य पच्छाएको आयरल्याण्डबाट मोर्गनले ८६ रन बनाए। मोर्गन अहिले विश्वका चर्चित लिगहरुमा क्रिकेट खेल्छन्। सन् २०२१ को आइपिएल अक्सनमा ईयोन मोर्गानको मूल्य ५.२५ करोड भारतीय रुपैयाँ रहेको थियो। के मोर्गनजस्तै शरद भेस्वाकरको पनि चाहना थिएन होला यस्तै अन्तर्राष्ट्रिय स्तरका लिगहरु खेल्ने?
रिचार्ड लेभी महंगो मूल्यमा साउथ अफ्रिकाबाट नेपालमा ईपिएल खेल्न भनेरै २ चोटि आइसके। उनले यु-१९ वर्ल्डकपमा साउथ अफ्रिकाबाट खेल्दा उनको टीमलाई नेपालले २ रन जितेको थियो। भ्रमण शैलीमा लेभी नेपाल खेल्न आउँदा के उनलाई आउट गराउने बसन्त रेग्मी साउथ अफ्रिकाको क्रिकेट लिग खेल्न जान सके त? सकेनन्।
हो यस्तै, अनेकौं नेपाली क्रिकेटसंग जोडिएका नमीठा यथार्थताहरु छन्। यी सबै हुनुका पछाडि कमजोरी छ भने क्रिकेट संघको छ। खेलाडीको छैन। क्रिकेट संघको व्यवस्थापन, यसले गर्ने कामले गर्दा आज कैयौं प्रतिभावान नेपाली खेलाडी यसै ओइलाएका छन्। त्यसबेला क्रिकेट संघ अध्यक्षमा चतुरबहादुर चन्द थिएनन् होला। तर अवस्था उस्तै छ। आज पनि नेपालका कैयौं युवाहरुले हराउने टोलीका विदेशी क्रिकेटर हाम्रै युवाहरुको अगाडि करोड-करोडमा विदेशी लिगहरुमा अनुबन्धन हुनेछन्।
राम्रो व्यवस्थापन हुन सक्थ्यो भने नेपालबाट धेरै प्लेयरले अन्तर्राष्ट्रिय लिगहरु खेल्न सक्थे। नेपाल क्रिकेट संघले छिमेकी देशहरुबाट फाइदा लिन जानेको छैन। अफगानिस्तानले पाकिस्तानबाट क्रिकेट सिक्यो पछि भारतसँग राम्रो सम्बन्ध विस्तार गरेर भारतीय ग्राउन्डलाई होम ग्राउन्ड बनाउनेदेखि उसका खेलाडीहरु आइपिएलदेखि विश्वका हरेक जसो चर्चित लिगमा प्रतिनिधित्व जनाउँछन्। नेपालले छिमेकी देश भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकासँग समेत सम्बन्ध विस्तार गर्न सकेको छैन। निजी फ्रेंचाईज लिगमा टुरिष्ट बनेर एउटा म्याच खेल्न आउने अफ्रिदीजस्ता प्लेयरले पाकिस्तानसँग कुरा गरिदिउन् भनेर उपरखुट्टी लाएर बसेजस्तो देखिन्छ।
प्रशिक्षक टिकाउन नसक्ने क्यान
क्रिकेट संघ निर्वाचित भएर आउनुअघि नै आइसिसीबाट नियुक्त भएर नेपाल आएका उमेश पटवाल निर्वाचित क्यानको अगाडि ४ महिना पनि बस्न सकेनन्। मासिक ७ हजार अमेरिकी डलर पारिश्रमिकमा उमेश पटवाल नेपाल आएका थिए। एक वर्षको लागि सम्झौता गरी आएका पटवाल पनि ८ महिनामा नै फर्केका थिए।
डेभ वाट्मोर टेस्ट राष्ट्रलाई प्रशिक्षण गरिसकेका नेपाली क्रिकेटसँग जोडिन आएका सबैभन्दा हाई प्रोफाइल कोच थिए। सबैभन्दा ठूला नाम थिए। उनी मासिक १० हजार अमेरिकी डलरमा राजी भएर नेपाली क्रिकेटसँग जोडिन आए। नेपालमा क्षमतावान युवा खेलाडी रहेको देखेर वाटमोर थोरै पारिश्रमिकमा नेपाल आउन राजी भएका थिए। क्रिकेट संघसंगको सम्बन्ध उनले पनि ८ महिनामा नै अन्त्य गरे। व्यक्तिगत कारण भनेर राजीनामा दिएका वाटमोर पनि क्यानका पदाधिकारी सँगको तालमेल नमिलेकैले गर्दा राजीनामा दिए।
क्रिकेट संघ निलम्बन फुकुवापछि ३ मुख्य प्रशिक्षक फेरिए। अझै कति जना फेरिने हुन् यसै भन्न सकिने अवस्था छैन। निर्वाचित क्यान आएको दुई वर्ष भित्रमा ३ जना प्रशिक्षक फेरिए। एकजनाले क्यानसँग ४ महिनामात्र काम गरे भने अर्कोले जम्मा ८ महिना काम गरे। उनीहरुले सुरुमा गरेको १ वर्षको सम्झौता पनि पूरा गर्न इच्छा देखाएनन्। यद्यपि क्यानले नयाँ आउने प्रशिक्षकलाई एक वर्ष होइन, सिधैँ दुई वर्षको सम्झौता गरेको छ। विगतमा खेलाडीहरुलाई साथमा लिएर क्रिकेट संघविरुद्ध मुद्धामामिलामा संलग्न भएको भनेर आरोप लगाउने सोही क्यानका पदाधिकारीले उहीं प्रशिक्षक पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक बनाएर भित्र्याएका छन्।
पुबुदु नेपालका लागि दोस्रो पटक प्रशिक्षक भएर नेपाल भित्रिन नपाउँदै क्रिकेट संघले टीमका कप्तान, उपकप्तान तथा मुख्य बलरहरुलाई समेत मासिक पारिश्रमिक रोक्ने तथा पदबाट मुक्त गर्ने निर्णय लिएको छ। पुबुदुले भविष्यमा खेलाडीसँगको सम्बन्धमा ख्याल गरुन् भनेर हो या संयोग नै यस्तै बनिदियो क्रिकेट संघ जबर्जस्त निर्णय गर्दै कठोर बन्न खोजेको देखियो।
प्रायोजक र टेलिभिजन प्रसारण अधिकार
यु १९ राष्ट्रिय क्रिकेटका सबै प्रतियोगिताका लागि चौधरी ग्रुपको वाईवाई चाउचाउले ५ वर्षसम्म प्रायोजन गर्यो। वार्षिक ७० लाख प्राप्त हुने यसबाट यु-१९ मा मात्रै खर्च गरेर अरु उमेर समूह बनाएर त्यी उमेर समूहको लागि पनि छुट्टै प्रायोजकहरु खोज्न सकिन्थ्यो।
क्यानका राष्ट्रिय प्रतियोगिताहरु कुन च्यानलले प्रसारण अधिकार लिन्छ, खासै पारदर्शी रुपमा बाहिर आउँदैन। नेपालमै संचालन हुने अन्य प्रिमियर लिगहरुमा प्रायोजनको समस्या भएको जस्तो देखिन्न। राम्रै व्यवस्थापन गरेर लिग संचालन गर्दै आएकै छन्। तर क्रिकेट संघले आयोजना गर्ने कुनै पनि प्रतियोगिताको लाइभ गर्ने टेलिभिजनले कति रकममा प्रसारण अधिकार लियो भन्ने बाहिर आउँदैन। न त प्रधानमन्त्री कप प्रतियोगिताको सम्झौता बाहिर आयो न त ओमानमा नेपालले खेलेका खेलहरु लाइभको बारेमा नै कुनै सम्झौता बाहिरियो। तर क्यान स्वीकृत लिएर चल्ने प्राइभेट लिग राम्रै पैसामा प्रसारण अधिकार बिक्री गर्दै आएका छन्।
उदाहारणको लागि हेरौं न, २०७४ सालमा एभरेष्ट प्रिमियर लिग र एपीवान टेलिभिजनबीच ३ वर्षका लागि ईपिएलको प्रसारण सम्बन्धि सम्झौता भयो। हरेक वर्ष १० प्रतिशत वृद्धि हुनेगरी ३ वर्षका लागि सम्झौता भयो। टेलिभिजनले प्रत्येक वर्षले ईपिएल संचालकलाई १ करोड दिने सम्झौता भयो। वान डे प्रतियोगिता र टी-२० प्रतियोगिता भन्ने बीचमा केही छुट्टै पाटो होला, रकम जतिसुकै नै किन नहोस् निजी संचालकहरु समेत पारदर्शी हुँदा नेपाल क्रिकेट संघले कहिल्यै पनि रकम खुलाउन उपयुक्त मानेन।
स्थानीय तथा प्रदेश सरकारसँग क्यानको पहल
क्रिकेट संघले लिएको पहलका केही सकारात्मक पक्षमा पर्छ मेयर्स कप। काठमाडौं महानगरपालिकाले क्रिकेट संघ क्यानसँग ५० लाखको सम्झौता गरेर मेयर्स कप आयोजना गर्यो।
ललितपुर मेयर कपका लागि गत वर्ष नै ललितपुर महानगरपालिकाले क्रिकेट संघसँग २० लाख रुपैयाँको सम्झौता गरी प्रतियोगिता संचालन गर्यो। महानगरहरुसँग सहकार्यमा राम्रै दर्शक समर्थकको साथ पाएको क्रिकेट संघले त्रिदेशीय क्रिकेट श्रृंखला संचालन गर्न जम्मा १५ लाखमा निजी कम्पनीलाई जिम्मा दिनुले फेरि विवादित बन्यो।
मुख्यमन्त्री कप आयोजना गर्न गण्डकी प्रदेश र प्रदेश २ सकारात्मक देखिए तापनि किन हुन सकेन?
क्यानले संचालन गरेका राष्ट्रिय प्रतियोगिता
दाङमा गत वर्ष पुषमा प्रधानमन्त्री कप महिला टि-२० प्रतियोगिता संचालन भयो। त्यसपछि माघमा प्रधानमन्त्री कप पुरुष क्रिकेट भयो। खेलाडीलाई लामो समय अभ्यास हुनेगरी एक दिनमा एउटा खेल खेलाउन क्रिकेट संघले अझै कति वर्ष लगाउने होला? हालसालै सम्पन्न यु-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत टियु ग्राउन्डमा संचालन हुँदा उत्तिकै महत्वपूर्ण खेल मूलपानीमा पनि भए। जम्मा १३ दिनमा २२ ओटा खेल भए।
क्रिकेट हेर्न रुचाउने दर्शकको लागि टियुको खेल लाइभ हेर्न पाउने व्यवस्था हुँदा सुरुआती केही दिनमा मूलपानीको स्कोर समेत हेर्न गाह्रो भयो। त्यति मात्र हैन फेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग पनि दुई हप्तामा १८ ओटा खेल खेलेर सकिन्छन्। युवा टोलीलाई अन्तर्राष्ट्रिय स्तरको खेलाडीसँगै खेल्ने र ड्रेसिङ रुम शेयर गर्ने मौका भनेर भनिने यी खेलमा कतिपय टीम त सुरुको एक हप्तामा नै समूह चरणबाट बाहिरिन्छन।
यस्तो अवस्थामा महंगा विदेशी खेलाडीहरुबाट युवाहरुले कति सिक्न, बुझ्न पाउँछन् कसरी आँकलन गर्ने? कि फ्रेन्चाइज चलाउने हो भने क्यानले नै आफैं संचालन गर्नुपर्थ्यो। केही समयको लागि प्राइभेट लिग चलाउन दिने हो भने कम्तिमा एक महिनाको स्पर्धा बनाउन किन नसकिने हो?
पारदर्शितामा क्यान
सूचना राम्रोसँग प्रकाशन गर्न आफ्नै आधिकारिक वेवसाइट बनेको छ तर यसको संचालन खासै हुन सकेको छैन। डिजाइनदेखि लिएर यसमा हुनुपर्ने क्यानका विधान जस्ता महत्वपूर्ण 'डकुमेन्ट' समेत खोज्दा भेटिँदैनन्। २०७८ साउन ८ गते नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने सबै घरेलु प्रतियोगिताको डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भयो तर प्रसारण अधिकार कतिमा बिक्री भयो कुनै पनि खुलाइएन। विभिन्न निर्णयहरु एकपक्षीय रुपमा हुँदै आए।
चाहे भारतीय कम्पनीलाई एनपिएल सञ्चालनको जिम्मा दिने होस् या जर्सी बनाउने काण्ड। क्यानले निर्णय गरेर पनि सर्वसम्मत तिरभन्दा बहुमतको अधिकार प्रयोग गर्दै आएको छ। यसले पनि क्यान आफैंमा कति धेरै अनुशासनको घेरा भित्र हिँडेको छ भनेर देखाउँछ।