कर्मचारीले राजनीति, अदालतमा सेटिङ, सेनाले ब्यापार, बिचौलिया दलालले सरूवाबढुवा, नेताहरूले गफ ! न जागीर न ब्यापार तर नेताहरू कसरी करोडौंका मालिक हुन्छन्?
उत्तर सहज छ— सेटिङ।
हरेक दिन हामी बिना श्रम र उत्पादनमा बाँच्छौं भने हामी धर्तीका बोझ हौं। अझ कुन नैतिकताले सिद्धान्त र आदर्श फलाक्छौ एकपटक होइन एक सय एक पटक सोचौं धर्तीको बोझ बन्ने या नबन्ने?
कमजोरी स्वीकार्नुको सट्टा अक्सर मान्छेहरू आफ्ना कमजोरी लुकाउन अरूका कमजोरी देखाउने गर्छन्। एउटा अपराधीले आफ्नो अपराधलाई ढाकछोप गर्न अर्कोलाई अपराधी देखाउने गर्छ। तर जब राजनीतिमा अपराधीकरण हुन्छ तब राजनीतिक दल तथा त्यसका सांगठनिक निकायसमेत अपराधीहरूको पक्षपोषण गर्न थाल्छन्। ब्यक्तिले गर्ने अपराधहरू नियन्त्रण गर्न जति सजिलो छ राजनीतिक दलले गर्ने अपराधहरू नियन्त्रण गर्न कठिन ।
राजनीतिले अपराधको वैधानिकता खोज्दा राज्यसत्ताका अंगहरूमा सेटिंङ तथा दबाबका खेलहरू सुरू हुन्छन्। राजनीतिमा अपराध घुसिसकेपछि त्यसको छायाँ अदालतमा पर्छ। अपराधीहरू दण्डित हुनुपर्ने ठाँउमा उल्टो पुरस्कृत हुन पुग्छन्। राजनीतिक अपराधीहरू जनताको रगत खान्छन्, लाशमाथि सुत्छन् र लाशमाथि राजनीति गर्छन्, अपराधीहरूको कुनै समवेदना र सहृदयता हुँदैन ।
‘यदि हामी कानुनको सम्मान चाहन्छौं भने हामीले पहिले कानुनलाई सम्मानजनक बनाउनुपर्छ।’
माथिका भनाइ हुन् अमेरिकाको सर्वोच्च अदालतका पूर्वन्यायाधीश स्वर्गीय लुइस डि ब्रान्डिसका। जुन देशमा कानुनको पालना, विधिको शासन साथै विज्ञानको प्रयोग कुशलतापूर्वक हुन्छ ती देशहरू विकसित हुन्छन्। दुर्भाग्य! आज हाम्रो देशमा यी तिनै कुराहरूको अभाव छ जसका कारण सिंगो राज्यब्यवस्था नै अराजकतातर्फ धकेलिदैछ। सम्मानित हुनुपर्ने संस्था तथा ब्यक्तिहरू सबैभन्दा बदनाम हुँदैछन् ।
विज्ञान, विधि तथा कानुन एउटा कागजमा थन्किएको छ। समाज चलायमान छैन। उत्पादन छैन तर राजनीतिको उत्पाद छ। विधि दुई चार नेताहरूको सनकको रखैल बन्दैछ, पूराका पूरा हामी ओरालो यात्रामा छौं।
प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका नेताहरू त बदनाम थिए अब न्यायालय समेत बदनाम भइरहेको छ। प्रधानन्यायाधीश चोर बाटोबाट कार्यालय छिर्दैछन् भने सडकमा वकिलहरूको कुस्ति छ। राजनीतिक नेतृत्व गालीपुराणमा ब्यस्त छ भने वैचारिक रूपमा लुला भैसकेका बिचौलियाका नवसन्तान नक्कली कम्युनिष्टहरू लुला हातहरूले लालसलामको नाटक रच्दैछन् ।
उत्पादन छैन बिचौलियाहरूको जुलुश छ । वकिलहरूको संख्या त छ तर न्यायलाई बनवास लखेटिएको छ । धतुरो रोप्नेहरूको जयजयकार हुँदैछ भने समाजमा कोकिनका फूलहरूको प्रचार । कहाँ मुस्कुराँउछ न्यायालय कोकिनका फूलहरूसँग ?
माहुरीहरूलाई लखेटर तिनीहरूकै रेमिट्यान्स डकार्ने दुर्जनहरू नै देशका मालिक भएका छन्।
सर्वोच्चको विवाद जति छिप्पिदैछ, न्याय प्रणाली त्यति नै कमजोर हुँदैछ । लोकतन्त्र संकटतर्फ मोडिदै छ । आफूलाई लोकतन्त्रवादी हौं भन्ने नेता तथा दलहरूले जुन दिनबाट लोकतन्त्रको मेरूदण्ड अदालतमा राजनीतिक सेटिंगको बिज रोपे आज मुलुकले त्यसैको परिणाम भोग्दैछ। राजनीतिक दलको गम्भीर भुलमा प्रणाली ध्वस्त त गरियो किन्तु त्यसको ठाउँमा अर्को प्रणाली स्थापित गरिएन। आज न्यायालयमा देखिएको आँसु तथा अराजकताको मुस्लो प्रणाली र पद्धति विना हुने निर्णयहरूबाट फैलिएको दुर्गन्धले परिणाम हो।
४६ साल पछिका वर्षहरूमा अदालतलाई प्रभावमा पार्ने गरी कैयौं निर्णयहरू गरिए । तर आजका दिनहरूमा जस्तो लज्जा देखिएको थिएन। एकीकृत पार्टीलाई अदालतले विभाजित गर्यो सायद ओलीलाई ढाडस मिल्यो मौन रहे । परमादेशमार्फत् शेरबहादुर प्रधानमन्त्री भए सायद प्रचण्ड र माकुनेलाई ढाडस मिल्यो मौन रहे ।
गुटको राजनीतिमा मौलाएको सेटिङको खेल खुद गुटबाजहरूका लागि पिसाबको न्यानो थियो। तर, पटमूर्खहरूले यो बुझ्न सकेनन् या चाहेनन्। कम्युनिष्ट नामका बुख्याचाहरू कहाँ कोबाट संचालित छन् प्रश्न गम्भीर छ। दुबै निर्णयहरू सत्ता प्राप्तीका सेटिङका परिणामहरू थिए। दुबै निर्णयमा जनमतको उपहास थियो तर त्यसका पिता भने गफाडी ओली, प्रचण्ड साथमा माकुने थिए ।
सयौं चोलेन्द्रहरू जन्मिसकेका छन् । एउटा चोलेन्द्र जाँदैमा न्यायालयमा खासै परिवर्तन हुँदैन । न्यायप्रणाली ध्वस्त गर्ने म्याराथन त गरियो तर त्यसको ठाँउमा नयाँ विधि, पद्धति र प्रक्रियामा पटक्कै रूचि भएन या गरिएन। समयमैं संकटको समाधान गरिएन भने अदालत शक्तिकेन्द्रहरूको गोटी बन्नेछ, त्यसका संकेतहरू देखिइसकेका छन् ।
लोकतन्त्रको मेरूदण्ड अदालत नै शक्तिको केन्द्रहरूबाट सञ्चालित हुँदा राजनीतिक दलहरू कठपुतली बन्दैछन्, बन्नेछन् । अपराधीहरू चोखिन्छन् निर्वाचन केवल नाम मात्रको हुन्छ। आखिर प्रणाली ध्वस्त त गरियो किन्तु त्यसको ठाँउमा अर्को प्रणाली स्थापित गरिएन। ध्वस्त गर्न जति सजिलो छ निर्माण गर्न त्यति नै कठिन।
४६ साल पछिका वर्षमा धेरै पटक नेताहरूको हावामा उडियो। हामी उल्लुहरूलाई नेताहरूले भने आकाशमैं एअरपोर्ट छ जहाज आकाशमैं ल्यान्डिङ हुन्छ। याद छ हाम्रो जहाज कतिपटक दुर्घटना भयो? हामी झोले हामी दलदास अझै ताली बजाँउदैछौं है! केही हदसम्म नेपाली जनता इडियट त छैनन् ? प्रश्न गम्भीर छ ।
हाम्रो जस्तो समाजमा सत्ताले सहजै यस्ता शासकहरू जन्माउँछ जो भालुका नंग्रा र बाघका दाँत लिएर आँउछन्। प्रचण्ड ,माकुने, ओली बाबुराम या शेरबहादुरलगायतका पात्रहरू नेपाली समाजले भोगिसकेको छ। कर्म गर्नुको सट्टा सत्ताको सत्तालुप्सा गर्नेनै पटक पटक आफ्ना असफलतामा पूर्व राजालाई प्रहार गर्ने गर्छन्।
कुन मानेमा पूर्व राजा भन्दा श्रेष्ठ छौ त तिमीहरू ? कमल थापा जति ढोंगी छन् त्यो भन्दा कम ढोंगी छैनन् प्रमुख राजनीतिक दलका नेता। यी दुर्जन छोटे राजाहरूबाट अझै कति शासित हुनु पर्ने हो खै ?
तर दुर्भाग्य केही हदसम्म नेपाली जनता बेवकुफ छन्। विधि र कानुनको शासन स्थापित हुन योग्य नेतृत्व चाहिन्छ त्यसका लागि जनतामा चेतना। आफ्नो सास फर्न समेत मालिकको आदेश कुर्ने दलदासहरू रहँदा सम्म यो निकै कठिन देखिन्छ, तर असम्भव भने छैन ।
ढिलो या चाँडो देश ध्रुविकरण तर्फ जान सक्छ। संकट फेरि कोबाट प्रयोग हुने भन्ने नै हो। प्रयोगशालाबाट बच्ने निर्णायक उपाय जनताको चेतना हो, जनताको चेतना मात्र हो!
यदि अझै यहीँ छाँट हो भने धिक्कार! धिक्कार र फेरि धिक्कार !!!
लुइस म्याकमास्टरले भनेका छन्, ‘मृतकहरू न्यायको लागि बोल्न सक्दैनन् तिनीहरूको लागि बोल्नु जीवितहरूको कर्तव्य हो।’
के साँच्चै जीवितहरू छैनन् या सबै मृत भैसके ?