म संघर्ष र शैक्षिक उपलब्धिलाई सँगसँगै लैजान प्रयत्न गरिरहेको एक युवा प्रतिनिधि पात्र हुँ।
समाजशास्त्रको एक विद्यार्थी भएको नाताले शिक्षकले नारीवादका विषयमा अध्ययन गराइरहँदा वा साथीहरूबीच छलफल गरिरहँदा महिला कसरी दोस्रो दर्जाको रूपमा प्रस्तुत भइरहेका छन् ? भन्ने जिज्ञासाको उचाइ चुलिएको थियो।
म र मेरो साथी कार्यालयको काम सकेर कटमिरो साँझमा घर फर्किंदै गर्दा बाटोमा एक गर्भवती महिला छट्पटिँदै गरेको देखेर हामीले उहाँलाई तत्कालै अटो चढाएर अस्पतालसम्म लग्यौं। त्यसपछि उहाँको आफन्तहरूलाई सम्पर्क गर्यौं। केहीबेरमा उहाँले छोरीलाई जन्म दिनुभयो। नभन्दै आफन्त पनि आइपुग्नु भयो।
हामी त्यहाँबाट बिदा हुँदै गर्दा आफन्तहरूले धन्यवाद दिनुभयो।
घर पुग्न अबेर भइसकेकाले म साथीकैमा जाने निधो गरें।
हामी घर पुग्दा रातको नौ बजिसकेको थियो। घर पुग्नेबित्तिकै आमाले साथीलाई ठूलो स्वरमा तथानाम गाली गर्न थाल्नुभयो। 'के हो तेरो पारा छोरी मान्छे भएर घर आउने समय यहीँ हो ? समयमा घर आउनु पर्दैन ?' त्यसपछि उनले भनिन् 'के राति चैं समय नै हैन। राति हिँड्ने छोरी मान्छे सबै गलत हुन्छन् र ?'
'मुखमुखै लाग्छेस्' भन्दै आमाले फेरि झपार्नुभयो।
'छरछिमेकमा नानाथरी कुरा काट्नु थालिसके। तेरो छोरीको चालामाला ठिक छैन। पोइला गई होली भन्छन्।'
'काम थियो त्यसैले ढिला भयो कहिलेकाहीँ त ढिला भइहाल्छ नि आमा गाली नगर्नु नि' भन्दै साथी घरभित्र पसिन्।
फेरि आमाले ठूलो स्वरमा भन्नुभयो 'के काम थियो तेरो आधी रातसम्म कस्तो काम हुन्छ ?' भन्दै अदालतमा कुनै अपराधीलाई न्यायाधीशले प्रश्न तेर्साए जसरी उनीमाथि घरका सबै जना जाइलागे।
छिमेकीहरूले पनि पर्दा खोलेर खुब चासो दिएर चियाउँदै थिए।
मलाई चाहिँ साह्रै नमिठो लागिरहेको थियो ।
अनि म एकछिन सोचमग्न भएँ।
२१ औं शताब्दीमा पनि आधुनिकताको खोल ओडी पितृसत्तात्मक सोच बोकेकाहरूले गर्दा परिवारमा र छिमेकमा नै लैंगिक विभेद चरम रहेछ भन्ने लाग्यो।
छोरी घर ढिला आउँदैमा गलत काम गरेको अथवा केटा साथीसँग हिँड्दैमा पोइला गएको हुन्छ र ?
घर परिवारका सदस्यहरूले छोरी घर ढिला आउँदा बिरामी पो भई कि ? कतै दुर्घटनामा पो परिन् कि ? कसैले ऊमाथि दुर्व्यवहार गर्यो कि ? आदि इत्यादि प्रश्नहरू कहीँकतै किन कसैले गर्दैनन्? गरिहाले भने पनि अपवादमा औंलामा गन्न सकिन्छ।
पत्रकारिता गर्ने क्रममा मैले स्थानीय खबर हाम्रो कोसी आवाजमा काम गर्दागर्दै कपुरी न्युज डटकममा सरें। कपुरीबाट ब्लाष्टखबर डटकममा जम्प गरें।
एक जना आन्टिले मलाई 'तिमी पोइला गएछौ नि' भन्नु भयो।
म तीन छक्क परेर सोधें 'कहिले गए लौ पोइला ?'
उहाँले भन्नुभयो 'एउटा संस्था छोडेर अर्कोमा जानु पनि पोइला जानु त हो नि!'
उहाँले भन्नुभयो 'छोरी मान्छे भएर दुनियाँ ठाउँमा सर्दै हिँड्दा पछि नराम्रो हुँदैन?'
'स्थानीय मिडियामा मात्र सीमित भएर हुँदैन नि अनुभव लिँदै क्षमता अभिवृद्धि गर्नुका लागि राष्ट्रियस्तरका मिडियामा जान पाउनु त अवसर हो नि' मैले भनें।
'म अहिले कारोबार राष्ट्रिय दैनिक पत्रिकामा सुनसरी संवाददाता छु आन्टी यसलाई पोइला गएको नभनी दिनु है! हाम्रो समाजमा पोइला गएको अर्थ अर्को लाग्छ। म पोइला गएको छैन है !'
तर, उहाँले प्रश्न गर्दा किन संस्था छाडेको? कतै तिमी कार्यालयमा काम गर्ने क्रममा तिमीमाथि हिंसा भयो कि ? तलब पाएनौ कि, तिम्रो जोखिम बहन भएन कि, परिवारबाट असहयोग भयो कि ? राजनीति हस्तक्षेप भयो कि वा तिम्रो इच्छा शक्ति र मिडियाको तादम्यता मिलेन कि यस्ता प्रश्न किन गर्नु भएन ? आखिर संस्था छाड्नुलाई पोइलामा किन जोड्नुभयो त्यो बेलाको उहाँको चेतनाको स्तर र प्रश्नशैलीको सोचप्रति दया जागेर आइरहेको छ।
आफू सही काममा हिँडे पनि समाजले हेर्ने नजर अझ परिवर्तन भएको छैन भन्ने कुरालाई माथिकै उदारणले प्रष्ट पार्छ। यद्यपि यस्ता प्रश्न महिलाले महिलालाई नै गरिन्छन्।
छिमेकीको छोरी घर ढिला आउँदा पल्लो घरका छिमेकीलाई किन टाउको दुखाइको विषय बनेको होला जसमा फेरि महिलाको खोजीनिन्दा महिलाबाट नै मौलाएको छ।
यस्तो मेरो साथीलाई मात्रै हैन, मलाई पनि कयौं पटक भएको छ भने मेरा साथीहरू पनि यसबाट अछुतो छैनन् भन्दा फरक नपार्ला।
मलाई पनि पत्रकारिता गरेर घर फर्कनेक्रममा ढिला हुँदा वा रातिको समयमा घरबाट बजारतिर जाँदा रात परे पछि कता नि भनेर प्रश्न गर्छन् त्यही प्रश्न किन दिउँसो कता भनेर गरिँर्दैन आखिर रात र दिनमा किन यति धेरै अन्तर भएको होला ?
महिलामाथि हुने विभेद यथावत नै छन्। महिलाकै कारणले महिलाको अवस्था विकराल बन्दै छ। जसको परिणामस्वरूप समाताउन्मुख राज्यको रूपमा समाजको विकास नभई असन्तुलित तथा विभेदकारी समाजको विकास भएको छ। लिङ्ग भेदको प्रक्रियाले महिलाको सामाजिक आर्थिक विकासलाई अदृष्यरूपमा असर पुर्याएको छ।
महिलामाथि हुने दमन, शोषण, स्वतन्त्रता हनन, महिला विभेद, न्यायिकता,समानता र महिलामुक्ति जस्ता कुरामा बहस गरी महिलाप्रतिका पूर्वाग्रही सोचको स्वरूपलाई रूपान्तरण गर्नु प्रयत्न गरौं। समाजमा भ्रम तथा अपवाह फैलाउनुभन्दा खाली समयलाई रचनात्मक कार्यमा सदुपयोग गरौं।
१९ औं शताब्दी प्रख्यात महिलावाद हेरिट टेलरले महिलाहरूलाई घरबाहिरका कार्य गर्ने स्वतन्त्रता हुनुपर्दछ भन्ने विषयमा जोड दिई पेशा, शिक्षाजस्ता पक्षमा महिलाका लागि स्वतन्त्रता निकै आवश्यक वस्तु हो भन्ने वकालत गरेकी थिइन्। तथापि २१ औं शताब्दीमा आइपुग्दा पनि ज्यूँका त्यूँ छ। त्यसैले आज पनि हामी त्यही भूमरीमा छौं।
लैंगिक समानताको लागि सामाजिक, आर्थिक, राजनीतिक तथा साँस्कृतिक पक्षबीचको सन्तुलन हुन जरूरी छ। जसले गर्दा सबैले आफ्नो जीवनमा विभेदरहित र सकरात्मक परिवर्तनको महसुस गर्न सकून्।
पारिवारिक चालचलन र औपचारिक शिक्षामा समानता र स्वीकार्यताका बारेमा व्यवहारिक ज्ञान, सोच र शैलीको पाटोमा पनि सकारात्मक सोचको विकास गरौं।