मेरो अत्यन्त घनिष्ठ मित्र देवेन्द्रका बुवा अब रहनुभएन। यो खबरले एकाबिहानै म अवाक् भए। ६/७ दिन आघि नै त्यस्तो घटना भैसकेको रहेछ, केही खबर भएन मलाई। जर्मनीमा भएको एउटा पुरानो साथीले उसको फोन नम्बर छ कि भनेर सोध्दै देवेन्द्रलाई पितृशोक परेको दु:खद् खबर मेसेज गर्यो। म मर्माहत भएँ।
देवेन्द्र र म बच्चादेखिका साथी। सानोमा हामी त्यस्तो घनिष्ठ नभए पनि स्कुलपछि हाम्रो निकटता बढेको थियो र पछि हामी राम्रो साथी भएका थियौँ। उसको र मेरो घर एउटै भेगमा पर्छ। मेरो घर अघिको बाटो हुँदै-हुँदै ५ किमि टाढा उसको घर छ। हामी ६ कक्षासम्म एउटै स्कुल पढ्यौं, त्यसपछि उसले स्कुल फेर्यो तर हाम्रो मित्रता फेरिएन।
हामी असल साथी भइसकेपछि ऊ मेरो घरमा आउने र म उसको घरमा जाने क्रम भैराख्थ्यो। हामी फरक कलेजमा पढ्थ्यौँ तर बेला बखतमा हाम्रो भेट भैराख्थ्यो। शुक्रबार साँझ ऊ मेरो घरमा बस्दै आउथ्यो, र शनिबार बिहान खाना खाएर हामी उसको घरमा जान्थ्यौँ। चाडबाड, पूजा, संक्रान्तिमा पनि हामी आते-जाते गर्थ्यौं।
मेरो घरमा मौसमअनुसार फलेको बेलौती, अनार उसकोमा पुग्थ्यो र उसको घरको सुन्तला, भोगटे, आरु-बखडा र लप्सी मेरोमा आउँथ्यो। मेरी आमा त्यो लप्सीको आचार बनाएर एक सिसी उसलाई छुट्ट्याइदिनु हुन्थ्यो। उसका एक दाजु र एक दिदी हुनुहुन्थ्यो।
ऊभन्दा म १० महिनाले कान्छो भएको भएर उसका बुवा-आमा मलाई कान्छो छोरा भन्नुहुन्थ्यो। उसका हजुरबा र मेरा हजुरबाको नि पुरानो चिनजान भएको भएर हामीलाई परिवारमा घुलमिल हुन अप्ठ्यारो भएन, धेरै समय लगेन।
देवेन्द्र र मबीच धेरै भिन्नता थियो। समानताको आधारमा उसको र मेरो सोचाइ, लवाइ, खवाइ, बानी केही मिल्दैन थियो तर पनि हामी राम्रा साथी। देवेन्द्र साह्रै व्यवहारिक थियो। घरको सबै तारतम्य मिलाउन सिपालु, म चाहिँ आफ्नै तालले लाइफ चलाउने टाइपको। हुन त मलाई मेरो घर-परिवारको केही चिन्ता लिनुपर्ने खालको जिम्मेवारी कहिले परेन। बुवाको राम्रै जागिर र काकाहरुसँगको राम्रो सम्बन्धले घरको बारेमा मलाई केही मतलब गर्नुपर्ने थिएन।
पढाइ राम्रो चल्दैथ्यो, त्यत्तिमै म खुसी थिएँ। तर देवेन्द्रलाई घर चलाउने, खेती-किसानीको चटरोदेखि आफ्नो पकेट मनी र कलेजको खर्चसम्म आफै जुटाउने जिम्मेवारी जस्तो थियो। हुन त उसको घरमा नि सबै कुरा पुगेकै थियो तैपनि इनडिपेन्डेन्ट सोचाइको देवेन्द्रलाई बेग्लै जिम्मेवारीबोध थियो घरप्रति र गर्थ्यो पनि।
हामी दुवैलाई ईन्जिनियरिङ पढ्ने रहर थियो। प्लस टुपछि मैले बुवा समातेँ, उसले छात्रवृत्ति समात्यो तीन वर्ष कुरेर। त्यसकारण ऊभन्दा म ३ वर्ष चाँडै ग्राजुएट भएँ। एक वर्ष विदेशी प्रोजेक्टमा जागिर खाएर मास्टर्स गर्न म क्यानडा आएँ। म क्यानडा आइसकेपछि उसले घरमा ईन्टरनेट राख्यो। हामी सधैँजसो स्काइपमा कुरा गर्थ्यौं। उसको ईन्जिनियरिङ सकिन लगेको थियो, निकै मेहेनत गरेर पढेको हुनाले ग्राजुएट हुने कुरामा एकदम उत्साहित थियो र घरको जिम्मा अब मेरो भो भन्दै खुसी थियो।
देवेन्द्रको बुवालाई दमको रोग थियो। म नेपाल हुँदा कहिलेकाहीँ बिमारी परेको कुरा त समान्य नै थियो। तर तीन महिना अगाडि हस्पिटलाइज नै गर्नुपर्ने गरेर एकदम बिमारी हुनुभएछ। साह्रै गल्नु'भो बुवा। यस्तो स्थितिमा अफिस जान/आउन सकिन्न भन्ने कुरा मनन गरेर रिटायरमेन्ट लिनु भयो देवेन्द्रका बुवाले।
'कहिलेकाहीँ हस्पिटलमा चेक-अपको लागि जानुपर्छ, नभए घरमै आराम गर्ने हो' भनेर बुवाको हालखबर सुनाउथ्यो देवेन्द्र मलाई। अरु कुरा हाम्रा आफ्नै लाइफ र करियरका हुन्थे।
'अब एउटा जगिरमा छिर्नुपर्छ, अनि आफ्नो ईन्जिनियरिङमा जम्नुपर्छ,' आफ्नो भावी प्लान सुनाउथ्यो देवेन्द्र, 'मलाई तँजस्तो विदेशिनु छैन हेर्, घर-परिवार सम्हालेर बस्छु, पैसा कमाएर बुवालाई चाहिँ एउटा कार किन्दिन्छु। बुवाको दम बढ्या नि यही मोटरसाइकलले गर्दा हो।'
एकपटक नेपाल बन्दको दिन बुवालाई हस्पिटल लानुपर्ने अर्जेन्सी परेपछि मेरो टोलको बाटो हुँदै बाइकमा जाँदा, हाम्रा हुल्याहा केटाहरुले बाटो छेकेर मुख छाडेर ज्यादती गरेको कुरा सुनाउँदै उसले मसँग गुनासो पोख्यो।
'हेर्, पिपलटार तेरो एरिया। तँ, रमेश, विज्ञान, राजन मेरा बच्चैदेखिका साथी, मलाई लुकेर चुरोट खानुपर्दा वा फुर्सदमा समय बिताउनुपर्दा म आउने भनेकै पिपलटारको त्यो चौतारा! 'रमेश दाइको साथी, पिपलटार आएर नि किनेर चिया-चुरोट खाने हो र देवे दाइ!' भन्दै भाइ-टोलीले आफै सूर्य-दूध चिया अफर गर्ने ठाउँ। त्यस्तो ठाउँमा बिमारी बाउलाई हस्पिटल लिएर जाँदा, बाइक रोकेर फुच्चेहरुले मुख छाडे, साह्रै नराम्रो लाग्यो' भनेर चित्त दुखायो।
क्यालगेरीको अपार्टमेन्टको एउटा कुनामा बसेर म उसको कुरा स्काइपमा सुन्दै थिएँ। 'धन्न पछि अर्का जमात भाइहरुले मलाई चिने र जान दिए। आफ्नो टेनसन अर्कै भा'को भएर त्यतिबेला खासै केही भनिनँ मैले', उसले थप्यो।
'बन्दको संस्कृतिमा हुर्केका केटाहरु लफांगा भै'सके, को-कोसँग जोरी खोज्नु! यस्ता कुरा मनमा न'ली' भनेर सम्झाएँ।
'एसएलसी पास गर्या, लगभग १० वर्षपछि ईन्जिनियर हुँदैछु, यो त मेरो लाइफको सबसे ठूलो उपलब्धि हो, हिस्टोरिकल अचिभमेन्ट बुझिस्! थापा खान्दानको पहिलो ईन्जिनियर पो हुँ त म! यसपालि दसैँमा च्याट्ट लएर 'ज्याक डेनियल' खानुपर्छ, स-परिवार- मेरो डिग्रीको सेलिब्रेसन! तँ मिस हुने भइस्। हुन त तँसँग 'जेडी' खानुभन्दा मलाई बाजेको पसलमा चिया-दुनोट खानु बडा मिस हुन्छ, चटपटेको त कुरै नगर्। बरु चाँडो नेपाल आइज।
तँलाई मेरो बाइकमा बनेपा-बर्दीबासको नयाँ हाइवेमा रोड-ट्रिप लान्छु। गज्जब छ बाटो बुझिस्! तेरो क्यालगेरी जस्तो त नहोला, तर एकदम रमाइलो हुन्छ। अनि कालिन्चोक नि जानुपर्छ। गत महिना कलेजको फिल्ड ट्रिपमा जाँदा एकदम 'एग्जटिक' लाग्यो मलाई त्यो ठाउँ। कहाँ बस्ने, के कति खर्च लाग्छ, मैले सब विचार गरिसकें। बस्, तँ आइजो, २ वटा इभेन्टको लागि तँ मसँग बूक भै'सकिस् है, पछि यताउता कुरा गर्न पाउँदैनस्, त्यहीअनुसार बिदा मिलाएस्!
दसैँमा जे होस् यसपालि रमाइलो हुने भो। दाइ पनि ट्रेनिङ सक्काएर दसैँमा घर आउँदैछ। बुवा-आमा, हजुरबा विशेष खुसी छन्। म त खुसी नै छु हेर्। लाइफमा ठूलो एम्बिसन केही छैन। सही बाटो समातियो, सुख-दु:खले राम्रो पाढियो, ईन्जिनियर भइयो, राम्रा साथी बनाइयो, रिग्रेट गर्ने कुनै कुरा छैन, भागवानको कृपाले लाइफ यसरी नै चलोस्!
कि मलाई नि तान्छस् क्यानडा?'
मेरो जवाफ नकुरी फेरि उसले थप्यो, 'ह्या छाड्! म नेपालमै ठिक छु! तँ नि पढाइ सक्काएर नेपाल आउँछस् नि, कि आउँन्नस्?'
बाइकमा आवत-जावत गर्ने उसका बुवा प्राय: अफिको कामले बिजी रहनुहुन्थ्यो। म कहिलेकाहीँ उसकोमा बस्दै जाँदा, अबेर खाना खाने टाइममा उसको बुवा आइपुग्नु हुन्थ्यो। म आएको थाहा पाएर 'ए! कान्छो छोरा आएछ आज। ल-ल, टन्न दूध-भात खानु देऊ उसलाई, मासु नखाने मान्छे, साह्रै सज्जन छ यो छोरा' भन्नुहुन्थ्यो। अँगेनामा दाउराको भुङ्ग्रोमा तातेको कुडेबाट उम्लिँदै गरेको दूध गिलासमा थपिदिनु हुन्थ्यो उसकी आमा।
देवेन्द्रसँग मेरा थुप्रै सुख दु:खका पलहरु गँसिएका छन्। ऊ मेरो मन मिल्ने साथी भएको भएर मलाई केही खुसी वा दु:ख पर्दा म सिधा उसलाई बोलाउथेँ र हक लाग्नेगरी उसको घर जान्थेँ। बतासे डाँडाको उकालो चढेर आफ्नो बह पोखी सकिँदा उसको घर आइपुग्थ्यो। मेरो मन हल्का भैसक्थ्यो, राति फेरि रमाइलो गफ।
कहिले मेकानिक्सको असाइनमेन्ट, कहिले रिपोर्ट, कहिले इपिएलको फुटबल म्याच र कहिले बिना प्रसंग म उसकोमा पुग्थेँ। मैले धेरै साँझ बतासे डाँडामा बसेर चिसो हावा र डुब्न लगेको घामसँग शान्तिपुर बजारको परिदृश्य अवलोकन गरेर र रातहरु रिपोर्ट, ईन्जिनियरिङको ड्रइङ वा लिवरपुलको हुटिङ गर्दै वा यावत् गफगाफ गर्दै उसको घरमा बिताएको छु, आत्मीय, अविस्मरणीय र स-हृदयी।
देवेन्द्रका बुवा अब रहनु भएन। म झसंग भएँ। आफ्नो बाबु नहुनुको पीडा जीवनको सबैभन्दा ठूलो पीडा हो, कहिले नपुरिने शून्य हो, कहिले निको नहुने घाउ हो। जीवनको हरेक मोडमा, हरेक पलमा र हरेक अवसरमा अभाव खट्किन्छ पिताको! देवेन्द्रलाई यो पितृशोक अप्रत्याशित थियो, अकल्पनीय थियो, र मलाई पनि।
अब उसले आफ्ना लागि सोचेका कुराहरु, देखेका सपनाहरु र विचार गरेका कार्यक्रमहरु सब भातभुंग भए। बुवाको अवसानसँगै उसका भावी कार्ययोजनाका पनि अवसान भए- 'ईन्जिनियर' दसैँ मनाउने, जागिर खाएर घर सम्हाल्ने, बुवालाई कार किनिदिने। ऊ कत्ति आत्तियो होला, कत्ति रोयो होला, कत्ति भाव-विह्वल भयो होला, कसरी त्यो अन्तिम कार्य गर्यो होला, अनि अहिले कुन हालतमा किरिया बस्दै होला!
आमा, हजुरबाको के हाल भो'होला, उसले कसरी मन बाँध्या होला…। यस्ता हजारौं प्रश्नहरुले यो बिरानो ठाउँमा मेरो मन छियाछिया भएको छ। मलाई झल्झली उसको अनुहार याद आइरहेछ। म उसको मिल्ने साथी, यस्तो दु:खको घडीमा म ऊसँग हुन पाइनँ, कत्ति डाको छाडेर रोयो होला, मेरो देवेन्द्र!
अब देवेन्द्रसँग फेरि भेट हुँदा जीवन हाम्रो लागि पुरानै अवश्य पनि हुने छैन। समय मेरा लागि र उसका लागि धेरै परिवर्तन भइसक्ने छ। अनि ऊ र म पनि उस्तै रहने छैनौं। तर जे भए नि, आगामी भेटमा हामी फेरि त्यही देउरलीको रुखमुनि बसेर एकपल्टसँगै रुनेछौँ। कारण, यसपालि हाम्रो दु:ख समान छ।
बुवा, तपाईंलाई यो कान्छो छोराको श्रद्धाञ्जलीरूपी दुई थोपा आँसु टक्र्याउँछु।