एकदिन म मेरा बालसखीहरुसँग गाउँमा हिँड्दै थिएँ। विवाहको धेरै लगन हुने महिनाहरु नजिकिँदै गएको भएर होला सुन्दरता र विवाहका बारेमा गाउँघर तिर निकै चर्चा चल्दै थियो। विवाहको समयमा कसको बुहारी कति राम्री छे भन्ने बारेमा गाउँघरमा चर्चा चल्नु कुनै नौलो कुरा थिएन।
अलि मोटिघाटी र अनुहारमा मेकअप गर्न नजान्ने मेरो साथीलाई भर्खर विवाह भएको अर्की साथीले सम्झाउँदै भनिन्, 'यसो अलिअलि अनुहारमा पाउडर भए नि लगाउने गर्। अहिलेको जमानामा सबैले अनुहार हेरेर विवाह गर्दछन्। झन् तेरो त अनुहार पनि राम्रो छैन, न धेरै पढेकी नै छे, राम्रो केटा पाउन त गाह्रै छ बा।'
म पनि साथीको कुरामा अझ दम बढाउँदै सुन्दर बन्ने टिप्स दिँदै थिएँ। भारी बोक्न र खेतबारीको काम गर्न सिपालु मेरो साथीलाई हुन पनि मेकअप गर्ने फुर्सद कहिले पो हुन्थ्यो र!
'आ... भगवानले दिनु भाको अनुहार छ, कसै न कसैले त मन पराउलान् नि' उसले यसरी नै जवाफ दिई।
धेरै हिँडडुल गर्ने र बाहिरी समाजसँग धेरै घुलमिल गर्ने भएकोले होला अब यसले दुःख पाउने भै भन्दै हामी दुई भने आफ्नै कुरामा अडान लिएर बस्यौँ।
राम्री बन्ने धुनमा धेरै व्यक्तिहरु पागलजस्तै दौडिरहेको यो समाजमा हामी पनि त्यही गतिमा दौडिरहेका त छैनौँ? वास्तवमा सुन्दरता भनेको के रैछ? चिटिक्क पर्नु, समय अनुकूलको लुगा र भाषा आदिको प्रयोग गर्ने व्यक्तिहरुलाई के सुन्दरताको सूचीमा राख्न सकिन्छ त? यस्ता अनेकौँ प्रश्नहरु बारे स्वसंवाद गर्नका लागि मलाई यो संवादले घचघचायो।
एउटा आमाको आँखामा आफ्ना सन्तानहरु कालो, गोरो, होचो, अग्लो जस्तो भए पनि ती सबैभन्दा सुन्दर हुन्छन् किनभने त्यहाँ आफ्ना सन्तानहरुप्रति आमाको अथाह प्रेम लुकेको हुन्छ। सुन्दरता त व्यक्तिको जीवन दृश्यबाट निर्धारण हुने कुरा मात्र रहेछ। न त यसको मापन गर्ने कुनै सूचांक आजसम्म निर्धारण भएको छ न त यन्त्र नै।
जहाँ प्रेम छ त्यहा हरेक वस्तुहरु सुन्दर देखिन्छन्। सुन्दरताको कुनै आकार, रंग, उचाइ र बनावट जस्ता कुराहरुसँग सम्बन्ध हुँदैन। तर प्रेमको दिगोपना र सुन्दरतामा चमकता आउनका लागि ती वस्तु वा व्यक्तिहरुहरु निखारिन भने आवश्यक हुन्छ।
हरेक वस्तु निखारिनका लागि आफ्नो लक्ष्य हासिल गर्ने मार्गतर्फ अग्रसर हुनु पर्दछ। जुन व्यक्तिहरु आफ्नो सही लक्ष्य प्राप्त गर्नका लागि हिँड्न थाल्छन्, ती व्यक्तिहरुले आफूलाई निरन्तर काममा लगाउँछन्। हरेक दिन सुन्दर त ती कुराहरु नै देखिन्छन् जुन निरन्तर काममा लागेका छन्। निरन्तर कार्यमा लाग्ने प्रकृतिको सुन्दरतालाई कसैले बिर्सिन सक्छ होला र?
ओठले मिठो मुस्कान दिने कामलाई बिर्सिएन भने मुस्कुराको व्यक्ति नराम्रो देखिएको कोही छ र? सधैँ अरुको सेवा गर्न रुचाउने हातलाई सुन्दर छैन भन्न सुहाउँछ र? सुन्दरताको चर्चा उसैको हुन्छ जसले आफ्नो लक्ष्य पत्ता लगाई सही दिशामा हिँड्ने सामर्थ्य राख्छ। पछि आफैलाई महसुस भयो, मेरो बालसखी आफैमा सुन्दर रैछिन्।