मनभरि पिर, मस्तिष्कमा परिवारको याद, आखामा आँसु, झोलामा राहदानी अनि थुप्रै सपना बोकेर ११ घन्टाको यात्रापछि साउदी अरबको मदिना एअरपोर्टमा अवतरण भएँ। सुनेको थिएँ एअरपोर्टमा निकैबेर कुर्नुपर्छ, मान्छे लिन आउँदैन भनेर। तर यस्तो भएन।
त्यहाँको आन्तरिक काम सकेर बाहिर निस्किँदा लिनको लागि मुदिर (साहु) आइसकेको रैछ। मुसु-मुसु हाँस्दै अग्लो सेतो लुगा लगाएको मान्छे मेरो नजिक आयो र भन्यो, 'आर यू बिजय?'
'एस सर! आइ एम बिजय फ्रम नेपाल।'
उसले कारतिर इसारा गर्दै अघि-अघि लाग्यो। म उसको पछि-पछि। उसले गाडी स्टार्ट गर्यो।
'सफर कस्तो रह्यो?'
'ठिकै भयो सर, आरामले आएँ' भनेँ।
८० को स्पीडमा गाडी हुइँकाउँदै एअरपोर्ट बाहिर निस्कियौँ। एअरपोर्ट भएको ठाउँ मरभूमिजस्तो थियो। यताउति केही थिएन। बाहिर-बाहिर निस्किन लागेपछि सुन्दर लाग्दै गयो। केहीबेर नयाँ ठाउँको रमणीय परिवेशले मनको पिरहरु केही कम गर्यो, अझ भनौँ दुखी मनलाई सिटामोलको काम गर्यो।
एकछिनको मौनतालाई तोड्दै म बोलेँ, 'मदिना इज मस्ट ब्युटिफुल प्लेस।'
मुदिर मुसुक्क हाँसेर बोल्यो, 'थ्यांक यू। इज दिस योर फर्स्ट भिसिट टु साउदी?'
'एस सर, दिस इज माई फर्स्ट टाइम।'
गाडीको स्पिड ८०+ थियो। म एक टकले बाटोमा हेर्दै थिएँ। अगाडि-पछाडि सबै कार मात्र देख्न पाइन्थ्यो। फाट्टफुट्ट देखिन्थ्यो सामान बोक्ने ठूला-ठूला गाडी। मलाई सबै त्यो दृश्य अचम्म लाग्दै थियो। काठमाडौँमा बाइकको लर्को देखेको मैले मदिनामा एउटा पनि बाइक नदेख्दा संसारको आठौं अचम जस्तो पो लाग्दै थियो।
म एकसुरमा नयाँ सहरको अवलोकनमा हराउँदै थिएँ। गाडी रोकियो क्वाटर आएको रैछ। मुदिरले रुम देखाइसकेपछि गाडीको डिकीमा भएको म्याट, ब्ल्याङकेट दिएर कोठामा हामीसँग बस्ने मान्छेसँग चिनाएपछि ४ बजे उनीहरुलाई पनि रेस्टुरेन्टमा लेराउनु भनेर आफ्नु काममा गयो।
टाढाको यात्राले थाकेको ज्यानलाई केहीबेर आराम दिन तीन घन्टा सुतेपछि पुराना साथीहरुसँगै रेस्टुरेन्ट गएँ। एउटा सेफ रैछ कस्मिरको।
ऊ भन्दै थियो 'बिजे भाइ, मेरा टाइम एप्रिलमे खत्तम हुने वाला हे, उसके बात यहाँका सेफ तुम हो।'
नयाँ ठाउँ, नयाँ काम, नयाँ मान्छे अनि बिल्कुलै नयाँ भाषा, थोरै असजिलो थोरै रोनक अनि कौतुहलताले भरिपूर्ण हुँदै थियो। परदेशमा मान्छे कति आफूले भनेको भन्दा फरक काम परेर अलपत्र परेको सुनेको थिएँ। म आफूले भनेकै काम पाएर खुसी पनि थिएँ। नेपालबाट लगेको पैसाले सिम किन्दा र आफूले खाँदा ३/४ दिनमा कम हुँदै थियो।
म्यानपावरले भनेको थियो 'तिम्रो फूडको लागि दिने पैसा जानेबित्तिकै दिन्छ।'
चार दिन बितिसक्दा पनि उसले पैसा दिने तर्खर नगरेपछि आफैले मालिकसँग कुरा राखेँ, 'सर, आई ह्याभ नो मनी फर फूड। प्लिज गिभ मि फिउ मनी फर एड्भान्स।'
मालिक मुसुक्क हाँसेर ५० रियाल दिँदै भन्यो, यसले महिना पुर्याऊ, म एकमहिना नपुगी पैसा दिन्नँ।'
म आश्चर्यमा परेँ। घरबाट लेराएको अलिकति पैसा पनि पाँच दिनमा लगभग सक्किसकेको थियो, ५० रियालले कसरी पुर्याउने महिना? फेरि खाना बनाउन भाडाकुँडा पनि थिएन। पुराना साथीहरुजस्तै पसलबाट पफ र लेवन मिल्क किनेर छाक टार्ने बानी परिसकेको थियो।
करिब रात को ११ बजेको थियो होला, काम गर्दै थिएँ। मैले लगाएको मास्क भारी भएजस्तो, ओठ वरिपरि भिजेजस्तो महसुस भयो। यत्तिकैमा सँगै काम गरेको साथी आत्तिँदै बोल्यो 'खुन, खुन।'
मैले हात मास्कमा लगेँ। म अचम्मित भएँ। कुदेर बेसनतर्फ गएँ, नाकबाट रगत बगेको रहेछ। नेपालमा हुँदा नि कहिलेकाहीँ सानैबाट बग्थ्यो, सामान्य होला सोचेँ। तर त्यो दिन रगत नेपालको जस्तो अलिअलि बगेको थिएन। बेसनको वरिपरिको रगत हेर्दा लाग्थ्यो दसैँमा गाउँमा खसी काटेकोजस्तो।
सँगै काम गर्नी साथी अरुले अनेक गरे, भुइँमा सुताए। न्यापकिनले अनुहार भरिको रगत पुछिदिए। केही बेरमा हल्का भयो । केही बेरको आरामपछि फेरि काम गर्दै गर्दा उहीँ मात्रामा रगत बग्यो। म केही सोच्न सकेको थिइनँ। के हुँदै छ मलाई केही थाहा भएन। सँगै काम गर्नेहरु डराउँदै थिए।
म मुसुक्क हाँसेर भन्थेँ, 'केही हुन्न, नेपालमा हुँदा नि आउथ्यो।'
फरक-फरक समयमा लगातार तीन पटक रगत आएपछि मालिकले कोठामा जान अनुरोध गर्यो।
रुम आएँ, उहीँ दिनहुँजस्तो पफ र एउटा लेवन खाएर सुते।
दिनहरु बित्दै गए तर रगत बग्न रोकिएन। ड्युटी सकेपछि एकदिन मालिकले उसको 'घरमा पार्टी छ, बिबिक्यू बनाउन हिँड्' भन्यो। म चुपचाप उसको घरमा गएँ। आफ्नो सुरमा आगोको छेउमा बसेर चिकेन पोल्दै थिएँ। हे भगवान! त्यहाँ पनि फेरि रगत आयो। म आफ्नो अवस्था देखेर आफै दंग परेको थिएँ।
भोलिपल्ट मालिक ड्युटीमा आएर एक्कासी भन्छ 'तेरो ड्युटी भोलिबाट १२ घन्टा।'
म एकछिन त हेरेको हेरै भएँ। ८ घण्टा गरिरहेको काम किन १२ पुग्यो, थाहा छैन अझ थप्दै भन्छ। म ओभर टाइम पनि गर्न सक्दिनँ। अचम्म लाग्दै थियो।
दिनमा ४/५ चोटि नाकबाट रगत बग्थ्यो। १२ घन्टा काम त्यहाँमाथि खाना थियो पफ, र लेवन त कहिले पसलमा पाइने सस्तो रोटी र दही। नरुची-नरुची पनि खानैपर्ने पेट नभरिँदा पानी दुई गिलास बढी खाने, अरु विकल्प पनि त थिएन। थोरै पैसाले महिना जो गुजार्नु थियो।
नेपालबाट गएको १३ दिन भएको थियो। काम गर्दै थिएँ दुई चोटि नाकबाट रगत बगिसकेको थियो। एक्कासी मेरो अघि सबै अँध्यारो लाग्न थाल्यो। रेस्टुरेन्ट नै घुम्दै छ, आएर मलाई थिच्छ जस्तो हुँदै थियो अचानक म भुइँमा ढल्न पुगेँ। केही बेरपछि आँखा खोल्दा सबै मेरो अघि थिए। मालिकले साथीलाई भन्यो यसलाई रुम लगिदे।
एकदिन रुममा बसेपछि म फेरि काममा गएँ। मलाई कस्तो छ सोध्नुको बेगर मालिक भन्दै थियो, 'तँ मेडिकल रुपमा फिट छैनस्, बिमारी भएर काम धेरै गर्न सकिनस्। म तँलाई एग्रिमेन्ट भएजति तलब दिन सक्दिनँ। अनि अब तेरो हप्तामा छुट्टी पनि हुन्न। काम गर्न मन छ गर्, नत्र फर्की।'
म केही बोल्न सकिनँ। एक टकले उसलाई हेरिरहेँ। मन भारी भयो, आँखा रसिला भए। नेपालमा बिमारी हुँदा काम कम नगर भनिन्थ्यो। यहाँ त बढी गर् भनिँदो रैछ। बोलेँ, 'मलाई हस्पिटल लागिदिनुस्, गाह्रो भएको छ।'
ऊ रिसाएर भन्दै थियो, 'महिना मरेपछि तलब दिन्छु अनि जा।'
मलाई अचम्म लाग्यो। अरे म बिरामी थिएँ, जचाउन जान पनि अझै १५ दिन कुर्नुपर्ने। मलाई त्यो दिन थाहा भयो, विदेशलाई किन विदेश भनेको रैछ।
मलाई झन्-झन् गाह्रो हुँदै गएपछि घरमा अंकललाई खबर गरेँ। अंकलहरु म्यानपावर जानुभएछ। म्यानपावरको साहु अंकलले चिनेको मान्छे भएको भएर सहजसँग यताको हाकिमसँग कुरा भएछ। उपचार गराउन र सम्झौता बमोजिम तलब दिन यताको साहु राजी नभएपछि म्यानपावरमा हाम्रो छोरो फिर्ता लेराइदे भन्नुभएछ। म्यानपावरलाई यताको हाकिमले 'कि यसलाई लेराउँदा लागेको खर्छ तिर् कि अर्को मान्छे पठा' भनेपछि म्यानपावरले अर्को मान्छे पठाउने र त्यतिन्जेल म यतै बस्नु पर्न कुरा भएछ।
गएको २३ दिन भएको थियो, काम गर्दै थिएँ हाकिम आयो। 'तँ आजबाट काममा नआइजो। नेपालबाट अर्को मान्छे नआएसम्म नेपाल फर्किन पनि पाउदैनस् अनि अर्को कुरा भोलिबाट कोठामा नबस्' भन्यो।
आकाश खसेको महसुस भयो। मसँग पैसा पनि सकिएको छ। अब कहाँ जाउँ, के खाउँ? भन्दा पनि मेरो कुराको कुनै ख्याल भएन। कुनै मतलब भएन। आखिर त्यो पराईको देश थियो।
म त्यहाँबाट कोठामा आएँ। भोक लागेको थियो, पैसा थिएन। रगत दिनानुदिन उहीँ गतिमा बग्थ्यो। आफूले आफूलाई नै निकै कमजोर महसुस गर्थें। कोठाको ढोका थुनेँ, भोको पेटलाई दुई हातले थिचेँ। र मनमनै बोलेँ, 'ममी, तिमी पो बिमारी हुँदा खानुपर्छ छोरो भन्थेऊ। यहाँ त बिरामी हुँदा मरे मर् भन्दा रैछन्।'
आँखाबाट आँसु तप-तप बग्दै थियो। लगभग दुई लिटर पानी पिएपछि भोक अलिकति कम भएजस्तो लाग्यो। त्यो दिन थाहा पाएँ, पानीले तिर्खा मात्र हैन भोक पनि मेटिन्छ। मनमा अनेक कुरा तर्क गर्दै थिएँ। जुन सपना देखेर आएको थिएँ त्यो सपनाले त अघि नै आत्महत्या गरिसकेको थियो। आश-भरोसा, रहर, सपना एकै चिहान भएका थिए। लाग्थ्यो, यही हिसाबमा रगत बग्दै गयो भने केही दिनमा म त पनि मर्छु।
कोठामा बस्दा आँसु मात्र वर्षा भएपछि बाहिर निस्किएँ। रोडमा गाडी बेगले कुद्दै थियो। सुरुमा आएको दिन साथीले भनेको कुरा आयो- 'साउदीको मान्छेले खुट्टामा ब्रेक देख्दैन, मात्र एक्सिलेटर देख्छन्। बाटो काट्दा विचार गर्नू।'
म यहीँ सोच्दै अगाडि बढेँ। दई/तीन वटा गाडी लाइनै आएको देखेपछि सडक पेटीबाट पाइला रोड तिर अघि बढाएँ। अह! पाइला अगाडि बडेनन्। एककासी रुँदै-रुँदै 'छोरो म रुन्न भन्दै मलाई बिदा गर्ने ममी, बुढेसकालले लर्बरिएको बोलीले राम्रोसँग जाऊ है भन्दै हात हल्लाउँदै बिदा गर्ने बुवा (हजुरबुबा), आँखाभरि आँसु बोकेर पनि हाँसेजस्तो गर्ने भाइ र बाबा, काखमा बसेर भर्खर बोल्न सुरु गरेको तोते बोलीमा दादा का जान आट्या भन्दै टाँसिने तीन वर्षको सानुव भाइ, परिवार-आफन्त, साथीहरु सबैको याद यस्तो गतिमा आउन थाल्यो कि, ८० किलोमिटर प्रतिघन्टाको गतिभन्दा बढि थियो।
सपना मरेको थियो, अझ भनौँ मन नै मरेको थियो। तर मस्तिष्कमा भएका यादहरु मर्न झन्-झन् सक्रिय भए। मैले हिम्मत जुटाउन सकिनँ, पाइला पछि सारेँ।
कोठामा पुगेपछि अंकललाई फोन गरेँ। म्यानपावरले भनेपछि खानाको लागि पैसा त पाएँ तर नाकबाट रगत दिनमै ४/५ चोटि बग्थ्यो। दिन-दिनै कमजोर हुँदै थिएँ। ज्यानमा नशा र हड्डी मात्र देखिन थालिसकेको थियो। कोठामै बसेर २१ दिन बिताएपछि २२ औँ दिनमा नेपाल जाँदैछु।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफू आकाशमा उड्दा देखेका सम्पूर्ण सपनालाई आज साउदी अरबको विमानस्थलमा दागबत्ती दिएर नेपाल फर्किंदै छु। साउदीको एअरपोर्टमा बस्दा पनि सपनाहरु जन्मिँदै छन्। नेपालबाट परदेश आउँदा जन्मिएका सपनाभन्दा कयौँ गुना बलिया छन स्वदेश फर्किंदा देखेका सपना। मातृ भूमिमा गएर एउटा सन्देश छर्न सकौँ कि परदेशमा पैसाको झाडी, पैसाको रुख, पैसाको बगैँचा नहुने रैछ।