भात हामी नेपालीको खाना मात्र हैन हाम्रो प्रेम हो, भावना हो। खाना भन्ने शब्द सुन्नासाथ हाम्रो दिमागमा एउटै कुरो घुम्छ- भात। मासको झानेको दालसँगै ट्वाक्क जिब्रोमा लाग्ने अचार र अलिकति तरकारी। आहा!
८/१० दिन काउली, साग यहाँसम्म कि मासु नै लगातार खाएपछि अमन हुन्छ। तर भात? जन्मेको ६ महिनापछि पास्नी भएपछि कति छाक खाइयो? हिसाब गरिसाध्ये छैन तर अझै रुच्दैछ। मासुभात नै अझै पनि मध्यम वर्गीय परिवारमा २/४ हप्ता पर्खिनुपर्ने जिनिस हो। त्यो हरेक परिवारमा अलिकति 'चामल थप्नुपर्ने' बेला हो।
विश्वभरिमा लाखौँ प्रकारका खानाहरु खाइन्छ। तीमध्ये खानाको रुपमा बिहान बेलुकै खाइने भात नेपालमात्र नभई दक्षिण एसियाकै प्रचलित खाना हो। तर नेपालीहरुको लागि करिब करिब निर्विकल्प खाना हो।
हुन त १८/२० वर्ष अघिसम्म गाउँघरमा ढिँडो पनि पाक्थ्यो। तर ढिँडोमात्र खानेलाई गरिबीको प्रतिक मानिने भएकोले आत्मसम्मानको लागि भए पनि सानो कसौंडीमा अलिकति भात पनि पाक्थ्यो। विस्तारै मान्छेहरु पैसो कमाउन थालेपछि त कसले खानु ढिँडो! प्रतिष्ठाको लडाइँमा ढिँडो हार्यो, भातले जित्यो।
जित्यो मात्र हैन, आज एकछत्र राज गरिराख्या छ। लाग्छ त्यही भातको लोकप्रियताको कारण धानखेत महंगो भएको हो र गरिबले खाने मकै, कोदो फल्ने बारी सस्तो भएको होला।
अति धार्मिक मान्छेले एकादशी परेको दिन अनि कोही अति मोटाएर ज्यान घटाउने अभियानमा लागेका र मधुमेहको बिरामी बाहेक सायदै कोही होला जो भातको विकल्प बारेमा सोचोस! त्यो पनि एक छाक बाहेक।
घरबाहिर चाउमिन खानुस्, मोमो खानुस्, बर्गर, पिज्जा खानुस् तर घर गएर 'म आज भात खान्न है!' भन्नुस त, परिवारजन 'शक्ड' भएर यी प्रश्न बर्सिहाल्छ-
'हँ! भात नखाने, किन के भो?'
'बिरामी भइस् कि क्या हो?'
'के कुराको चित्त बुझेन ए भातै नखानलाई?'
'अरु थोक खाएर हुन्छ भात जस्तो?'
'अलिकति तातो खाएर सुत्नुपर्छ।' (त्यो अलिकति तातो भन्या नि एकथाल भात नै हो।)
अझै हामी बाठा नेपालीले त भातका भिन्न परिकारलाई अर्कै नाम दिएर 'हामी भात मात्र खान्छौँ र!' भनेर गर्व गर्दिन्छौँ। जस्तै-
- दूधमा पकाएको भात- खीर
- घ्युमा भुटेर पकाएको भात- चाम्रे
- घिउमा भुटेर दूधमा पकाएको भात- ढकने
- उसिनेर पेलेर भुटेको भात- चिउरा
- अलिअलि काजु बदाम हालेर पकाएको भात- पुलाउ
- प्याज खुर्सानी पड्काएर भुटेको भात- फ्राइ राइस
एकपटक सोचौँ त- एकदिन हाम्रो घरमा बिहान रोटी, दिउँसो भात र बेलुका सलाद रहेछ। कति अजीव लाग्छ हामीलाई। आखिर खाना त खानै हुन् नि ती! हामीलाई त ती खाना खाएर बाँचिँदैन जस्तो लाग्छ।
मेरो दर्शनमा भात दुई प्रकारका हुन्छन्-
१. मिठो भात
२. नमिठो भात
१. मिठो भात मतलब विवाह व्रतबन्धको भात, सराद्देको भात
हामी सानो छँदा गाउँघरमा छोराको बिहेमा ग्रह शान्तिको दिनदेखि नै बोलाउथे। बाहुन केटो, माघको सिरेटोमा राति लुगा नखोली भात खान पाइन्नथ्यो। ठिउ-ठिउ गर्दै बारीको डिलमा बस्यो, ठूलालाई बाँड्दै 'भुरा'हरुसम्म आइपुग्दा जीउ काम्न थालिसक्थ्यो। त्यही पनि आफ्नै पालामा आएपछि भात सकिन्थ्यो। ए प्रभु! तैपनि कुर्नैपर्यो।
डल्ला-डल्ला चकाना तात्तातो भात आइपुगेछि चुहिने टपरीमा दालसँग र लसुन प्याज बिनाको झोल हालेको बन्दासँग कम्ता मिठो हुँदैन थसयो। जन्त जाँदा नि त्यही भात (तर तरकारी २/३ थोक हुन्थ्यो) अनि भोलिपल्ट बेहुलाको बहुभतेरमा पनि त्यही भात। तर भात प्रतिको मोह कहिल्यै कम भएन।
२. नमिठो भात मतलब हाइवेका होटेलको भात
कामको सिलसिलामा वीरगंज बसाइबाट रात्रिबसमा काठमाडौं फर्कंदा गुरुजीले मुग्लिनमा खाना खान बस रोक्थे। ती होटेल देख्दा जति सफा र सानदार हुन्थे त्यति नमिठो भात! ए प्रभु! यहाँभन्दा नमिठो चाहिँ बनाउन सकिन्न है भन्ने सोचेर बनाएजस्तो! त्यही दाल, त्यही तरकारी केही नहालेर पकाए पनि हाम्रो घराँ त त्यस्तो हुन्न त हौ!
एकदिन वीरगंजमै छँदा गाउँका एकजना रमाइला दाजु ट्रक लिएर आएका रहेछन, मलाई बोलाए। म खाना खाइवरी पल्टेको थिएँ, ट्राउजर भिरेर होटेलमा पुगेँ। मैले रेडबुल र २/३ पिस मासु खाएँ। ३ जनाले ६ माना रक्सी, २ किलो मासु, ६ प्लेट भटमास, पापड, बदाम र १ प्लेट सलाद खाइसकेपछि होटेलवालीतिर फर्कंदै भने 'साहुनी, ल अब भात खाम्।'
अनि एकदिन कुनै विदेशीसँग एउटा होटेलमा सँगै खाना खाने मौका पाइयो। मेरो थालको भातको थुप्रो र वरिपरिका दाल, तरकारी र मासुको परिकार चम्चा साइडमा राखेर हातैले हसुर्न लागेको देखेर ऊ आत्तियो। उठेर कम्मरमा हात राखेर जिब्रो टोक्दै भन्यो 'यू क्यान फिनिस इट?'
मुस्कुराउँदै छोटो उत्तर दिएँ- 'याह' र मनमनै भनेँ 'तँलाई के थाहा भातको स्वाद!'
अनि अचम्मको कुरा, भात यति लोकप्रिय हुँदाहुँदै पनि कसैलाई गाली गर्दा किन 'ए भाते!' भनिएको होला? त्यसले अरुलाई गाली गरेको कि आफैलाई?
त्यसैले खाना भनेकै भात हो, भात भनेकै खाना हो।