प्रिय कमरेडहरु हामी राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा छौं । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन स्लोगान सहितको लोगो हामीमाझ आइसकेको छ।
अनुमान गर्न सकिन्छ स्लोगनले हामीमाथि चुनौतीपूर्ण जिम्मेवारीको थप्नेछ। सम्मेलनका प्रतिनिधिमाथि राजनीतिक हैसियतको ओझपूर्ण फुली थपिने निश्चित छ। तर तिनले रातो फुलीको ओझ र गरिमा अनुसारको राजनीतिक कार्यक्रम एवं सोहि बमोजिमको साँगठनिक संरचना निर्माण गर्न सक्छन् कि सक्दैनन् गम्भीर प्रश्न हो।
तपाईँहरू त्यतातिर घोत्लिनुभएको छ भने त्यो स्वभाविकै हो। कतिपय कमरेडहरू निकै निष्फिक्रि हुनुहुन्छ अब हतियार उठाउनुपर्ने छैन। शसस्त्र संघर्षको त्यो कहालीलाग्दो समयको अन्त्य भएको छ। हामी शान्तिपूर्ण राजनीतिमा छौं, जीत–हार स्वभाविक हो, जनताले मत दिए सरकार चलाउँछौ दिएनन् भने प्रतिपक्षमै बस्छौं बस् अबको राजनीतिक लाइनको सार यही हो र चुनावका लागि पैसाको जोहो गर्नु नै सक्षमता हो।
यदि विचार, दृष्टिकोण र बुझाइमा यही सरलता हो भने माथिको स्लोगनको कुनै जरूरी छैन र माओवादी पार्टीको पनि यो मुलुकमा आवश्यकता छैन। यदि हामी युद्वका बाचा पुरा गर्न र आफ्नो दृष्टीकोणलाई संस्थागत गर्न शान्तिपूर्ण राजनीतिमा आएका हौं भने हामीमाथि चुनौतीको भारी युद्वकालिन भन्दा गह्रौं छ।
हामीले पुरा गर्नैपर्ने केही दायित्वहरु छन् जहाँबाट हामी पन्छिन मिल्दैन। खासगरी हाम्रो पहलमा भएका सबै राजनीतिक उपलब्धिको संस्थागत विकास र परिवर्तनको प्रवाहलाई सुन्दर वान्की एवं बुट्टेदार शैलीमा नयाँपन र आफ्नोपन दुबै एकैसाथ झल्किने गरि आउटलेट दिनुपर्ने चुनौती हाम्रो अघि बाँकी छन्।
धर्म, राजसंस्था, केन्द्रीकृत राज्य प्रणाली, सक्नेले जिउने न्यायिक प्रकृया र साम–दाम–दण्ड–भेद जसरी भए पनि निर्वाचित भएपछि राँइदाँइका परिपाटीहरु पुनरोदयका लागि एउटा पंक्ति अभ्यासरत छ र हामीले कला, ढंग र तालमेल नमिलाउँदा कुनै पनि दिन प्राप्त उपलब्धि गुम्ने खतराको अन्त्य भइसकेको छैन।
त्यसकारण न्याय–समानता–स्वतन्त्रता र समाजवादका राजनीतिक एजेण्डाबाट हामीलाई भाग्ने सुविधा छैन।
नवउदारवादको बुटले कुल्चिएका विश्वका करोडौं मानिसलाई हामीले एउटा सन्देश दिनु छ, ता कि उनीहरुले विद्यमान विश्वको अर्थ–राजनीतिक प्रणालीकै कारण हामी आर्थिक शोषण, शारीरिक कुपोषण र दाताको तथाकथित भरणपोषणमा जीवन गुजारिरहेका छौं।
उनीहरूलाई यो पनि थाह होस् कि, शदियौंदेखिको हाम्रो श्रमको मूल्य आधारभूत गाँस बाँस र कपासबाट माथि उठ्न सकेन र सिमित मानिसहरू हाम्रै श्रमको बलमा पुस्तौंपुस्ताका लागि लक्जरियस लाइफ सुनिश्चित गर्न सफल भए।
हामीले विश्वका बहुसंख्यक मानिसहरुलाई बडो स्पष्टसंग भन्नुपर्नेछ प्रकृतिका अनन्त उपहार अनमोल सम्पदाहरू किन र कसरी सिमित मानिसहरुको नियन्त्रणमा पुगे र ती सम्पदाहरू आम मानिसका लागि सर्वसुलभ वा न्यायिक वितरण प्रणालीको डालोमा कहिले र कसरी ल्याउन सकिन्छ?
आँधीझैं उर्लेर आएको नव उदारवादका छालले हामीलाई समृद्धिको चहकिलो उज्यालो दिन त सकेन नै बरू यदाकदा विपत्तिको चकमन्न अँध्यारोतर्फ यसले धकेल्दै गएको यथार्थ हामी दैनिक जीवनमा भोगिरहेका छौं।
नेपालकै सन्दर्भमा हेर्ने हो भने देशभित्र जनेरेट अधिकांश सम्पत्ति दुई–चार जना धनाड्यको नियन्त्रण बाहिर जाँदैन। रोजगारमा आवद्धको वेतन न्युन छ। शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षाका क्षेत्रमा पर्याप्त बजेट छैन। भ्रष्टाचार व्याप्त छ, ऋण उच्च छ र मानिसहरु राजनीतिक पार्टी, सत्ता सञ्चालक र सिंगो राज्य मेसिनरीसँग निराश र असन्तुष्ट छन्।
राजनीतिमा हाम्रो लोकतान्त्रिक सहयात्री नेपाली कांग्रेस जससँग हामी सत्ता गठवन्धनमा छौं, आर्थिक मामिलामा आउँदा उसले स्पष्ट रूपमा निजीकरण, उदारीकरण, सम्भ्रान्तको रक्षक र नव उदारवादको डिफेन्डरका रुपमा आफूलाई प्रस्तुत गर्छ।
नेपाली कांग्रेसका युवा नेताहरु जो सापेक्षिक रुपमा जनताको मुद्दामा केही लचकताका साथ प्रस्तुत हुने कोसिस गर्छन् उनीहरु नै भन्न थालेका छन् कि आगामी निर्वाचनमा नेपाली कांग्रेसले कसैसँग तालमेल गर्नेछैन, काँग्रेस जित्नेछ र एकलौटी सत्ता सञ्चालन गर्नेछ।
यसको मतलव अब उनीहरुलाई समाजमा आफ्नो हैसियत र विशेषाधिकार प्रदर्शन गर्ने रहर हुनसक्छ। नव उदारवादको भड्खालोमा भासिएको यस मुलुकको पुनरसंरचना उनीहरुबाट सम्भव छैन बरू उनीहरुले भनेजस्तै कम्युनिष्ट विभाजनको आक्रोसमा बलियो जनमत कांग्रेसको पोल्टामा परेछ भने त्यसले उदारीकरणको अर्को अन्त्यहिन यात्रा जो २०४७ भन्दा उचाँइबाट सुरू हुनसक्छ।
मधेशी कोटाबाट खर्वपति विनोद चौधरी निर्वाचित गराईनु त्यस्तै विभिन्न कर्पोरेट घराना,ठेकेदार,सत्तासिन सम्भ्रान्तहरुको केन्द्रीय समितिमा बोलवाला हुन पुग्नुले नै निजीकरण र उदारीकरणमा काँग्रेसको भावी कदम थप प्रभावशाली हुनेछ भन्ने अनुमान गर्न कठिन रहेन ।
अर्कोतिर हामीले ओली नेतृत्वको वाम आवरणको दक्षिणपन्थी एमालेसँग सामना गर्नुपर्ने छ । जहाँसम्म हाम्रा सम्भावित सहयात्री एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छन् उनीहरुसँगको तालमेल ले मात्रै हाम्रो चुनावी मिसनले पूर्णता नपाउनसक्छ। यस्तो अवस्थामा राष्ट्रिय राजनीतिमा आफ्नो पंक्तिलाई सुदृढ, एकतावद्ध र व्यापक नबनाएसम्म हामी लक्ष्य भेदन गर्नसक्ने छैनौं।
टार्गेट पुरा गर्न सबैभन्दा बढी स्थानीय पार्टी पंक्तिको दिमागमा समाजवादको स्पष्ट खाका दिनैपर्छ र जनताले त्यसलाई बुझ्ने र मत मार्फत कार्यान्वयनका लागि तयार हुने वातावरण बनाउनैपर्छ।
केही पेचिला अन्तर्राष्ट्रिय सवालहरु छन् जसलाई हामी चाहेर पनि नजरअन्दाज गर्नसक्ने छैनौं। विश्व शितयुद्वपछिको नाजुक मोडमा छ । लडाइका वर्गीय रूपहरू मरिसकेका छैनन्। विचारधारात्मक लडाइ मैदानमा आउने तयारी हुँदैछ। पूर्व र पश्चिमको विभाजनका आधारमा एकता,संघर्ष अनि सहकार्य र सहयात्रा ब्रेकका संभावनाहरु पनि त्यत्तिकै छन्।
अमेरिकी टावरले पश्चिमको नेतृत्व गरेको छ, जसले विभेदपूर्ण वर्तमान विश्वव्यवस्थाको निरन्तरता, प्रजातन्त्र, मानवअधिकार, विधिको शासनजस्ता महत्वपूर्ण विषयलाई अझै आफ्नो शक्तिको वन्धक बनाउने चाहानालाई न्यायोचित ठहर्याउनेछ।
समग्रमा अमेरिकाले अंग्रेजी भाषिको एकता, युरोप र अमेरिकाबीचको अटुट मित्रता र श्वेत सर्वोच्चतालाई कायम राख्दै प्रभुत्वको अवधिलाई अविराम अगाडि बढाउन चाहन्छ।
अर्कोतर्फ चीन आर्थिक र सामरिक रुपमा उदियमान रुपमा स्थापित बन्दैछ। चीन–रुस समिकरणमा एशियाको एउटा पंक्ति केन्द्रीकरण हुने संभावना बढ्दो छ । चीनले अमेरिकी प्रभुत्वले आफ्नो बुढ्यौली थेग्न नसक्ने निष्कर्ष निकालेको छ भने सामरिक सवालमा रूसले अमेरिकाअघि चुनौती पेश गर्दैछ।
शक्ति राष्ट्रहरुको यस शक्ति संघर्षमा साना मुलुकमाथि जोखिम बढ्दो छ। भु–राजनीतिक हिसाबले नेपाल यतिबेला संवेदनशील जोनमा छ। विगत केहि समयदेखि नेपाली राजनीतिलाई प्रतक्ष वा अप्रतक्ष रुपमा अस्थिर बनाएको एम सि.सि. क्रिटिकल जियो पोलिटिक्सको एउटा उदाहरण हो।
आर्थिक र सामरिक दृष्टिले नेपाल आफ्नो तटस्थता भंग गरि कसैसँग सैन्य गठवन्धन बनाउने अवस्थामा छैन तर शक्ति राष्ट्रहरु नेपालको तटस्थता भंग गर्न आक्रामक कुटनीतिक शैलीमा छन्। स्वभाविक रूपमा अमेरिकाले लोकतान्त्रिक शक्तिहरुलाई नजिक ठानेर संरक्षण गर्ने र वामपन्थी शक्तिहरुप्रति चीनले सहानुभुति राख्ने अवस्था सृजना हुँदै जानेछ।
चीन सत्तासिनसँग औपचारिक सम्वन्धमा रहन बढी रुचाउँछ, सत्तामा जो सुकै आए पनि उसले त्यति धेरै चलखेल र हस्तक्षेप गर्नेछैन जसका कारण वामपन्थी खेमा अन्तर्राष्ट्रिय शक्तिहरुको प्राथमिकतामा पर्ने छैन त्यसको परिणाम निर्वाचनमा देखिने खतरा पनि त्यत्तिकै छ र त्यसको एउटै उपाय जनतामाथि भरपर्नुको विकल्प देखिदैन। माथिका दृष्टान्तहरु हामीसामू उभिएका वर्तमानका यथार्थ परिदृष्यहरु हुन्।
प्रिय कमरेडहरू, राष्ट्रिय सम्मेलनको प्रतिनिधिले मात्रै स्थानीय कार्यकर्ताको दक्षता, क्षमता, योग्यता र राजनीतिक एवं सामाजिक हैसियत निर्माण गर्दैन र हामी कोही त्यो भ्रममा पर्ने छैनौं।
हामी जनता र समाजका असल प्रतिनिधि बन्न सक्यौं भने आगामी राष्ट्रिय सम्मेलन वा महाधिवेशनमा हाम्रो प्रतिनीधित्वलाई कसैले रोक्न सक्ने छैन। मात्रै हामीले राजनीतिका केहि खराब विशेषताहरु विरुद्ध आवाज उठाउनैपर्छ। सबैभन्दा पहिले इमान्दार राजनीतिक कार्यकर्ताले पार्टी संगठनहरुमा धनवाद र डनवादलाई निर्ममतापूर्वक खारेज गर्नुपर्छ। कुनै पनि बेला सत्ता, शक्ति, पद–प्रतिष्ठा र पैसाले सत्यलाई निरिह बनाउने कोशिस गर्नसक्छ हामी हमेशा त्यस्तो प्रवृत्तिका विरुद्ध उभिन तयार हुनुपर्छ।
पार्टीमा क्रान्तिकारी विचार, समाज बदल्ने अठोट, स्पष्ट दृष्टिकोण, आम नागरिकको भविष्यप्रति चिन्तित पात्र र समयमै निर्णय लिनसक्ने खुबी जस्ता विशेषतालाई हामीले छनोट गर्नुपर्छ।
प्रतिकुल समयको सामना र अनुकुल समयका लागि संघर्ष गर्दै नेपाली समाजको परिवर्तनको संवाहक पार्टीको साधारण सदस्यताप्रति गौरव गर्दै सुन्दर सपना र उज्यालो भविष्यको आशा सहित हामी जनतामाझ पुग्नु नै महत्वपूर्ण कुरा हो।
तपाईँ सम्मेलनको प्रतिनिधि नहुँदैमा आकाश खस्ने छैन र धर्ति हल्लिने छैन, तपाईँको सहयोद्वा सम्मेलनको प्रतिनिधि बन्दैमा सर्वमान्य नेताको ग्यारेण्टीसहित उसको राजनीतिक भविष्य आजीवनका लागि सुरक्षित हुनेछैन।
हामी समाजका प्रतिनिधि हौं र पार्टीका प्रतिनिधि हौं मूल कुरा यही हो। सम्मेलनको प्रतिनिधि एक प्राविधिक प्रकृया हो। यसैबाट राजनीतिक करियरको सुरूवात वा अन्त्यको छिनोफानो होइन तथापि यो सामान्य प्रकृयागत विषयमा तपाईँहरू चिन्तित हुनुहुने छैन भन्ने पूर्ण विश्वास छ।
लेखक नेकपा (माओवादी केन्द्र) का अन्तर्राष्ट्रिय विभाग सदस्य हुन्।