सम्झौ हृदय चुँडिएर आउँछ, समुन्द्रसरी आँखा रसाएर आउँछ । बिसौं जीवन सहयात्राको ४९ वसन्तहरू सँगै थिए। आधा शताब्दीको सहयात्रा उत्सव मनाउन लाग्दा सायद उहाँको महत्त्व पृथ्वीलोकमाभन्दा स्वर्गलोकमा भगवानले धेरै नै देख्नुभयो र मबाट चटक्क चुडेर आफ्ना निम्ति लानुभयो।
वि.स. २०२७ को फागुन महिना सायद उहाँको पाइला मेरो माइतिघर संखुवासभा धुपुमा पहिलो पटक टेक्यो। त्यस दिन म बुबासँग दाउरा काट्न जंगल गएकी थिएँ। जेठो दाजुले बुबालाई माथि डाँडाबाट ‘घर आउनू पाहुना आएका छन्’ भन्दै बोलाउनुभयो।
बुबा दाउरा काटिनसक्दै छिट्टै फर्कनुभयो। म उहाँकै पछि पछि दौडिएँ। घर छेउको पिपल चौतारीमा साथीहरू खेल्दै थिए। म पनि त्यहीँ खेल्न थालेँ तर बुबा भने घरतिर जानुभयो।
बेलुका म खेलिसकेर घर पुग्दा मिठा मिठा खानेकुरा पाकेका थिए। मन फुरूङ्ग भयो। घरमा बुबाआमाको कल्याङ् कुलुङ् आवाज राती अबेरसम्म चलिरहेको थियो। तर उहाँहरू भने हिडिसक्नुभएको थियो।
केही दिनपछि नै घरमा कमेरो र रातो माटो पोतिएर घर सिंगारियो। ध्वजापताकाहरू झुन्ड्याइए। केराका दाम्चा र सालका हाँगाहरूले गेट बनाइयो। घरमा पाहुनाहरूको लावालस्कर लाग्न थाल्यो। मिठोमिठो कोशेली खान पाइन्थ्यो। कहिले कसका काखमा त कहिले कसका काखमा बस्न पाइन्थ्यो।
छिमेकका आमाहरू सालका पातका दुना टपरी गाँस्दै विभिन्न गफमा हाँसिमजाक गरिरहनु भएको थियो। माथि ठुलाघरे मुखियाकोबाट धेरै उज्यालो दिने मइन्टोल लाइट ल्याइएको थियो। रातभरि आमा, काकी र सानीआमाहरू रोटी, अनर्सा पकाउन र कसार बटार्न यताउता ताउरमाउर गरिरहनु भएको थियो।
भोलिपल्ट काका र मामाले टाट्नामा बाँधेको कालो दुब्लो खसी काट्नुभयो। घरसँगै जोडिएको ठूलो पाटामा धेरै मान्छे जम्मा भइरहेका थिए। त्यहीँ खाना पकाइएको थियो। मान्छेको आवतजावत प्रशस्तै थियो।
साँझ पर्न लाग्दा एक हुल अपरिचित मान्छे हाम्रो घरमा आए। रातको समयमा सबै मान्यजन तथा छिमेकीहरूले मलाई पूजा गरिरहे। टीका लगाइदिरहे। दिनभरि यता उता उफ्रिएर होला मलाई भने निन्द्रा व्याप्त लागिरहेको थियो। भोलिपल्ट उज्यालो हुन नपाउँदै आमा सानीआमा काकीहरू स्याकस्थाक सुकसुक् गर्दै हुनुहुन्थ्यो। बुबा भने निकै भावुक देखिनुहुन्थ्यो। मलाई भने यी कुनै पनि विषयवस्तुको परवाह थिएन।
केही क्षणपछि नै डोलीमा चढाएर मलाई तिनै पराइ मान्छेहरूसँगै पठाइयो। केही मान्छेहरू वालन र संगिनीमा गाउँदै र नाच्दै अगाडि बढ्दै थिए। घरछेउको खोला तर्ने लाग्दा मेरो पोल्टामा गाँठो पारी राखिएको पोकालाई खोलामा पूजा गरेर बगाउन लगाइयो। पछि थाहा भयो खोलामा माहुर बगाउने चलन रहेछ। त्यहाँ भएका केही बुढा मान्छेहरू विभिन्न छुद्र भाषामा मलाई जिस्काइरहेका थिए। साँझ पर्न लाग्दा पातलो बस्ती भएको गाउँ तर मानिसहरू सबै जमघट भएको घरमा पुगियो।
पश्चिम दक्षिण फर्किएको केही उठाइएर बनाइएको घर, फराकिलो आँगन, दुईतिर बार्दली, ठूलो मचाङ, मचाङभरि गाईवस्तुको लस्कर, मास्तिरपट्टि सानो छाप्रो, छाम्रो सँगै ठूलो बाखाको टाट्नु र ढिकी बाहिरपट्टि सिकुवामा झण्डै म जत्रै जाँतो स्पष्टै देख्न सकिन्थ्यो।
भोलिपल्ट असरल्ल छोडेका म जत्रै भाडाँहरू जुठुल्नो नदेखिने गरी थिए। सबै नयाँ र पराइ मान्छे मलाई नै हेर्ने भन्दै आइपुग्थे।
त्यस बेला उहाँ भोजपुर दिङ्लामा रहेको बालागुरू षडानन्द पाठशालमा कक्षा ६ मा पढ्नु हुँदोरहेछ। त्यहीँ पाठशालामा छात्रावास थियो। त्यहीँ बस्नुहुन्थ्यो। कहिलेकाहीँ घर आउनुहुन्थ्यो।
विवाह गरेको ३ वर्षसम्म मानौं उहाँलाई कहीँ कतै बाटोमा एक्लै भेट्ने हो भने चिन्दिनँ थिएँ किनभने त्यसबेला सिधा हेर्ने चलन थिएन। कुराकानी हुँदैन थियो। चाडवाडमा माइती मावली जाँदा समूहमा हिँड्ने चलन थियो। छोरा मान्छेहरू एउटा समूहमा हिँड्थे छोरी मान्छेहरू अर्को समूहमा। सँगै बोलेर हिँडे त सामाजिक रूपमा बहिष्कृत हुन पनि सकिन्थ्यो।
उहाँ घरका काममा खासै चासो दिनुहुन्न थियो। सबैखाले काम ढिकी कुट्ने, जाँतो पिस्ने, खेतमा मल बोक्ने, गोठालो जाने गरे पनि उहाँको प्राथमिकतामा घरका कामहरू पर्दैन थिए। अथवा अध्ययनले उहाँलाई घरमा सँगै बस्ने र घरायसी काम गर्ने फुर्सद हुँदैन थियो। दिङ्ला पाठशालाको अध्ययन सकेर थप अध्ययनका लागि धरान जानुभयो। धरानको अध्ययन सकेर थप अध्ययनका लागि पुनः काठमाडौं जानुभयो।
अध्यापनका सिलसिलमा पनि उहाँ घरपायक पर्नेभन्दा बाहिर वि.स. २०३१ सालदेखि २०३८ सम्म रहनुभयो। जब २०३८ साल घर छेउको जनता मा. वि. चन्दनपुरमा आउनुभयो, त्यसपछि भने हाम्रो प्रेम वास्तवमै दाम्पत्य जीवन जस्तो भयो। पढाइमा निक्कै अब्बल उहाँलाई अंग्रेजी (एविसिडी) नपढ्न निर्देशन हुन्थ्यो। सुरूवालमा पिसाब फेरेको समेत थाहा नहुने गरी एविसिडी कण्ठ गर्नुभएको कुरा पछि सुनाउनुहुन्थ्यो।
आफ्नो निर्णयमा कति दृढ भने विवाह गरेको केही वर्षसम्म छोराछोरी नभएपछि एकपटक कान्छो बाबु पीताम्बर गौतमलाई, मलाइ मेरो माइतीघर पुऱ्याउन पठाएर उहाँको सहमतिबीना नै अर्को विवाहको तयारी गरिएछ। जब यो कुराको जानकारी उहाँले पाउनुभयो उहाँ घर छोडेर काठमाडौं आउनुभएको रहेछ। आफ्नो निर्णयबाट कहिल्यै पनि विचलित हुने स्वभाव थिएन ।
अहिले तपाईँ हाम्रा छोराछोरीहरूलाई दुई वटा बच्चा हुर्काउन पहाडले थिचे जस्तो गर्छन्। त्यसबेला पाँच-पाँच वटा छोराहरू हुर्काउनुपर्ने। बिहान उनीहरू च्याँ गर्नुभन्दा अगाडि तीन-चार पाथी मकै जाँतोमा पिसिसक्नु पर्थ्यो वा ढिकीमा बिहान तीन नबज्दै पुगेर झिसमिसे उज्यालो नहुँदै ओखलीको साथले बीस पाथी धान कुटिसक्नु पर्थ्यो।
साना बच्चा छन् भनेर मेलापात नजाने भन्ने हुँदैन थियो। अहिलेको यस्तो शिक्षित समाज त महिला र पुरूषका बिचमा विभेद देख्छ भने त्यस बेलाको समय कस्तो थियो होला। त्यसमा पनि झन् बुहारीलाई मानिसका रूपमा हेर्ने चलन थिएन। मानौं उनीहरू जनावरहरू हुन् खानपिनभन्दा काममा मात्र दलिनुपर्छ भन्ने चिन्तन हावी थियो। प्रायः दुई वर्षको फरकमा जन्मिएका छोराहरू सबै सानै थिए। कहिलेकाहीँ त यस्तो अवस्था आउँथ्यो एकैपटक पाँच वटै रून्थे। अनि कुन फकाउने कुन नफकाउने।
बिहान दुध खुवाएर कोक्रोमा राखेर मेला गयो। आउँदा रोएर घोक्रो सुकेर रून नसक्ने भएर दिसा पिसाब एकै ठाँउ हुन्थ्यो अलिअलि हिँड्न सक्ने भएपछि घाँस काटन् जाँदा सँगै लिएर गयो अनि आफूभन्दा अग्लो ढोक्सेमा घाँसको चाङ र सोभन्दा माथि दुई वटा छोराहरूलाई एकैपटक राखेर कैयौं पटक गाँउबेसी गरेको झलझल्ती सम्झना आइरहन्छ अहिलेको जस्तो एउटा बच्चा भएपछि घरमा ढुक्कै बस्ने चलन थिएन।
पिठ्यूँमा बच्चा चेपेर खेतका काम गर्ने डल्ले गराका आँफू जत्रै डल्ला फुटाउनुपर्ने। कैयौं बाध्यताहरू थिए। जीवन यहाँसम्म आइपुग्दा सङ्घर्षको एउटा पहाड नै सिर्जना भएको छ।
त्यस समयमा पाँच भाइ छोरालाई असल शिक्षादीक्षा दिन र घरायसी व्यवहार चलाउन एउटा सानो शिक्षकको तलबले निक्कै मुस्किल पर्थ्यो। त्यति मात्र होइन तत्कालीन समयमा युवा वर्गमा अध्ययन छोडेर खाडी राष्ट्र र पैसाप्रेमबाट टाढा राखेर उच्च शिक्षा दिन निक्कै मुश्किल थियो। त्यसैले उहाँकै निर्देशनमा पाँचै भाइ छोराहरूले स्नातकोत्तरको योग्यता मात्र हासिल गरेनन्, त्यस सँगसँगै उच्च नैतिकवान् र समाजलाई कुशल नेतृत्व प्रदान गर्न सक्ने व्यक्तित्व विकास गराउनु भयो।
भाइहरू र छोराहरूलाई सधै साथीको जस्तो व्यवहार गरे पनि अनुशासित मर्यादित राख्ने कुरामा कसैलाई पनि लक्ष्मण रेखा नाघ्न दिनुहुन्न थियो। परिवार, कुल, वंश, समाजको उत्थानका निम्ति सघै प्रयासरत हुनुहुन्थ्यो। त्यसको पछिल्लो ज्वलन्त उदाहरण गौतमहरूले विर्ता पाएको भोजपुर दिङ्लामा जहाँ गौतम वंशले मान्ने वायुथान छ, त्यसको संरक्षणका निम्ति २०७६ फाल्गुन १४ गतेदेखि २३ गते सम्म श्रीमद्भागवत् सप्ताह महापुराण र वायुथान रहेको झण्डै २ रोपनी जग्गा उहाँ तथा गौतम बन्धुहरूको अगुवाइ तथा पहलमा खरिद गरिएको थियो।
कुनै पनि वस्तुको विस्तारित रूप भनेको त्यसको परिकल्पना हो। उहाँ दुरगामी र दीर्घकालीन योजनाहरूको परिकल्पना गरी त्यसलाई मूर्त रूप दिन सधै आफ्नो पक्षबाट सङ्घर्षरत हुनुहुन्थ्यो जीवन प्रायः सधै अभाव र सङ्घर्षमा नै वित्यो। खाली पेट र खाली गोजीले जुन शिक्षा दिन्छ त्यो शिक्षा विश्वका कुनै पनि विश्वविद्यालयले दिन सक्तैन भन्ने मान्यता राख्नुहुन्थ्यो र छोराहरूलाई पनि त्यहीँ अनुसार अनुसरण गर्न बाध्य बनाउनुहुन्थ्यो ।
जब जीवनले कोल्टे फेर्दै थियो। खुसीका मुस्कानहरू ओठमा अड्कदै थिए। छोराहरू बुबाको लागि एक जोर कोट किन्न सक्ने अवस्थामा पुग्दै थिए, सुखका ढोकाहरू खुल्दै थिए, हिजोका सपनाहरू साकार बन्न लाग्दै थिए, सिङ्गो समाज परिवर्तनका लागि गोरेटाहरू कोरिने क्रम सुरु हुँदै थियो यथार्थमा जीवनले दुःख र अभावहरूलाई छिचोल्दै सुख भोगतर्फ लम्कदै थियो।
सायद जीवनको उतरार्ध प्रवेश नगरिकन हाम्रो माया प्रेम जीवनले अनुभूति गर्न पाएन। जब पाँचभाइ छोराहरू बुबाको अथक प्रयासबाट आफ्नो आफ्नो बाटो समात्न र त्यहीँभित्र सङ्घर्ष गर्न सक्षम भए, तब हाम्रो जीवन सङ्घर्षबाट उपदेश, आदेश, समन्वय र नितान्त अभिभावकत्वमा अगाडि बढ्न थाल्यो।
कतिसम्म भने हामी जहाँ जाँदा पनि प्रायः सँगै नै हुन्थ्यौ । चाहे बजार जाँदा होस् चाहे बेसी जाँदा होस् । तर त्यो खुसी र एकता लामो समय टिक्न सकेन। संयोग नै मान्नुपर्छ सबै चाडवाड एकै स्थानमा मनाउने हामी २०७७ तिहार मनाउन उहाँको कात्तिक २८ गतेको काठमाडौं-तुम्लिङटार र मेरो सोही दिन काठमाडौं-विराटनगरको जहाज टिकट थियो। तर त्यो जहाज न उहाँले चढ्न पाउनुभयो न मैले। सायद अलग हुन त्यहीँबाट सुरू भइसकेको थियो।
उहाँ विश्व महामारीका रूपमा आएको कोरोनाका कारण कात्तिकक २३ गतेबाट काठमाडौंमा रहेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना हुनुभयो र कहिल्यै नफर्कने गरी हृदयभरी चोट र आँखा भरी आँसु दिएर २०७७ मंसिर ८ गते ब्रह्मलीन हुनुभयो।
सृष्टि र समाजको एउटा अमूल्य उपहारको रूपमा सधै रहिरहनु हुनेछ । हार्दिक श्रद्धासुमन!