धेरै लामो समयपछि हिजो एउटा अष्ट्रेलिया बस्ने साथीसँग मेसेन्जरमा करिब १ घण्टा कुरा भयो। लामो समयको अन्तरालमा भएको गफमा हामीले धेरै विषयमा धेरैबेर गफियौं। अष्ट्रेलियामा क्रिशमसको सार्वजनिक बिदा हुन्छ।
नेपालमा दसैं मनाउँदा घटस्थापनाको दिनदेखि नै चाडबाड सुरु भएको महसुस गरेजस्तै त्यहाँ पनि डिसेम्बर १ देखि नै विभिन्न खालका चाडबाड लक्षित क्रियाकलापहरु हुने गर्दो रहेछ। साथीले भन्दै थियो- उसलाई पनि ४-५ वटा क्रिशमस गिफ्ट आएको छ रे।
सानै हुँदादेखि नै सँगै खेल्दै खाँदै हुर्किएका हामी। किशोरावस्था पुग्ने बेलासम्म सँगै काम गर्ने अनि भविष्य उज्ववल बनाउने सपना देख्थ्यौं। स्कुल जाँदा बाटोभरि ठूलो मान्छे बन्ने अनि समाजका लागि राम्रो योगदान गर्ने ऊ सुनाउथ्यो।
बाटोभरि ऊ भन्दै हिँड्थ्यो, 'पछि धेरै पढेर दुवै जनाले गाउँमै एउटा राम्रो स्कुल खोल्ने। म प्रिन्सिपल बन्छु, तँ भाइस-प्रिन्सिपल बन्। दुईजना मिलेर राम्रो, नियमित पानी आइरहने धारा, सिमेन्ट लगाएको बलिया राम्रा कोठा अनि लेख्दा नहल्लिने बेन्चहरु भएको राम्रो स्कुल बनाउने।'
हो, यस्तै सपनाहरु बुन्दै हामी स्कुलसम्मको दूरी तय गर्थ्यौं। हाम्रो बाल मानसपटलमा राम्रो स्कुल भनेको राम्रो भौतिक पूर्वाधार भएको स्कुल भन्ने बुझाइ थियो। ऊ पढाइमा तेज भएको विद्यार्थी थियो, हरेक तहमा छात्रवृत्ति पाउँदै पढ्दै गयो। विज्ञान विषय लिएर प्लस टु सकिएपछि छात्रवृत्तिमै अष्ट्रेलिया गएर पढ्ने मौका समेत उसले पायो।
करिब एक वर्ष अगाडिसम्म कुरा गर्दा नेपाल प्रतिको उसको धारणा फरक थियो। ऊ त्यहाँको विश्वविद्यालयको गोल्ड मेडलिष्ट थियो। त्यतिखेर उसले भन्दै थियो 'मैले केही बौद्धिक तथा केही आर्थिक पुँजी जम्मा गरेको छु। नेपालमा आएर मेरो अहिलेसम्म जम्मा गरेको पुँजी परिचालन गर्न चाहन्छु।'
मेरो साथीले अष्ट्रेलियाकै राम्रो विश्व विद्यालयबाट सम्बन्धन लिएर गुणस्तरिय पढाइ हुने कलेज चलाउने योजनाका साथ त्यहाँका केही शैक्षिक क्षेत्रमा काम गरिरहेका साथीहरु कुरा गरिरहेको सुनायो। मलाई सुन्दा खुसी लाग्यो।
अझ मैले जिस्किँदै भनेँ, 'भनेपछि तँ प्रिन्सिपल, म भाइस प्रिन्सिपल।'
उसमा एक प्रकारको हुटहुटी थियो, देशको लागि केही योगदान गर्ने हुटहुटी।
उसले कयौँ वर्ष आफ्नो परिवार, नातागोता, साथीभाइबाट टाढा रहेर कठोर त्याग र संघर्षमार्फत निर्माण गरेको त्यो व्यक्तित्व मेरो लागि त सधैं प्रेरणादायीत छ नै, देशका लागि पनि उसको ज्ञान, सीप र क्षमता भरपुर प्रयोग हुन सक्थ्यो।
एक वर्षपछिको गफमा भने हामी नेपालको समसामयिक राजनीतिक घटनाक्रम सम्मको विषयमा निकैबेर आफ्ना तर्कहरु साटासाट गर्यौं। समसामयिक राजनीतिको विषयमा लामै समय गफिइसकेपछि उसको नेपालप्रतिको दृष्टिकोण नजिकबाट महसुस गर्ने मौका पाएँ। एक वर्षको अवधिमा त उसको नेपालप्रतिको दृष्टिकोण परिवर्तन भइसकेछ। उसले प्रकट गरेका कयौं तर्कमा मेरो फरक मत थियो।
मलाई लागेका कयौं कुरा भन्न मन त थियो, तर एकातिर हाम्रो आत्मीय सम्बन्ध अनि अर्कोतिर मेरो भनाइले उसको सोचलाई पार्न सक्ने प्रभावको मूल्यांकन गरेर मैले मौनता साँध्दै 'अँ, अँ' भन्दै प्रतिक्रियाविहीन भएँ।
ऊ निरन्तर मलाई गुनासोका पोको फुकाउँदै प्रश्न गर्दै थियो, 'नेपालको राजनीति किन सधैँ अस्थिर? त्यो परिवेशमा नयाँ उद्यमशीलता कसरी भित्रिन सक्ला? झन्झटिलो र लामो सरकारी प्रक्रिया अनि लगानी सुरक्षाको प्रत्याभूति केही छैन। '
मसँग दिनलाई कुनै उत्तर पनि थिएन। हामी सबैसँग मात्र प्रश्न छ। केहीबेरको मौनता चिर्दै मैले सोधेँ, 'अनि पिआर पाइस्?'
उसले भन्यो, 'अँ, पाएँ यार।'
मलाई लाग्यो, उसले बाल्यकालमा देखेको स्कुलको सपना या पोहोरसम्म कल्पनामै बनाएको गाउँमै अन्तर्राष्ट्रिय स्तरको कलेजको सपना सायद त्यसै तुहिएर गयो। यस्ता कयौँ सपना दिनानुदिन साटिन्छन् पिआरसँग। पिआर भन्नाले त्यो कानुनी मान्यताको मात्र कुरा गरेको होइन मैले। ती सम्पूर्ण सपनाहरु जुन पिआरमै तिलान्जली दिइन्छन्।
ती पिआर जसले देशका त्यस्ता सपना र हुटहुटीलाई जमिनमै टुसाउन नपाउँदै मासिदिन्छन्। देशको बौद्धिक सम्पत्ति त्यतिकै बाहिरै पलायन बनाउने पिआर। र अनि म सोच्न बाध्य भएँ, मेरो साथीका जस्तै कति सपनाहरु पिआरसँगै साटिएका होलान्?
हाम्रोजस्तो अल्पविकसित मुलुकले आर्थिक विकासको लक्ष्य हासिल, ब्रेन ड्रेनको समस्या कम गर्न, दक्ष र विज्ञ मानिसलाई नेपालमै वातावरण छ भन्ने पहिचान गर्न र मानव स्रोतको परिचालन गर्न आवाश्यक छ। हाम्रो देशमा विज्ञको अभाव छैन, यो देशमा तर विज्ञलाई परिचालन गर्न सक्ने नेतृत्व र परिचालित हुनसक्ने वातावरणको भने पक्कै अभाव छ।
मुलुकको आर्थिक रुपान्तरण आज बहसको विषय बनिरहेको छ तर विदेशमा रहेर आफ्नो ज्ञान, सीप र क्षमता परिचालन गरिरहेका युवालाई सम्बोधन गर्ने नीति-निर्माण हुन सकेको छैन। दक्षता वा विज्ञताको पहिचान गर्न नसक्दा लाखौंको संख्यामा देशका उर्जाशील मानव स्रोत विदेशिन बाध्य भएका छन्।
अर्कातिर कतिपय गन्तव्य मुलुकमा विज्ञता वा दक्षता हासिल गरेर स्वदेशमा फर्केर केही गरौँ भन्ने सपना देखेर बसेका जनशक्ति देशमा कहिले वातावरण बन्ला र जाउँला भनेर कुरेर बसिरहेका छन्। तर हामीले यहाँ ती क्षमतालाई परिचालन गर्नसक्ने वातावरण बनाउन सकेका छैनौं। अनि यसरी नै कयौं सपनाहरु विदेशका पिआरसँग साटिँदै आएका छन्, अनि रहिरहने छन्।