म एसएलसी सक्काएर पूर्व भोजपुर हानिएँ। पहिलो पटक निस्केको थिएँ म रोल्पाबाट टाढाको यात्रामा। १७ हजार रुपैयाँ थमाइदिएर बाबाले पढ्न पठाउनु भयो। त्योबेला भोजपुर कसरी कुन बाटो जाने भन्ने मेरो बाबामात्र होइन, गाउँको कसैलाई थाहा थिएन।
भालेको डाकोसँगै उठेर बाबाले झण्डै तीन घण्टाको बाटो हिँडेपछि गाडी चढ्न जुगारसम्म पुर्याउनु भयो। म ट्याक्सीको छतमा चढेर तुलसीपुरबाट काँकडभित्ताको गाडीमा इटहरीबाट धरान हुँदै भोजपुरको यात्रामा लागेसी पूर्वेली बोलीमा पूर्वेली दाइहरूको मिठो गफ सुन्दै चुप थिएँ म।
मसँगै बस्नु भएको दाइले सोध्नु भयो, 'भाइको घर कता?'
मैले नि एक शब्दमा जवाफ दिएँ, 'रोल्पा।'
दाइ आश्चर्यचकित भएर मेरोभन्दा ठूलो स्वरमा बोल्नुभयो, 'रोल्पा!'
म बसेको वरिपरि सिटमा यात्रीहरू आफ्ना कुरा रोकेर मतिर हेर्न थाले कि म अर्कै ग्रहबाट आएको एलियनजस्तै। त्यत्तिकैमा पारिपट्टिको सिटमा बसेको दाइले सोधे, 'बन्दुक चलाउन आउँछ होला नि भाइ?'
त्यो प्रश्नले गाडीका सबै हाँस्न थाले। मैले, 'होइन, कहाँ आउनु?' भनेँ।
यति भन्न नपाउँदै अर्को दाइको प्रश्न आयो, 'रोल्पा त अति विकट दुर्गम छ रे!'
सुनेर नमज्जा नि लायो। मैले त्यो बेलाको बाटोको अवस्था देखेर सिधैँ जवाफ दिएको थिएँ, 'तपाईंहरूको भन्दा अलिक राम्रो छ।'
दाइहरू हाँस्दै भन्न थाले, 'माओवादी न पर्यो भाइ, कुरा बाठो गर्छ।'
यति भन्न नपाउँदै अर्का दाइले भने, 'रोल्पाको त ढुङ्गा-माटो माओवादी रे नि।'
यति भनेर उनीहरू फेरि हाँस्न थाले। नमज्जा लायो। अनि भनेँ, 'तपाईंले सोचेजस्तो पनि छैन रोल्पा।'
रोल्पा कुनै जोक होइन, देशमा गणतन्त्रको उदयको लागि रोल्पाको जति बलिदान कसैको पनि छैन। यतिभन्दा अरु जिल्लाकोले भन्नुहोला- 'हाम्रो योगदान छैन त गणतन्त्र स्थापनाको?'
यति बुझ्न जरुरी छ कि अचानोमा खुकुरीको प्रहार थियो त्यो बेला रोल्पा बीचको भाग जो धेरै प्रहारले गहिरो भयो, अचानोलाई खुकुरी नै लागेन भन्न खोजेको होइन। हामीलाई बहुत गर्व छ रोल्पाली हुनुमा। कहिलेकाहीँ बस सोच्छु, दुःख लाग्छ यत्रो बलिदानी गरेर पनि कदर भएन। १० वर्ष बम गोलीको आवाजको संगतले हुर्किएका रोल्पालीलाई अझै दुर्गम र हेपहा नजरले हेर्छन्। यो किन? कसरी?
यसको जवाफ आज रोल्पालाई नै आधार बनाएर सत्तामा पुगेकाहरूले दिनुपर्छ। नेता मानेकै हौँ, जिताएकै हौँ। खोई केन्द्रीय राजधानी रोल्पा? खोई कापी-कलम समाएर पढ्नेबेला बन्दुक बोकाएर युद्धमा पठाइएका ती सहिद परिवार, द्वन्द्वपीडितको, घाइते अनि अयोग्य सिपाही भनेर फालिएका सिपाहीहरूको घाउको मलम र उचित व्यवस्थापन?
यो प्रश्नको जवाफ आउला- पैसा दियौँ त। १० लाख होइन त सरकारले दिएको? के पुग्छ १० लाखले? न छोराछोरीलाई राम्रो शिक्षा दिन सक्छन् न त ठूलो रोग लाग्दा उपचार गर्न पुग्छ। १ लाख, २ लाख, १० लाखले होइन घरको छोराछोरी जबसम्म कमाउन सक्षम हुन्न त्यो बेलासम्म यदि कोही डाक्टर, नर्स, इन्जिनियर वा पाइलट बन्न चाहान्छ भने दिनुस् निशुल्क शिक्षा अनि त्यस्ता परिवारका सदस्यहरूको जति ठूलो, जति महँगो उपचार किन नहोस्, निशुल्क गराउनुस्।
सरकारको चाबी हातमा छ त कम्रेड, गर्नुस् तत्काल गर्नुस्। आमा बाबाको मुहार कस्तो थियो भन्ने थाहा नपाउने छोराछोरीलाई भेटेर दिलाउनुस् आमाबाबाको त्यो ममता अनि सम्झाउनुस् जनयुद्ध गलत होइन, त्यो बलिदान अमूल्य हो भनेर। समाजवाद, साम्यवाद भन्दै हिजो आफ्नो काम आफै गर्नुपर्छ भन्दै घोराही रोल्पा, रुकुम जोड्ने सहिदमार्ग मलाई लाग्छ जनयुद्धको एक नमुना बाटो हो। जो जनताले गैटी झप्पल, कोदालो, बेल्चा, घन त्यो नि आफ्नै घरको बोकेर डोजरलाई खन्न मुस्किल हुने ती पहाडी चट्टान फोर्दै खनिएको सडको हो।
खोई त्यसको व्यवस्थापन किन कालो चिल्लो रोड बनाउन सक्नु हुन्न? जननमुना अस्पताल हेर्नुस् त रोल्पाको माडीमा छ जहाँ ४/५ वटा पक्की भवन छन् आजभन्दा १४/१५ वर्ष अघि ३०/४० किलो मिटर हिँडेर सिमेन्ट, छड बोकेर बनाइएको अस्पताल हो। म आफै पनि १२ वर्षको थिएँ होला, १० दिन स्कुल छोडेर श्रम गरेको छु।
साँच्चीकै नमुना नै छ हिजो तपाईंहरू घाइते हुँदा मलमपट्टी लगाउने त्यो नमुना अस्पताललाई किन नेपालकै ठूलो र व्यवस्थित अस्पताल बनाउन सक्नुहुन्न? सेनालाई पराजय गर्न लुकेर आक्रमण गर्ने ती चट्टान सहितको डाँडा त बङ्कर बनाउन सकिन्थ्यो। मलाई याद छ कसरी खन्न सक्नुहुन्थ्यो भनेर, किन त्यो रोल्पा रुकुमको पहाड फोरेर सुरुङ खोलेर रेल कुदाउन सक्नु हुन्न?
बुर्जुवा शिक्षा भन्दै किसानका छोराछोरीलाई बन्दुक, आफ्नो छोराछोरीलाई कलम समाउन लगाउनु भयो। ठिक छ त्यसमा गुनासो छैन तर अब खोल्नुस् अक्सफोर्डसँग प्रतिस्पर्धा गर्ने विश्वविद्यालय अनि प्रोफेसरमा ल्याउनुस्। बन्दुक नबोकेर कलम समाएका ती तपाईंका छोराछोरीलाई अनि कलम छोडेका आमाबाबाको छोराछोरी जो अहिने पनि काठमाडौँका इँट्टाभट्टमा इँट्टा बोक्न जाने ती रोल्पाली साना कमरेडलाई रोल्पाको विश्वविद्यालयमा पढाउने वातावरण बनाए गर्वका आँसु झार्दै फेरि तपाईंहरुलाई जिन्दावाद भन्नेछन्।
यति गर्न सक्नु हुन्न भने रोल्पालाई सबैभन्दा अन्याय, अत्याचार तपाईंहरूले गरेको हो। यो तपाईंहरूले जिम्मा लिनुपर्छ र जवाफ पनि तपाईंहरूले नै दिनुपर्छ कम्रेड।