प्लास्टिक सर्जरी भन्ने बित्तिकै साधारणतया जनमानसमा सौन्दर्यसँग सम्बन्ध भएको एक चिकित्सकीय पेसा बुझिन्छ। साधारण जनमानसमा मात्र नभई धेरै स्वास्थ्यकर्मीमा पनि प्लास्टिक सर्जरी बारेमा कम ज्ञान भएको मैले पाएको छु। प्लास्टिक सर्जरी आफैमा एक नयाँ विधा भएको र नेपालमा झन् प्लास्टिक सर्जरी पठनपाठन हुन थालेको केही वर्ष मात्र भएको यसको मुख्य कारण हुनसक्छ।
यो बाहेक हामीले टेलिभिजनमा विभिन्न कार्यक्रमा प्लास्टिक सर्जरीलाई सौन्दर्यसँग सम्बन्ध हेर्न पाउँछौँ। केही व्यक्तिले सोच्दछन् कि प्लास्टिक सर्जरी भनिन्छ किनकि हामी हाम्रो सर्जरीहरूमा प्लास्टिक प्रयोग गर्दछौं। वास्तवमा, प्लास्टिक सर्जरी ग्रीक शब्द 'प्लास्टिकोस' बाट आएको हो जसको अर्थ मोल्ड गर्ने क्षमता हो।
प्लास्टिक सर्जरीको इतिहास केलाउँदै जाने हो भने यसको सम्बन्ध आयुर्वेदसँग भएको पाइन्छ। ऐतिहासिक रूपमा प्लास्टिक शल्यचिकित्सा प्रविधिहरू भारतमा सुश्रुतले (चिकित्सक ) छैठौँ शताब्दी ईसा पूर्वमा रिपोर्ट गरेका थिए। त्यहाँ निधारको फ्ल्याप प्रयोग गरेर (आफ्नै रक्त आपूर्ति भएको मासुको टुक्रा/टिश्यू) नाक पुनर्निर्माण गरिएको रिपोर्टहरु छन्।
सर ह्यारोल्ड गिलिजलाई आधुनिक प्लास्टिक सर्जरीका जनक मानिन्छ। पहिलो विश्वयुद्धको क्रममा अनुहारमा चोटपटक लाग्ने सिपाहीहरूको हेरचाह गर्न उनले अनुहारको शल्य चिकित्साका धेरै प्रविधिहरू विकास गरे। यो समयपछि नै प्लास्टिक सर्जरीको द्रूत गतिमा विकास भएको पाइन्छ। अमेरिकाका प्रसिद्ध प्लास्टिक सर्जन जोसेफ मरेले १९९० मा पहिलो सफल किड्नी प्रत्यारोपणको लागि नोबेल पुरस्कार पाएका थिए।
नेपालमा प्लास्टिक सर्जरी धेरै मानिसको लागि नौलो छ। केही वर्ष अगाडिसम्म नेपालमा प्लास्टिक सर्जनहरूलाई तालिम दिन कुनै कार्यक्रम थिएन। हाल नेपालमा दुई संस्थामा प्लास्टिक सर्जरी सम्बन्धी 'एमसिएच' कार्यक्रम संचालनमा छन्। यसै कारणले यो कुनै ठूलो आश्चर्यको कुरा होइन कि नेपालका अधिकांश अस्पतालहरूमा प्लास्टिक सर्जरी विभाग छैन र अधिकांश प्लास्टिक सर्जनहरू काठमाडौंमा नै काम गरिरहेका छन्।
यसैले प्लास्टिक सर्जरी उपत्यका बाहिरका धेरै मानिसलाई थाहा छैन। मैले आफ्नो प्लास्टिक सर्जरीको अध्ययन नानजिंग सहरमा (चीनको पुरानो राजधानी) गरेको थिएँ । त्यहाँ मेरो विभागमा १२ प्लास्टिक सर्जन र थुप्रै प्लास्टिक सर्जरी अध्ययन गर्ने आवासीए चिकित्सक थिए। यो जनशक्तिको हिसाबले तुलनात्मक रूपमा सानो विभाग थियो, तर हाम्रो विभागले अस्पतालको लागि दोस्रो सबैभन्दा ठूलो आम्दानी गर्थ्यो, मात्र आर्थोपेडिक्स विभागपछि।
त्यस्तैगरी, मैले जापानको टोकियोमा प्लास्टिक सर्जरी फेलोशीप गर्ने अवसर पाएको थिएँ। अस्पतालको ओपिडी, बिरामीहरू, शल्यक्रिया र अनुसन्धानका आधारमा हेर्दा प्लास्टिक सर्जरी सबैभन्दा ठूलो र व्यस्त विभाग थियो। प्लास्टिक सर्जरी विभागमा बर्न (पोलेको) पुनर्निर्माण र पैथोलाजिकल स्कार (केलोइड) व्यवस्थापन, हातको शल्यचिकित्सा, टाउको र घाँटी पुनर्निर्माण, स्तन पुनर्निर्माण, पुरानो घाउ उपचार, क्रेनियोफेशियल शल्यक्रिया र एस्थेटिक सर्जरीजस्ता इकाईहरू थिए।
यस्तै म जर्मनीको फ्रैंकफर्ट विश्वविद्यालयमा आबद्ध प्लास्टिक सर्जरी विभागमा केही समय अध्ययन गर्ने मौका पाएको थिएँ। त्यस प्लास्टिक सर्जरी विभागमा १७ जना डाक्टरहरू थिए र अन्य पुनर्निर्माण शल्यक्रियाहरूको साथमा हातको शल्यक्रिया पनि उच्च मात्रामा हुने गर्थ्यो। यी उदाहरणहरूले देखाउँछन् कि प्लास्टिक सर्जरी विभागमा बिरामीहरूको उच्च मात्रा छ।
पक्कै नेपालमा पनि प्लास्टिक सर्जरी बिरामीहरूको उच्च मात्रा छ। तर डिपार्टमेन्टको कमी वा डिपार्टमेन्टको कम बुझाइका कारण बिरामीहरूले राम्रो उपचार पाइराखेको छैनन्। यदि अस्पताल प्रशासनले वास्तवमै बुझ्छ भने, प्लास्टिक सर्जरी एकदम आकर्षक विभाग हो।
प्लास्टिक सर्जरी आफैमा किन विशेष छ भने, यसको अरु कुनै मेडिकल विभागजस्तो अंग प्रणाली छैन। प्लास्टिक सर्जरी प्रक्रियाहरुको सट्टा विशिष्ट सिद्धान्तहरुमा आधारित छ। यो टाउकोदेखि पैतालासम्म सबै कुरासँग सम्बन्धित छ। अधिक जटिल सर्जरीजस्तै अनुहार प्रत्यारोपण, हात प्रत्यारोपण, औंला प्रत्यारोपण, टाउकोको छालाको प्रत्यारोपण, आदि प्लास्टिक सर्जनहरु द्वारा गरिन्छ।
प्लास्टिक सर्जनद्वारा माइक्रो सर्जरीदेखि सुपर माइक्रो सर्जरीसम्मको सेवा प्रदान गरिन्छ। यो विधि सर्जरीमा एकदमै सूक्ष्म र उत्कृष्ट मानिन्छ। यस विधिबाट हातको औँला चुँडिएको, हात्तिपाइलेजस्तो जटिल रोगको उपचार गर्न सकिन्छ।
प्लास्टिक सर्जरीमा टाउकोदेखि खुट्टासम्म विविध रोगहरुको उपचार हुन्छ। प्लास्टिक सर्जरीका धेरै शल्यक्रियाहरु अन्य विभागहरु जस्तै डर्मेटोलोजी (छालारोग), ईएनटी (नाक-कान-घाटी), मैक्सिलोफेशियल सर्जरी, आर्थोपेडिक्स (हाडजोर्नी), आदिसँग ओभरल्याप छन्। मोटामोटी रुपमा प्लास्टिक सर्जरीले गर्ने उपचारहरु मैले तल प्रस्तुत गरेको छु।
बर्न सर्जरी
आगोले पोलेको बिरामी, करेन्ट लागेको बिरामी, रासायनिक जलन तथा पोलिसकेपछि हुने जटिलताको उपचार गरिन्छ।
हातको सर्जरी
तको शल्यक्रियाबाट सबै हात वा औंलाको चोट, फ्र्याक्चर, न्यूरोमास, कार्पल टनेल सिन्ड्रोम, हातको संक्रमण, तथा ब्रेकियल प्लेक्सस चोटलगायत सम्पूर्ण हात सम्बन्धी समस्याको उपचार गरिन्छ।
क्रनिओफेसिअल सर्जरी
यो बाल चिकित्सा र वयस्क क्रनिओफेसिअल शल्य चिकित्सामा विभाजित गर्न सकिन्छ। बाल क्रनिओफेसिअल शल्यक्रिया प्रायः जन्मजात समस्याको उपचार गरिन्छ, जस्तै ओठ र तालु फाटेको, कान नभएको वा धेरै सानो कान भएको आदि। वयस्क क्रनिओफेसिअल शल्य चिकित्सा प्रायः अनुहारको हड्डी फ्र्याक्चर र पुनर्निर्माण शल्यक्रियासँग सम्बन्धित छ।
ओन्कोप्लास्टिक सर्जरी र सुपरमाइक्रो सर्जरी
छाला, मुख, जिब्रोको क्यान्सर उपचार र पुनर्निर्माण उपचारसँग सम्बन्धित छ। क्यान्सरलाई चिरफार गरेर फालेपछि शरीरको अन्य भागबाट फ्लाप ल्याइन्छ र क्यान्सर भएको ठाउँमा लगेर जोडिन्छ। सुपरमाइक्रो शल्यचिकित्सा एकदम सूक्ष्म नसाहरुको उपचारमा प्रयोग हुन्छ।
स्तन शल्यचिकित्सा
स्तन शल्यचिकित्सा सौन्दर्य र पुनर्निर्माणमा विभाजित छ। स्तन धेरै सानो भएमा ठूलो बनाउने वा धेरै ठूलो भएमा सानो बनाउने स्तन शल्यचिकित्सामा सबैभन्दा प्रसिद्ध शल्यचिकित्सामा पर्छ। यस्तै स्तन क्यान्सर भएर स्तन फाल्नु परेमा पनि यस विधिबाट नयाँ स्तनको निर्माण गर्न सकिन्छ। यस्तै स्तन लत्रेको खण्डमा स्तनलाई लिफ्ट गर्न सकिन्छ, पुरुषमा स्तन ठूलो भएमा यसको उपचार गर्न सकिन्छ।
पुरानो घाउको उपचार
पुरानो घाउ वा ४ हप्तासम्म पनि निको नभएको घाउ जस्तै- बेड सोर, मधुमेहको बिरामीमा हुने खुट्टाको घाउ पनि प्लास्टिक सर्जनसँग सम्बन्ध राख्छ।
ट्रमा सर्जरी
चोटपटक लागेर हुने समस्या जस्तै- खुट्टाको हड्डी देखिने, नसा देखिने जस्ता जटिल समस्याको उपचार गरिन्छ। यसको लागि शरीरको अन्य भागबाट मासु निकालेर छोप्ने गरिन्छ।
एस्थेटिक/सौन्दर्य सर्जरी
कपाल प्रत्यारोपण, झुर्रियोको लागि बोटोक्स, ब्लेफेरोप्लास्टी (आँखाको पलक सर्जरी), राइनोप्लास्टी (नाक सर्जरी), फेसलिफ्ट, स्तन इम्प्लान्ट, बट लिफ्ट, लिपोसक्शन, आदि जस्ता शल्यक्रिया एस्थेटिक सर्जरीमा पर्छन।
विविध
माथि उल्लेख गरिएकोभन्दा अन्य उपचार विधि जस्तैः लेजर उपचार, ट्याटू हटाउने, शरीरमा भएको विभिन्न दाग हटाउने, कपाल हटाउने उपचार पनि प्लास्टिक सर्जरीमा गरिन्छ।
चिकित्सा क्षेत्रमा कार्यरत पेसाकर्मी र आम जनतामा प्लास्टिक सर्जरीको बारेमा अधिक सूचित हुनु आवश्यक छ। यसले गर्दा बिरामीलाई समयमा उचित विभागमा पठाउन सकिन्छ र बिरामी पनि आफै जान सक्ने आवस्था हुन्छ। यसले बिरामीको समय र पैसा दुवैको बचत गर्छ। प्लास्टिक सर्जरी नेपालमा एकदमै प्रारम्भिक आवस्थामा छ। यसबारे सकेसम्म जनतालाई सूचिकृत गर्न आवश्यक छ।
(लेखक प्लास्टिक सर्जन हुन्।)