यदि हामी हाम्रो जिन्दगीमा के गर्ने भनेर स्पष्ट हुन्छौं भने हाम्रो गतिमा तीव्रता बढ्छ। हामीलाई अगाडि बढ्न संसारको कुनै ताकत रोक्न सक्दैन। कुनै पनि काम गर्नुभन्दा अगाडि यो काम किन गर्ने भनेर आफूलाई आफ्नो उद्देश्य प्रति स्पष्ट बनाउनुपर्छ। नत्र काम सुरु गरेको केही दिनमा नै अर्को काम खोज्नु पर्ने अवस्था सिर्जना हुन्छ।
जति हामी हाम्रो लक्ष्यप्रति स्पष्ट हुँदै जान्छौं त्यति नै धेरै काम गर्ने जोश-जाँगर हाम्रो मन, मस्तिष्कमा चलायमान हुन्छ। संसारका महान् र सफल व्यक्तिहरूले भनेका छन्। उनीहरू आफ्नो कामप्रति सधैँ स्पष्ट थिए। जागरुक थिए। जिम्मेवार थिए। उनीहरू अरुलाई दोष नलगाएर आफ्नो जिन्दगीको एकसय प्रतिशत जिम्मेवारी आफैँ लिन्थे।
हामीहरू सफल व्यक्तिहरूलाई देखेर खुसी हुन्छौं। र, ऊजस्तै बन्ने कोसिस पनि गर्छौं। तर, हामीहरू उनीहरू कति लगनशील, अनुशासित, मेहनती, इमान्दार भएर आफ्नो कामलाई पूरा गर्छन् भन्ने विषयमा अनविज्ञ बन्छौं। एउटा महत्वपूर्ण कुरा के हो भने जिन्दगीमा यदि कोही व्यक्तिजस्तो बन्ने तीव्र चाहना पैदा भयो भने उसले जति मेहनत गर्छ। उसले भन्दा धेरै मेहनत गर्न तयार हुनुपर्छ। कम मेहनतले महान बनिँदैन। र, अर्को कुरा जिन्दगीमा अरुजस्तो कहिल्यै बनिँदैन। जिन्दगी आफूलाई पाउने यात्रा हो। खोज हो।
जति तपस्या गरे पनि जिन्दगी वर्तमानमा बाचिएन भने निरर्थक हुन्छ। पाँच/दश वर्ष पछिको लागि साधना जरुरी छ। तर, त्यो भन्दैमा वास्तविकताभन्दा त्यति पर पनि पुग्नु हुँदैन। वर्तमानको आफ्नो कार्यमा जसले पूर्णता दिने कोसिस गर्छ। ऊ नै सुन्दर भविष्यको हकदार हुनसक्छ। दिउँसै सपना देख्नेहरूको भिड छ। के उनीहरूले सपना देख्दैमा पूरा भइहाल्छ त?
सपना उनीहरूको पूरा हुन्छ। जसले पसिनाको नदीमा पौडने हिम्मत गर्छन्। फगत चिया पसलमा देश बदल्ने सपना पालेर हरेक घरमा बेरोजगार बसेको छ। सपना देख्ने आँटलाई मान्न पर्छ। तर, सपना देख्दैमा कसैको जयजयकार हुने पनि होइन। कर्मले र कसैको सपनाले समाजमा यदि कुनै रुपान्तरण ल्याउँछ भने उसको कर्म र नतिजालाई मान्छेले पूज्छन्। मान्छन्।
को छन् अन्योलमा? किन? कसरी?
कुल जनसंख्याको चालिस प्रतिशतभन्दा बढी जनसंख्या ओगट्ने युवाहरू छन् सबैभन्दा बढी अन्योलमा। युवा नामका मात्र हुन्। युवा मस्तिष्कमा सिर्जनशीलताको खडेरी पर्दैछ। र, यसले भयावह स्थिति पनि लिन सक्ने सम्भावना पनि त्यत्तिकै धेरै छ। बचपनदेखि पढ कि पढ भन्ने रटान लगाइयो। कसैले म किन पढुँ भनेर प्रश्न गर्ने आँट गरेन। गर्ने पनि किन? भर्खर जन्मेको केही वर्ष भएको हुन्छ। केही थाहा हुँदैन। अलि उमेर पुगेको मान्छेले जे भन्यो त्यही अन्तिम सत्य जस्तो लाग्छ। उमेर हो। कसैले न रोके रोकिन्छ। छेके छेकिन्छ। दिनानुदिन बढ्दै जान्छ। उमेर, सिकाई, खोज र, जिन्दगी जिउने तरिका।
अन्ततः एकदिन हरकोहीलाई महसुस भइछाड्छ। त्यहीँ बाल मस्तिष्कमा हालिदिएको भए हुन्थ्यो। राम्रो र नराम्रो बीचको फरक। असल र खराब बीचको भिन्नता। आवश्यक र अनावश्यकको दूरी। कालो र सेतो वर्णको अर्थ। अचेलका बाबा-आमाहरू यहीँ कार्यक्रममा जुटेको देखिन्छ। जुन सकरात्मक सुरुआत हो।
यसलाई सकरात्मक सुरुआत कसरी भन्न सकिन्छ भने हामीले जे पनि यहीँ सत्य हो भनेर सिक्ने उमेर बचपन हो। यो उमेरमा सही र व्यवहारिक शिक्षा दिन सकियो भने युवा उमेर अर्थात् टिनएज कट्न बित्तिकै मेरो लागि के सही, के गलत भने कुनै पनि युवा मस्तिष्कलाई निर्णय गर्न अन्योल हुनेछैन। होइन भने टिनएजमा आउने शारीरिक, मानसिक र भावनात्मक प्राकृतिक परिवर्तन एकातिर र अर्कोतिर हाम्रो शिक्षा प्रणालीले लादेको भारी। यिनै दुईवटाको सन्तुलन मिलाउन नसकेर लगभगको जिन्दगी तनावग्रस्त छ।
हरेक व्यक्तिले सर्टिफिकेट त घरसम्म ल्याउँछ। दुःखद् खबर के छ भने उसको सर्टिफिकेटले उसलाई सक्षम बनाएको हुँदैन। मैले यो गरेको छु, त्यो गरेको छु भन्न काम लाग्छ। तर, बाँच्न त पर्यो नि होइन? सर्टिफिकेटले खान नदिने रहेछ। त्यसपछि कि त भिजा बनाउनु पर्यो कि त शैक्षिक बेरोजगारीको ट्याग लगाएर चिया पसलमा बस्नु पर्यो।
मैले त्यो अझै भुलेको छैन। जुन दिन सरकारले अब सर्टिफिकेट धरौटी राखेर लोन दिने कुरा गर्यो, त्यो दिन शैक्षिक बेरोजगारहरूले पार्टी नै गरेका थिए। सर्टिफिकेट धरौटीमात्र किन? सधैंका लागि लिए हुन्छ रे! शिक्षित पनि भन्ने अनि गरिबीको चपेटा परेर जीविकोपार्जन गर्न हम्मे-हम्मे हुने। अनि हुँदैन त मान्छे मानसिक रोगको शिकार?
छन्, लक्ष्मीप्रसाद देवकोटाजस्ता कविहरू जो आफ्नो शैक्षिक गरिबीले गर्दा जागिर गर्न बाध्य भए। छन्, पृश्विनारायण शाहजस्ता देशलाई चार जात छत्तिस वर्णको फूलबारी बनाउने युग पुरुषहरू जो हाम्रो शिक्षा दिने परपाटीले सामान्य सैनिक भएर असन्तुष्टिको सास फेरिरहेका छन्। छन्, विनोद चौधरीहरू जो अवसर नपाएर गाली गर्दै हिँड्छन्।
कहिलेकाहीँ यो पनि सोच्नपर्छ। कुनै आमाको कोख यति कमजोर कसरी हुनसक्छ। युग पुरुष जन्माउने त्यहीँ आमा कोख होइन? अहिले फरक पर्यो वातावरण, शिक्षा र दिक्षामा। यसरी कमजोर हुँदैछ। मानव सभ्यता।
भयो रे भूल भयो। माफ गरिदिऊ। तर, गल्ती कसरी दोहोर्याउन मिल्छ? यदि गल्ती फेरि-फेरि बारबार दोहोरिन्छ भने त्यसलाई गल्ती भन्न मिल्दैन। त्यो त सरासर अपराध हो। अब भएको गल्तीलाई मन्थन गरौं। हामी आगामी दिनहरूमा कसरी गल्ती गर्नबाट बच्न सक्छौं। योजना बनाऊ। बदलिने र बदल्नेका लागि जुन समय पनि उत्तम मानिन्छ।
अबको हाम्रो प्रयोग बाल मस्तिष्कमा हुनुपर्छ। युवा मस्तिष्कमा होइन। आजका बालबालिका भोलिका युवा हुन्। र, भोलिका युवा देशको वर्तमान बन्न पुग्छन्।
(लेखक उत्प्रेरक वक्ता हुन्।)