गाउँ जाँदा गोठ अनि खेतबारी हेर्न आतुर थिएँ। टमाटरको खेती निकै राम्रो भएको छ भन्ने कुरा बुबाले सधैं फोनमा भन्ने गर्नु हुन्थ्यो। त्यसैले, कपडा चेन्ज गरेर सिधैं टमाटर खेती गरिएको बारीतर्फ लागें।
जाने क्रममा तल्लो गोठमा एउटा बाच्छोलाई मरणासन्न अवस्थामा रहेको देखें। टमाटर हेर्ने कुरा अब मेरो मनको प्राथमिकतामा परेन। घर फर्किएर बुबालाई सोधें, 'बाच्छो निकै बिरामी परेको जस्तो छ नि। के भएको हो?'
'अब त्यसको अन्तिम बेला आएको हो। त्यही भएर नै तल्लो गोठमा सारेको।'
'अनि डाक्टर (पशु चिकित्सक) बोलाएर उपचार गरी हेरेको हो त?' मैले सोधेँ।
मेरो प्रश्न भुइँमा झर्न नपाउँदै बुबाले सहज रुपमा भन्नुभयो, 'के काम त्यो बाच्छोको? कसैले सित्तैमा पनि लाँदैन। बेकारमा किन खर्च गरिरहनु पर्यो? त्यसको अन्तिम नै यही हो।'
बुबाको कुरा सुनेर मन अमिलो भयो। बाच्छोको त्यो अवस्था आँखा अगाडि झलझली आयो। घरको त्यो बसाइमा गोठतर्फ झर्न मन लागेन। मनमनै निकै गाली पनि गरें आफ्नै परिवारलाई। मान्छे किन यति स्वार्थी भएको होला भनेर मानव अस्तित्वलाई पनि सरापें।
तर यो कथा मेरो घरको मात्र होइन, गाउँघरका सबैजसो गाईपालक कृषकहरूको हो भन्ने बुझ्दै गए पनि धार्मिक आस्था अनि आदर्शभन्दा पनि व्यवहारिकताको पाटो कति महत्वपूर्ण हुन्छ भन्ने बुझ्दै गएँ। मेरो यही अनुभवले नै मलाई यो लेख लेख्न प्रेरित गरेको हो।
कृषिमा आधारित परम्परागत नेपाली समाजमा गाई र गोरु अत्यन्तै महत्वपूर्ण थिएँ। अझ भनौं जीवनको आधार नै थिए। दूध, दही, घ्यु, पनिर, खुवा, आदि कुराको आधार गाई नै भएकाले गोधन नै सर्वोच्च धन थियो। को-कति धनीको मापन नै कसको गोठमा कति गाई छन् भन्नेबाट हुन्थ्यो। त्यसैले गोदानलाई उत्कृष्ट दान मानिन्थ्यो, मानिन्छ। धार्मिक र शास्त्रीय रुपमा हिन्दु समुदायमा गाईलाई अझै सर्वोच्च महत्व दिइन्छ।
गोरु कृषि कार्यको अभिन्न अंग थियो। गोरुले खेतबारी जोतेर नै कृषि कर्म हुने भएकोले गोरु बिनाको कृषि सम्भव नै थिएन। पहाडका साना-साना सुर्काहरूमा पनि सहजै जोत्न मद्दत गर्ने गोरु करिब ५ वर्ष अघिसम्म मेरो गाउँमा समेत बारी खनजोतको प्रमुख आधार थियो। तराईमा झन् खेत जोत्नेदेखि गाडामा सामान ढुवानी गर्न समेत गोरु कै प्रयोग हुन्थ्यो।
वर्तमान नेपाली समाजले बजार-व्यवस्था र पुँजीवादलाई पूर्णत: अंगालेको हालको समयमा अर्मपर्मको संस्कृति समेत लोप भएर सबै काम नगदमा हुन थालेका छन्। यस अवस्थामा नेपाली समाजले आर्थिक रुपमा सहज र ज्यादा लाभदायक प्रविधिको खोजी तथा अङ्गीकार गर्ने नै भयो।
रेमिट्यान्स, ग्रामीण विकास तथा प्रविधिको प्रभाव
हाम्रो कृषिमा गोरुको स्थान अहिले समाप्तप्राय: भएको छ। एक त रेमिट्यान्समा ग्रामीण जीवन आधारित हुन गएकोले खेती गर्ने चलन कम भएको छ जसको कारण पहाडी क्षेत्रको २५% देखि ४०% खेतीयोग्य जमिन अहिले बाँझो रहने गरेका छन्। अर्कोतर्फ ग्रामीण सडकको विकास र रेमिट्यान्सकै कारण नयाँ प्रविधितर्फ ग्रामीण जीवन आकर्षित भएको छ। कृषि गर्नेहरूले पनि परम्परागत कृषि छोडेर व्यवसायिक कृषिमा लागेका छन्।
सरकारले दिने अनुदान अनि अहिले कृषि कर्जा समेत सहज बनेपछि आधुनिक कृषि तिर नै कृषकको ज्यादा रुचि छ। समथर फाँटहरूमा ठूलो ट्र्याक्टरले जोत्न थालेको त धेरै नै भइसक्यो। अब पहाडका साँघुरा सुर्काहरू समेत हाते-ट्रयाक्टरले जोत्न थालेका छन्। ढुवानीको काम पूर्णत: ट्रयाक्टर र ट्रकले नै गर्छन्। घर-घरमा बाटो पुगेसँगै अब घर-घरमा अटो र डिआई गाडी पुगेर ग्रामीण जीवन निकै सहज बनाइरहेका छन्।
मानिसको जीवनलाई प्रविधिले सहज बनाएसँगै गोरुको लागि भने अहिले निकै नै कठिन समय बनेको छ। नेपाली समाजमा मासुको लागि प्रतिबन्धित गोरुको अन्य आर्थिक उपयोगिता ट्र्याक्टर लगायत प्रविधिले पूर्णत: समाप्त पारेपछि बाच्छोहरू कृषकहरूको लागि घाँडो बन्ने गरेका छन्। गाईलाई गर्भाधान गराउन केही ठाउँमा बिउ गोरु पालिए पनि कृत्रिम गर्भाधान नै सहज हुने भएपछि त गोरुको यो उपयोगिता समेत अब नेपाली समाजमा रहेन।
गाउँघर तिर आजकल गाई ब्याउँदा बाच्छी मात्रै पाओस् भन्ने कामना गरिन्छ। बाच्छी पायो भने त राम्रै स्याहार पाउँछ किनकि सोही बाच्छी गाई बनेर आर्थिक लाभ दिने स्थितिमा पुग्नेछ। तर बाच्छो पायो भने?
केही वर्ष अघिसम्म गाईपालक ब्राह्मण-क्षेत्री समुदायका कृषकहरूले बाच्छोलाई जनजाति समुदायलाई सित्तैमा दिन्थे। कमसेकम घरमा बाच्छोको बिजोक हेर्न त परेन। तर हालै गोरु काटेको निहुँमा जनजाति समुदायका मानिसहरूलाई कारबाही गरिएको समाचार बाहिर आउन थालेपछि गाईपालक किसानलाई झन् अप्ठ्यारो परेको छ। अब सित्तैमा समेत कसैले बाच्छो नलैजाने भएपछि किसानसँग के विकल्प छन् त?
बाच्छोहरूको कारुणीक स्थितिः कृषकका आफ्नै व्यथा
कुनै पनि आर्थिक लाभ नदिने बाच्छोलाई धेरै दूध खुवाउन किसानले चाहँदैनन्। त्यसैले, गाउँका गोठहरूमा प्रयाप्त दूध खान नपाएर निकै सकसका साथ बाच्छोहरू मर्छन्। कि त बेसी पानी खुवाएर पखाला चलाएर नै मारिन्छ। कसैलाई अलि धेरै नै माया लागेछ भने घास खान सक्नेसम्म भएपछि बाहिर छोडिन्न, आफ्नै भरमा बाच्नको लागि। भिरबाट गुल्टाएर मारिएका घटना पनि बाहिर नआएका होइनन्। गाउँमा सबैको बाध्यता यस्तै हुने भएपछि यो गाउँघरको लागि सहज विषय नै रहेछ।
यी कुरा सहरमा बस्ने या व्यवसायिक रुपमा गाई नपाल्ने हिन्दुहरूका लागि निकै असहज लाग्लान्। तर यदि ग्रामीण कृषिको बारेमा अध्ययन गर्नु भयो भने किसानको यो बाध्यतालाई तपाईंले नजरअन्दाज गर्न पाउनुहुन्न। पाप-धर्मका शास्त्रीय कुराले आम किसानको दैनिक रोजीरोटी चल्दैन। चल्छ त गाईले दिने दूध बेचेर आएको पैसाले नै।
कुनै आर्थिक उपादेयता नभएको बाच्छोलाई दानापानी-घाँस खुवाएर त्यसै पाल्ने आदर्श कुरा अत्यन्तै अव्यवहारिक छन्। त्यसैले, तिहारमा गोवर्धन पूजा गर्ने ग्रामीण नेपाली समाजले यो आदर्शलाई बोक्न सकेको छैन। आजको यथार्थ यही हो की मान्छेले आर्थिक उपादेयता नभएका कुरा पाल्दैन।
गोरुलाई पनि कुकुर-बिरालोलाई जस्तै पाल्ने सोख सहरी समाजमा आउने कल्पना गरे मात्र हो, होइन भने यथार्थ यही हो नेपाली समाजमा अब गोरुको अस्तित्व अर्थहीन मात्र होइन घाँडो नै बन्न पुगिसकेको छ।
विकल्प के छन् त?
बाच्छोहरूलाई जसरी निकै पीडादायक मृत्यु दिइने गरिएको छ, त्यसको समाधान के छ त? मैले दुई समाधान देख्छु। एउटा फेरि पनि प्रविधिसँगै जोडिएको छ। अर्को नेपाली समाजको मूल्यमान्यताको रुपान्तरणसँग सम्बन्धित छ।
१) बाच्छीमात्र जन्माउने कृत्रिम गर्भाधान प्रविधिको प्रयोग
यो प्रविधि भारतमा प्रयोग भएर निकै राम्रो परिणाम आएको समाचार भारतीय समाचार माध्यामहरूले दिएका छन्। विशेष प्रविधिमार्फत कृत्रिम गर्भाधानको लागि प्रयोग हुने वीर्यबाट 'वाई' क्रोमोजोम भएका शुक्रकिट हटाएर सेक्स-सर्टेट वीर्य तयार गरिन्छ जसको प्रयोगबाट बाच्छीमात्र जन्मिन्छ। भारतमा यस प्रविधि ९०% भन्दा धेरै सफल रहेको र महाराष्ट्र राज्यमा दूध उत्पादन बढाउन यो प्रविधि निकै लाभदायक भएको भन्ने समाचार आएका छन्।
नेपालमा पनि राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम, रामपुरले यो प्रविधि भित्र्याएको समाचार आएको थियो। यद्यपि आम कृषक माझ यो प्रविधि अझै पुग्न सकेको छैन। सामान्य वीर्यभन्दा सेक्स सर्टेड वीर्य महँगो पर्ने भएकोले पनि सरकारले अनुदानमार्फत राष्ट्रव्यापी प्रयोगको लागि सहजीकरण गर्नुपर्ने देखिन्छ।
२) गोरूलाई मासुको रुपमा प्रयोग गर्न कानुनी तथा सामाजिक प्रतिबन्धमा फुकुवा
नेपाली समाजमा थुप्रै जातीहरू छन् जसले गोरूको मासु सांस्कृतिक रुपमा नै प्रयोग गर्ने गरेका थिए। जनजाति र हिन्दु समुदायसँगै बसेको ठाउँमा केही अघिसम्म हिन्दुहरूले सित्तैमा बाच्छोहरू जनजाति समुदायलाई दिने गरेका थिए जबकि उनीहरूलाई राम्ररी थाहा थियो कि उनीहरूले मासुको लागि नै बाच्छो लिने गरेका हुन्।
यस अर्थमा ग्रामीण नेपाली हिन्दु समाज उदार बनिसकेको थियो, उदार नै छ। तर राज्यले नै प्रतिबन्ध लगाएको अवस्थामा बदलाभावले ग्रस्त केही मान्छेले प्रहरीलाई सूचना दिने अनि कानुनी विषय भएकोले प्रहरीले पनि पक्राउ गरेर कारबाही प्रकृया अगाडि बढाएको थुप्रै घटनाहरू सार्वजनिक भएका छन्।
फागुन २०७५ मा सुनसरीमा गोरु काटेको आरोपमा २ बाबुछोरालाई पक्राउ गरेको समाचार आयो। २०७७ चैतमा कास्की प्रहरीले गोरु काटेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो। खोटाङ प्रहरीले यही विषयमा ६ जनालाई प्रक्राउ गरेको समाचार २०७७ वैशाखमा आएको थियो। भदौ २०७८ मा स्याङ्जा प्रहरीले गोरु काटेको आरोपमा तीन जनालाई समातेको समाचार आयो। कात्तिक २०७८ मा सोही विषयमा रोल्पामा १३ जना पक्राउ परे। सबै घटनामा स्थानीयको सूचनामा नै प्रहरीले पक्राउ गर्ने गरेको देखिएको छ। र पक्राउ पर्नेमा दलित तथा जनजाति समुदायका नै रहेका छन्।
एकातिर गाईपालक कृषकहरूलाई बाच्छोको व्यवस्थापनको चरम समस्या छ भने अर्कोतिर जनजाति समुदायहरूले हिन्दु धर्मको गाई-गोरु खान नमिल्ने संस्कृतिकै आधारमा आफ्नो पृथक सांस्कृतिक अधिकार हनन भएको भन्ने विषय उठाएको निकै दशक बितेको छ। यसको मध्यमार्गी उपाय नेपाली हिन्दु समाज र नेपालको कानुनले गोरूको मासुजन्य प्रयोगलाई खुला गर्नु हुनसक्छ।
हिन्दु समुदायले धार्मिक आधारमा गोरुको मासु प्रयोग नगरे पनि जनजाति समुदायले यसको प्रयोग गर्न सक्ने व्यवस्था गरेमा बाच्छोहरूलाई कारुणिक मृत्यु दिन गाईपालक हिन्दु कृषकहरू बाध्य हुने छैनन्। बरु गाईले बाच्छो पाउँदा पनि उत्तिकै स्याहार गरेर पाल्नेछन् र उचित मूल्यमा बेचेर आर्थिक लाभ लिन सक्नेछन्। जातीय रुपमा मिश्रित रहेको हाम्रो समाजले यस किसिमको सहजताको लाभ उठाउन अब गाह्रो नमान्ने हो कि?
तिब्बतमा हाल बौद्ध र मुस्लिमहरूबीच राजनीतिक कारणले द्वन्द भए पनि पहिले उनीहरू निकै मिलेर बस्थे। उनीहरूको जीवन नै एकअर्कासँग जोडिएको थियो। कारण थियो मासुको विषय नै। तिब्बतका बौद्ध समुदायले मांसाहार गर्ने भए पनि पशुवध गर्दैन थिए। यसै कारण पशुवधको कार्य मुस्लिमहरूले गर्थे र मुस्लिमहरूको मासु पसलबाट मासु किनेर बौद्धहरूले खान्थे। समाजको आवश्यकता र आ-आफ्नो धार्मिक आस्थालाई यसरी उनीहरूले सन्तुलनमा राख्न सकेका थिए। सोही कुरा नेपालमा हिन्दु समुदाय र अन्य जनजाति समुदायबीच पनि हुनसक्छ।
गाईपालक हिन्दु किसानले त यसको महत्व पक्कै बुझेका पनि छन्। त्यसैले, उनीहरूले यसलाई सहज मान्ने नै देख्छु। बाँकी रहेको दूध मात्र खाने हिन्दु समुदायले समेत यसलाई सहज मानेमा कानुनी प्रतिबन्ध खोल्न पक्कै सकिन्छ। गाईको आर्थिक उपादेयता अझै रहेको र हिन्दु आस्थालाई सम्मान गर्दै गाईको वधलाई गैर-कानुनी बनाइराख्ने र बाच्छोको व्यवस्थापनको सामाजिक-आर्थिक जटिलतालाई सहजीकरण गर्न गोरुको मासुजन्य प्रयोगलाई खुला गर्नेतिर नेपाली हिन्दु समाज उदार बन्नु आजको आवश्यकता बनेको छ।
अन्त्यमा,
जसरी गाई र गोरुको आर्थिक उपादेयताले नै उनीहरूको सांस्कृतिक संरक्षणको नियम बनेका थिए, त्यसरी नै हालको परिवर्तित सामाजिक-आर्थिक संरचनाअनुसार ती नियममा फेरबदल हुनुलाई स्वाभाविक सामाजिक-आर्थिक रुपान्तरणको नै मान्न सकिन्छ। भारतको उग्रपन्थी हिन्दुबाट प्रभावित नभई नेपालको आफ्नै धरातलीय यथार्थ र आवश्यकता अनुकूल सामाजिक मूल्यमान्यतामा परिवर्तन गर्न नेपाली हिन्दु समाज अब उदार हुनु जरुरी छ। यसले उनीहरूकै आर्थिक जीवन सहज त बनाउने नै छ, साथै जनजाति समुदायसँगको सांस्कृतिक द्वन्दको समेत निवारण गर्नेछ।
(लेखक सामाजिक-राजनीतिक अभियान्ता तथा हाल चार्ल्स विश्वविद्यालय, चेक रिपब्लिकको स्नातकोत्तर विद्यार्थी हुन्।)