नाम: पुन्यवती रम्तेल
स्थान: अमेरिकाको न्युर्योक,
मिति:सन् २०१७ को अप्रिल
वर्ष दिनदेखि कोठा भाडामा दिइरहेका घरबेटीले सोचेका रहेछन् रम्तेल भनेको क्षेत्री हो। त्यसैले पुन्यवतीको बारेमा उनीहरूले कहिल्यै खोजीनीति गरेनन्। न त पुन्यवतीलाई आफ्नो थरको बारेमा बताउनै पर्ने त्यस्तो कुनै प्रसंग वा अवसर नै आयो।
र, बाँकी उनको पहिलो नाउँ पुन्यवती वा अरू जे सुकै भए पनि घरबेटीको मतलबको कुरै थिएन।
घरबेटीलाई पुन्यवतीको आनीबानी मनपरेको थियो। त्यसैले बेला बेला भनिराख्थे, ‘नानी सधै हाम्रोमा नै बस्नु है, तिमीले छोडेर गयौ भने त हामीलाई साह्रै नरमाइलो लाग्छ।’
पुन्यवतीले पनि मुस्कुराउँदै हुन्छ भन्थिन्।
एकदिन के सुरमा उनले घरबेटीलाई सुनाइन्, ‘मैले काम गर्ने नजिकै भनेको जस्तै कोठा पाइएको छ, सर्नपर्छ कि क्या हो। यताबाट काममा आउजाउ गर्न अलि टाढा भएर धपेडी भइराखेको छ।’
उनको प्रस्ताव घरबेटी श्रीमान श्रीमती दुबैलाई मन परेन। मलिन मुहार बनाएर दुबैले एकै स्वरमा भने, ‘तपाईं त हाम्रैमा बस्ने हो, कोठा सर्ने त कुरै नगर्नुस्।’
यस्तो मायालु बचनले पुन्यवतीको मन पग्लियो र अन्तत: घर छाडेर नजाने निर्णयमा पुगिन्। आफ्नो बचन नकाटेको देखेर घरबेटी पनि दंग परे।
त्यस्तै ४०-४५ वर्ष उमेर भित्र पर्ने ती घरबेटी दम्पत्ती मुखले मात्रै होइन, व्यवहारले पनि पुन्यवतीलाई औधी माया गर्थे। उनीहरू सरल र मिजासिला स्वभावका थिए। बिहानको चिया नास्ता उनीहरूले नै तयार गरेर राखिदिन्थे। बिहान बेलुका पनि आफूले जे खान्छन्, त्यही खाना खुवाउँथे।
घरबेटीको राम्रो व्यवहारले अमेरिकाको विरानो सहर न्युर्योकमा पनि पारिवारिक माहोलमा सुखले बसेकी थिइन् पुन्यवती।
एक साँझ, पुन्यवतीले दुई जना मन मिल्ने साथीलाई खाने र बस्नेगरी कोठामा बोलाइन्।
खानपिन सकेर तीनै जना लिभिङ रूममा बसेर गफ गर्न थाले। कुरा नेपालमा हुने जातीय विभेदमा केन्द्रित थियो।
तीनै जना खुलेर विभेदको कुरा साटिरहेका थिए। प्रसंग काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्याको बारेमा थियो।
छेउमै बसेर तीनै जनाको कुरा कान थापेर सुनिहरेका घरबेटीको त्यो दिन मात्रै चाल पाए कि, आफूले क्षेत्री होलिन् भनेर भाडामा राखेको पुन्यवती त सार्की रहिछिन्।
घरबेटीले पुन्यवतीको जात थाहा पाएको भोलिपल्ट बिहान पुन्यवतीको सामुन्ने आएर अलि ठूलो स्वर गरेर भने, ‘बहिनी हाम्रोमा एक जना मान्छे आउँदैछन्, हप्तादिन भित्रमा तपाईंले कोठा छाड्नुपर्ने भयो।’
एकैरातमा फेरिएको घरबेटीको स्वभाव र बोलीले पुन्यवती तीन छक परिन्।
सुरूमा त उनलाई आफ्नो जातले गर्दा होला भन्ने लाग्दै लागेन। तर पछि कुरा बुझ्दै जाँदा अड्कल काट्न गाह्रो परेन।
त्यसपछि उनले सोचेर घरबेटीलाई भनिन्, ‘मलाई एक महिनाको समय दिनुहोस्, म व्यवस्था मिलाउँछु।’
घरबेटीले झन् ठूलो स्वर गरेर भने, ‘एक महिनाको समय चाहिएको हो भने पहिलेको भन्दा धेरै भाडा तिर्नुपर्छ।’
घरबेटीले जस्तै रिस देखाएर फाइदै थिएन र तत्काल उनीसँग अरू विकल्प पनि थिएन। त्यसैले घरबेटीले धेरै पैसा मागे पनि हुन्छ भनिदिइन्।
केही महिनाअघि काम गर्ने नजिकै पाएको कोठा सर्छुभन्दा 'तपाईं त हाम्रैमा बस्ने हो, हाम्रोबाट अन्त जाने कुरै नगर्नुस्' भनेर ढिप्पी गर्ने तिनै घरबेटीले 'आजै निस्की, भोलि नै निस्की' भनेर हरेक दिन गनगन गर्न थालेपछि पुन्यवतीको मन असाध्यै दुखेको थियो। तैपनि दुखेको मन बुझाउँदै कोठा खोज्ने कामलाई तीव्रता दिनुपर्ने बाध्यता थियो।
त्यसको केही दिनपछि न्युयोर्क घर भएका एक जना नेपालीले 'आफ्नो घरमा एउटा कोठा खाली छ, इच्छुकले सम्पर्क गर्नुहोला' भनेर फोन नम्बर राखेर विज्ञापन छापेका रहेछन्।
पुन्यवतीले पनि तुरून्तै विज्ञापनमा दिएको नम्बरमा फोन गरिन् र कोठा हेर्न गइन्। उनलाई कोठा मनपर्यो।
त्यसरी कोठा भाडामा छ भनेर विज्ञापन नै छाप्ने घरबेटी भर्खरका युवा रहेछन्। त्यस्तै २७-२८ वर्षका।
सबै कुरा मिल्ने जस्तो छाँटकाट देखेपछि पुन्यवतीले प्रष्टसँग ती घरबेटीलाई भनिदिइन्, 'म दलित समुदायको मान्छे हुँ। तपाईंलाई कोठा दिन समस्या भए अहिले नै भन्नुस् है।'
ती युवाले तुरून्तै जवाफ फर्काए, 'केही समस्या छैन दिदी, अमेरिकामा बसेर पनि के जातको कुरा गर्नू, म त जातपात मान्दिनँ।'
उनले फेरि हाँस्दै भने, ‘म नै अमेरिकन भइसकेँ, काममा मजाले गाईको मासु खान्छु।’
पछि फेरि अल्लि सम्झिए जसरी उनले भने, ‘ए साच्चै घरमा बंगुरको मासु चाहिँ खान पाइँदैन है। यत्ति नगर्नू भयो भने अर्को हप्तादेखि नै बस्न आए हुन्छ।’
पुन्यवतीलाई उनको कुरा सुनेर ढुक्क लाग्यो। त्यसपछि एक महिनाको भाडा दिएर बिदा भइन्।
त्यसको ठ्याक्कै हप्तादिन पछि ती युवा घरबेटीले पुन्यवतीलाई फोन गरेर भने, ‘अहिले कोठामा बसिरहेकाले कोठा नै नछाड्ने भए। तपाईंले हेरेको कोठा त दिनै नमिल्ने भो नि दिदी।’
‘अनि अस्ति म त्यहाँ जादा कोठा खाली थियो, कोही पनि बस्दैन भन्नुभएको थियो त। कुरा पक्का भएर तपाईंले एक महिनाको भाडासमेत लिइसक्नु भएको छ। मैले त विश्वास गरिनँ है तपाईंको कुरा,’ पुन्यवतीले जवाफ दिइन् र फेरि भनिन्, ‘भाइ नढाँटी भन्नुहोस् त, तपाईंले पत्याउनै गाह्रौ पर्ने बहाना किन बनाउनुभएको?’
खै के सोचे कुन्नी, पछि धक नमानी चुरो कुरो खोलिदिए।
‘घरमा बुढी आमा हुनुहुन्छ। आमाले मान्नु नै भएन। आमाहरूको मानसिकता सानो छ मैले भनेर मात्रै नहुने। सरी है दिदी, माइन्ड नगर्नु होला। तपाईंले अस्ति दिनुभएको पैसा पनि फिर्ता गरिदिन्छु।’
पुन्यवती अक्क न बक्क परिन्।
धेरै दिनको कोठा खोज्ने रस्साकस्सीपछि बल्लतल्ल एउटा कोठा फेलापर्यो, अहिले बसाइ ठिकै छ।
पुन्यवतीको अनुभवमा आफू बसिरहेको अमेरिकाको सहर न्युयोर्कमा नेपालीले असाध्यै धेरै जातीय विभेद गर्छन्। आफ्नो नामपछिको थरले गर्दा दलित समुदायका मान्छे कुन दिन कहाँ कसरी जातीय विभेदको शिकारमा पर्ने हो थाहा छैन। मनमा सधैं डर लिएर हिँड्नुपर्छ।
उनी थप्छिन्, 'सात समुद्र काटेर विश्वकै शक्तिशाली देश अमेरिका आइपुग्दा पनि कथित उपल्लो जातका मान्छेले दलित समुदायलाई गर्ने हेलाले आफ्नै देशका मान्छे पनि आफ्नो जस्तो लाग्दैन। बरू पराइदेश मेक्सिकन, चाइनिज, भियतनामिजको घरमा बस्न पाए हुन्थ्यो। तर नेपालीको त घरैमा बस्नै नपरे हुन्थ्यो जस्तो लाग्छ।'
नेपालमा काठमाडौं उपत्यकामा हुर्किएकी पुन्यवतीको ललितपुर जिल्लामै घर छ।
भाडामा कहिल्यै बस्न नपरेकाले दलितलाई कोठा भाडामा हुने विभेदको बारेमा आफैंले अनुभव गरेकी थिइनन्। तर अमेरिकामा आएर भोग्दैछिन्।
पुन्यवती आफैं चाहिँ नेपालमा १९ वर्ष दलित अधिकारको क्षेत्रमा काम गरेकी अधिकारकर्मी हुन्।
उनको विचारमा २०-३० वर्षअघि नै अमेरिका छिरिसकेका कथित उपल्लो जातका नेपालीले नेपालमा जुन प्रकारको विभेद देखेर आएका छन्, त्यो कुरा उनीहरूको दिमागबाट हटेको छैन।
अझ कतिपयलाई त विभेद गर्नु हुँदैन भन्ने ज्ञान पनि छैन। काम-घर, घर-काम गर्ने उनीहरूको जीवनशैली यस्तो हुन्छ कि, आफूले नेपालमा जे देखेर आयो ज्ञानको दायरा त्यतिमा मात्रै सीमित छ।
उनी थप्छिन्, 'प्रायः हामी नेपालीको यहाँका अमेरिकनसँगै खासै संगत नै हुँदैन। संगत हुने भनेको आफूसँगै काम गर्ने नेपाली या त गैर अमेरिकनसँग हो।'
उनीहरू स-साना स्टोर, ग्यास स्टेसन, रेष्टुरेन्टमा काम गर्छन्। अनि यसरी काम गर्ने नेपालीहरू काममा नै यति धेरै व्यस्त हुन्छन् कि, चेतनास्तर पनि कामले नै खाइदिन्छ।
यता चेत भएका पनि सँस्कारको नाममा या त आफूभन्दा ठूलाको चित्त नदुखाउन भए पनि यसो गर्नुपरेको भन्छन्। कारण जे भए पनि अमेरिकामा जातपात हेरेर विभेद गर्ने नेपालीको जमात ठूलो छ।
न्युयोर्कपछि लागौं क्यालिफोर्निया। झण्डै तीन महिना अघिको कुरा हो।
अमेरिकाको क्यालिफोर्नियामा बस्ने विमल (नाम परिवर्तन) विश्वकर्माले एक जना चिनेको साथीलाई कोठा चाहिएको छ, कतै पाए खबर गर्नु भनेका रहेछन्।
संयोग पनि कस्तो भने विमल जस्तै एक्लो मान्छे पाए कोठा दिन तयार रहेका एक जना घरबेटीले कोठा छ हेर्न आउनू भनेर बोलाए। खबर पाएकै दिन कोठा हेर्न गए। घर, कोठा दुबै चित्तबुझ्दो लाग्यो विमललाई।
घरबेटीले तीन वटा कोठा भाडामा दिने गरेका रहेछन्। दुई वटा कोठामा दुई जना भारतीय नागरिक बस्दा रहेछन् र अर्को कोठा खाली भएकाले मान्छे खोजिरहेका रहेछन्।
त्यही बीचमा विमल कोठा हेर्न उनको घर पुगेका थिए। अनि भनेजस्तै मान्छे पाइएकाले होला घरबेटीले निक्कै खुसी भएर घरको चारचौरास घुमाए। त्यसपछि भान्साछेउ टक्क उभिएर भने, ‘हाम्रोमा बंगुरको मासु चाहिँ पकाउन पाइँदैन। त्यत्ति नगर्नू भयो भने कोठा दिने कुरा पक्का गरिदिन्छु।’
विमलले हाँस्दै भने, ‘मैले आजसम्म बंगुरको मासु नै खाएको छैन, पकाउने त कुरै भएन।’
विमलको उत्तरले घरबेटी झनै खुसी देखिए। घरधनीले सोचेजस्तै मान्छे र विमलले खोजेजस्तै फरासिला घरबेटी पाए।
कोठा हेरिवरि घरबाहिर निस्केर पार्किङलटमा उभिएर उनीहरूबीच केहीबेर कुराकानी भयो।
'तपाईंलाई कोठा मन परेको हो भने अहिलेलाई पाँच सय डलर बैना दिनुहोस्, मैले पनि कसैलाई देखाइराख्न पर्दैन, तपाईंलाई पनि ढुक्क, मलाई पनि ढुक्क' घरबेटीले विमलसँग कोठाको कुराको बिट मार्न खोजे।
घरबेटीकै आग्रह अनुसार विमलले पनि त्यहीँ उभिएरै उनको खातामा पैसा पठाइदिए र भने, ‘मेरो नाम विमल विश्वकर्मा हो, तपाईंको अकाउन्टमा त्यहीँ नामबाट पैसा आयो होला चेक गर्नुस् है।’
घरबेटीलाई अकाउन्टमा पैसा आएको नोटिफिकेसन आयो। विमल ढुक्क भए अनि सामान सार्ने चाँजोपाँजो मिलाएर छिट्टै सर्ने बचन दिएर हाँस्दै बिदा भए।
तर त्यही दिन साँझ विमललाई दिउँसो बैना लिएर कुरा पक्क गरेका घरबेटीले फोन गरेर भने, ‘भाइ हेर्नुहोस् न मेरो घरमा भाडामा बस्नेसँग तपाईंलाई देखाको कोठा भाडामा दिने सल्लाह भाकोथ्यो। उनीहरूले कोठा नदिनू भनेका छन्।'
अनि अर्को कुरा मेरो नेपालतिरबाट पनि मान्छे आउँदैछन्। फेरि तपाईंलाई त्यो बेला हटाउन पनि अप्ठ्यारो। अहिलेलाई यस्तै भयो सरी है भाइ। मैले तपाईंले दिएको पैसा फिर्ता गरिदिन्छु, माइन्ड नगर्नुस् है,’ भनेर फोन काटे।
सबै कुरा पक्का भएर पनि कोठा दिन मिल्दैन भन्ने खबर सुनाएका घरबेटीको कुराले विमल रनभुल्लमा परे।
धेरैबेर सोचे। टोलाए। अनि ती घरबेटीलाई फोन गरेर भनिदिए, 'जब तपाईंले मलाई कोठा दिने कुरा पक्का गर्नुभएको थियो, त्यति बेला त आफ्नो श्रीमतीसँग सल्लाह गर्नुपर्छ भन्ने पनि सोच्नुभएन? ठाउँका ठाउँ कुरा पक्का भएको थियो। अनि अहिले आएर घरभाडामा बस्ने मान्छेले मानेन भन्ने कारण देखाएर कोठा नदिने कुरा गर्नुभयो।
कोठा हेर्न आएको बेला त तपाईंले म जस्तै मान्छे खोजेको हो भनेर खुसी हुनु भएको थियो। तर अहिले दिन्नँ भन्दै हुनुहुन्छ। तपाईंले नभने पनि किन कोठा दिनुभएन भन्ने कुरा चाहिँ मैले थाहा पाइसकेँ।'
विमलले यत्ति के भनेका थिए घरबेटीले भनिहाले, 'तपाईंले जातको कारणले भन्ने सोच्नुभएको होला। हुँदै होइन है त्यस्तो कारण। अहिलेको जमानामा पनि कहाँ त्यस्तो सोच्नुभएको।’
विमलले जातको ज पनि मुखबाट निकालेका थिएनन्। तर घरबेटी आफैंले जात चाहिँ कारण होइन है भनेर जिद्दी गरे।
ती घरबेटीले जति नै जिद्दी गरे पनि सबै कुरा पक्कापक्की भएर पैसा समेत बुझिसकेर अन्तिममा भाडामा बस्नेलाई समस्या हुने बहाना देखाएर कोठा नदिनुमा अरू कुनै कारण हुनै सक्दैन।
विमल ठोकुवा गरेर भन्छन्, ‘बैना दिँदा बैंकमा पैसा पठाउनेको पुरा नाम थर हेरेपछि दिनभरि सोचेर साँझ कोठा नमिल्ने खबर दिएका हुन् ती घरबेटीले।’
नेपाल छँदा दलित अधिकारको क्षेत्रमा सक्रिय भएर काम गरेका विमलले नबुझेकालाई विभेद गर्न हुँदैन भनेर चेतना दिएर हिँडे। तर अहिले अमेरिकाको ठूलो सहर क्यालिफोर्नियामा आफूले भोग्नुपरेको नमिठो अनुभवले मन पोलेको छ।
सबैकुरा बुझेर पनि बुझ पचाउँदै जातले हुँदै होइन भनेर कुरा लुकाउने तर जातकै कारण कोठा भाडामा नदिने घरबेटीलाई कसरी सम्झाउन सकिन्छ भनी उनी थप बुझ्न चाहन्छन्।
अब लागौं भर्जिनियातिर।
केशव (नाम परिवर्तित) सेवाको कथा पनि माथि उल्लेख गरिएको भन्दा फरक छैन।
‘कोठा त छ तर जात नमिल्ने भएकाले दिँदैनौं भनेका छन्,’ बिरामीले थला परेका केशवलाई कोठा खोजिदिने जिम्मा लिएका एक जना हितैसी मित्रले निराश भएर सुनाए, ‘मान्छे भर्खरकै भए पनि कन्जरभेटिभ सोचाइका छन्। कोठा नपाइनसक्छ भन्ने त लागेकै थियो। आखिर त्यही भयो। के गर्ने मेरोमा भएको भए दिहाल्ने थिएँ।’
केशवका मित्रका अनुसार कोठा भाडामा राखेका घरबेटीले 'गैरदलित कोही चिन्नुहुन्छ भने भन्नुहोला तर तल्लो जातको मान्छेलाई मेरो घरमा कोठा दिन्नँ' भनेर पठाएका रहेछन्।
जातकै कारण देखाएर कोठा नदिने नेपाली घरबेटी सम्झेर दिक्क भएका केशवलाई जातपात मान्ने नेपालीको घरमा चाहिँ बस्नै नपरे हुन्थ्यो लाग्छ। वर्ष दिनअघि अपराधिक समूहको आक्रमणमा परी गम्भीर चोट लागेर उपचार गराइरहेका केशव त्यति ठूलो दुर्घटनापछि पनि उपचारले बाँचे।
दुःखमा आडभरोसा दिन र उनको हेरचाहमा खटिन अमेरिका आइपुगेकी श्रीमती पनि श्रीमान तंग्रिएपछि स्वास्थ्य लाभको कामना गरेर नेपाल फिरिन्।
बिरामी हुँदा आफन्तको शरणमा बसिरहेका उनले एक दिन आफ्नो मनमिल्ने मित्रलाई उँचो मनोबल बनाएर भनेका थिए, 'अब मेरा लागि कोठा खोजिदिन सहयोग गर्नुस्। म फेरि पुरानै लयमा फर्किन चाहन्छु। काममा फर्कन्छु, छुट्टै कोठा खोजेर बस्छु।'
तर पैसा तिरे पाइने एउटा सानो कोठा पनि जात नमिल्दा पाइएन भन्ने कुराले उनलाई आत्मबल गिरेको महसुस गरायो।
६ वर्षअघि झोला बोकेर अमेरिकाको यात्रा तय गर्दै गर्दा केशवलाई लागेको थियो- देशमा पो विभेद छ। विदेशमा त सबै समान, सबै बराबर, आफ्नो मनमर्जी।
तर यहाँ भिज्दै गएपछि पो थाहा भयो- जात हेरेर निच व्यवहार गर्ने नेपालीको जमात अमेरिकामा पनि कमी रहेनछ।
धेरै कुरामा आफूलाई अमेरिकी जस्तै बनाइसकेका नेपालीले आफ्नै देशका मान्छेलाई किन जात हेरेर निच व्यवहार गर्छन् होला?
सबै कुरा फेरियो तर जात हेरेर गर्ने व्यवहार मात्रै फेर्न नसकेको देख्दा उनलाई चित्तै बुझ्दैन।
नेपालमा झन्डै २५ वर्ष दलित अधिकारको क्षेत्रमा काम गरेका केशवले धेरैलाई विभेद गर्नु हुँदैन भनेर सचेत गराए। तर अमेरिका आएर पनि विभेद गर्न नछोडेकालाई कसरी सचेत गराउने उनी पनि थप छलफल गर्न चाहन्छन्।
नेपाली मूलका घरधनीले जात हेरेर गर्ने विभेद त छँदै छ, अझ बराबरी पैसा तिर्नेगरी लिएर बसेको अपार्टमेन्टमा पनि दलित समुदायको परिवार वा व्यक्तिलाई आत्मसम्मान गिर्ने गरी विभेद हुने रहेछ।
अमेरिकामा खर्च कम गराउन दुई परिवारले आधाआधा पैसा तिरेर एउटै अपार्टमेन्ट लिएर बस्ने नेपाली प्रशस्तै छन्। अझ केही परिवारले त आफूले लिएको अपार्टमेन्टको एउटा कोठामा चिनेजानेका कसैलाई राखेर महिनावारी पैसा लिन्छन्।
नाम नबताउने शर्तमा एकजनाले सुनाए, 'त्यसरी बस्ने परिवार वा व्यक्ति दलित समुदायको भए पहिल्यै सचेत गराएर भन्छन्। हामीलाई त केही समस्या छैन तर हाम्रो साथीभाइ आउँदा तपाईंको वास्तविक जात कसैलाई नभन्नू है। अनि अझ नेपालमा भएका आफ्ना बाआमाको डर देखाउँदै हाम्रो बाआमाले नेपालबाट फोन गर्दा तपाईंहरूसँग बोल्नुभयो भने तपाईंको वास्तविक जात नभन्नुहोला है भन्छन्। बाहुन, क्षेत्री जे थर भने पनि हुन्छ तर तपाईंको थर चाहिँ नभन्नुहोला, उहाँहरूलाई नमज्जा लाग्छ अनि हामीलाई पनि गाह्रो पर्छ भन्छन्।'
उनले थप सुनाए, 'तर अचम्मै लाग्ने कुरा चाहिँ आफ्ना सन्तानले यहाँका अमेरिकन वा अरू देशका जो कोहीसँग अपार्टमेन्टमा साथी भएर बस्दा हाम्रा नेपाली बाआमालाई कुनै पनि कुराले समस्या हुँदैन। तर आफ्नै देशका मान्छेसँग बस्दा जात मात्रै नमिलेको थाहा पाउनुपर्छ उनीहरुको चित्त दुख्छ, इज्जत जान्छ, कुलले सहदैन आदि इत्यादि।'
उनी भन्दै गए, 'अमेरिकाको ठूला विश्वविधालयमा अध्ययन गरिरहेकाले समेत नेपालमा बस्ने बाउआमाको चित्त नदुखाउन थर हेरेर भाडामा राख्छन्। कथित तल्लो जातको मान्छे हो भन्ने लाग्यो भने हिच्किचाउँछन्। यदि राख्नै परे पहिल्यै सावधान गराउँछन्। यस्तो व्यवहारले गर्दा खुम्चिएर बस्नुपर्ने बाध्यता छ। आफूलाई विभेद भए पनि पीडितले सबै कुरा सहिदिएका छन् र त नेपाली समाज मिलेर बसेको देखिन्छ नत्र त जातको आगो भित्र भित्रै सल्किरहेको छ।'
घर वा अपार्टमेन्टमा विभेद भएको महसुस गरेका माथिका कसैले पनि कोठा दिनैपर्ने थियो, नदिएर ठूलो भुल गरे भनेका छैनन्।
त्यस्तो कोठा अरूका घरमा पनि छ तर सबै कुरा मिलिसकेपछि पनि जातले गर्दा किन कुरा बिग्रिन्छ? मुख्य समस्या यहाँ छ। पीडा भोग्नेहरू भन्छन्, 'हामीले पनि अरूले जस्तै पैसा नै तिर्ने हो, घर नै बिगारेर हिँड्ने पनि होइन तर जातले गर्दा समस्या भइहाल्छ।'
गैर दलित भए सबै कुरा मिल्ने तर दलित भन्ने थाहा पाएपछि कोठा नै नदिने, यदि दिएको छ भने बसिरहेको कोठाबाट निकालिदिने घरबेटी प्रशस्तै छन् अमेरिकामा।
आफ्नो निजी सम्पत्तिमा आफ्नै मनमर्जी हुन्छ, को व्यक्तिलाई कोठामा राख्ने, कसलाई नराख्ने नितान्त व्यक्तिगत निर्णयको कुरा हो त्यसलाई स्वभाविक नै मान्नुपर्छ। म कसैलाई पनि मेरो घरमा भाडामा राख्दिनँ भन्न पाइन्छ। तर दलित समुदायको भएकै कारण कोठा दिन्नँ भन्न पाइँदैन।
अपार्टमेन्ट लिएर बस्नलाई नियम अनुसार लिजमा बस्नुपर्छ। त्यसमा तोकेअनुसार नै जति वर्षको भनेको छ त्यति नै वर्ष अपार्टपेन्ट छाड्न पाइँदैन। त्यसैले त्यसरी लिजमा बस्नुभन्दा कसैको घरमा बस्न पाइयो भने सस्तो पनि हुने अनि जतिबेला मनलाग्यो त्यतिबेला छाड्न पाइने भएकाले पनि भाडामा बस्नुपर्ने रहर र बाध्यता दुबै छ।
तर जात हेरेर व्यवहार गर्ने नेपालीको बानी नफेरिएकाले दलित समुदायका मान्छेलाई समस्या भइरहेको छ। त्यो पनि अमेरिका जस्तो विकसित मुलुकमा।
नेपालमा जस्तो ठ्याक्कै जातको आधारमा कोठा नदिनेलाई कारवाही गर्ने कानुनी प्रावधान छैन। घर भाडामा लगाउने सम्वन्धी अमेरिकन कानुन फेडरल हाउजिङले जात, रंग, देश, लिंगको आधारमा विभेद गर्न पाइँदैन भन्छ। तर ठ्याक्कै माथि उल्लेख गरिएको जस्तो अवस्थामा के गर्ने स्पस्ट कानुन छैन।
मलाई जातकै कारण देखाएर कोठा नदिएको हो भनेर प्रहरीकहाँ कुरा लिएर गयो भने पनि प्रमाण चाहिन्छ। अनि घरबेटीले मैले जात हेरेर कोठा नदिएको हो भनेर प्रहरीलाई सत्य कुरा पक्कै बताउँदैनन्। प्रमाण जुटाउनै अप्ठ्यारो छ।
अनि अर्को कुरा विभेद भोगेको र विभेद भएको महसुस गरेकाले पनि उनीहरुलाई ठूलै कानुनी कारवाही हुनुपर्छ वा जेल चलान गर्नुपर्छ भनेका छैनन्। कम्तीमा पनि संसारकै सम्पन्न र विकसित मुलुकमा बस्ने मान्छेहरूले मान्छेलाई गर्ने व्यवहार समान हुनुपर्छ भन्ने नै हो।
तर लाजै नमानी जात हेरेर कोठामा समेत विभेद गर्नेहरू बढेका बढ्यै छन्, सहनेहरू सहेका सह्यै छन्।