नेपालको मौसम यति बेला चिसो छ। तर क्रिकेटको मौसम भने तातिएको अवस्था छ।
राष्ट्रिय खेलाडीहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि नेपाल क्रिकेट संघको बहुमत सदस्यले गरेको 'कारबाही' ले यति बेला देश विभाजित छ।
सो निर्णयले ल्याएको भूकम्पको पराकम्पन नियमितजस्तै देखिएको छ जसले गर्दा राष्ट्रिय टिमको मानसिक एकता क्षतविक्षत छ।
'आई एम् डन' को लहर र नयाँ कप्तानको 'स्वागत' ले सावित गरिसकेको अवस्था हो यो। यस अवस्थामा क्रिकेट म्यानेजर विनोद दासको दाबी र आशय पनि थियो,'पुबुदु फ्याक्टर खेलाडी गुट अन्त्यका लागि' पनि हो। तर ठिक उल्टो त्रिभुवन विमानस्थलमा अवतरण गर्नासाथ पुबुदुको प्रतिक्रिया थियो,'नेपाली क्रिकेटमा देखिएको विवाद सामान्य हो।' जबकि विवाद सामान्य होइन।
खेलाडी कारबाही प्रकरणमा नेपाल क्रिकेट संघ आफैं विभाजित रहेको अवस्था र २०२२ को मूडमा रहेको नेपाली क्रिकेटमा उनको कुरा फिक्का हुन पुग्यो।
कप्तान परिवर्तनमा पनि उनले बोर्डको अधिकार हुने भन्दै नेपाल देश र नेपाली राष्ट्रियताबारे भावनात्मक कुरा अगाडि सारे, जबकि नेपाली खेलाडीहरूको त्यागबारे उनी राम्रैसँग जानकार छन्।
हिजो आउँदा उनी जस्तो थिए, उस्तै त आज पनि छैनन्। नेपाली क्रिकेट समर्थकहरूमा पनि उनीप्रति जुन सदभाव थियो, त्यो आज विभाजित छ। २०११ र २०२१ को पुबुदुमा पनि पक्कै फरकपन छ। जुन जोश उनी पहिलो पटक आउँदा थियो, अहिले त्यो देख्न पाइएन।
यस्तो लाग्छ, उनी हरेक कुरा अहिले दबाबमा बोलिरहेका छन्। ती पुबुदु कतै हराए, छुट्न पुगे।
नेपालको स्टाटस हेरेर उनले भन्ने गरेको परिवर्तन पनि केबल खेलमा हो, संरचनामा होइन। उनको तलबमा हो, पद्दतिमा होइन। यसबारे उनी राम्रोसँग जानकार छन्। खेलाडी संरचना अन्तर्गत होइन, आज पनि टिपेर लिनुपर्ने अवस्था छ।
देशको क्रिकेट प्राइभेट लिग र एकेडेमीहरूले आर्थिक जोखिम उठाएर भए पनि धानिरहेका छन्। साथ दिइरहेका छन्। यो पनि उनलाई थाहा छ। न कुनै संरचना न क्रिकेट संघ भित्रको एकता, उनको दोस्रो इनिङ निकै चुनौतीपूर्ण देखिन्छ।
सपना र योजनाको दुहाइ दिएका प्रशिक्षकले आफूलाई नेपाल क्रिकेट संघले सहयोग र साथ दिने पनि बताइसकेका छन्। तर उनको स्वीकारोक्ति पनि छ, खेलाडी कारबाही प्रकरणमा क्यानको निर्णय उनलाई मन्जुर छ।
हुन त नवनियुक्त कर्मचारीको भाषा उनले बोले तर जुन हिनताबोध लिएर भने पुबुदु यसअघि फर्किएका थिए, आज नि त्यही अवस्था छ। भएको टियु ग्राउन्डको स्तरोन्नति छैन। खोलिएको नेपाल क्रिकेट एकेडेमी बन्द छ। खेलाडी छनोट २/४ खेलबाट अन्दाज लगाउनुपर्ने अवस्था छ।
हौसलाभन्दा विवाद र हल्ला बढी छ। राष्ट्रिय टोलीको एकता जोगाएर अघि बढ्ने विषयमा मूल म्यान्डेट पाएका पुबुदुले 'कप्तान परिवर्तन' नहुने निर्णय सुनाएर आत्मघाती गोल गरिसकेका छन् भने कन्ट्रयाक्टको कारबाही फुकुवाको अनुरोध गरेको भनेर दया भाव देखाएर गल्ती गरिसकेका छन्।
खेल्न पाउने अधिकार सुरक्षितको अनुरोध संघद्वारा सदर भयो भनेर यसअघि क्रिकेट म्यानेजर विनोद दासले पनि यस्तै दयाभाव देखाएका थिए। राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई दया होइन, न्याय चाहिएको हो।
२०१४ मा पुबुदुले प्रशिक्षकमा निरन्तरता नपाए क्रिकेट छाड्ने घोषणा गरेका पारसको 'साहस' बारे पनि उनलाई स्मरण होला।
आज ज्ञानेन्द्र मल्लको 'साहस' पनि ठ्याक्कै त्यस्तै हो। त्यसबेला पारस प्रशिक्षकका लागि लडेका थिए भने आज खेलाडीहरू आफ्ना लागि लडेका छन्। आफ्ना खेलाडीहरूका गुनासा र असन्तुष्टि कप्तानका हिसाबले प्रस्ट रूपमा क्यानलाई बताइसकेका थिए। लिडर यज् अ लिडर।
खेलाडीले कहिल्यै पनि तलब, सेवा, सुविधालाई प्रशिक्षकसँग तुलना गरेनन्। त्यसैले होला प्रशिक्षकको तलबबारे कहिल्यै प्रश्न उठेन।
यो उनीहरूको ठूलो त्याग हो भन्ने लाग्छ। जबकि प्रशिक्षकको १० दिनको तलब बराबर ए श्रेणी क्रिकेट खेलाडीको वर्षभरिको तलब हुने रहेछ।
ग्राउन्ड त्यही, बन्न नसकेको संरचना उही। विवाद उही र उस्तै। तर आज सबै सामान्य। किनकि उनी फेरिए, अर्थात् पुबुदु। नेपाल फर्किने उनको निर्णय अग्रगमन होला या प्रतिगमन, समयले बताउँला नै। अहिलेलाई नेपालीको धर्म पाहुनालाई स्वागत, सफल कार्यकालको शुभकामना!