अमेरिका संसारका धेरै ठाउँका मानिसहरूको लागि सपनाको संसार हो। संसारका एक सय पाँचभन्दा बढी देशका मानिसहरू अमेरिकामा आएर बसोबास गरिरहेका छन्। भाँडा माझ्ने मेसिनदेखि लिएर सार्वजनिक यातायातमा यात्रा गर्दा समेत संसारमा निर्मित आधुनिक उपकरणहरूको प्रयोग गरिएको हुँदा अवश्य पनि विकासोन्मुख मुलुकहरूबाट जाने मानिसहरूको लागि केही समय सिकाइमा नै बित्ने गर्छ।
अर्को चाखलाग्दो तर धेरैले याद नगर्ने कुरा के छ भने काम गर्दा 'अमेरिकन वे' अनुरुप गर्नुपर्ने हुन्छ, जहाँ आफ्नो र अरु मानिसहरूको सुरक्षालाई विशेष महत्व दिने गरिन्छ। जुन कुरा भाडा माझ्ने, भुइँ सफा गर्ने कामदेखि लिएर अत्याधुनिक उपकरणहरू संचालन गर्दा समेत लागु गरिन्छ।
नेपालीहरू पनि सपनाको देश भनिने अमेरिकामा उत्तिकै आकर्षित देखिन्छन्। डिभी लोटरी, विद्यार्थी भिसा, पर्यटक भिसा लगायत विभिन्न माध्यमहरूमार्फत अमेरिका भित्रिने नेपालीहरूको संख्या बढ्दो छ। जति पनि नेपालीहरू अमेरिका पुग्न सफल भएका छन्, अधिकांश शिक्षित र सम्पन्न छन्। यद्यपि सही मार्ग निर्देशकको अभावमा होला, स्थापित हुन धेरै समय लागेको देखिन्छ।
लस एन्जेल्स टाइम्सले अप्रिल २०१९ मा प्रकाशित गरेको रिपोर्टअनुसार अमेरिकामा दुई लाखभन्दा बढी नेपालीहरू रहेका छन्। यो संख्या अवश्य पनि धेरै माथि पुगेको छ। नेपालजस्तो गरिब मुलुक त्यसमा पनि नेपालको दुर्गम गाउँहरूबाट अमेरिका भर्खर प्रवेश गर्दा होश हवास हराउने गर्छ।
त्यसमा पनि यदि आफ्नो आफन्तजनहरू र साथीभाइहरू साथमा हुनु भएन भने त कुहिरोमा हराएको काग झैं बन्न पुगिन्छ। यस्तो अवस्थामा कहाँ के गर्ने भनेर सही समयमा सही सुझावहरू दिने व्यक्तिहरू पाउन पनि गाह्रो हुन्छ। त्यसकारण अमेरिकामा सजिलैसँग दीर्घकालीन रुपमा स्थापित हुनको लागि तल केही बुँदाहरूमा उल्लेख गरिएको छ।
अंग्रेजी भाषा सिक्नुहोस्
तपाईं यदि अमेरिकामा रहने योजनामा हुनुहुन्छ भने सर्वप्रथम अंग्रेजी भाषा सिक्नुहोस्। यदि तपाईंले विदेश जाने योजना बनाउनु भएको छ र अंग्रेजी भाषामा राम्रो दख्खल छैन भने नेपालमा रहँदा नै अंग्रेजी भाषा सिकाउने इन्स्टिच्युटमा गएर अंग्रेजी भाषा बोल्न र लेख्न सिक्नु भएमा यहाँ आएपछि भाषा नजान्दा झेल्नु पर्ने समस्याबाट केही हदसम्म मुक्त पाउनु हुनेछ।
यदि नेपालमा नै अंग्रेजी भाषा सिकेर आउन पाउनु भएन भने आत्तिनु पर्दैन। यहाँ अमेरिकाको पब्लिक लाइब्रेरीहरूमा निःशुल्क अंग्रेजी भाषाहरू सिकाइन्छ। आफ्नो नजिकको पब्लिक लाइब्रेरीमा सम्पर्क गरेर आफूलाई मिल्ने समय तालिका हेरेर अंग्रेजी सिक्न सक्नु हुन्छ।
यसको अतिरिक्त यहाँ पैसा तिरेर भाषा सिकाउने इन्स्टिच्युटहरूमा पनि सिक्न सक्नु हुन्छ। साथै अहिलेको इन्टरनेटको दुनियाँमा इन्टरनेटको प्रयोग गरेर आफैले पनि सिक्न सकिन्छ। यदि भाषा राम्रोसँग नजान्दा राम्रा अवसरहरू पनि गुमाउनु पर्ने हुनसक्छ। त्यसैले अंग्रेजी भाषा नै सबैभन्दा महत्वपूर्ण कुरा हो भन्दा अत्युक्ति नहोला।
असल व्यक्तिहरूको संगत गर्नुहोस्
अमेरिकामा तपाईंले कति चाँडो प्रगति गर्नुहुन्छ भन्ने कुरा तपाईंले कस्ता मान्छेहरूको संगत गर्नुहुन्छ भन्ने कुराले पार्दछ। यदि तपाईंले आफू वा त्योभन्दा तलको व्यक्तिहरूको संगत गर्नु भएमा तपाईंमा उत्प्रेरणा जाग्दैन। जसको कारण तपाईंसँग खुबी भएर पनि बेकम्मा हुन्छ। त्यसैले जहिले पनि आफूभन्दा माथिल्लो स्तरका सक्षम व्यक्तिको संगत गर्नुहोस्।
उनीहरूबाट तपाईं स्वतः प्रेरित भएर तपाईं पनि उहाँहरूकै बाटोमा लाग्नु हुनेछ। तपाईं नयाँ भएको थाहा पाएपछि तपाईंलाई धेरैजना सल्लाहकारहरूले सल्लाह बाढ्न सक्छन् तर ती सल्लाहरूलाई छान्ने काम तपाईं आफैले गर्नुपर्ने हुन्छ। सल्लाह लिँदा सल्लाह दिने व्यक्ति कत्तिको गतिलो छ त्यो हेरेर मात्र लिनुहोला। अमेरिका तीन दशकदेखि बसे पनि उल्लेखनीय प्रगति गरेको देखिन्न भने त्यो व्यक्तिको सुझाव लिने वा नलिने आफैले अड्कल काट्नुहोस्।
अमेरिकी शिक्षा लिनुहोस्
अमेरिकामा सजिलैसँग राम्रो कम्पनीहरूमा विभिन्न सुविधाहरू सहितको काम पाउनको लागि सामान्यतय अमेरिकी युनिभर्सिटीहरूबाट शिक्षा लिएको वा अमेरिकाभन्दा बाहिरी मुलुकहरूबाट लिइएको शिक्षालाई पुनः अमेरिकी युनिभर्सिटीहरूबाट चोख्याइनु पर्छ।
उदाहरणको लागि: यदि तपाईंले गणित विषयमा नेपालबाट मास्टर्स डिग्री गर्नु भएको छ भने यहाँको युनिभर्सिटीले तपाईंको सम्पूर्ण कागजातहरूको मूल्यांकन गरेर फेरि मास्टर्स डिग्रीको उपाधी पाउनको लागि केही सेमेस्टर पढ्नु पर्ने हुन्छ। अमेरिकीहरू विज्ञान र गणित विषयमा प्रायः कमजोर हुने भएकाले यदि यी विषयहरूमा तपाईंको डिग्री छ भने विद्यालय र युनिभर्सिटीहरूमा पढाउने काम सजिलै मिल्न सक्छ।
अर्को महत्वपूर्ण जान्नै पर्ने कुरा के भने मानवशास्त्रजस्ता विषयहरू लिएर अमेरिकी युनिभर्सिटीहरूबाट नै डिग्री गरेको भए पनि काम पाउन धेरै गाह्रो र अति कम तलब मिल्ने हुन्छ। त्यसैले स्वास्थ्यसेवा क्षेत्र, कम्प्युटर साइन्सजस्ता विषयहरूमा डिग्री लिँदा अति राम्रो तलब र सुविधाहरू मिल्छ। यदि तपाईं कडा परिश्रम गर्न रुचाउनु हुन्छ र छोटो समयमा सुन्दर भविष्य बनाउन चाहनुहुन्छ भने स्वास्थ्य सेवा सम्बन्धीको विषयहरू अध्ययन गर्नुहोस्।
अहिले अमेरिकामा उच्च मागमा रहेका स्वास्थ्यसेवा सम्बन्धी केही महत्वपूर्ण विषयहरू नर्सिङ, क्लिनिकल ल्याबोरेटोरी साइन्स, रेस्पिरेटोरी थेरापी, रेडियोलोजी टेक्नोलोजी, रेडिएसन थेरापी टेक्नोलोजी, फिजिसियन एसिस्टेन्ट आदि। यी विषयहरू पढ्नको लागि दुई वर्षदेखि चार वर्षसम्म समय लाग्छ तर पढाइ सकिएपछि तपाईंको जीवन सदाका लागि परिवर्तन हुन्छ।
यी माथि उल्लेखित विषहरूमा तपाईंले डिग्री लिएपछि लगत्तै तपाईंले अस्पताल र प्राइभेट स्वास्थ्य केन्द्रहरूबाट कामको लागि अति आकर्षक तलबसहित अफर पाउन सक्नुहुन्छ। साथै यदि तपाईंसँग ग्रीन कार्ड छैन भने काम दिनको साथै अस्पतालले नै ग्रीनकार्डको लागि स्पोन्सर समेत गर्ने गरेको छ।
अब तपाईंलाई प्रश्न जाग्न सक्छ, कति खर्च लाग्छ भनेर। यदि तपाईंसँग काम गर्नको लागि अनुमति पत्र, ग्रीनकार्ड छ भने र तपाईंको घरपरिवारको वार्षिक आम्दानी कर विभागले तोकेकोभन्दा कम छ भने स्नातक तहसम्मको पढाइ संघीय र राज्य सरकारको सहयोगले निःशुल्क हुने गर्छ। साथै यदि तपाईंले वालमार्ट, टार्गेटजस्ता कम्पनीहरूमा काम गर्नुभएमा ती कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्ने सबै कर्मचारीहरूको कलेजको शुल्क तिर्ने गरेका छन्। त्यसैले आफ्नो पढाइ नसकिएसम्म तपाईंले यी कम्पनीहरूमा काम गर्नुहोस् र निःशुल्क पढ्नुहोस्। सम्झनुहोस् जहाँ इच्छा, त्यहाँ उपाय।
लगानी गर्नुहोस्
तपाईंले राम्रो कम्पनीमा काम पाउन साथ कम्पनीले हेल्थ इन्सुरेन्स, लाइफ इन्सुरेन्सको साथै ४०१के, ४०३बी र अवकाश भत्ताको समेत व्यवस्था गर्दछ। जब तपाईंसँग राम्रो तलब भएको जागिर अनि नियमित कर तिर्नु भएपछि तपाईंलाई घर किन्नको लागि कुनै गाह्रो हुँदैन। घर किन्नलाई लगानीको रुपमा लिन सकिन्छ। तपाईंको घरको मूल्य थाहै नपाइ दिनदिनै बढ्दै गइरहेको हुन्छ।
केही समयपछि त्यही घरलाई धितोको रुपमा राखेर अति सस्तो ब्याजमा पैसा निकालेर कुनै पनि व्यवसाय वा अर्को घर खरिद गरेर भाडामा हालेर अतिरिक्त आय आर्जन गर्न सकिन्छ। एउटा बुझ्न पर्ने कुरा के छ भने राम्रो प्रगति गर्नको लागि अमेरिकामा व्यापार व्यवसाय गर्नैपर्छ। किनकि जागिरमा मात्र भर पर्दा जति बढी कमायो त्यति धेरै कर सरकारलाई बुझाउँदा आफूले सोचे जति रकम आफ्नो बैंक खातामा आउँदैन।
उच्च मनोबल राख्नुहोस्
अमेरिका आप्रवासीहरूले बनेको देश हो। मेरो अंग्रेजी राम्रो छैन, एक्सेन्ट छ, मैले बोलेको पो बुझ्दैनन् कि भनेर चिन्ता नमान्नुहोस्। तपाईं मात्र होइन, करोडौं मान्छेहरू छन् जसको अंग्रेजी राम्रो छैन, एक्सेन्ट छ तर पनि अमेरिकी सरकारको उच्च ओहोदामा आसिन छन्। त्यसकारण तपाईं पनि एकदिन त्यस्तै बन्ने ध्येय राखेर अघि बढ्नुहोस्। आफ्नो योग्यताले भ्याएसम्मको ठूला पदहरूमा जान कोसिस गरिरहनुहोस्। यो ठान्नुहोस् कि तपाईं कोहीभन्दा कम हुनुहुन्न।
क्षणिक पैसा मोहमा नफस्नुहोस्
भर्खर नेपालबाट आएर पनि ट्याक्सी चलाएर, ग्रोसरी स्टोरमा काम गरेर हप्तामा तपाईंले बाह्र, पन्ध्र सय सजिलै कमाउन सक्नुहुन्छ। यसलाई नेपाली रुपैयाँमा ढालेर हेर्दा एकै हप्तामा डेढ लाख रुपैयाँ कमाएको देखिन्छ। अस्थायी रुपमा यस्तो काम गर्नु राम्रो हो। तर यही पैसालाई हेरेर जिन्दगीभर यसैमा अल्झेर बस्दा साँचो अमेरिकन ड्रिम कहिले पनि पूरा नहुन सक्छ।
यस्तै काम गरिरहँदा कलेज सुरु गर्नुहोस्। तपाईंले दुःख गरेर अरुले भन्दा फरक किसिमले मेहनत गर्दा धेरैले तपाईंलाई सझाव दिन सक्छन्, खिल्ली उडाउन पनि सक्छन् तर उहाँहरूलाई तपाईंको सपना थाहै छैन। त्यसैले तपाईं अगाडि बढिरहनुहोस्। समयको अन्तरालसँगै तपाईंको स्तर तपाईंका तत्कालीन समकक्षीहरूसँग तुलना गर्नै नसकिने हुन्छ।
अमेरिका एउटा अवसर नै अवसरले भरिएको कानुनी राज्यले भएको मुलुक हो। तपाईंसँग योग्यता छ भने तपाईं आफैले नसोचेका ओहोदामा पुग्न सफल बन्नुहुन्छ। यहाँ जात, धर्म, लिंग, वर्ण, राष्ट्रियताजस्ता कुनै पनि कुराहरूको आधारमा कसैलाई भेदभाव गरिँदैन र हरेक नागरिक कानुनबाट संरक्षित छन्। सायद त्यसैले होला, सपनाको देश अमेरिका।