सूचना प्रविधि क्षेत्रमा एउटा बहुचर्चित शब्दावली छ- 'डिजिटल डिभाइड'। अर्थात् सूचना तथा सञ्चारका माध्यम प्रयोग गर्ने र नगर्नेहरू बीचको सीमारेखा वा प्रयोगकर्ता र प्रयोग नगर्नेहरू बीचको भिन्नता।
धेरै हदसम्म हामी सबैले कुनै न कुनै समयमा कुनै न कुनै हदसम्म सूचना तथा सञ्चारका माध्यम प्रयोग गरेकै छौं वा भनौं सेन्ट्रल रिपब्लिक अफ अफ्रिका र टुभालुजस्तो अत्यन्तै अविकसित देशका प्रत्येक बासिन्दा या कर्णालीका खोंचहरूमा आफ्नो जीवनलाई सार्थक बनाउँदै गरेका नागरिक। उनीहरूले पनि कहिले न कहिले डिजिटल सञ्चार माध्यमहरूको प्रयोग गरेकै हुनुपर्छ, चाहे त्यो रेडियोको रूपमा होस् या अन्य कुनै।
समयसँगै डिजिटल डिभाइडले नयाँ परिभाषा प्राप्त गर्यो। आज साधारणतया इन्टरनेटको प्रयोगकर्ता र इन्टरनेट प्रयोग नगर्ने बीचको सीमारेखालाई डिजिटल डिभाइडले परिभाषित गरिन्छ जुन मलाई मन पर्दैन, युक्तिसंगत लाग्दैन। किनकि मानिसमा डिभाइड यदि डिजिटलले गर्ने हो भने हाम्रो भविष्य हाम्रो हातमा छ कि विद्युतीय प्रवाह १०१०१ को हातमा? तर यो गलत पनि होइन किनकि समयअनुसार सत्य, मान्यता, धारणा, परिस्थिति परिवर्तनशील हुन्छन् नै।
हामीलाई लाग्ला सत्य समयअनुसार परिवर्तनशील हुँदैन। वास्तवमा सत्य हाम्रो चेतनाभन्दा इतर वस्तु होइन, हाम्रा धारणाहरूले नै सत्यको निर्माण गरिरहेका हुन्छन्। आजभन्दा दुई, तीन सय वर्ष पहिला पृथ्वी चेप्टो छ र पदार्थले बनेको छ भन्ने सत्य थियो। आज पृथ्वी गोलो रहेको र म्याटरले बनेको सत्य छ।
विस्तारै विज्ञान त्यस दिशातर्फ उन्मुख छ जो मान्छ कि- 'पृथ्वी न गोलो छ न चेप्टो, यहाँ पदार्थ मात्र छैन प्रतिपदार्थ पनि छ, पृथ्वीमा पृथ्वी मात्र छैन। पृथ्वीका अनेक तहहरू छन् र एउटा तहसँग मात्र हामी परिचित छौं। एउटा मात्र पृथ्वी छैन एकै समय, एकै डाइमेन्सन र एकै अवस्थामा लाखौं पृथ्वीहरू छन्। एकै म्याटर एकै समयमा लाखौं ग्यालेक्सीहरू छन् मल्टिभर्स छ। मैले लेखेको यो लेख अक्षरश: हजारौंले लेखेका छन् र तपाईंले जस्तै १०० प्रतिशत समान परिस्थितिमा हजारौंले पढिरहेका छन्।'
यो भोलिको पृथ्वीको सत्य हो। साबित होला, नहोला तर आजभन्दा छुट्टै परिभाषा भने अवश्य पाउनेछ पृथ्वीले। सत्य फेरि हामी नदीको कुन किनारामा छौं भन्ने कुराले पनि छुट्याउँछ जस्तै- कर्णका लागि दुर्योधन सत्य हो भने कृष्णको लागि अर्जुन। यस अर्थमा मैले देखेको डिजिटाइजेसनको विकृत रूप मेरो किनाराको पनि हुनसक्छ।
२-४ दिनदेखि म युभल नोहा हरारीको 'सेपियन्स' पुस्तक पढिरहेको छु। केही कल्पना, केही तथ्य र केही अनुसन्धानकै क्रममा रहेको विषयवस्तुहरूलाई उद्धृत गर्दै लेखिएको यो पुस्तक मानव इतिहासलाई बडो रोचक ढंगबाट प्रस्तुत गर्छ। एउटा प्रसंग मलाई साह्रै मनपर्यो- मानौं फिजिक्स या इतिहासमा पोख्त दुई वैज्ञानिक या इतिहासकार एकआपसमा भेट भए भने उनीहरूबीच के कुरा हुन्छ होला?
हरारी आफ्नै अनुभव सुनाउँदै भन्छन्, '५ प्रतिशत इतिहास वा विज्ञानका कुरामा खर्चिने गरिन्छ भने ९५ प्रतिशत गसिप, अरूको कुरा काट्न। चाहे त्यो सकारात्मक होस् या नकारात्मक सम्भवत: ८० प्रतिशत नकारात्मक र १५ प्रतिशत सकारात्मक।'
उनी भन्छन् सकारात्मक होस् या नकारात्मक कुरा कटाई, यसले मानवको संज्ञानात्मक र भावनात्मक विकासमा ठूलो मद्दत पुर्यायो। कुरा काट्नाले नै मानिस एकअर्कामा जोडिन पुग्यो। समान प्रकारले समान व्यक्तिको कुरा काट्नेहरूको झुण्ड बन्यो र पछि त्यो कबिलाको रूपमा विकसित भयो। विस्तारै समाज, पन्थ, राष्ट्र निर्माण भयो। कुरा काट्नाले नै शक्तिशालीभन्दा शक्तिशाली शासकहरूको शासन सत्ता परिवर्तन भयो।
कुरा काट्नुको नै देन हो, शासकहरूको शक्तिभन्दा जनताको शक्ति अधिक हुन पुग्यो। वास्तवमा दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीच कुरा काट्नु गलत होइन तर डिजिटाइजेसनले कुरा काट्नुलाई एकै व्यक्तिको दुई फरक विचारहरूको बीचमा मात्र सीमित बनाइदियो। कुरा कटाइमा सिर्जनात्मकता भएन, कुरा कटाइमा दम भएन, कुरा कटाइको विषयवस्तु नै केही थान फोटा र केही शब्द स्टेटस भइदियो। अनि यसै कारण प्रविधिको विकास भयो तर मानवको विकास भएन। आज प्रविधिले प्रविधि बनाइदिन्छ, मानव नै पो किन चाहियो? संकटमा छौं हामी। ७० हजार वर्षमा हामीले सिकेका अनुभव कति सस्तो झैं लाग्छ मलाई।
गुगललाई उछिन्दै हालै टिकटक नम्बर १ प्लेटफर्म बनेको प्रसंग हामी सबैले सुनेकै हुनुपर्छ र बुझेको पनि हुनुपर्छ। डिजिटल प्लेटफर्महरू विभिन्न कार्यका लागि प्रयुक्त हुँदैछन्।
फेरि हामीलाई यो पनि लाग्न सक्छ, यो त प्रयोगकर्ताको छनोट हो। उसको विवेक प्रयोग गर्नुपर्ने हो। धेरै हदसम्म यो सत्य पनि हो। तर भिडको बीचमा एउटाको विवेकले कुनै अर्थ राख्दैन। अविवेकीहरूको बीचमा विवेकी झनै ठूलो अविवेकी सावित हुन्छ। अविवेकीले पनि अविवेकी भन्ने व्यक्ति कुन हदसम्मको अविवेकी हुन पुग्छ होला।
अनि ऊ फ्रस्टेड नभएर को हुने? फेरि एक्सपोज सधैं रंगीन हुन्छ। रंगीन देखिन र रंगीन देख्न कसलाई पो मन पर्दैन र? अनि कुन यस्तो रंग छ जुन समयसँगै रंगहीन हुँदैन र? रंगीन र रंगहीन बीचको यात्रामा प्राप्त उजाडताले कसलाई पो फ्रस्टेड बनाउँदैन र? हलिउड र बलिउडमा हुने आत्महत्या यसका ज्वलन्त उदाहरण हुन्। मिस यू माइकल ज्याक्सन।
एकदमै अचम्मलाग्दो परिवेशमा हामी छौं। कोही मर्यो, यदि आफ्नै सबैभन्दा प्रिय मान्छे मर्यो। उसको मृत शरीरको तस्बिर फेसबुकमा राखेर दु:ख मनाउ नगरेसम्म र दु:ख मनाउको पोस्टमा ४/५ सय रिप नपाएसम्म हामीलाई वास्तविक दु:ख भएको महशुस समेत हुँदैन। या दुखी भएको सावित गर्न मन लाग्ने र सावित गर्नुपर्ने अचम्मको परिस्थिति छ हाम्रो अगाडि।
एउटा कथाको प्रसंग याद आयो। एउटा बाबुको छोरा मर्छ। जसले जीवनभर त्यो छोरालाई गलत भने उनीहरूले समेत केटो गतिलो थियो, असमयमै मर्यो भनेर बाबुलाई सहानुभूति दिन्छन्। दिनभर सयौंको संख्यामा सहानुभूति दिनेहरू आउँछन्, बाबु भिडबाट उम्कन खोज्छ तर उम्कन पाउँदैन। साँझ परेपछि भिड कम हुन्छ अनि शौचालयमा गएर मज्जाले रुन्छ। बल्ल उसको मन भक्कानिन बन्द हुन्छ। थोरै भए पनि शान्ति मिल्छ।
कुन लेखकको कथा हो प्रस्ट याद भएन तर मार्मिक छ। बर्तमान परिस्थिति भिन्न छ। वरिपरिको भिड त छँदैछ, अरु नपुगेर कमेन्टका भिडहरूबीच आफूलाई दुखी साबित गर्नाले शान्ति कहाँ मिल्छ र? वास्तवमै दुखी छौं भने चाहे जुनसुकै कारणले होस् रुनुपर्छ भित्तालाई हेरेर, रुखलाई हेरेर, आकाश, तारा, चन्द्रमा उनीहरूको विशालता हेरेर अनि बल्ल लाग्छ हाम्रो दु:ख कति सानो छ।
२००८ मा फेसबुक अकाउन्ट खोलेको मैले समयक्रमसँगै २०१७ देखि दिनको कम्तीमा पनि एक पटक खोलेकै हुन्छु। १/२ दिन कतै हिँड्दा फेसबुक, म्यासेन्जर चलाएन भने सकसक लाग्ने र औंलाहरूमा छटपटाहट हुने अनौठो अवस्थाकै बीचमा मोबाइलको स्क्रिन फुट्यो। ३-४ दिन मर्मत गरिएन अनि मर्मत गर्ने क्रममा थप ५-७ दिन लाग्ने भएकाले एक हप्ता भयो म डिजिटल डिभाइडमा छु। जब म डिजिटलमा हुन्थेँ त्यस बेलाका केही तनावहरू निम्नानुसार प्रस्तुत गरेको छु-
- कतै गयो प्रथमत: फोटो खिच्ने तनाव, खिच्ने क्रममा रिलवाला क्यामरा झैं पोज नमिलाइँदो रहेछ। भिन्न-भिन्न पोजको प्रतिपोज ५-७ वटाका दरले फोटो खिच्नुपर्ने। समग्रमा ३०-४० वटा फोटाबाट अत्यन्तै उत्कृष्ट फोटा छान्न पनि अत्यन्तै सकस। खिचाइमा त्यति समय खर्च हुँदैन जति छनोट गर्नमा। एउटा फोटोमा हात मिल्दैन, एउटामा मुस्कान भने कुनैमा पाइन्ट खुम्चिएको हुन्छ। फेरि फोटो छान्दै गर्दा उही दिनकै फोटो भए पनि फरक-फरक कपडा लगाएको समेत खोजिँदो रहेछ। आधा घण्टा लगाएर फोटो त छानियो तर क्याप्सन के लेख्ने? नेपालीमा लेख्ने कि अंग्रेजीमा। क्याप्सन कस्तो लेख्ने, कस्तो शब्द चयन गर्ने जसले हामीलाई खुसी छ है भनेर प्रमाणित गर्न सकोस्।
- फोटो हालियो ठिक छ, काण्ड सकिनुपर्ने सकिँदैन। नोटिफिकेसनको टन्टा उत्तिकै। सकेसम्म सबैको फुर्सद हुने समय साँझ ८ बजे फोटो हालिन्छ अनि सुरू हुन्छ पर्खाइ। कसले कमेन्ट गर्यो, कसले गरेन। कमेन्ट पनि कस्तो गर्यो? स्टिकरवाला थर्ड क्लास, अटोमेटिक सेन्टेन्सवाला सेकेण्ड क्लास या आफैंले टाइप गरेको फस्ट क्लास। सेन्टेन्स वालाको पछि एक वटा शब्द थप गरेको क्लास उल्लेख गरेको छैन। त्यत्रो छानेको फोटामा अपेक्षाकृत कमेन्ट आएन भने हुने निराशा एकातिर छ भने लाइक सेक्सनमा रहेका पानका पात, पानका पातलाई अंगालो हालेको, हाहाजस्ता रियाक्टहरूको लेखाजोखाको सकस पनि उत्तिकै। भोलिका दिनमा ती कमेन्टका बदलामा उसैको कमेन्टको जस्तो कमेन्ट गर्नुपर्ने दायित्वजन्य कुरा पनि छँदैछन् अर्कोतिर। मानौं छोरीको बिहेमा रहेको नगदको हिसाब राख्ने कापी हो जिन्दगी, उसले २५ सय दिएको छ भने प्रतिवर्ष १० प्रतिशत थप गरेर उसको छोरीको बिहेमा नगद दिनुपर्ने।
- फेसबुक पनि बाठो छ। मान्छेले कमेन्टको मात्रा घटाउँदै गएपछि आयो स्टोरी २४ घण्टावाला। यो फिचरले वालको पोस्टजस्तो कम कमेन्ट आएर बेइज्जत पनि गर्दैन। सार्वजनिक रुपमा कसले हेर्यो या हेरेन अथवा हेरेर पनि रियाक्ट दियो या दिएन भन्ने कुरा म्यासेन्जरमा मात्र आउने भएकोले पनि कमेन्ट कम आउनेहरूका लागि वरदान हो यो तर रियाक्ट र भ्यू कम आउँदा हुने नैराश्यता उत्तिकै हुँदो रहेछ।
- माथि त भयो आफ्नो पोस्टका कुरा। अरुका पोस्टहरू त बाँकी नै छन्। प्रथमत: जसको पोस्ट म मेरो सामुन्ने देख्दैछु, ऊ मेरो रेगुलर कमेन्टेटर/रियाक्टर हो कि होइन। हो भने कस्तो? उसका फोटाहरू मैले ओपन गरुँ या नगरुँ? ओपन गरेर भित्रवाला फोटोमा समेत कमेन्ट दिउँ या बाहिरको पोस्टमा मात्र। टाइप गरेर कमेन्ट दिउँ या स्टिकर। ह्याप्पी बर्थ डे भनुँ कि नभनुँ। कमेन्ट गरेपछि लाइक या यस्तै रियाक्ट दिउँ कि नदिउँ। कस्तोसम्म हुन्छ भने वालमा राखिएको फोटोको रियाक्ट दिँदा पहिलो रियाक्ट लाइक हुन्छ र दोश्रो पानको पात अनि स्टोरीमा पहिलो पानको पात र दोश्रो लाइक यस हिसाबले वालमा लाइक दिएझैं स्टोरीमा पानको पात दिनु हुन्छ तर स्टोरीमा पानको पात दिए बढी महत्व दिएझैं हुन्छ भनेर दोश्रो नम्बरमा रहेको लाइक दिइन्छ। अनि सरर स्टोरी अघि बढेर अरुको समेत हेर्न पुगिने हुनाले त्यसबाट जोगिन स्टप अनि ब्याक गर्नुको पनि उस्तै समस्या। मन नपरेको र कम महत्वका मानिसहरूको स्टोरी किन हेर्नु? मन परेकाको छुट्ला र रिसाउला भन्ने पिर समेत कम्ताको हुँदो रहेनछ।
- म अनुभव गर्न सक्छु आजभोलि हामीहरू म्यासेन्जरमा टाइप गरेर बस्न खासै रुचाउँदैनौं तर पनि रुचाइएको व्यक्तिसँग टाइप समेत गरिँदो रहेछ। फेरि लेखेर व्यक्त गर्नु बोलेर व्यक्त गर्नुभन्दा सजिलो भएर पनि होला। म्यासेज गर्यो उसलाई डेलिभर नभएको अफलाइनको एउटा चिह्न, ऊ अनलाइन आएपछि डेलिभर भयो अर्को चिह्न, डेलिभर भयो अनि उसले हेर्यो अर्को चिह्न, हेर्यो तर जवाफ दिएन अर्को तनाव। जवाफ आयो भने बल्ल ओम शान्ति।
- स्क्रोलिङ पनि बडो मजाको हुँदो रहेछ। दिनमा अनेकन पटक त्यो स्क्रिन तलमाथि गर्नु अनि होम थिचेर नयाँ स्टोरी हेर्नु। एकछिन मोबाइल भुइँमा राख्नु अनि फेरि उठाउनु। ट्याप-ट्याप गर्नु। फेसबुक एपको दाहिनेपट्टि म्यासेजको बटममा क्लिक गरेर म्यासेन्जरमा जानु। त्यहाँबाट फेरि एक्जिट हुनु। टिकटकमा जानु स्वाँट्-स्वाँट्-स्वाँट् पारेर प्रत्येक भिडिओ हेर्नु। डबल ट्याप दिनु पानको पात पठाउनु। टिकटकको डबल ट्याप पनि अद्भुतै हुँदोरहेछ। नचिनेको मान्छेको भिडिओमा सहजै डबल ट्याप जान्छ तर चिनेको जानेको मान्छेको भिडिओमा डबल ट्याप गर्न चोर औंला लास्टै भारी भएर आउँछ। धन्न टिकटकमा कस-कसले भिडिओ हेर्यो भनेर आउँदैन नत्र कति सकस हुन्थ्यो होला।
मलाई लाग्छ इमानदारीतापूर्वक भन्ने हो भने यो मेरो मात्र होइन धेरैको समस्या हो। कसैले स्वीकार गर्ला कसैले नगर्ला। स्वीकार गरे पनि, नगरे पनि चेतन, अचेतन र अवचेतन मनमा अनलाइनले पारेका प्रभावहरूको पुञ्ज हौँ हामी। माथिका कुरा मेरा सोचका उपज हुन् र म पनि त्यही परिवेश जनित कुराहरू सोच्दछु जुन परिवेशमा हजुर हुनुहुन्छ। मैले जस्तो शत प्रतिशत सबैले नसोच्न सक्नुहुन्छ। तर म जान्दछु पूर्ण या आंशिक हामी सबैको तनावको विषयवस्तु हो यो जीवनको डिजिटाइजेशन।
डिजिटलको नाउँमा बढ्दै गएको यो पागलपन। डिजिटाइजेससँगै बढ्दै गएको अरुको जीवनभित्र नियाल्ने चासो। आफ्नो जीवनलाई अरुसामु एक्सपोज गर्न मन लाग्ने हुटहुटी। साँच्चै हामी मनोरोगी त हुँदै छैनौं?
अवस्था यस्तोसम्म छ मनोपरामर्शदाता समेत यस केशमा मनोपरामर्श लिन बाध्य छन्, हाम्रो उद्दार कसले गर्ने? मोबाइलको स्क्रिनको प्रत्येक पिक्सेलहरूमा मेरा आँखाका तारहरू जोडिएझैं लाग्छ। लाग्छ यो औंलाहरू त्यो स्क्रिनलाई छुन बनेका हुन्। चराचर जगतको छुन योग्य वस्तु मोबाइलको स्क्रिन हो। डिजिटल, डिजिटल, डिजिटल।